काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा कलंकी मालपाेत कार्यालयलाई स्मार्ट मालपाेतकाे रूपमा विकास भएकाे घाेषणा गरे । छिटाे छरिताे र प्रविधिगत ढंगले काम गर्नु नै स्मार्ट मालपाेतकाे विशेषता हाे । उनले चाँडाे सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सबै मालपोतलाई स्मार्ट मालपोतका रूपमा विकास गर्ने पनि उद्घाेष गरे ।
उनले यतिसम्म भनेकी कलंकी मालपाेत कार्यालयबाट अब एक घण्टामा नै जग्गाकाे किनबेच हुन्छ । प्रधानमन्त्रीले घाेषणा गरेकाे स्मार्ट मालपाेतले काम गरेकाे पनि ६ महिना बितिसकेकाे छ । तर सेवाग्राहीले भने आजसम्म स्मार्ट मालपाेत सेवाकाे अनुभव नगरेकाे प्रतिक्रिया दिएका छन् ।
आइतबार काठमाडाैंका सोमबहादुर तामाङले रामकोटमा ८ आना जग्गा किने । उनी जग्गा पास गर्न कलंकी मालपाेत कार्यालयमा पुगे तर उनकाे काम एकदिन सकिएन । उनी फेरी साेमबार जग्गा पास गर्ने नै भनेर मालपाेत पुगे । साेमबारकाे तीन बजी सक्दा पनि अझै काम हुन्छ वा हुँदैन भन्ने उनी अन्याैलमा थिए ।
यस्तै अर्का सेवाग्राही मकवानपुर जिल्लाकाे पालुङबासी राजबलामीको पनि पीडा उस्तै थियो । उनले पनि सतुङगलमा ४ आना जग्गा किने । त्यहि जग्गा पास गर्ने भनेर उनी त्यही मालपाेत कार्यालयमा पुगे । तर उनले पनि सोमबार राजस्व मात्रै तिर्न भ्याए । उनी पनि निराश हुँदै अब भोलि आउनु पर्ला भनेर घर फर्किए ।
यी केहि प्रतिनिधिमुलक घटनाहरू मात्र हुन् । यस्तै समस्या र सेवाग्राहीका पीडा स्मार्ट मालपाेतमा थुप्रै छन् । सरकारले घाेषणा गरेकाे स्मार्ट मालपाेत अहिले नाम मात्रमा स्मार्ट बनेकाे छ । सेवाग्राहीहरूले पमउने सास्ती र खर्चिने समय भने पुरानै हाे ।
कलंकी मलपोतका प्रमुख मालपोत अधिकृत टेकराज अर्याल भने सबै नयाँ कर्मचारी भएर पनि केही समस्या भएको बताउँछन् । ‘सोमबार, बुधबार र शुक्रबार जग्गा पास गर्दा शुभ हुने भनेर धेरै सेवाग्राहीहरु तिनै बारहरूमा आउने गदर्छन्’ उनले भने, अन्य दिन त्यस्ताे भिड हुँदैन । केही प्राविधक कारणले काममा समस्या भएकाे हुन सक्छ त्याे हामी चाँडै नै समाधान गर्नेछाैं ।’ केही दिन वल्र्ड लिङ्कको नेट नचलेकाे कारण समस्या भएकाे र अहिले सुविसुको नेट जाेडेका कारण त्याे समस्या नदाेहाेिरने उनले बताए ।
‘सेवाग्राहीको चाप देखेर ४ बजे पछाडि काम गर्यो भने चलखेल सुरु भएको हो भनेर फोन आउँछ’ विहान ९ बजेनै कार्यालय खोल्यो भने पनि फोन आइहाल्छ, मलपोतको भिड मन्त्री, सचिव र विभागले पनि सिसिक्यामेराबाट हेरिरहेका हुन्छन्। तर पनि केही गर्न सकिएको छैन्’ उनले आफ्नै गुनासाे सुनाए ।
