विकासन्युज

हुण्डाइको नयाँ उत्पादन ‘औरा’ को स्केच सार्वजनिक, यस्ता हुनेछन् विशेषता

काठमाडाैं । कोरियन कार उत्पादक कम्पनी हुण्डाईले केहि समय पछि बजारमा सार्वजनिक गर्न लागेको आफ्नो नयाँ उत्पादन ‘औरा’ को स्केचलाई सार्वजनिक गरेको छ । कम्प्याक्ट सेडान बडि टाइपमा निर्माण भएको उक्त कार ग्य्राण्ड आइ१० निओस ह्याचब्याकमा आधारित हुनेछ । यस कारको अगाडिको ग्रिल र बम्परको डिजाइन ग्य्राण्ड आइ१० निओसको जस्तै हुनेछ भने डिआरएलहरु चाहिँ बुमर्याङ्ग आकारका हुनेछन्। त्यसैगरी फगल्याम्प चाहिँ त्रिभुज आकारको हुनेछ भने कारको दुवै साइडमा नयाँ किसिमको अलोए व्हिल जडान गरिनेछ । कारको इन्टेरियरमा चाहिँ ८.०इञ्च टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, स्टेयरिङ्ग माउण्टेड अडियो कन्ट्रोल्स र लेदर अपहोल्स्टेरी लगायतका विशेषता समावेश हुनेछन् । इञ्जिनतर्फ भने औरा १.२ लिटर पेट्रोल इञ्जिन, १.० लिटर पेट्रोल इञ्जिन र १.२ लिटर डिजेल इञ्जिन अप्सनहरुका साथ उपलब्ध हुनेछ । कम्पनीले जनाएअनुसार सवै इञ्जिनहरुमा ५-स्पिड म्यानुअल गियरबक्स जडान गरिएको हुनेछ र १.२ लिटर पेट्रोल तथा १.२ लिटर डिजेल इञ्जिनमा चाहिँ अटोमेटिक गियरबक्सको अप्सन पनि उपलब्ध हुनेछ । सार्वजनिक भएपश्चात सो कारले मारुती सुजुकी डिजायर, टाटा टिगोर, फोर्ड एस्पायर, भक्सवागन अमिओ र होण्डा अमेज जस्ता कारहरुसँग प्रतिष्पर्धा गर्नेछ ।

सेनाद्धारा कालीगण्डकी करिडोरको ३० किमी सडकखण्ड हस्तान्तरण, डिपिआर र बोलपत्र एकैसाथ

राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको कालिगण्डकी करिडोर बागलुङखण्डको रुद्रवेनी–अर्वेनी २० कलिोमिटर र मालढुङ्गा–वलेवा विमानस्थल १० किलोमिटर सडकखण्ड सडक विभागलाई हस्तान्तरण गर्ने कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली । बलेवा । छिमेकी भारत र चीनलाई जोड्न छोटो मार्ग मानिने निर्माणाधीन कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ जिल्लास्थित ३० किलोमिटर सडकखण्ड साेमबार नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाको निर्माण कार्यदलले सो करिडोरको माल्ढुङ्गा-बलेवा (बाग्लुङ) को १० किमी र रुद्रवेणी-अर्वेनी (गुल्मी) को २० किमी सडकखण्ड आज बलेवामा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा हस्तान्तरण गरिएको हो । उक्त सडकमा अब विभागले स्तरोन्नति र कालोपत्रको कार्य अघि बढाउने छ । सो करिडोरले भारतको सुनौलीदेखि चीनको कोरला नाका जोड्ने छ । कोरला नाका सञ्चालनका लागि नेपाल र चीन सरकारबीच उच्चस्तरमा सहमति भइसकेको छ आव २०६९/०७० देखि सो करिडोरअन्तर्गत गुल्मीको पाँहदी-अर्वेनी को १२ किमी सडकखण्डका लागि पाएको जिम्मेवारीअनुसार सेनाको विकास निर्देशनालयले ‘कालीगण्डकी करिडोर निर्माण कार्यदल’ गठन गरी काम प्रारम्भ गरेको थियो । सेनाले गुल्मीको हर्मिचौरमा आधारशिविर खडा गरी २०७० पुस २० गतेदेखि निर्माण गरेकामा पछि गुल्मीको रिडी-पालुङखोला हुँदै बाग्लुङको मालढुङ्गासम्म ८० किमीका लागि साधारण मार्ग खोल्ने थप जिम्मेवारी पाएको थियो । सेनाले सो करिडोरमा स्तरोन्नतिको काम पनि गरिरहेको छ । मन्त्री ज्ञवालीले जोखिमपूर्ण विकासनिर्माणमा सेनाले जिम्मेवारी दिएको उल्लेख गर्दै निर्माण व्यवसायीलाई सबै आयोजना गुणस्तरीयरुपमा समयमै पूरा गरी समृद्ध नेपालको अभियानमा सघाउन आग्रह गरे । “कानूनले गल्ती गर्ने कसैलाई सानो ठूलो चिन्न छोडेको छ”, गुल्मीबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री ज्ञवालीले भने “यदि कसैले कानूनको मर्मविपरीतका कार्य गर्छ भने सामान्य नागरिक र माननीय वा सम्माननीय भनेर विभेद हुँदैन । त्यस्तालाई कानूनी छहारी हुँदैन ।” आर्थिक विकासका लागि सरकारले बनाएका योजनामा सुशासनको महत्ववपूर्ण भूमिका रहने छ भन्दै मन्त्री ज्ञवालीले त्यसका लागि कानूनको सदुपयोग अत्यावश्यक रहेकामा जोड दिए । कालीगण्डकी करिडोर बागलुङ र गुल्मीसँग मात्रै सम्बन्धित नभएकाले यसले छिमेकी भारत र चीनबीचको व्यापार सम्बन्धमा अर्थ राख्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले राष्ट्रिय गौरवका आयोजनामा बजेटको अभाव नरहेको बताए । कालीगण्डकी करिडोरलाई अपुग रकम अन्य बजेट बढी भएका आयोजनाबाट रकमान्तर गरेर पनि विनियोजन गराइने उनले जनाए । देशका सबै कुनाकुनालाई सडक सञ्जालले जोड्नका लागि पूर्वपश्चिम र उत्तरदक्षिण जोड्ने सडकको निर्माणलाई सरकारले प्राथमिकताका साथ राखेको र अबको एक दशक विकास निर्माणको महाभियान सञ्चालन हुने उद्घोष गरेका छन् । हाल पूर्वपश्चिम जोड्ने चाार र उत्तरदक्षिण जोड्ने छ करिडोर निर्माण भइरहेको बताउँदै मन्त्री ज्ञवालीले भने “देशको समग्र मुहार नै परिवर्तन हुने गरी काम भइरहेको छ, हामीलाई जनताले विकास निर्माण र स्थिरताका लागि दिएको कार्यादेश हामी पूरा गर्नेछौँ ।” उनले पहिला पहिला जस्तो ‘दुई ढुङ्गाबीचको तरुल’ को हीनताबोधमा नरही नेपाल अब विश्वकै उदीयमान अर्थतन्त्र भएका दुई देशको बीचमा भएकाले त्यसबाट लाभ लिन पूर्वाधार विकास गर्नाको विकल्प नभएको बताए । “छिमेकीको घर ठूलो छ भनेर मेरो पनि त्यस्तै चाहियो भनेर मात्रै हुँदैन”, मन्त्री ज्ञवालीले भने “उसको जस्तो घर बनाउन हामीले प्रयत्न गर्न जरुरी छ ।” डिपिआर र बोलपत्र एकसाथ मन्त्री ज्ञवालीले ठूला आयोजनाको निर्माणमा हुने ढिलाइका लागि आगामी दिनमा वातावरणीय अध्ययन प्रतिवेदन र विस्तृत परियोजना प्रतिवेदन तयारीसँगै निर्माणका लागि बोलपत्र पनि आह्वान गर्न सकिने गरी हालै मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए । बोलपत्र छनोट गर्ने समयसम्म वातावरणीय प्रतिवेदन आइसक्नुपर्ने गरी निर्णय भएकाले आयोजनामा अब ढिलाइ नहुने उनले बताए । कार्यक्रममा राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्माले सेनाले हस्तान्तरण गरेको सडक खण्डमा सडक विभागले समयमै काम गरी यस क्षेत्रका जनताको लामो समयदेखिको सपना पूरा गर्नुपर्ने अपेक्षा व्यक्त गरे । प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले करिडोर निर्माण दल, जग्गादाता र सरोकार पक्ष सबैलाई धन्यवाद दिए । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पाएको जिम्मेवारी समयमा नै पूरा गर्नेछ भन्दै करिडोरको बाँकी खण्डको काम आगामी असार मसान्तसम्म सकिने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले करिडोरको बाँकी काममा बजेटको अभाव हुन नदिई तीव्रता दिइने बताए । बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले करिडोर समयमा बनेमा स्थानीय जनताले लाभ प्राप्त गर्ने जनाए । करिडोर निर्माणका लागि अभियान सञ्चालनकर्ता टीकाराम ढकालले विसं २०६४ मा गुल्मीको हर्मिचौरबाट आसपासका जिल्लाका गाउँका बासिन्दाको सहभागितामा आवाज उठाइएको स्मरण गरेका छन् । करिडोरअन्र्तगत केही सडकखण्ड यसअघि नै हस्तान्तरण भइसकेको छ ।

सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशतसम्म छुट

काठमाडाैं । सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशत छुट हुने भएको छ । बैंकले टर्किस एयरलाइन्ससँग टिकट सम्बन्धि सम्झौता गरेर आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने बताएको हो । मंगलबार बैंकले एक विज्ञप्ती जारी गर्दै १० प्रतिशत छुट हुने जनाएको हो । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्नक्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । यस सम्झौता अन्तर्गत सनराइजका ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्मको छुट पाउने व्यवस्था गरिएको छ । एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केचिची र सनराइज् बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । साथै उक्त सम्झाैता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमाजाँदा थप १० के.जीसम्म सामान लैजान पाउने व्यवस्था गरिएको छ । छुटका लागी ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाइ टिकट खरिद गर्नुपर्नेछ ।

पाटनकाे श्री भिमसेन मन्दिर पूनर्निर्माणमा हिमालयन बैंकको आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रमा अवस्थित श्री भिमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको उक्त मन्दिरलाई सो मात्राको सहयोग गरेको हो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहका बिच उक्त रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो । संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५औ वार्षिकोत्सवको अवसरमा पाटन दरवार क्षेत्र तथा श्री कृष्ण मन्दिर पुनर्निर्माण गर्न १ करोड रुपैयाँ प्रदान गरेको थियो ।

सडकका मगन्तेः पैसाकाे बिटाे देखाउनेदेखि अङ्ग्रेजी बाेल्नेसम्म

काठमाडौँ । उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चाबहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका पाइए । उनीहरुलाई उठाउन मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए । साथमा नेपाली प्रहरीको ठूलै समूह थियो । कोही सडकका पेटी, कोही सटरलगायतको घरको सिँढी त कोही मन्दिरलाई आड लिएर सुतिरहेका भेटिए । मित्रपार्क नजिकै सडक पेटीमा सुतिरहेकी एक महिलालाई उठाउन खोज्दा उनले मानिनन् । जसरी पनि लैजाने भनेपछि उनी जङ्गिइन् । “के मलाई सडकमा सुतेको छ भनेर हेप्न पाइन्छ, तिमीहरुभन्दा म के कम, मेरो घर छ, परिवार छ, म धनी परिवारकै मान्छे हुँ”, शरीरबाट पैसाको बिटो निकाल्दै उनी चर्किन् । प्रहरी देखेपछि उनलाई डर लागेर होला त्यसपछि रुन थालिन् । “भोलिदेखि सडकमा बस्दिन, आज आफन्तकोमा जान्छु”, भनेर ढिपी गरे पनि उनलाई उद्धार गरेर लगियो । गौशाला चोकमा ४९ वर्षीय जोन क्षेत्री पनि पेटीमा सुतिरहेका थिए । मजदूरी गरेर कमाइ गर्ने उनी पनि आश्रम जान मानेन् । आफन्त र साथीभाइ भएकाले आज यहाँ सुते पनि भोलिदेखि नसुत्ने अडान उनले लिए । आश्रमका अभियानकर्मी र प्रहरी मिलेर उठाउन खोजेपछि उनले ‘मानवीयता नभएको मान्छे’ भन्दै अङ्ग्रेजीमा गाली गरे । उद्धारका क्रममा कोही मजदूरी गरेर सडकमा सुतेका भेटिए भने कोही मदिरामा लठ्ठ भएर सुतिरहेको पाइए । चाबहिल नजिकिएको पुलमुनि धेरै मान्छे सुत्ने गरेको ओढ्ने र ओछ्यान भेटियो । राति १० बजे त्यहाँ पुग्दा अन्य व्यक्ति आइनसके पनि कुनामा एक जना सुतिरहेका थिए । पर्खालको भित्तो मुश्किलले चढेर जानुपर्ने पुलमुनि सुतिरहेको मानिस निकाल्न प्रहरीलाई हम्मेहम्मे नै पर्याे । सोमबार राति ८ देखि १०ः३० बजेसम्म चलाइएको उक्त उद्धार अभियानमा वास्तविक बेसहारा नभेटिए पनि दिनभर माग्ने पेशा अपनाएका, मजदूरी गर्ने गरेका र मदिरा पिएर लठ्ठ भई सडकमा बसेका धेरै भेटिए । सोही रात ३१ जनालाई उद्धार गरेर बालाजुस्थित अस्थायी आवास केन्द्रमा लगिएको छ । यसअघि यसरी नै ६१ जनालाई उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश संयोजक सुमन बर्तौलाले जानकारी दिए । केही दिनअघि मात्रै थापाथली पुलमुनि वाग्मती नदी किनारबाट एक बेवारिसे महिलाको उद्धार गरिएको थियो । काठमाडौंमा बेवारिसे मान्छे न्यून र पेशेवर मगन्ते तथा मजदूरी गरेर मदिरा खाई सडकमा सुत्ने धेरै भेटिएका छन् । गत मङ्सिर २९ गते काठमाडौँ महानगर, मानवसेवा आश्रम, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच सम्झौता भएर बेसहाराको उद्धार गरी संरक्षण र मगन्तेहरुको व्यवस्थापन अभियान थालिएको छ । अस्थायी आवास केन्द्रमा पुर्याउने छनोट गरी बेसहारालाई आश्रममा लगिने र अन्यलाई घरपरिवार पत्ता लगाएर सडकमा नआउने शर्तमा छाड्ने गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद-५ को दफा १२६ मा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसलाई कार्यान्वयनको चरणमा अहिले उद्धार अभियान चलाइएको हो । तीन महिना उक्त अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा राति सडकमा सुत्नेहरुको उद्धार शुरु भएको तथा त्यसपछि दिउँसो र बिहान मागेर बस्नेको व्यवस्थापन हुने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । काठमाडौँ महानगरले उद्धार गरेर राखिएकामध्ये वास्तविक बेसहारा, पेशेवर मगन्ते र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिको पहिचानका लागि बालाजुको भवनलाई छनोट केन्द्र (स्क्रिनिङ सेन्टर) बनाएको हो । यसअघि आश्रमकै पहलमा पहिलो पटक २०७४ साल चैत ५ गते पृथ्वीनारायण नगरपालिका र चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो । विसं २०७४ फागुन ४ गते मकवानपुर जिल्ला र २०७५ कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । विसं २०६९ मा स्थापना भई सडकमा रहेका असहाय र बेवारिसे मनोरोगीको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकालाई पुनःमिलन गराउँदै आएको छ । रासस

स्मार्ट मालपाेतकाे बिजाेग, एउटा जग्गा पास गर्न २ दिन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा कलंकी मालपाेत कार्यालयलाई स्मार्ट मालपाेतकाे रूपमा विकास भएकाे घाेषणा गरे । छिटाे छरिताे र प्रविधिगत ढंगले काम गर्नु नै स्मार्ट मालपाेतकाे विशेषता हाे । उनले चाँडाे सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सबै मालपोतलाई स्मार्ट मालपोतका रूपमा  विकास गर्ने पनि उद्घाेष गरे । उनले यतिसम्म भनेकी कलंकी मालपाेत कार्यालयबाट अब एक घण्टामा नै जग्गाकाे किनबेच हुन्छ । प्रधानमन्त्रीले घाेषणा गरेकाे स्मार्ट मालपाेतले काम गरेकाे पनि ६ महिना बितिसकेकाे छ । तर सेवाग्राहीले भने आजसम्म स्मार्ट मालपाेत सेवाकाे अनुभव नगरेकाे प्रतिक्रिया दिएका छन् । आइतबार काठमाडाैंका सोमबहादुर तामाङले रामकोटमा ८ आना जग्गा किने । उनी जग्गा पास गर्न कलंकी मालपाेत कार्यालयमा पुगे तर उनकाे काम एकदिन सकिएन । उनी फेरी साेमबार जग्गा पास गर्ने नै भनेर मालपाेत पुगे । साेमबारकाे तीन बजी सक्दा पनि अझै काम हुन्छ वा हुँदैन भन्ने उनी अन्याैलमा थिए । यस्तै अर्का सेवाग्राही मकवानपुर जिल्लाकाे पालुङबासी राजबलामीको पनि पीडा उस्तै थियो । उनले  पनि सतुङगलमा ४ आना जग्गा किने । त्यहि जग्गा पास गर्ने भनेर उनी त्यही मालपाेत कार्यालयमा पुगे ।  तर उनले पनि सोमबार राजस्व मात्रै तिर्न भ्याए । उनी पनि निराश हुँदै अब भोलि आउनु पर्ला भनेर घर फर्किए । यी केहि प्रतिनिधिमुलक घटनाहरू मात्र हुन् । यस्तै समस्या र सेवाग्राहीका पीडा स्मार्ट मालपाेतमा थुप्रै छन् । सरकारले घाेषणा गरेकाे स्मार्ट मालपाेत अहिले नाम मात्रमा स्मार्ट बनेकाे छ । सेवाग्राहीहरूले पमउने सास्ती र खर्चिने समय भने पुरानै हाे । कलंकी मलपोतका प्रमुख मालपोत अधिकृत टेकराज अर्याल भने सबै नयाँ कर्मचारी भएर पनि केही समस्या भएको  बताउँछन्  । ‘सोमबार, बुधबार र शुक्रबार जग्गा पास गर्दा शुभ हुने भनेर धेरै सेवाग्राहीहरु तिनै बारहरूमा आउने गदर्छन्’ उनले भने, अन्य दिन त्यस्ताे भिड हुँदैन । केही प्राविधक कारणले काममा समस्या भएकाे हुन सक्छ त्याे हामी चाँडै नै समाधान गर्नेछाैं ।’ केही दिन वल्र्ड लिङ्कको नेट नचलेकाे कारण समस्या भएकाे र अहिले सुविसुको नेट जाेडेका कारण त्याे समस्या नदाेहाेिरने उनले बताए । ‘सेवाग्राहीको चाप देखेर ४ बजे पछाडि काम गर्यो भने चलखेल सुरु भएको हो भनेर फोन आउँछ’ विहान ९ बजेनै कार्यालय खोल्यो भने पनि फोन आइहाल्छ, मलपोतको भिड मन्त्री, सचिव र विभागले पनि सिसिक्यामेराबाट हेरिरहेका हुन्छन्। तर पनि केही गर्न सकिएको छैन्’  उनले आफ्नै गुनासाे सुनाए ।

७० मेगावाट क्षमताको विद्युत उत्पादन घटेर ४५ मा झर्यो, अझै घट्ने क्रममै

काठमाडाैं । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दैजाँदा मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेँसीशहर नगरपालिका-१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, “पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । ” सन् २००८ मा २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न भएको थियो । यसैगरीे ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ । मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा आयोजनास्थल रहेको सो आयोजना करिव १६ अर्ब रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । त्यस्तै पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट समेत बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ । मध्य मर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी ‘ए’ र यी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रासस

सिंहदरबार-भद्रकाली सडकमा पेटी एवं ड्रेन निर्माण हुँदै, प्रारम्भिक लागत ७० लाख लाग्ने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयबाट भद्रकाली मन्दिर निस्कने सडकमा पेटी एवं ड्रेन निर्माण जारी रहेको छ । मुलुकको प्रशासनिकस्थल सिंहदरबारको प्रदेशद्वारमा अवस्थित सडक खण्ड सडक डिभिजन कार्यालय काठमाडौँले हालै कालोपत्र गरेको थियो । यहाँ रहेका विभिन्न कार्यालयले सहयोग जुटाएर ड्रेन तथा पैदलमार्गका लागि पेटी बनाउने काम अगाडि बढाएका थिए । ड्रेनको व्यवस्था नहुँदा वर्षाद्का समयमा यहाँका कार्यालय जलमग्न हुने गरेका थिए । सवारी र पैदल हिँड्नसमेत समस्या रहि आएको थियो । ड्रेन र पैदलमार्ग निर्माणमा ७० लाख ३१ हजार रूपैयाँ लाग्ने प्रारम्भिक लागत तयार भएको नेपाल टेलिकमकी सहायक सूचना अधिकारी सीता खनालले जानकारी दिए । उनले भद्रकाली प्लाजा क्षेत्रमा रहेका सबै कार्यालयले ती कार्यका लागि सहयोग जुटाउने भनिए पनि नजुटेसम्म आवश्यक बजेट टेलिकमले नै उपलब्ध गराएको बताए । यसअघि यो सडकलाई युनियन नेटवर्क इन्टरनेशनल (युएनआई) मार्ग नामाकरण गरी कालोपत्र, बगैँचा निर्माणका लागि पहल गरिएको थियो । कर्मचारीको अन्तर्राष्ट्रिय सङ्गठन रुपमा रहेको युएनआईले केही बजेट राखी बाँकी काठमाडौं महानगरपालिकाको समेत सहयोगमा ती काम अघि बढाइए पनि विविध कारणले बीचमै अल्झिएको थियो । हाल सडक ६.५ मिटर चौडाइ, एक मिटर पेटी र एक मिटर ढल निर्माण गरिँदैछ । सिंहदरबार भद्रकाली सडक नामाकरण गरिएको यो सडक ४०० मिटर लम्बाइ कालोपत्र गरिएको हो । अन्यत्रै विनियोजन गरिएको बजेटबाट यो सडक निर्माण गरिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कैलाशकुमार श्रेष्ठले बताए । पेटी बनाएपछि इच्छुमती (टुकुचा) माथिको पुल क्षेत्रमा के गर्ने भन्ने समस्या रहेको जनाइएको छ । पुलसमेत जीर्ण भइसकेकाले नयाँ हाल्न सडक डिभिजन कार्यालय काठमाडौँसँग माग गरिएको छ । सडकको तल्लो भागमा पेटी निर्माण गरिए पनि माथिल्लो भागमा युएनआईले बगैँचा बनाउन सक्ने गरी ठाउँ छोडिएको छ । रासस