“जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” वैशाख २ गतेदेखि शुरु, पहिलो विजेतालाई ३६ हजार नगद पुरस्कार
काठमाडौं । आईएमई फाउन्डेसनले आगामी २०७६ साल वैशाख २ गतेदेखि “दोस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” आयोजना गर्ने भएको छ । फाउन्डेसनले आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रको विकासका साथै खेलप्रतिको सीप अभिवृद्धि गर्ने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको उक्त टुर्नामेन्ट वैशाख ७ गतेसम्म संचालन हुने छ । जसमा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका प्रतिष्पर्धीहरुले भाग लिन पाउने आयोजकले जनाएका छन् । प्रतियोगितमा भाग लिन इच्छुक प्रतिष्पर्धीहरुले चैत ५ गतेदेखि २५ गतेसम्म आवेदन फारम बुझाउन पर्ने छ । इच्छुक खेलाडीले दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आईएमई कम्प्लेक्स पानीपोखरीमा आवेदन फारम बुझाउन सक्नेछन् । उपत्यका बाहिरका इच्छुक प्रतिष्पर्धीहरुले आईएमईको सम्बन्धित क्षेत्रीय कार्यालयमा फारम बुझाउन सक्नेछन् । साथै, इमेल तथा आइएमई फाउन्डेशनको वेवसाइटबाट फर्म भर्ने व्यवस्था मिलाइने फाउन्डेशनका सदस्य राजु पौडेलले जानकारी गराएका छन् । त्यस्तै, प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो उमेरअनुसार सेवा शुल्क तिरेर आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार ८ वर्षकाले ५०० रुपैयाँ, ९ र १० वर्षकाले ७०० रुपैयाँ तथा १२ देखि १४ वर्षका प्रतिष्पर्धीले एक हजार रुपैयाँ सेवा शुल्क तिर्नु पर्ने जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेले बताएका छन् । कुल तीन लाख २६ हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिता पाँच वटा वर्ग (अर्थात ८, ९, १०, १२ र १४ वर्ष)मा विभाजित गरिएको छ । सो अन्तर्गत ८, ९ र १० वर्षका प्रथम, दोश्रो र तेश्रो विजेताहरुले उनीहरुको स्थानअनुसारको पुरस्कार पाउने भएका छन् । जसमा पहिलो स्थान प्राप्त गर्ने छात्र तथा छात्राहरु दुबै विजेताले १२ हजार रुपैयाँ पाउने छन् । दोश्रो हुनेले ६ हजार रुपैयाँ जुन एक जना छात्र र एक जना छात्रालाई प्रदान गरिने छ । त्यस्तै, तेश्रो विजेतालाई चन्द्रागिरी केवल कारको टिकट प्रदान गरिने पौडेलले बताए । त्यसैगरी, १० वर्षभन्दा माथि र १२ वर्षभन्दा तलका पहिलो छात्र तथा छात्राले २० हजार नगद रुपैयाँ पाउने छ । साथै, उनीहरुले अन्तराष्ट्रिय भ्रमण तथा टुर्नामेन्टको लागि जान चाहेमा २० हजार रुपैयाँ बराबरको रकम फाउन्डेसनले व्यहोर्ने र बाकी रकम विजेता आँफैले भुक्तान गनुपर्ने पौडलले जानकारी गराए । त्यस्तै, दोश्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार र तेश्रो हुने विजेतालाइै चन्द्रागिरी केवलकारको दुई वटा टिकट प्रदान गरिने छ । साथै, १२ वर्षभन्दा माथि र १४ वर्षमुनिका पहिलो विजेतालाई ३६ हजार रुपैयाँ, दोश्रोलाई १८ हजार रुपैयाँ र तेश्रोलाई चन्द्रागिरीकै केवलकारको दुई वटा टिकट प्रदान गरिने आयोजकले बताएका छन् । साथै, प्रत्येक खेलाडीहरुलाई आइर्एमई ग्रुपको टिसर्ट प्रदान गरिने आयोजकले जानकारी गराएका छन् । फाउन्डेसनले मंगलबार पानीपोखरी स्थित आईएमई कम्प्लेक्समा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । सम्मेलनमा आईएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल(ढकाल), सदस्य राजु ढकाल र जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेको उपस्थिती रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि, नेपालमा यथावत्
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अहिले काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ९७ छ । निगममा नयाँ नेतृत्व आएसँगै खरीद मूल्य बढे पनि इन्धनको मूल्य वृद्धि भएको छैन । निगमले पछिल्लो पटक गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको थियो । निगमका अनुसार गत माघ २ देखि यही चैत ३ गतेसम्म पेट्रोलमा प्रतिलिटर नौ रुपैयाँ सात पैसा र डिजेलमा १० रुपैयाँ ४७ पैसा वृद्धि भएको छ । आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले १५-१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।
बुद्ध एयरले भित्र्यायो एटीआर जहाज, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान वृद्धि गर्ने
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ । नयाँ जहाजको रङ्गरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महीनादेखि उडान भर्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताए । थपिएको जहाजले नियमित मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने उनको भनाइ छ । जहाज थपिएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान वृद्धि गर्ने कम्पनीले जनाएको छ । यसअघि भारतको वनारसमा उडान भर्दै आएको बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकातामा पनि उडान भर्नेछ ।
शुक्रबारदेखि ब्रुमरबाट सडक सफा गरिने, पहिलो पटक रत्नपार्कमा प्रयोग हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ । अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइने छ । नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डङ्गोलले बताए । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । अबको केही दिनमा कुन कुन स्थानमा उक्त यन्त्र प्रयोग गर्ने भन्ने यकिन हुने छ । ती ब्रुमर १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । कामपासँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो । सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् । ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ । युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।
बैंक सञ्चालक समितिले स्वतन्त्र सञ्चालक नियुक्त गर्न नपाउने, साधारणसभालाई नै अधिकार दिइँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ मा परिमार्जन गर्दै राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले बाफियाको दफा १४ को उपदफा ३ लाई संशोधन गर्दै स्वतन्त्र सञ्चालक समेत साधारणसभाले नै निर्वाचित गर्ने व्यवस्था गर्न लागेको हो । उपदफा ३ मा हाल‘सञ्चालक समितिले दफा १७ बमोजिम योग्यता तथा अनुभव भएका व्यक्ति मध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गरी सोको जानकारी त्यस्तो नियुक्ति पछि बस्ने पहिलो साधारणसभामा जानकारी दिनुपर्नेछ’ भन्ने वाक्यांश उल्लेख गरिएको छ । त्यसलाई संशोधन गर्दै ‘साधारणसभाले दफा १७ बमोजिमको योग्यता तथा अनुभव भएका व्यक्तिमध्येबाट कम्तीमा एकजना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्नेछ ।’ तर सोही ऐनमा स्वतन्त्र सञ्चालक साधारणसभा अगावै रिक्तभएको अवस्थामा भने सञ्चालक समितिले साधारणसभा नभएसम्मका लागि उक्त सञ्चालक नियुक्त गर्नसक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सोही दफाले सो संस्थाको ०.१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएको व्यक्तिलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्न नसक्ने व्यवस्था समेत गरेको छ । नेपाल राष्ट्र बैंकले कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम कुनै कम्पनीको सञ्चालक साधारणसभाले नै नियुक्त गर्नुपर्ने व्यवस्था गरेकोले ऐनलाई सो ऐन अनुकुल बनाउन त्यस्तो व्यवस्था गरेको उल्लेख समेत गरेको छ ।
युएईले ३० हजार रोजगारी सिर्जना गर्ने, सन् २०३१ सम्ममा व्यापक परिवर्तन
दुबई । संयुक्त अरब इमिरेट्सले यस वर्ष आफ्ना नागरिकका लागि निजी क्षेत्रमा ३० हजार रोजगारी सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत वर्ष सन् २०१८ मा इमिरेटी नागरिकका लागि २० हजार २२५ रोजगारी सिर्जना गरिएको जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को तुलनामा छ हजार ८६२ ले बढी हो । मन्त्री नासेर बिन थानी अल हाम्लीले सन् २०३१ सम्ममा युएईमा व्यापक परिवर्तन देख्न पाइने बताए । उनले सरकारको नयाँ योजनाबाट श्रम बजारमा व्यापक प्रभाव पर्ने एवं आफ्ना नागरिकका लागि रोजगारीको नयाँ अवसरहरु प्राप्त हुने जानकारी दिए । रासस÷सिन्ह्वा
६.८३ अंकले घट्यो नेप्से, १४ करोडको कारोबार
काठमाडौ । साताको तेस्रो दिन मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक ६.८३ अंकले घटेको हो । ०.५९ प्रतिशतले घट्दा नेप्से परिसूचक ११४७.१५ बिन्दुमा पुगेको हो । मंगलबार सेयर बजारमा १५८ कम्पनीले कारोबार गरेका छन् । ५ लाख ३४ हजार ९ सय ९५ कित्ता सेयर खरिद बिक्री हुँदा १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ रुपैयाँको कारोबार भएको छ । नेप्सेका सबै सूचक आज राता देखिएका छन् । बैक समूह ६.७५, ट्रेडिङ २.८७, विकास बैक ९.९८, जलविद्युत ७.८५, वित्त कम्पनी ३.२७, निर्जीवन बीमा २२.३९, उत्पादनमूलक समूह ४.७४ , अन्य समूह ४.४३, माइक्रोफाइनान्स ७.४३, जीवन बीमा २०.२३ अंकले घट्न पुगेका छन् । आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९५ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, मितेरी डेभलपमेण्ट बैकका लगानीकर्ताले ४.८९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
वार्षिकोत्सवकै दिन अर्थमन्त्रीले सीआईटी बोर्डबाट ‘हटाए’ कार्यकारी निर्देशक, कस्तो निरंकुशता देखे ?
काठमाडौं । ‘लगानी कोषका कार्यकारी निर्देशक पनि कोष सञ्चालक समितिमा बस्ने व्यवस्था गर्नुपर्छ ।’ आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुरेश चालिसेले ‘माननीय अर्थमन्त्रीलाई कर्मचारीको तर्फबाट ध्यानाकर्षण…’ भन्दै बोलेको वाक्य हो यो । नागरिक लगानी कोषको २९ औं वार्षिकोत्सव तथा नयाँ भवन शिलान्यास कार्यक्रममा उनले त्यति मात्र भनेनन्, (a+b)² को सुत्र प्रयोग गर्दै सरकार र कर्मचारीहरुबीचको जोइन्ट इफेक्टले एकल प्रयासभन्दा बढी प्रतिफल निकाल्ने बताए । सुन्दा स्वाभाविक र राम्रो लाग्ने दुवै प्रस्तावप्रति त्यसैको केही समय पछि बोलेका अर्थमन्त्री डा. युवराज खतिवडा आक्रामक देखिए । चालिसेको सुत्रलाई खतिवडाले ‘नेगेटिभ नम्बरको स्वायर रुट सामान्य तरिकाले नहुने र त्यसलाई क्याल्कुलेसन गर्न फाइभजी कम्प्युटर चाहिने भन्दै आफुलाई पाँचौं पुस्ताको कम्प्युटरसँग तुलना गरे । कार्यकारी निर्देशक सञ्चालक समितिमा रहने स्वाभाविक प्रस्तावप्रति आक्रामक जवाफ दिएका खतिवडाले ‘यो ठट्टाको विषय होइन…’ भन्दै कार्यकारी निर्देशक सञ्चालक भए संस्था तानाशाही बन्ने दलील पेश गरे । त्यो भाषण लगत्तै निस्किएका उनले तत्कालै राष्ट्रिय सभा बैठकमा नागरिक लगानी कोष संशोधन विधेयक–२०७५ विधेयकलाई जस्ताको तस्तै पारित गराए । सोमबार पारित भएको विधेयकमा हाल सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने व्यवस्था रहेको कार्यकारी निर्देशकलाई समितिबाट हटाएको छ । यो विधेयक प्रमाणीकरण गरी लागु भएसँगै संस्थाको प्रमुख कार्यकारी नै सञ्चालक समितिसँग जोडिनबाट वञ्चित हुने भएका छन् । अर्थमन्त्रीले कोषका कार्यकारी प्रमुख सञ्चालक रहँदा संस्थामा तानाशाही प्रवृत्ति बढ्ने बताउँदा कोषजस्तै संगठन र कार्यसंरचना भएको र कर्मचारी सञ्चय कोषमा प्रशासक सञ्चालक समितिमा रहने व्यवस्था कायमै छ । अर्थ मन्त्रालयकै क्षेत्रमा पर्ने नागरिक लगानी कोषको मुख्य शेयरधनी रहेको राष्ट्रिय बीमा संस्थानका प्रशासक सञ्चालक समितिमा छन् । मुख्य प्रवद्र्धक नेपाल स्टक एक्सचेञ्जमा पनि प्रमुख कार्यकारी अधिकृत नेप्सेको सञ्चालक समितिमा प्रतिनिधित्व रहने व्यवस्था कायमै छ । अर्थ मन्त्रालय अन्तर्गतका मात्रै नभएर अन्य मन्त्रालय मातहत पर्ने अधिकांश संस्थानहरुमा समेत त्यस्तो व्यवस्था कायमै छ । सञ्चार मन्त्रालयको नियमनमा पर्ने नेपाल टेलिकममा पनि कार्यकारी प्रमुख सञ्चालक समितिमा छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको बोर्ड सदस्यमा कार्यकारी निर्देशक पनि निगम सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । दुग्ध विकास संस्थान, नेपाल वायुसेवा निगम लगायतमा समेत कार्यकारी प्रमुख सञ्चालक समितिमा छन् । अर्थमन्त्रीले व्यवस्थापनमा प्रमुख सञ्चालक रहने व्यवस्था निरंकुश हुन्छ भन्दै गर्दा सरकारी भूमिका भने त्यसमा उल्टो देखिएको छ । मन्त्रीपरिषद्ले नेपाल वायुसेवा निगममा अध्यक्ष रहेका मदन खरेललाई कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न दिएर महाप्रबन्धक सुगतरत्न कंसाकारलाई भने भूमिकाविहीन बनाइदिएको छ । सुगतरत्न कंसाकारलाई भ्रष्ट्राचार गरेको आरोप लगाइरहँदा सरकारको त्यस्तो निर्णयको विरोध गर्ने कमै मात्र भेटिए पनि संस्थागत सुशासनको हिसाबले हेर्दा त्यो गलत थियो, किनकी यहाँ सञ्चालक र व्यवस्थापनका नेतृत्वकर्ता एउटै व्यक्ति भएको अवस्था छ । तर, त्यही सरकारका अर्थमन्त्री भने सञ्चालक समितिको सदस्यमा प्रतिनिधित्व गराउन पनि निरंकुशताको आरोप लगाइरहेका छन् । नेपाल राष्ट्र बैंकको नियमनमा रहेको वा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअन्तर्गत सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुमा भने प्रमुख कार्यकारी अधिकृतलाई सञ्चालक समितिमा प्रतिनिधित्व गराउने स्पष्ट व्याख्या छैन । एकजना सदस्यसचिव नियुक्त गर्ने प्रावधान भए पनि त्यो प्रमुख कार्यकारी अधिकृत वा अन्य सदस्यहरु हुन पाउँछन् । नेपाल राष्ट्र बैंककै नियमनको दायरामा आउन लागेको यो संस्थामा पनि पूर्व गभर्नर समेत रहेका अर्थमन्त्रीले त्यही शैली भित्र्याउन खोजेको अनुमान विश्लेषकहरुको छ । तर उनले देखेको निरंकुशता कोषमा कति हुन्छ र सरकारकै स्वामित्वका अन्य संस्थानहरुमा यस्तै प्रकृतिको संरचना अर्थमन्त्रीले कसरी सुधार्छन्, त्यो भने चासोको विषय हुनेछ ।