विकासन्युज

उद्योग परिसंघले ऊर्जा दक्षता विकासमा उद्योगहरुलाई सहयोग गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघले जर्मन विकास सहयोग (जीआई जेड्) अन्तर्गत नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी नेपालका उद्योगहरुमा ऊर्जा दक्षता विकास गर्ने भएको छ । बुधबार एक कार्यक्रमबीच सो कार्यको सुरुवात गरिएको परिसंघले बताएको छ । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले गिज-नीपसँग परिसंघले सहकार्यको सम्झौता भइसकेको जानकारी समेत गराएका छन् । परिसंघका सदस्य प्रतिष्ठानलाई सेवातथा सुविधा उपलब्ध गराउन परिसंघमा छुट्टै ऊर्जा दक्षता डेस्क स्थापना समेत गरिएको उनले बताए । यस डेस्कअन्तर्गत परिसंघले ऊर्जा दक्षताविकास तथा सचेतना बढाउने कार्यलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । परिसंघका उपाध्यक्ष राजेश अग्रवालले ऊर्जा दक्षताको महत्वबारे प्रकाश पारेका थिए । यस्ता कार्यक्रमहरुले ऊर्जाको खपत कम गरी वस्तु उत्पादनको लागत मात्र कम नभई विभिन्न ऊर्जाजन्य वस्तुको आयातमा समेत कमी आउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा जर्मन राजदूतावासका डीसीएम डा. क्लायडिया हाइपीले जर्मन संघीय सरकारले नेपाललाई ऊर्जा दक्षताको क्षेत्रमा मात्र नभएर अन्य विविध क्षेत्रमा सहयोग गर्न सक्ने बताउँदै यस विषयमा परिसंघसँग सघन छलफल गर्ने प्रतिवद्धता गरेका छन् । जर्मन संघीय सरकारको आर्थिक सहयोग तथा विकास मन्त्रालय (विएमजेड) को निमित्त जर्मन विकास सहयोग–जीआईजेडको प्राविधिक सहयोगमा नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिंचार्ई मन्त्रालयद्धारा कार्यान्वयन गरिएको नेपाल ऊर्जा दक्षता कार्यक्रमको प्रमुख उद्देश्य ऊर्जा दक्षतालाई नेपालमा ऊर्जाको एक श्रोतको रुपमा पहिचान गराउनु रहेको छ । सन २०१० देखि सञ्चालित यस कार्यक्रमको हालको कार्यक्षेत्र नेपालमा ऊर्जा दक्षता तथा ऊर्जा संरक्षणको निमित्त नीति निमार्ण, विद्युतको माग तथा आपुर्तिको वितरणमा नेपाल विद्युत प्राधिकरणको क्षमता अभिवृद्धि, ऊर्जा दक्षताको सेवा तथा वस्तुहरुको बजार विस्तार तथा उच्च शिक्षा तथा प्राविधक शिक्षामा ऊर्जा दक्षता विषय समाहित गर्ने रहेको छ । कार्यक्रममा परिसंघका अर्का उपाध्यक्ष विरेन्द्रराज पाण्डेले ऊर्जा बचाउनु भनेको ऊर्जा उत्पादन गरे सरह भएको भन्दै हाल विद्युतीय ऊर्जाको उपलब्धता बढ्दै गएको सन्दर्भमा यसको प्रयोग विविधीकरण गर्न आवश्यक रहेको बताएका थिए । नेपाल ऊर्जा दक्षता कार्यक्रममा प्रमुख प्राविधिक सल्लाहकार फ्रयंक ब्रुमर, ऊर्जा दक्षता कम्पोनेन्ट लिड डा. सञ्जय गोखाली तथा ऊर्जा दक्षता विशेषज्ञ खेमराज भण्डारीले ऊर्जा दक्षताका विभिन्न आयमहरुका बारेमा विस्तृत जानकारी दिएका थिए । जर्मन संघीय सरकारको आर्थिक विकास तथाविकास मन्त्रालयअन्तर्गत ऊर्जा दक्षता विकास गर्न छुट्टै कोष(केएफडब्लु)समेत रहेको र सो कोषले ऊर्जा विकास गर्ने उद्योगहरुलाई आर्थिक सहयोग समेत गर्ने जानकारी केएफडब्लुका नेपाल स्थित परामर्शदाता ज्ञानेन्द्र उपाध्यायले गराएका छन् ।

नेपाल आइडल सीजन ३ शुरु हुँदै, प्रसारण सहयात्रीमा डिशहोम आबद्ध

काठमाडौं । नेपाली संगीतका पारखीहरुले सर्वाधिक रुचाएका रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सीजन ३ यहि पुषदेखि शुरु हुँदैछ । अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपि वान् एचडिले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ र विगतका २ सीजनले नेपालमा पनि यसको लोकप्रियता शिखरमा रहेको प्रमाणित गरिसकेको छ । नेपाल आइडल कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमको रियालिटी टिभी च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने छ । नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा डिशहोम पनि आबद्ध भएको छ । डिशहोम नेपाल आइडल सीजन ३ सँग पावरड बाई श्रेणीमा आवद्ध भएको छ । यसै सन्दर्भमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटले भनेका छन्, “हामी दर्शकहरुलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरन्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएका छौं । यसभन्दा अघिका अन्य रियालिटी शोहरुलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा हामी हर्षित छौं ।” एक जिम्मेवार वितरण संस्था भएको नाताले डिशहोमले सदैव दर्शकहरुको रुचीको कदर गर्ने गर्दछ । यसै प्रसंगमा डिशहोमाले नेपाल लोक स्टार तथा द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरिसकेको डिशहोम यसप्रकारका रियालिटी शोहरुलाई साथ दिन सदा प्रतिबद्ध छ ।

एनबीआईले सिभिल बैंकका कर्मचारीलाई विभिन्न तालिम दिने

काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई)बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ । सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै दक्ष जनशक्तिद्धारा ग्राहकसेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या ८० पुगेको छ ।

चार महिनामा देशको अर्थतन्त्रः विदेश जाने बढे, रेमिटान्स घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा आयात र रेमिटान्स दुबै घटेको छ । आयात करिब ७ प्रतिशतले घटेको छ भने रेमिटान्स आप्रवाह २.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार कात्तिक महिनासम्ममा ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ । यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो ४ महिनामा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ । एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट गरिएको निर्यातमा कमी आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा कमी आएको छ । चालु आर्थिक वर्षको ४ महिनासम्ममा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले की आएर ४ खर्ब १४ अर्ब २ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । चार महिनामा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.१ प्रतिशत रहेको थियो । विदेश जाने बढे, रेमिटान्स घट्यो रेमिटान्स (विप्रेषण आप्रवाह) २.३ प्रतिशतले घटेर ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो । मूल्यबृद्धि झण्डै ६ प्रतिशत गत कात्तिकमा मूल्यबृद्धि ५.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यबृद्धि ४.१५ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि केही बढी छ । गत कात्तिकमा काठमाडौं उपत्यकामा ६.५० प्रतिशत, तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मूल्यबृद्धि भएको छ । अघिल्लो वर्षको कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मूल्यबृद्धि थियो । निर्यात २४ प्रतिशतले बढ्यो चालु आर्थिक वर्षको ४ महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले बढेको छ । यो अवधिमा ३६ अर्ब २८ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ । तर, चीनतर्फको निर्यात ६ प्रतिशतल र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ । आन्तरिक कर्जा खुम्चियो चालु आर्थिक वर्षको ४ महिनामा कुल आन्तरिक कर्जा २.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.१ प्रतिशतले बढेको थियो । निक्षेप ३.१ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.६ प्रतिशतले बढेको थियो । गत कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३२.५ प्रतिशत र ४८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३४.७ प्रतिशत र ४६.२ प्रतिशत रहेको थियो । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.७ प्रतिशत छ । अघिल्लो वर्षको कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो । ५ प्रतिशतले बढ्यो कर्जा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.५ प्रतिशतले बढेको थियो । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.५ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.२ प्रतिशत र १४.७ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ८.६ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा ६.८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशत, हायर पर्चेज कर्जा १.१ प्रतिशत र ओभरड्राफ्ट कर्जा ०.९ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा १.५ प्रतिशतले घटेको छ ।

निर्यातको शाख धान्दै अलैची, ३ महिनामा डेढ अर्बको निर्यात

काठमाडौं । नेपालमा उच्च महत्वका साथ उत्पादन हुने अलैचीले अन्तराष्ट्रिय व्यापारमा पनि उच्च स्थान बनाएको छ । नेपालबाट निर्यात हुने प्रमुख कृषि उत्पादनमा अलैची अग्रस्थानमा रहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब ५४ करोड रुपैयाँ बराबरको अलैची निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा अलैची निर्यात बढेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षको ३ महिनामा ९७ करोड २७ लाख रुपैयाँ बराबरको अलैची निर्यात भएको थियो । पछिल्लो समय नेपालमा उत्पादित कृषिजन्य वस्तुको निर्यात बृद्धि भइरहेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ३ महिनामा ८ करोड २५ लाख रुपैयाँ बराबरको ताजा तरकारी निर्यात भएको छ । गतवर्षको सोही अवधिमा १ करोड ४२ लाख रुपैयाँ बराबरको ताजा तरकारी निर्यात भएको थियो । यो अवधिमा १६ करोड ६६ लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा १९ करोड १७ लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको थियो । यस्तै, १ अर्ब १६ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

कृषि विकास बैंकले होमस्टे एशोसियसनमा आवद्ध एक हजार सञ्चालकलाई कर्जा दिने

काठमाडौं । कृषि विकास बैंकले होमस्टे (घरवास) एशोसियसन नेपालमा आवद्ध रहेका करिब एक हजार होमस्टे सञ्चालकलाई परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा दिने भएको छ । बुधबार कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपालबीच वित्तीय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै होमस्टे सञ्चालकहरूले उक्त सेवा सुविधा पाउने भएका हुन् । साथै, बैंकले एसोसियसनको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार बाख्रापालन, तरकारी खेती, स्थानिय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा सहुलियतपूर्ण कर्जा समेत दिने बैंककाे कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाले बताएका छन् । थापाका अनुसार कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालिम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम/सहयोग समेत गर्नेछ । बुधबार भएकाे सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होमस्टे (घरबास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले होमस्टे (घरबास) एशोसियसन नेपालसंग गरिएको यस प्रकारको सम्झौताले नेपालका ग्रामिण क्षेत्रहरुमा रहेका होमस्टेहरुको पहिचान, प्रवद्र्धन, बजारीकरण, स्थानिय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् । यस सम्झौताले नेपाल सरकारले ल्याएको भ्रमण बर्ष २०२० को कार्यक्रम सफल पार्न महत्वपूर्ण योगदान पुग्नुका साथै समृद्ध नेपाल सुखी नेपालीको नारा सफल पार्न समेत सहयोग पुग्ने उनले बताएका छन् । उक्त अवसरमा होमस्टे (घरवास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले यस प्रकारको सम्झौताबाट दरुदराजमा रहेका होमस्टेहरुमा प्रकृति तथा स्थानिय संस्कृतिसंग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई स्थानिय रितिरिवाज, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ बन्यजन्तु संरक्षण गर्न र दिगो जिविको पार्जनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

५ अर्ब लगानी थप्दै डावर नेपाल, फाइल लगानी बोर्ड पठाइदै

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले ५ अर्ब रुपैयाँ लगानी थप्नका लागि उद्याेग विभागमा पेश गरेको फाइल लगानी वोर्ड पठाउने तयारी भएको छ । सार्वजनिक निजी साझेदारी ऐनले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानीको स्वीकृति लगानी वोर्डले दिने क्षेत्राधिकार तोकेले विभागले फाइन बाेर्डमा पठाउन लागेकाे हाे । विभागका निर्देशक प्रेम लुइटेलका अनुसार डावर नेपालले गत महंसिरमा लगानी बृद्धि गर्ने प्रश्ताव उद्याेग विभागमा पेश गरेको थियाे । ऐनको व्यवस्थाअनुसार नै डावर नेपालकाे फाइल विभागले बोर्डमा पठाउन लागेको हो । ९ अर्ब चुक्ता पुँजी भएको डाबर नेपालले लगानी ५ अर्ब रूपैयाँ थप गरेर चुक्ता पुँजी बृद्धि गर्न लागेको हो । डाबर नेपालले आफ्नो उत्पादन वृद्धि गर्न र बजारको माग पूरा गर्न भन्दै लगानी बृद्धिको प्रस्ताव गरेको छ । डाबर नेपालको उत्पादनहरु विश्वका १२० राष्ट्रका ६० लाख पसलहरुमा उपलब्ध रहेको कम्पनीको भनाई छ । उद्योगको उत्पादन क्षमता विस्तार गर्दा वातावरणमा पर्ने प्रभावको मूल्याङकन लगायतका विविध पक्षलाई हेरेर लगानी स्वीकृत दिइने लुइटेलले बताए । पछिल्लो समय डाबर नेपालको उत्पादन गुणस्तरीय भएका कारण उपभोक्ताले रुचाएका छन् । यसले पनि कम्पनीलाई उत्पादन बढाउन उत्प्रेरित गरेको जनाएको छ । हाल डाबरले रियल, चेवनप्रास, टुथपेस्ट, हाजमोला, हेयर आयल लगायतका उत्पादन गर्दै आएको छ । यस्तै, कम्पनीले मह, ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिलका थुप्रै उत्पादनहरु बिक्री गर्दै आएको छ । हाल डाबरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादन केन्द्रहरु छन् । नेपालसहित विश्वका ७ राष्ट्र युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, बंगलादेश र भारतमा १२ गरी जम्मा १९ ठाउँमा यसका उत्पादन केन्द्रहरु छन् । हाल नेपालमा ९ अर्ब रूपैयाँ लगानी रहेको कम्पनीले लगानी थप्नका लागि उद्योग विभागमा प्रस्ताव गरेको छ । डाबर नेपाल सन् १९८९ मा स्थापना भएको थियो । यसले व्यवसायिक उत्पादन भने सन् १९९२ बाट शुरु गरेको थियो । पहिलो वर्ष ५३ लाख रुपैयाँ कारोबार भएको यो कम्पनीले अहिले करिब १० अर्बको कारोबार गर्छ । कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २५ हजारलाई रोजगारी दिएको छ । डाबर नेपालले राजश्वमार्फत नेपाल सरकारलाई सहयोगसमेत पुर्याएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा डावर नेपाललाई सम्मान गरेको थियो । डाबर नेपालले निर्यातकर्ताको तर्फबाट सम्मान पाएको थियो ।

ग्लोकल आफ्टर स्कुलकाे आयोजना हुन लागेको सिप हप्ताका लागि आवेदन खुल्ला

काठमाडौं। ग्लोकलले सिप हप्ता नामक कार्यक्रमको आवेदन खोलेको छ।  विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, प्रदर्शनी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कार्यक्रमकाे आवेदन खोलेको हो। ग्लोकल आफ्टर स्कुल ग्लोकलको मातहतमा चल्ने एउटा इकाइ हो । ग्लोकलको स्थापना देखी ग्लोकल आफ्टर स्कुल ग्लोकलको अभिन्न अङ्ग बन्दै आएको छ । बजारमा दक्ष्य जनशक्तिको वृद्दि गर्न ग्लोकल आफ्टर स्कुलले बिभिन्न रोजगारीमुलक सिपयुक्त तालिमहरु प्रदान गरिरहेको छ। हालसालै ग्लोकल प्रा. लिमिटेडले श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रशिक्षण विभागका लागि सीपलाई बढावा दिन भावी जीवनको लागि सिप ‘नेपालमा भविष्यको रोजगारको लागि सिपहरु’ भन्ने बिषयमा अनुसन्धान गरेको थियो। सोही अनुसन्धानको नतिजालाई महत्व मानी ग्लोकलले सिप हप्ता नामक कार्यक्रमको आयोजना गर्न लागेको हो। कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दो सिपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई सिप हप्ता नामक कार्यक्रम २० जनवरी देखी २६ जनवरी सम्म सन्चालन हुँदैछ। १६ देखि ३० वर्षकाले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिप विकासकोबारे जानकारी लिन सक्नेछन । सिपमुलक तालिम देखी रोजगारीको अवसरमा देखिने ग्यापलाई कम गर्ने लक्ष्य लिएर जनवरी २०२० मा सिप हप्ता सन्चालन हुने भएको हो । यो युवाहरुका लागि एक खुल्ला मन्च हो । सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका विभिन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन् । सिप हप्ताले युवाहरुलाई विभिन्न सिपका बारेमा अन्वेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हाँसिल गर्न सहयोग पुग्नेछ । ग्लोकल प्रालीका सहनिर्देशक काजोल झा ठाकुर भन्छन्, सिप हप्ता युवाहरुका लागि उनिहरुको प्रतिभा प्रस्फुटन, अन्तर दृष्टि एवम ज्ञानका लागि महतव्पूर्ण मन्च साबित हुनेछ र बद्द्दो जनशक्तीको मागलाई पुर्ती गर्न, आवश्यकता अनुरुप सिप बृदि गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । कार्यक्रममा  कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधीकाे ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ। छलफल, सिपमुलक प्रस्तुती, प्रदर्शनी, प्रतिस्पर्धा, कार्यशाला, तालिम, खाना तथा मनोरन्जन कार्यक्रमका मुख्य विशेषता रहेकाे छ । २० देखी २४ जनवरी सम्म विभिन्न संघसंस्थाद्वारा तालिम एवम कार्यशाला प्रदान गरिने छ । जीवनउपयोगी सिपहरु अन्तर्गत चलचित्र महोत्सव पनि सन्चालन गरिने छ जसमा युवाद्वारा नै निर्मित २ मिनटको चलचित्र प्रदर्शन हुनेछ । २५ जनवरीमा सिप उत्सब एवम प्रदर्शनी बबरमहल स्थित किङ्स कलेजमा आयोजना गरिने छ। यस्तै २६ जनवरीमा समापन समरोहलाई लक्षित गरेर सिईवो अनपल्गड २०२० नामक भव्य कार्यक्रम सन्चालन गरिनेछ । सिईवो अनपल्गड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो। यो एक फोरम हो जहाँ व्यापारकाे चुनौती, अवसर एवम् प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न सन्चालन गरिन्छ । कार्यक्रमको मुख्य नारा भनेको ‘आजले भोलीलाई भेट्छ’ रहेको छ ।