काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले ५ अर्ब रुपैयाँ लगानी थप्नका लागि उद्याेग विभागमा पेश गरेको फाइल लगानी वोर्ड पठाउने तयारी भएको छ । सार्वजनिक निजी साझेदारी ऐनले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानीको स्वीकृति लगानी वोर्डले दिने क्षेत्राधिकार तोकेले विभागले फाइन बाेर्डमा पठाउन लागेकाे हाे ।
विभागका निर्देशक प्रेम लुइटेलका अनुसार डावर नेपालले गत महंसिरमा लगानी बृद्धि गर्ने प्रश्ताव उद्याेग विभागमा पेश गरेको थियाे । ऐनको व्यवस्थाअनुसार नै डावर नेपालकाे फाइल विभागले बोर्डमा पठाउन लागेको हो । ९ अर्ब चुक्ता पुँजी भएको डाबर नेपालले लगानी ५ अर्ब रूपैयाँ थप गरेर चुक्ता पुँजी बृद्धि गर्न लागेको हो । डाबर नेपालले आफ्नो उत्पादन वृद्धि गर्न र बजारको माग पूरा गर्न भन्दै लगानी बृद्धिको प्रस्ताव गरेको छ ।
डाबर नेपालको उत्पादनहरु विश्वका १२० राष्ट्रका ६० लाख पसलहरुमा उपलब्ध रहेको कम्पनीको भनाई छ । उद्योगको उत्पादन क्षमता विस्तार गर्दा वातावरणमा पर्ने प्रभावको मूल्याङकन लगायतका विविध पक्षलाई हेरेर लगानी स्वीकृत दिइने लुइटेलले बताए ।
पछिल्लो समय डाबर नेपालको उत्पादन गुणस्तरीय भएका कारण उपभोक्ताले रुचाएका छन् । यसले पनि कम्पनीलाई उत्पादन बढाउन उत्प्रेरित गरेको जनाएको छ । हाल डाबरले रियल, चेवनप्रास, टुथपेस्ट, हाजमोला, हेयर आयल लगायतका उत्पादन गर्दै आएको छ । यस्तै, कम्पनीले मह, ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिलका थुप्रै उत्पादनहरु बिक्री गर्दै आएको छ ।
हाल डाबरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादन केन्द्रहरु छन् । नेपालसहित विश्वका ७ राष्ट्र युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, बंगलादेश र भारतमा १२ गरी जम्मा १९ ठाउँमा यसका उत्पादन केन्द्रहरु छन् । हाल नेपालमा ९ अर्ब रूपैयाँ लगानी रहेको कम्पनीले लगानी थप्नका लागि उद्योग विभागमा प्रस्ताव गरेको छ ।
डाबर नेपाल सन् १९८९ मा स्थापना भएको थियो । यसले व्यवसायिक उत्पादन भने सन् १९९२ बाट शुरु गरेको थियो । पहिलो वर्ष ५३ लाख रुपैयाँ कारोबार भएको यो कम्पनीले अहिले करिब १० अर्बको कारोबार गर्छ । कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २५ हजारलाई रोजगारी दिएको छ ।
डाबर नेपालले राजश्वमार्फत नेपाल सरकारलाई सहयोगसमेत पुर्याएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा डावर नेपाललाई सम्मान गरेको थियो । डाबर नेपालले निर्यातकर्ताको तर्फबाट सम्मान पाएको थियो ।