विकासन्युज

बैंकका स्कीमः ३० लाख नगद हुनेले १ कराेडकाे घर किन्न सक्ने, घर बनाउन चाहिने सबै रकम बैंकले दिने

काठमाडौं । आफू बस्दै आएको वा मन परेको ठाउँमा एउटा घर बनाउनु प्रायः सबै नेपालीको चाहना हो । तर, चाहनाले मात्रै पुग्दैन । साढे २ तले आवाशीय घर बनाउन पनि ७५ लाख रुपैयाँको हाराहारीमा खर्च लाग्छ । यस्तो खर्चमा घडेरी किन्ने पैसा पनि थप्नुपर्यो भने सामान्य पेशा व्यवसाय गर्ने नेपालीको लागि काठमाडौं उपत्यका जस्ता शहरी क्षेत्रमा घर बनाउने सपना पूरा गर्न गाह्रै पर्ने हुन्छ । तर, नेपालीको चाहना र बजारको यथार्थलाई समन्वय गर्न बैंकिङ क्षेत्रले नयाँ नयाँ योजनाहरु ल्याउन लागेका छन् । बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै नयाँ घर बनाउनको लागि प्याकेज घोषणा गरेको हो । राष्ट्र बैंकले यसअघि नै सार्वजनिक गरेको प्याकेज घर वा अपार्टमेन्ट नभएका र अपार्टमेन्ट वा घर बनाउनको लागि बैंक वित्तीय संस्थाबाट ऋण नलिएका व्यक्तिहरुका लागि हो । यस्तो छ राष्ट्र बैंकको प्याकेज राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्ति (फस्ट होम बायर) लाई लक्षित गरी नयाँ योजना ल्याएको थियो । बैंक वित्तीय संस्थाले दिने १ करोड ५० लाख रुपैयाँसम्मको आवाशीय घर कर्जामा ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था नयाँ योजनामा छ । यो योजनाअनुसार २ करोड १४ लाख रुपैयाँको घर वा अपार्टमेन्ट किन्दा त्यसको ७० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँसम्म बैंक वा वित्तीय संस्थाले ऋण दिनेछ । बाँकी ६४ लाख रुपैयाँ भने बैंकमा बुझाउनु पर्नेछ । यसअघि घर वा अपार्टमेन्ट किन्न धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्रै ऋण लिन पाइन्थ्यो । यस्तो ऋण लिने ऋणीको किस्ता बढाउन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सानिमा बैंकको योजना सानिमा बैंकले नयाँ घर बनाउनेहरुलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्थालाई सहयोग गर्नको लागि सानिमाले नयाँ योजना ल्याएको हो । सानिमा बैंकले ल्याएको योजनाअनुसार पहिलो पटक घर बनाउन ऋण लिने व्यक्तिहरुले घर निर्माणको शतप्रतिशतसम्म ऋण लिन पाउने छन् । घर बनाउन चाहिने जति पैसा बैंकले ऋणको रुपमा दिने भएपछि घर बनाउन सहज हुनेछ । एनएमबी बैंकको योजना एनएमबी बैंक र मेरोघरडटकमबीच सम्झौता भएको छ । यो सम्झौता अनुसार पनि मेरोघरसँगको समन्वयमा बनाउने घरमा बैंकले नै ऋण दिनेछ । घर बनाउन लाग्ने जति खर्च हुन्छ, सो बराबरको रकम बैंकबाट ऋणको रुपमा प्राप्त हुने गरी व्यवस्था मिलाइने मेरोघरको भनाइ छ । यो योजनामा सहभागी हुनेले पनि घर बनाउनको लागि आफूले लगानी नगरी बैंकको साँवा व्याजको किस्ता मात्रै तिरे हुनेछ ।

सद्गुरु ओशो सिद्धार्थ पुस ५ गते नेपाल आउँदै

काठमाडौं । आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस ५ गते नेपाल आउने भएका  छन्।ओशोधारा संघ नेपालको निमन्त्रणामा उनी नेपाल आउने भएका हुन् । नेपाल आगमनका क्रममा उनले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । पुस ७ गतेदेखि १२ गतेसम्म बुटवलको मंगलापुरस्थित ओशो भिलेजमा बृहत अजपा तथा चैतन्य समाधी कार्यक्रममा उनले सहभागिता जनाउने ओशोधारा संघ नेपालका संयोजक आचार्यश्री ओशो महेन्द्रले जानकारी दिए । कार्यक्रममा ओशो सिद्धार्थ औलियासँगै ठूलो संख्यामा भारतीय साधकसाधिकाको सहभागिता रहने छ । ओशो सिद्धार्थ औलिया लगायत साधकसाधिकालाई लुम्बिनी भ्रमण गराउने जनाइएको छ । घर, परिवार, समाज त्यागेर मात्र अध्यात्मिक सुखशान्ति प्राप्त गर्न सकिन्छ भन्ने पुरातनवादी मान्यतालाई चिर्दै ओशोले घर, परिवार, सामाज तथा व्यवसाय सम्हाल्दै ध्यानमार्फत शान्ति हासिल गर्न सकिने परिकल्पनालाई साकार पारेको बुझिएको छ ।

सडक दुर्घटना : पाँच महिनामा ९ सय २१ जनाको मृत्यु, दुर्घटनाको दोषी को ?

काठमाडाैं । बढ्दाे सवारी साधन सँगसँगै सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि दैनिक बढ्दै गएको छ । नेपालमा दिनमा सरदर ६/७ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका छन् । साउनदेखि हालसम्म अर्थात यो पाँच महिनाको अवधिमा नेपालमा सडक दुर्घटनाबाटै ९ सय २१ जनाले ज्यान गुमाएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा उपत्यकाभित्र ७६ जनाको सडक दुर्घटनाबाट मृत्यु भइसकेको छ । गत आर्थिक वर्षमा मात्रै देशभरका २ हजार ७ सय ८९ जनाले दुर्घटनाबाट ज्यान गुमाएका थिए । ती मध्ये २ सय ५९ जनाकाे उपत्यकाभित्रकाे दुर्घटनामा मृत्यू भएकाे महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले पछिल्लो समय सडक दुर्घटना कमि आएपनि यसलाई न्युनिकरणका लागि सबै पक्षहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीको पक्षबाट हुने विभिन्न प्रयास तथा कार्यक्रमहरु सञ्चालन भइरहेको बताए । चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकार बनाउनका लागि ट्राफिक सचेतनामुलक अभियान अन्तर्गत ट्राफिक उज्यालो कार्यक्रम, सचेतना कक्षालगायतका नयाँ कार्यक्रमहरु सुरु गरिएको उनको भनाइ छ । पछिल्ला केही महिनामा मात्रै सवारी दुर्घटना हुने क्रम बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसको सत्यतथ्य बुझ्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीकाे निर्देशन बमोजिम सरोकारवालाहरुले पनि दुर्घटनाको कारण, यसलाई कसरी कम गर्न सकिन्छ भन्नेलगायतका विषयहरुमा तिव्र बहस चलाउन थालेका छन् । प्रमुख ढकालले नेपालमा ट्राफिक प्रहरीमा जनशक्ति कम भएको कारणले काम गर्न पनि असहज भएको बताए । उनले एक जना ट्राफिकले ९ सय सवारी साधनलाई हेर्नु पर्ने बाध्यता रहेको उल्लेख गरे । हालसम्म ट्राफिक नियम उल्लघंन गर्ने ४१ हजार जनाले ट्राफिक सचेतना कक्षा लिएको उनले बताए । तीन महिनामा १ लाख जनालाई सचेतना कक्षा लिने लक्ष्य रहेको बताए । सबै चालकले अनुशासित भएर र ट्राफिक नियमको पालना गरे ५० प्रतिशत दुर्घटना रोकिने उनको भनाइ छ । बस व्यवसायी के भन्छन ? धेरैले सडक दुर्घटनामा बस व्यवसायीहरुको पनि दोष रहेको बताइरहेको बेला बस ब्यवसायीहरु भने सरकारलाई दोष दिन्छन् । बस ब्यवसायीहरुले सरकारले यातायात क्षेत्रलाई त्यति ध्यान नदिएका कारण पनि दुर्घटनामा कमि नआएको बताउँछन् । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटना हुनु पछाडीको मुख्य दोषी सरकार भएको बताए । यातायात मन्त्रालयले सडकको तथा यातायातको स्तरोन्नति र विभिन्न अन्र्तक्रियात्मक कार्यक्रममा ध्यान नदिएका कारण पनि दुर्घटनमा कमि आउन नसकेको सिटाैलाकाे भनाइ छ । ‘इन्जिनियरविना सडक निर्माणको काम हुन्छ, हालसम्म चालकलाई तालिम दिने तथा उनीहरुको क्षमतावृद्धिका लागि कुनै कार्यक्रम भएका छैनन्, यसले पनि देशको सवारी दुर्घटनामा कमि नआएको हो,’ सिटाैलाले भने । डाक्टरलाई परिपक्क बनाउन एक करोड खर्च लगानी गर्ने तर चालककाे क्षमताबृद्धिका लागि एक रुपैयाँ पनि लगानी नगर्ने प्रवृतिका कारण धेरै जनाले ज्यान गुमाउनु परिरहेकाे उनकाे भनाइ छ । टेकुमा राखिएको सवारी जाँच गर्ने फिटनेस् सेन्टरको प्रसंग जोड्दै सिटाैलाले त्यो अहिले म्युजिएमका रुपमा प्रयोग भएको बताए । सरकारले दुर्घटनामा कमि ल्याउनका लागि भिरका सडकहरुमा रेलिङ लगाएर पनि दुर्घटना कम गर्न सकिने उनको भनाइ छ । सडक विभागका महानिर्देशक केशव शर्माले सडक दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि भएको उल्लेख गरे । उनले विश्वमा मानिसहरुको मृत्यु हुनुको तेस्रो कारण दुर्घटना भएको बताउँदै यसलाई न्युनिकरण गर्न आवश्यक रहेको बताए । मानवीय, भौतिक संरचना, सवारी साधनको अवस्था र मौसमी लगायतका कारणले दुर्घटना बढी हुने उल्लेख गर्दै उनले यी कुराहरुलाई ध्यानमा राखेर काम गरे सडक दुर्घटना कम गर्ने सकिने बताए । देशका ८३ हजार सडकहरुमध्ये १५ हजार सडक सडक विभागले हेर्ने गरेको  छ ।

सुनचाँदीमा राजश्व छली गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले रु एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग ललितपुरले जनाएको छ । उनीहरुले रु एक करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै रु चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक उक्त मूल्यको सुन र चाँदी फेला पारी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो । अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरी ल्याएको देखिएको विभागले जनाएको छ ।

दुर्घटना कम गर्न ‘हर दिन प्रशिक्षण’ अभियान शुरू

बाँके । बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान शुरु गरेको छ । ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्ने बारेमा प्रशिक्षण दिन प्रहरीले जिल्लाव्यापी अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिएका छन् । “दुर्घटना नै नहोस् भनेर सडकमा हिँड्ने यात्रु र सवारीसाधन चालकलाई लक्षित गरेर दैनिक रुपमा प्रशिक्षण दिने कार्यक्रम अघि सारेका हौँ”, प्रमुख एवं प्रहरी निरीक्षक बमले भने, “सवारी, मापसे चेकजाँचलाई पनि निरन्तरता दिइरहेका छौँ ।” उनले नगर क्षेत्रमा पनि ट्राफिक सचेतनाका लागि सडकमै प्रशिक्षण शुरु गरेको बताए । “सडक यात्रु, विद्यार्थी र सवारी चालकलाई लक्षित गरी प्रशिक्षण दिन थालेका हौँ”, उनले भने, “दुर्घटना न्यूनीकरणका लागि प्रशिक्षणको शुरुआत गरेका हौँ । हामीले सडकमै बसेर चालक र सडक यात्रुलाई ट्राफिक नियम सिकाउन शुरु गरेका छौँ ।” विभिन्न ठाउँमा ट्राफिक सङ्केत पनि राखेको र त्यसलाई पालना गराउन प्रशिक्षण दिइरहेको उनले बताए । ट्राफिक प्रहरी प्रमुख बमले दुर्घटना न्यूनीकरणका लागि यसअघि ‘रेट्रो स्टिकर’ सवारी साधनमा टाँस्ने, दुर्घटना गर्ने सवारीसाधनको पहिचानका लागि मेटिएका नम्बर प्लेट पुर्नलेखन गर्ने, मोडिफाइ गरिएका मोटरसाइकललाई दुरुस्त बनाउन लगाउनेलगायतको काम गरिसकेको जानकारी दिँदै नगर क्षेत्रको ठाउँठाउँमा सन्देशमूलक बोर्ड पनि राखिएको बताएका हुन् । उनले भने, “विद्यालय जाने क्रसिङमा विद्यालय क्षेत्र रहेको सूचनासमेत राखेका छौँ ।” सबैले नियमको पालना गरे दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु नपर्ने उनले बताए । सडक सङ्केत र विभिन्न ट्राफिक चिह्नको कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न विभिन्न क्षेत्रसँग समन्वय गरेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सवारी चालकलाई सडकमै घुम्ती प्रशिक्षण, यातायात व्यवसायीलाई सवारी दुर्घटनासम्बन्धी जानकारी गराई चालक तथा सवारीधनीलाई समेत जिम्मेवार गराइएको र पैदलयात्रुलाई समेत सडक प्रयोगसम्बन्धी जानकारी दिँदै आएको छ । रात्रि सेवाका बसमा दुई जना चालक अनिवार्य गर्न ट्राफिक कम्प्युनिकेशन एपको समेत प्रयोग गरिएको छ । रासस

प्राधिकरणका इलेक्ट्रिकल हेल्पर कोइरी घुस रकमसहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बाराका इलेक्ट्रिकल हेल्पर (तह २) राजदेव महतो कोइरीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । नयाँ विद्युत मिटर जडान गर्नको लागि सिफारिस गरी दिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा कोइरीलाई ९ हजार घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । कोइरीलाइ ९ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

इन्टरनेट सेवाः पहिला गुणस्तर कि सेवा विस्तार भन्नेमा नियामक र व्यवसायीको मतान्तर

काठमाडौं । नेपाल दूर–संचार प्राधिकरण (एनटीए) ले इन्टरनेटको गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताएको छ । तर, सेवा प्रदायकहरुले नेपाल जस्तो कम विकशित देशहरुमा पहुँच विस्तारलाई प्राथमिकता दिएपछि मात्रै गुणस्तरमा ध्यान दिन सकिने दाबी गरेका छन् । नेपाल दूर–संचार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार अहिलेको जमानामा इन्टनेट बिना जीवन चल्न नसक्ने भएकाले सो सेवालाई गुणस्तरीय नै बनाउन आवश्यक रहेको छ । गुणस्तरीय इन्टरनेटको प्रयोगबाट मात्रै सर्वसाधारणले स्मार्ट ढ्ङ्गबाट काम गर्न सक्नेमा अर्यालले जोड दिए । डिजिटल नेपालमा सघाउने एनटीएको लक्ष्य एनटीएले इन्टरनेटको गुणस्तरलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै आएको जानकारी दिएको छ । आगामी दिनमा नेपालले शहरी र ग्रामीण दुवै क्षेत्रमा आफ्नो सेवाको विस्तार गर्न आवश्यक रहेको एनटीएको बुझाई छ । सरकारले डिजिटल नेपाल अभियान संचालन गर्ने कार्यक्रम अघि सारेको छ । सरकारको यस्तो कार्यक्रमलाई सहयोग पुर्याउन पनि सेवाको गुणस्तर र पहुँच दुबै आवश्यक भएको प्राधिकरणको भनाइ छ । पहिला पहुँच, अनि गुणस्तरः सेवा प्रदायक इन्टरनेट सेवा प्रदायकहरु भने नेटवर्कको समस्या र अन्य देशको तुलनामा सस्तोमा आफ्नो सेवा विक्री गर्नु परेका कारण इन्टरनेटको गुणस्तरप्रति प्रश्न उठ्ने बताउँछन् । यस्तै, नेपालको भौगोलिक अवस्था तथा मौसमले समेत इन्टरनेटको गुणस्तरमा आंशिक प्रभाव पार्ने गरेको व्यवसायीको धारणा छ । सुविसु कम्पनीका म्यानेजिङ्ग डिरेक्टर (एमडी) सुधिर पाराजुली गुणस्तर राम्रो बनाउन सबैले ध्यान दिनुपर्ने भए पनि पहिलो आवश्यकता भनेको सेवाको पहुँच विस्तार नै भएको बताउँछन् । ‘इन्टरनेट सेवा प्रदायकहरुले सेवाको गुणस्तरलाई प्राथमिकतामा राख्नै पर्छ, यस्तै पहुँच विस्तारलाई पनि उत्तिकै केन्द्रमा राख्नुपर्छ, तर नेपालमा केही प्रावधिक, केही व्यवसायिक र केही व्यवहारिक कठिनाईका कारण गुनासो आउने गरेको छ,’ पराजुलीले विकासन्यूजसँग भने । कम विकसित देशहरुमा पहिले पहुँच विस्तार गर्न कम मूल्यको इन्टरनेट सेवा खोजीने भएकोले गुणस्तर कायम गर्न चुनौती हुने गरेको पराजुलीको भनाइ छ । ब्रोडव्याण्डको आधारमा इन्टरनेटको मूल्य निर्धारण हुन्छ । नेपालमा अहिले प्रयोग हुँदै आएका ब्रोड व्याण्डहरु सार्क राष्ट्रकै आधारमा सस्तोमा गनिने जानकारहरुको भनाइ छ । नेपालमा अहिले प्रयोग भएको इन्टरनेट ब्रोडव्याण्ड विश्वभरमा १३औं स्थानमा पर्छ । नेपालमा इन्टरनेट क्षेत्रको नियमन गर्दै आएको नियामक एनटीएले ग्रामीण क्षेत्रमा समेत इन्टरनेट सेवा विस्तारमा जोड दिएको छ । एनटीएले पछिल्लो समय शहरी क्षेत्रमा इन्टरनेटको प्रतिस्पर्धा बढेसँगै ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तारको लक्ष्य लिएको छ । एनटीएले ग्रामीण क्षेत्रका सरकारी विद्यालय, स्थानीय तहका संरचनाहरु तथा स्वास्थ्यचौकीमा इन्टरनेट सेवा पुर्याउन कार्यक्रम र योजना अघि बढाइरहेको छ ।

प्लस टु ब्रिजवाटर कपमा आदर्श जनप्रेमी, न्यूमिलिनियम र साईपल एकेडेमीको जित

काठमाडौं । उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप २०१९ को खेलमा आदर्श जनप्रेमी, न्यूमिलिनियम र साईपल एकेडेमीले जित हासिल गरेका छन् । गत मंसिर २९ गतेदेखि सानोठिमीस्थित मध्यपुर युथ एशोसियशनको खेल मैदानमा भएको पहिलो खेलमा आदर्श जनप्रेमीले श्रमिक शान्तिमाविलाई ९–८ को अन्तरले जनप्रेमीले जीत हासिल गरेको हो । त्यसैगरी, न्यू मिलनियम र कौस्तुप एकेडेमी बिच भएको दोश्रो खेलमा ३–२ को अन्तरले कौस्तुपलाइए पछाडि पार्दै न्यू मिलनियमले जित हासिल गरेको छ । तेश्रो खेलमा साईपल एकेडेमीले भिमेश्वर एकेडेमीलाई ३–० को अन्तरले पछाडि पार्दै साईपल एकेडेमीले जित हासिल गरेको छ । पहिलो खेलमा आदर्श जनप्रेमीबाट पारश खत्री, दोश्रो खेलमा न्यूमिलिनियमका विशाल सुनार र तेश्रो खेलमा साईपल एकेडेमीका संजिव लामा म्यान अफ दि म्याच घोषित भए । उनीहरुलाई क्रमशः काठमाण्डौं प्याब्सनका सहसचिव सूर्यबहादुर भण्डारी, समाजसेवी रघुनाथ खड्का र भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृतकुमार खड्काले अवार्ड प्रदान गरेका हुन् । ब्रिजवाटर इन्टरनेशनल कलेज सिनामंगलले आयोजना गरेको अहिलेसम्म कै ठूलो पुरस्कार राशीको ब्रिजवाटर कप २०१९ मा आजको खेलमा विजयी तीन वटै विद्यालय दोश्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको पाँचौ दिन बिहिबार टाईम्स ईन्टरनेशनल कलेज र ईष्ट प्वाईन्ट, साउथ वेस्टन कलेज र कस्मिक कलेज तथा नेपालय कलेज र सिवर्ड कलेज विच खेल हुनेछ । प्रतियोगितामा विजेता स्कुललाई नगद रु. १ लाख र उपविजेतालाई नगद रु. ५० हजार सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्रिजवाटर ईन्टरनेशनल कलेजका प्राचार्य तेज श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगिता १२ गतेसम्म जारी रहनेछ ।