मेगा बैंककाे बचत खातामा १७ वटा आकर्षक सुविधादेखि १० लाखसम्मको दुर्घटना बीमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजना र ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरुको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ । साथै, बैंकले नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभूति गराउने उद्देश्यले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको प्राणघातक रोगहरुको बीमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बीमाको व्यवस्था बैंक आफैले बीमा प्रिमियम शुल्क व्यहोर्ने गरी बीमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स मार्फत गर्ने भएको छ । आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । हाल बैंकको १११ शाखा, २० एक्सटेन्सन काउन्टर, ११४ एटिएम, ११९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको फत्तेपुरमा बीमा जागरण अभियान तथा मृत्यु दावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले पुस २० गते एक कार्यक्रमकाबीच उक्त कार्यक्रम सम्पन्न गरेको हो । बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मिति २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकम वापत एक कार्यक्रमकाबीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी सीता थारुलाई ३१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । साथै कम्पनीद्वारा नेपालगंजमा बीमा जागरण तथा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका छन् ।
सामाजिक सुरक्षा अन्तर्गत मुक्तिनाथ विकास बैंकले गर्यो ऋण मिनाहा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृतक मोहोनी माया थापा मगरको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा गरेको छ । बैंकले दमौलीस्थित साना तथा लघुबैंकिङ्ग कार्यालयमा सदस्य रहेकी थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको हो । उक्त रकम मृतक मोहोनी माया थापा मगरको श्रीमान श्रीभूपाल थापा मगरलाई साँवा र ब्याज बापतको रकम ५४ हजार २७८ रुपैयाँ र काजकिरिया खर्च ५ हजार रुपैयाँ समेत गरी ५९ हजार २७८ रुपैयाँ चेक हस्तान्तरण गरेको छ । साथै, बैंकले तिर्न बाँकी रहेको दुई लाख ११ हजार ४४० रुपैयाँ कर्जा समेत मिनाहा गरेको कम्पनीले जनाएकाे छ । उक्त रकम बैंकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुबैकिङ्ग प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर बहादुर थापाले संयुक्त रुपमा मृतकका श्रीमान श्रीभूपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।
अजोड इन्स्योरेन्सद्धारा हेटौंडामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले प्रदेश नं. २ र ३ लाई समेट्ने गरि पुस १७ गतेदेखि १९ गतेसम्म हेटौडाको टि. सी. एनमार्गमा उक्त तालिम सम्पन्न गरेको हो । तालिमको अवसरमा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका र बीमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । त्यस्तै गरि कम्पनीका नायब प्रबन्धक यादव प्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बीमाको बारेमा प्रकाश पारेका थिए । अजोड इन्स्योरेन्सको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । साथै, सहजिकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।
मंगलबारदेखि विषादी मुक्त सप्ताह शुरू, अघिल्ला कार्यक्रमहरू सफल नभएको केन्द्रले गर्याे स्वीकार
काठमाडौं । ‘घातक विषादी प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराको साथ मंगलबारदेखि विषादी मुक्त कार्यक्रम संचालन हुने भएको छ । प्रदेश नं. ३ लाई लक्षित गरि हुने कार्यक्रम पुष २३ गतेदेखि पुष २९ गतेसम्म हुनेछ । वार्षिक रुपमा सन् २०१३ देखि शुरु भएको उक्त कार्यक्रम हालसम्म कृषि क्षेत्रमा प्रभावकारिता जमाउन नसकेको प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले बताए । सोमबार वाली संरक्षण प्रयोगशाला प्रदेश नं. ३ मा रहेको कृषि ज्ञान केन्द्र चितवनको सहकार्यमा प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रको आयोजनामा भएको पत्रकार सम्मेलन मार्फत विषादीको प्रयोग केहि मात्रा घटेपनि सबै निकायको पहल र साथ विना गर्न असहज हुने भन्दै केन्द्रले यसक्षेत्रमा सोचे जस्तो उपलब्धि गर्न नसकेको प्रमुख हुमागाईले स्वीकार गरे । नेपालमा वार्षिक विषादी आयातका लागि मात्र ८४ करोड रुपैयाँ खर्च भएको छ । अन्य देशको तुलनामा तरकारी वालीमा केहि हदसम्म कम विषादी प्रयोग गरिएको छ भनेता प्रभावकारी तथ्यांक केन्द्रसँग रहेको छैनन् । हाल तीन सय ९६ ग्राम खास विष हरेक वर्ष ८५ प्रतिशतभन्दा बढी विषादी आयात भएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए । हाल २४ वटा विषादीलाई नेपाल सरकारले प्रतिबन्धित गरेको छ । खुल्ला सिमानका कारण नेपालमा भित्रिने विषादी अझै बढ्न सक्ने भन्दै आगामी दिनमा यसलाई व्यवस्थित ढंगले अगाडी बढाउन सबै निकायको उत्तिकै भूमिका केन्द्रकाे विषाली व्यवस्थापन केन्द्रले जानकारी दिएकाे छ ।
नेपालको व्यापार घाटा घट्दा भारतको टाउको दुखाई, सोध्यो-‘के कारणले भारतमा निर्यात बढ्यो?’
काठमाडौं । पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा लगातार घट्दै गएको छ । नेपालबाट निर्यात हुने वस्तुको परिणाम बढेकाे र विदेशबाट आयात वस्तुको परिणाम घटिरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । नेपालको व्यापार घाटा पछिल्लो महिनाहरुमा निरन्तर घटेपछि भारतले नेपालबाट निर्यात हुने वस्तुको वृद्धि के कारणले बढेको हो भनेर नेपाललाई पत्र पठाएको छ । गत आर्थिक वर्ष २०७६/०७६ को पहिलाे पाँच महिनामा नेपालले ६ खर्ब ६ अर्ब रूपैयाँको आयात गरेकोमा चालु आवको पाँच महीनामा चार दशमलव २१ प्रतिशतले आयातमा गिरावट आएको छ । अर्थात ३६ अर्बले कम आयात भएको छ । नेपालमा उत्पादन नहुने र प्रशोधित मात्र हुने पाम आयलको अस्वाभाविक निर्यात बृद्धि भए पछि भारतले चासो देखाएको हो । नेपालमा उत्पादन नै नहुने आयातित पाम आयलको निकासीे गत वर्षदेखि बढेको थियो । निकासीमा वृद्धिसँगै भारतले नेपाललाई पाम आयलमा कति प्रतिशत मूल्यवृद्धि भएको छ भनेर पत्र पठाएको हो । भारतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र मार्फत प्रश्न गरेको हो । परराष्ट्र मन्त्रालयमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भारतले प्रश्न सोधेको छ । ‘आफ्नो देशमा उत्पादन नहुने पाम आयल आयात गरी प्रशोधनपछि भारत निर्यात हुँदा कति प्रतिशत मूल्यवृद्धि भएको छ ।’ छिमेकी देश भारतको प्रश्नपछि मन्त्रालयले आयातित पाम आयलमा भएको मूल्यवृद्धि निकाल्न एउटा समिति गठन गरेको थियो । समितिले पाम आयल प्रशोधन गरेर भारत निकासी गर्ने प्रशोधन उद्योगहरुको स्थलगत भ्रमण गरी मूल्य ठिक छ भनि प्रतिवेदन भारतलाई पठाएको छ । उद्योग मन्त्रालयका वाणिज्य उपसचिव नवराज ढकालले कच्चा पाम आयललाई प्रशोधन गरेपछि निकासी गर्दा ३० प्रतिशत मूल्यवृद्धि भएको बताए । ‘नेपाली उद्योगहरुले प्रशोधन गर्दा साउथ एसियन फ्रि ट्रेड एरिया (साफ्टा) को नियमअनुसार नै गरेका छन’, हामीले नेपाल र भारतका प्रतिनिधिहरुलाई नै सहभागी गराएर प्रशोधन गर्ने उद्योगको अवलोकन गराएका छौँ , भारतका प्रतिनिधिहरुले पनि ठिक रहेछ भनेर जानकारी दिए ।’ उनले भने । उद्योग मन्त्रालयका वाणिज्य सचिव बैकुण्ठ अर्यालले मन्त्रालयले गरेको अध्ययनबाट पाम आयल प्रशोधन गरेर निकासी गर्दा हुनुपर्ने आवश्यक मूल्यवृद्धि अनुसार नै भएको बताए । बाह्य मुलुकबाट आयात गरेर सार्क मुलुकमा निर्यात गर्दा २० प्रतिशत मात्रै मूल्यवृद्धि भए पुग्छ । विदेशबाट ल्याएर नेपालमा प्रशोधन गरि सार्क निकासीमा त्योभन्दा बढी मूल्यवृद्धि हुँदै आएको छ । यस्तो छ नेपालबाट भारतमा पाम आयलको निर्यात भारतमा धेरै खपत हुने पाम आयल २ वर्ष पहिले खासै थिएन । तर, पछिल्लो २ वर्षमा पाम आयलको निर्यातमा ह्वातै वृद्धि आएको छ । गत आर्थिक वर्षको ५ महिनामा नेपालबाट ३७ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको थियो । चालु आर्थिक वर्षको ५ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । चालु आवको ५ महिनामा १० अर्बले बढेर निर्यात भएको छ । निर्यात बढे यस वर्ष पाम आयलले नेपालको निर्यातको ठूलो हिस्सा ओगट्ने देखिन्छ । यस अवधिमा नेपालबाट निर्यात भएको सबै पाम आयल भारत गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यी देशबाट आयत हुन्छ नेपालमा पाम आयल पाम आयल नेपालमा उत्पादन हुँदैन । इण्डोनेसिया, मलेसिया, पपुवा न्युगिनि, सिंगापुर र चीन लगाएतका देशबाट नेपालमा पाम आयल आयात हुन्छ । नेपालमा सबभन्दा बढी ९ अर्ब ६९ करोडको पाम आयल इण्डोनेसियाबाट आयात हुँदै आएको छ । मलेसियाबाट ५९ करोड, पपुवा न्यूगिनिबाट १४ करोड, सिंगापुरबाट ३ करोड र चीनबाट १ करोडको आयात भएको छ । विभिन्न देशबाट कच्चा र प्रशोधित दुवै पाम आयल नेपाल भित्रिएपनि ९० प्रतिशत हिस्सा कच्चा आयलले ओगट्छ । पाँच महिनमा १० अर्ब ४८ करोड रुपैयाँको पाम आयल आयात भएको छ । नेपालबाट निर्यात भएको पाम आयल भारतको बजारमा जम्मा १ प्रतिशत मात्रै बजार ओगटेको छ ।
संस्थाको जग्गा नियम विपरित करोडौंमा बिक्री, अध्यक्ष र उपाध्यक्षकै मिलेमताे
भक्तपुर । थुलुङ्ग (राई) सामा नेपालको नाममा रहेको जग्गा संस्थाका अध्यक्ष पूर्णसिंह थुलुङ्ग र उपाध्यक्ष राम थुलुङ्गसहितले मिलेमतोमा बिक्री गरि करोडौं रकम हिनामिना गरेका छन् । नेपाल लगायत विश्वभर रहेका थुलुङ्ग (राई) हरुको हकहित, भाषा, संस्कार, संस्कृतिको सम्बृद्धि र विकास गर्ने उदेश्यले स्थापना भएको उक्त संस्थाकाे जग्गा अध्यक्ष र उपाध्यक्ष आफैले बिक्री गरि रकम हिनामिना गरेको भन्दै दोषी उपर कारबाही गरि जग्गा फिर्ता गर्न सरोकारवालाहरुले माग गरेका छन् । विद्यान अनुसार अबैधानिक भईसकेका संस्थाका अध्यक्ष पूर्णसिंह थुलुङ्ग, उपाध्यक्ष राम थुलुङ्गसहितको मिलेमतोमा संस्थाको जग्गा बिक्री गरेकाे भन्दै सरोकारवालाहरुले दोषी उपर कारबाही गरि जग्गा फिर्ता गर्न माग गरेका हुन् । संस्थाको कार्यसमिति सदस्य एवं पदाधिकारीलाई समेत जानकारी नगराई, कुनै भेला समेत नगरी सिमित व्यक्ति बसेर विधान विपरित जग्गा बिक्री गरी रकम अपचलन गरेको संस्थाका पदाधिकारीले साेमबार प्रेस बिज्ञप्ती जारी गरि बताएका छन् । विगत १९ वर्ष अगाडि कमल राईको अध्यक्षतामा रहेको समितिले सूर्यविनायक नगरपालिका नंखेलमा नंखेल १ (ख) कित्ता नं. ९०४, ९०५ र ९०७ को चार रोपनी २ आना ३ पैसा ४ दाम जग्गा संस्थाको नाममा खरिद गरिएको थुलुङ्ग (राई) जग्गा सरोकार समितिका संयोजक जनीकुमार राईले जानकारी दिए । थुलुङ्ग (राई) सामा नेपालको २०७२ जेठ ३ गते कार्यभार सम्हालेका समाजका अध्यक्ष पूर्णसिंह थुलुङ्ग सहितको कार्यकाल विधान सम्बत रुपमा २०७५ जेठमा सकिए पनि संस्थाको साधारणसभा समेत आव्हान नगरी उक्त समितिले विधान विपरित २०७४ साउन २३ गते जग्गा बिक्री गरेको पाईएको उनले जानकारी दिए । जग्गा बिक्री गरि रकम अपचलन गरिसक्दा पनि संस्थाका सदस्यहरुलाई जानकारी नदिई लुकाएको अबस्थामा गत मंसिरमा जानकारी आएपछि संस्थाको जग्गा जोगाउन थुलुङ्ग (राई) जग्गा सरोकार समिति गठन गरिएको राईले बताए। समितिले संस्थाको जग्गा बिक्री गरेको कारण र रकमबारे पटक पटक जानकारी लिन र संस्थाको जग्गा फिर्ता गराउन छलफल गर्दा उल्टै धम्क्याउने गरेको र प्रहरीमा समेत उजुरी दिएर प्रहरी मार्फत समेत धम्क्याएको समितिका सचिव धनबल राईले जानकारी दिएका छन् । संस्थाका अध्यक्ष पूर्णसिंह थुलुङ्गको नेतृत्वमा जग्गा बिक्री भएको र अब कुनै हालतमा संस्थाको जग्गा फिर्ता हुदैन, जे गर्न सक्छौ गर भनेर उपाध्यक्ष राम थुलुङ्ग मार्फत सरोकार समितिलाई खबर पठाएको सचिव धनबल राईले बताएका छन् । सरोकार समितिका पदाधिकारीलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा अध्यक्ष पूर्णसिंह राईको नेतृत्वले मानहानीमा उजुरी दिई हिजो आईतबार प्रहरी मार्फत ३५ जनाको समूहलाई अपशब्द बोल्दै मानसिक यातना र धम्की समेत दिएको सरोकार समितिका सदस्य मुकुन्द राईले जानकारी दिए । महाराजगञ्ज बृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले संचारकर्मी मदन राईसमेत समितिका संयोजक जनीकुमार, रोमश मणि, मुकुन्द र मदन राईलाई एकवर्षसम्म थुनिदिन्छु भन्दै राती ८ बजेसम्म मानसिक यातना समेत दिएको उनीहरुले गुनासो गरेका छन्। मुस्कान सहितको सेवाको अभियान चालिरहेको प्रहरीले उल्टै पीडितलाई धम्क्याउने र मानसिक यातना दिएको गुनासो गर्दै उनले संस्थाको जग्गा जोगाउन कानूनी उपचारमा लाग्ने सरोकार समितिले जानकारी दिएको छ । यता थुलुङ्ग (राई) सामा समितिका पदाधिकारीहरुले समेत प्रेस बिज्ञप्ती जारी गर्दै उक्त जग्गा २ करोड २ लाख ७२ हजार रूपैयाँमा बिक्री गरि समितिलाई १ करोड ८५ लाख रूपैयाँमा बिक्री गरेको भन्दै झुक्याएर रकम अपचलन गरेको जनाएका छन् । समितिका महासचिव सुवास कुमार राई, सह कोषाध्यक्ष मनकुमारी राई समेत ९ जना सदस्यले हस्ताक्षर गरि विज्ञप्ती जारी गर्दै जग्गा बिक्री प्रति असहमति जनाएका छन् । दुबै समितिले निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ । सरोकार समितिले भने संस्थाको जग्गा फिर्ता गर्न माग गरेको छ । फिर्ता हुनै नसक्ने अबस्थामा भए जग्गाको चलनचल्तीको मूल्य अनुसारको रकम बिक्रेताहरुबाट असुल उपर गरि कारबाही गर्न समेत माग गरेको छ ।
न्यू बुटवल सवस्टेशन निर्माणको काम अन्तिम चरणमा, विद्युत् काट्नुपर्ने अवस्थाको अन्त्य
काठमाडौं । न्यू बुटवल सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालैमात्र नेपाल र भारतबीच सहमति भएको न्यू बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन जोड्ने सवस्टशेन निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको हो । नेपाल र भारतबीच गत असोज २६ र २७ गते भारतको बैङ्गलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले उक्त प्रसारण लाइनमा समान हिस्सा रहने सहमति भएको छ । प्रसारण लाइन निर्माणको प्रक्रिया शुरु हुनुभन्दा अगावै सवस्टेशन निर्माण सम्पन्न हुने भएको छ । हाल २२० केभी क्षमतामा निर्माण सकिन लागेको उक्त सवस्टेशन आन्तरिक विद्युत् वितरण तथा व्यवस्थापनका लागि रणनीतिक महत्वको छ । सो सवस्टशेन निर्माण सकिएपछि भैरहवा र बुटवल आसपासको क्षेत्रमा थप विद्युत् उपलब्ध गराउन मार्ग प्रशस्त हुनेछ । थप विद्युत् माग गरिरहेका उद्योगी तथा व्यवसायीलाई सहज रुपमा उच्च भोल्टेजको विद्युत् दिन मार्ग प्रशस्त हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । नवलपरासीको सुनवलमा २२०÷१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुवै सवस्टेसनको निर्माण आगामी चैत्रभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी थालिएको छ । कार्यकारी निर्देशक घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएकाले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सम्पन्न हुने अवस्था देखिएको जानकारी दिए । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग निर्माण प्रगति, बेहोरिएका समस्याबारेमा जानकारी लिँदै उनले तोकिएकै समयमा काम सक्न निर्देशन दिए । “सवस्टेसनको जग हालिएको छ, अधिकांश उपकरण आयोजनास्थलमा आइसकेका छन् भने केही आउने क्रममा छन्, अब उपकरण जडानको काम मात्रै बाँकी छ । बाँकी सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तीव्र पार्न आवश्यक निर्देशन दिइएको छ”, कार्यकारी निर्देशक घिसिङले भने “तेकिएकै समयमा सम्पन्न गर्न देखिएका समस्या समाधान गर्न प्राधिकरणले गर्नुेपर्ने काम र सहजीकरण गर्न तदारुकताका साथ गरिरहेका छौँ ।” मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत, द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सवस्टेसनको निर्माण गरिएको हो । भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैत भित्रमा सवस्टेसन ‘चार्ज’ गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणमा १ सय बढी कामदार आयोजनास्थलमा खटिएका छन् । कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सवस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल सवस्टेसनबाट शुरु हुनेछ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सवस्टेसन पछिको दोस्रो ठूलो विद्युत् हब हुनेछ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बुटवलमा ४०० केभीको अर्को सवस्टेसन बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन निर्माण गर्नेछ । बर्दघाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल–कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माणको क्रममा छ । उता चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सवस्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ । भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सवस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ । लामो प्रसारण लाइन र क्षमताले नधान्दा सो क्षेत्रमा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या देखिँदै आएको थियो । नयाँ सवस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट करिब पाँच प्रतिशत घट्ने छ । ग्राहकले गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने छन् । प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी रुपमा विद्युत् काट्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । हेटौँडाबाट भरतपुरतर्फको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सवस्टेसनमा मोडेर त्यस क्षेत्रमा आपूर्ति गर्ने तयारी छ । रासस