अप्रिल १ तारिखबाट हड्तालमा जाने भारतको जेट एयरवेजका चालकहरुकाे चेतावनी
नयाँ दिल्ली । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ । असहज परिस्थितिका कारण अरु एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सयौँ उडान रद्द हुने गरेको बताइन्छ । भारुको अवमूल्यन भइरहेको यस अवस्थामा तेलको मूल्य भने बृद्धि हुनाले एयरलाइन्सलाई थप भार परेको छ । यसअघि नै जेट एयरलाइन्सका ४० भन्दा बढी विमान थन्किएका छन् । आगामी मार्च ३१ सम्म एयरलाइन्स व्यवस्थापनले कम्पनीको प्रगति, भविष्य, समाधानको विषयमा जानकारी गराएको खण्डमा मात्र आआफ्नो कार्य सुचारु गर्ने ‘नेसनल एभीएटर गिल्ड’का उपाध्यक्ष क्याप्टेन असिम भलिआनीलाई उद्धृत गर्दै जानकारी दिएका छन् । भारत सरकारले गत मङ्गलबार जेट एयरवेज व्यवस्थापनलाई थन्किएका विमानहरुको भविष्यको विषयमा आकस्मिक छलफलको लागि आह्वान गरेपछि परिस्थितिको यस प्रकार परिवर्तन आएको छ । भारतीय यस विमान कम्पनीका पाइलट एवं अरु कर्मचारीले केही महिनादेखि तलब समेत पाएका छैनन् । रासस /सिन्ह्वा
होलेरी र महाराजगंज सबस्टेसन संचालनमा, करिब ५० हजार जनसंख्या लाभान्वित हुने
काठमाडौं । रोल्पा र कपिलवस्तुको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको होलेरी र महाराजगंज सबस्टेसन संचालनमा आएका छन् । सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा रोल्पाको रुन्टीगढी गाउँपालिकामा निर्माण भएको ३३/११ केभी होलेरी सबस्टेसन मंगलबारबाट संचालनमा (चार्ज) आएको हो । सबस्टेसमा रहेका तीन वटा फिडरमध्ये दुईवटाबाट त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि लामो दुरी र ओभरलोडिङका कारणले पटकपटक लाइन ट्रिप हुने, भोल्टेज नहुने समस्या समाधान भएको,प्रणालीको चुहावट घट्ने, त्यस क्षेत्रमा विद्युतीकरण गर्न सहयोग पुग्ने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने बताए । प्राधिकरणले होलेरी सबस्टेसन निर्माणका लागि २०६४को असारमा ठेक्का सम्झौता गरेको थियो । तर ठेकेदारको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माण अलपत्र परेको थियो । आफ्नाे गृह जिल्लाकै सबस्टेसन ठेक्का लगाएर अलपत्र पारेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले यसमा विशेष चासो दिंदै निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न प्राधिकरणलाई पटक पटक निर्देशन दिएका थिए । सबस्टेसनबाट रोल्पाको पश्चिम दक्षिण भेगमा पर्ने रुन्टीगढी र त्रिवेणी गाउँपालिका करिब ५० हजार जनसंख्या लाभान्वित हुने प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले बताए । अब त्यस क्षेत्रमा कसैले उद्योग स्थापना गर्न चाहेमा विद्युत आपूर्ति दिन सकिने उनले बताए । यसैगरि, कपिलवस्तुको महाराजगंज सबस्टेसन पनि केही दिनअघिबाट संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३/११ केभी सबस्टेसन २८ फागुनबाट संचालन(चार्ज)मा आएको हो । निर्माण सुरु भएको साढे दुई वर्षमा सबस्टेसनको निर्माण सम्पन्न भएको हो । सबस्टेसनबाट विद्युत वितरण सुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।
दक्षिण कोरियामा विवाह दर घट्दो, आर्थिक अस्थिरता कारण बन्दै
सोल । हाल दक्षिण कोरियामा विवाह दर घटेको छ । अघिल्लो वर्षको तुलनामा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरता लगायतका कारण त्यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेका हुन् । सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो । कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्याङ्क सङ्कलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो । सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्याङ्क शुरु गरेयताको सबैभन्दा बढी दर हो । यो तथ्याङ्कमा बर्सेनि कमी आउन थालेको हो । सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हुँदै आएको थियो । दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ । रासस/सिन्ह्वा
गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट
काठमाडौँ । टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ । यो वर्ष एक हजार ६ सय भन्दा बढी आवेदनबाट ६८ प्रज्ञार्थी छनोट गरिएको टिच फर नेपालले जनाएको छ । आउँदो शैक्षिकसत्रबाट यी ६८ प्रज्ञार्थीले सात जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रयासस्वरुप निःशुल्क अध्यापन गराउनेछन् । गत शैक्षिक सत्रसम्म छ जिल्ला ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, पर्सा र लमजुङमा कार्यरत टिच फर नेपालले यो वर्ष तनहुँमा पनि सो अभियान आरम्भ गर्ने भएको छ । योसँगै टिच फर नेपालले सात जिल्लाका ६७ विद्यालयका १५ हजार भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ । विद्यालयमा पठाइनुअघि ती प्रज्ञार्थीलाई ४५ दिने तालीममा दिइनेछ । तालीममा उनीहरुलाई कक्षाकोठा भित्रका सिकाइ जस्तै कक्षा व्यवस्थापन, सिकाइ विधिलगायतका विषयमा जानकारी दिइने टिच फर नेपालका सह संस्थापक तथा तालीम निर्देशक स्वस्तिका श्रेष्ठले बताए । आगामी शैक्षिक सत्रदेखि टिच फर नेपालका १३८ प्रज्ञार्थीले सात जिल्लाका ६७ सामुदायिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने छन् । टिच फर नेपाल सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विसं २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा, २०७५ देखि दाङ, लमजुङ, पर्सा गरी छ जिल्लामा र २०७६ बाट तनहुँमा सञ्चालन गर्दैछ । अभियानका लागि यस संस्थाले विद्यालयसँगको साझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवा छनोट तथा तालिम पश्चात अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ , पर्सा र तनहुँका जम्मा ६७ सामुदायिक विद्यालयमा सो अभियान सञ्चालित छ । रासस
अमेरिकी मनोरञ्जन कम्पनी डिज्ने र फक्सबीच ७१ अर्ब डलरको सम्झौता
न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । उक्त सम्झौतामा फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, “स्टार वार्स” र “डा.स्ट्रेन्ज” अब एकै कर्पोरेट छानामुनि आउने छन् । यो सम्झौताले विश्व मिडिया परिदृश्यमै हलचल ल्याउने छ । सम्झौतापछि डिज्नेलाई आफ्नै स्ट्रिमिङ सेवा डिज्ने प्लस यसै वर्षको अन्त्यतिर आरम्भ गर्न बाटो खुलेको छ । साथै सम्झौताले हजारौं कर्मचारी कटौतीमा पर्ने खतरा बढाएको छ । फक्स र डिज्नेमा कार्यरत फिल्म उत्पादक कर्मचारीहरुको ठूलो संख्या कटौतीमा पर्नेछ । डिज्नेले फक्स इन्टरटेनमेन्ट खरिद गर्नुको मुख्य उद्देश्य नै अमेजन र नेटफ्क्सि जस्ता कम्पनीबाट सिर्जना भइरहेको बढ्दो चुनौतीलाई सामना गर्नु हो । डिज्नेले यसअघि नै डिज्ने कार्टुन सेवा प्रशारण गरिरहेको छ । फक्सका उत्पादनलाई आफूमा गाभेसँगै फक्सका महत्वपूर्ण कार्यक्रम र नेसनल जियोग्राफिकको प्रशारण एकाधिकार प्राप्त हुनेछ । डिज्नेका प्रमुख कार्यकारी बब आइगरले गत फेब्रुअरीमै डिज्ने प्लस र उपभोक्तासँग सोझै जोडिएका व्यवसायहरु डिज्नेको नं.१ प्राथमिकतामा रहने बताए । केबल र टेलिकम कम्पनीहरुले बदलिँदो मिडिया परिदृश्यमा प्रतिस्पर्धी क्षमता बढाउन टिभी शो र सिनेमा बनाउने कम्पनीहरु नै खरिद गर्न थालेका छन् । एटी एन्ड टी, कमकास्ट जस्ता विशाल इन्टरनेट प्रदायकहरु समेत अमेजन, युट्युब र नेटफ्लिक्सका सेवाबाट त्रसित हुन थालिसकेका छन् । एटी एन्ड टीले गत वर्ष ८१ अर्ब डलरमा टाइम वार्नर कम्पनी खरिद गरिसकेको छ भने आफ्नै स्ट्रिमिङ टेलिभिजन सेवा प्रशारण गर्न थालेको छ । टाइम वार्नरका च्यानलहरु टीबीएस र टीएनटीलाई अमेरिकी ग्राहकलाई प्रति महिना १५ अमेरिकी डलरमा बिक्री गरिएको छ । रासस /एपी
घुम्ती बीमामा एनसिस र नेपाल इन्स्योरेन्सबीच सहकार्य, बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्य
काठमाडौं । बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानमा नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र नेपाल इन्स्योरेन्स कम्पनी (एनआईसी) बीच सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच एमओयू भएको हो । एमओयूमा एनसिसका तर्फबाट अध्यक्ष लक्ष्मी श्रेष्ठ र एनआईसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरे । उक्त एमओयूमा सम्झौतासँगै नेपाल इन्स्योरेन्स कम्पनी घुम्ती बीमाअन्तर्गत हुने १० कार्यक्रमको सहप्रायोजकको रुपमा जोडिएको छ । कार्यक्रमको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी हो । घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ ।
एडिबी बैंकको लगानीमा दूधकोशीबाट ६३५ मेगावाटको विद्युत् उत्पादन गर्ने तयारी
काठमाडौं । दूधकोशीको रभुँवाघाटबाट ६३५ मेगावाटको विद्युत् उत्पादन हुने भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा पानी जम्मा गरेर सुरुङमार्फत ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर रभुँवाघाटमै ३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । दूधकोशी जलविद्युत आयोजना सञ्चालनका लागि एशियाली विकास बैंक (एडिबी) ले लगानी गर्ने जनाइएको छ । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका लागि ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले उक्त क्षमताको जलविद्युत् उत्पादन गर्न विद्युत् प्राधिकरणलाई अनुमति दिएको आयोजना प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । “आयोजना सञ्चालन गर्न डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)निर्माणको काम अन्तिम चरणमा पुगेको छ”,उनले भने । रभुँवाघाटमा बाँध गरी ताल निर्माण गरेर जम्मा गरिएको पानी सुरुङमार्फत १३.५ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने पावरहाउस (विद्युत्गृह)मा खसालिने जनाइएको छ । करीब रु एक खर्ब ५० अर्ब लगानीमा सम्पन्न हुने आयोजनाको ताल २१० देखि २३० मिटर गहिरो हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । रभुँवाघाटमा निर्माण गरिएको तालदेखि सोलुखुम्बूतर्फ दूधकोशी किनारमा दश किलोमिटर, खोटाङतर्फको रावाखोलामा आठ किलोमिटर र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने जनाइएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए । अधिकांश भूभाग खोटाङमा पर्ने भएकाले आयोजना सञ्चालन गर्दा सबैभन्दा बढी खोटाङका जनता विस्थापित हुने र सेवासुविधा पनि खोटाङकाले नै पाउने देखिएको छ । बहुउद्देश्यीय योजनासहित सञ्चालन गर्न लागिएको दूधकोशी जलविद्युत आयोजना देशको अन्य आयोजनाभन्दा कम खर्चमा सम्पन्न हुने अनुमान गरिएको छ । सन् २०२४ सम्ममा काम सक्ने गरी शुरु गरिएको आयोजनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “दूधकोशी जलविद्युत आयोजनाका लागि ऊर्जामन्त्रीदेखि राष्ट्रपतिसम्मले चासो देखाउनुभएको छ”, उनले भने । आर्थिक वर्ष २०७५/७६ को मध्यसम्ममा बोलपत्र आह्वान र सम्झौता गरी आर्थिक वर्ष २०७६/७७ देखि निर्माणको काम शुरु भएको छ । आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इञ्जिनीयरिङ डिजाइन, सामाजिक तथा वातवारणीय परीक्षण र बोलपत्रका कागजपत्र बनाउन एडिबीले चालू आर्थिक वर्षमा रु ३५ करोड अनुदान दिएको थियो । आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरण र एडिबीका अधिकारीबीच भएको पटकपटकको बैठकमा एडिबीले लगानी प्रस्ताव गरेको जनाइएको छ । आयोजनाका लागि अहिले वातावरणीय परीक्षण, सडक निर्माण, सरोकारवालाबीच कार्यशाला गोष्ठी, मुआब्जा वितरणका लागि पहललगायतका काम भइरहेको छ । दूधकोशी जलाशययुक्त आयोजना सफल पार्न रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ । सरोकार समाजले आफ्नो गतिविधिलाई जिल्लादेखि केन्द्रसम्मै तीव्रता दिएको छ । आयोजना सञ्चालनका लागि गत जेठ १६ गते ऊर्जामन्त्री वर्षमान पुन, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूबाट विजयी प्रतिनिधिसभा सदस्य, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक, विद्युत् विभागका महानिर्देशक सम्मिलित बैठकले उक्त आयोजनाको डिपिआर गर्ने टुङ्गो लगाएको थियो । सुरुङ निर्माणका लागि गत जेठ १० गते हिमाल कन्स्ट्रक्सन–वाइबा इन्फ्राटेक जेभीले विस्फोटको काम गरेको थियो । जापान सरकारको सहयोगमा कोशी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत विसं २०४२ मा दूधकोशी जलविद्युत आयोजना सञ्चालन गर्न सकिने पहिचान गरेको थियो । सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोशी जलाशयमा डुङ्गासयर, माछापालन तथा पर्यटन विकास हुने अपेक्षा गरिएको छ । जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गासयर गराउन सकिने जनाइएको छ । रासस
रेडक्रसले दियाे फागुको सन्देश: लैङ्गिक समानताको लागि कदम चाल
काठमाडाैं । लैङ्गिक लगायत विविध क्षेत्रमा समानताका लागि सोच, व्यवहार र योजनाको लागि रेडक्रसले आव्हान गरेको छ । फागु पूर्णिमाको अवसरमा होली शुभकामना दिँदै ह्यासट्याग ब्यालेन्सफरबेटर विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ तथा नेपाल रेडक्रस सोसाइटीले अन्तरक्रिया कार्यक्रम, प्रतिवद्धता र फोटो अभियान आयोजना गरेको छ । “लैङ्गिक, उमेर, भौगोलिक, स्वास्थ्य अवस्था जस्ता क्षेत्रमा विद्यमान असन्तुलित अवस्थाको अन्तको लागि सोँचमा परिवर्तन जरुरी छ ।” होलीको अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भने। “यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को समानताको सन्देश हाम्रोलागि वर्षभरी नै उपयुक्त छ ।” लैङ्गिक समानता अझै पनि वास्तविकता भन्दा टाढा रहेको तथ्याँक प्रस्तुत गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका नेपाल प्रमुख जुजा किमले एशिया प्रशान्त क्षेत्रमा लैङ्गिक असमानताले जरो गाडेको र संकटमा महिला नै वढी पर्ने अवस्था औँल्याए । उनले भने “रेडक्रस आफैले पनि लैँगिक समानताको लागि थप कार्य गर्न नेतृत्वको समूहले मनिला घोषणा जारी गरेको छ । विभिन्न ३६ वटा देशको सर्वेक्षण गर्दा रेडक्रसको निर्णायक मण्डलमा ७ सय ३८ मध्ये २०६ जना अर्थात् २८ प्रतिशत मात्र महिला रहेका छन् । त्यसमा ५० देखि ५९ वर्षसमूहको बाहुल्यता छ र ३० वर्षभन्दा मुनिका युवाहरुको सँख्या न्यून रहेको छ । तर, अर्कोतर्फ रेडक्रसको लाभान्वित सूचीमा महिलाहरुको सँख्या अधिक रहेको र ५६ प्रतिशत कर्मचारी महिला रहेको अवस्था छ ।” कार्यक्रममा सन् २०१९ मा नीति, योजना निर्माण र सहयोग क्षेत्रमा फरक तरिकाले काम गर्न नेपालमा कार्यरत रेडक्रस अभियानका अंगहरुका प्रतिनिधिहरुले विविधताको प्रवर्धन र लैङ्गिक समानताको लागि चित्र, सामुहिक र व्यक्तिगत फोटोमार्फत सन्देश दिए् । सामुहिक फोटोमा महिलाहरुको प्रगतिमा उत्सव मनाउने, कुरितिहरु अन्त गर्ने प्रतिवद्धता देखाइएको छ । कार्यक्रममा होलीको रंग लगाउँदै नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्य राज पौडेलले घर, कार्यस्थल र समुदायमा महिला तथा युवा समानताको लागि पैरवी गर्ने फोटो प्रदर्शन गरे । उनले भने, शुरक्षित र समावेशी बातावरणमा मात्र छलफल र पैरवीहरु प्रभावकारी हुने भएकाले विभिन्न सामाजिक सञ्जालमा ह्यासट्याग ब्यालेन्सफरबेटर राखी सन्तुलित अवस्थाको पक्षमा सन्देश दिन होलीको अवसरमा रेडक्रस सवैलाई आव्हान गर्दछ । समुह छलफल तथा प्रदर्शनीलाई नेपाल रेडक्रसका जीइएसआइ निर्देशक विपुल न्यौपाने, अष्ट्रेलियन रेडक्रसका मुकेश सिँ, तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका कार्यक्रम सँयोजक हारभे गजेयूले सहजीकरण गरेका थिए ।