विकासन्युज

नाडा प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल, व्यवसायीहरुलाई फेयर ट्रेडको अनुकरण गर्न सुझाव

काठमाडौं । नेपाल अटोमोबाईल डिलर एसोसिएशन (नाडा) को प्रतिनिधि मण्डल तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच छलफल भएको छ । आइतबार नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सुमन दाहालसंग भेटी फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा विभागका महानिर्देशक दाहालले आफना कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गर्दै उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरुले भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुबारे आ आफनो धारणा राखेका थिए । सो छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नुपर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरिदिनु पर्ने धारणा राखे । उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखी क्लियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको जानकारी दिदै नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको बताए । यसै क्रममा उनले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजीकरण भएको र भन्सार विभागले अहिले झण्डै सतप्रतिशत आशिकुडा अनुसार कार्य गर्दे आएको बताए । त्यसैगरी,साफटा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढने बताउँदैनाडा जस्तो संस्था मार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघसंस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको धारणा व्यक्त गरे । नाडासंग गरिएको समझदारीलाई आफना सवै सदस्यहरुमा पुर्याउनु पर्ने, व्यवसायको शुद्धीकरण आफैबाट शुरु गर्नु पर्ने, व्यवसाय गर्नेले भन्सार र कर सम्बन्धमा आवश्यक जानकारी राख्नु पर्ने धारणा राखे । छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

अत्याधिक चिसोका कारण अस्पतालमा ज्वरो ,रुघाखोकी, निमोनियाका बिरामी बढे

डोटी । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. ज्योति पाण्डेले जानकारी दिए । उनले भने, “चिसोले बालबालिका र ज्येष्ठ नगरिकमा बढी समस्या देखिएको छ, बिरामीको चाप बढेको छ ।” जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा दैनिक ३० देखि ४० बिरामी उपचारका लागि आउने गरेका छन् । चिसोका कारण बिरामीको चाप बढेपछि उपचारमा समस्या भइरहेको अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले बताए । उनले भने, “अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या बढेको छ, उपचारमा समस्या भइरहेको छ ।” यस्तै यहाँका ग्रामीण क्षेत्रमा भएका स्वास्थ्यचौकीमा समेत बिरामीको चाप बढेको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ प्रमुख गोविन्द विष्टले जानकारी दिए । उनका अनुसार अहिले यहाँका स्वास्थ्यचौकीमा दैनिक १० देखि २० सम्म उपचारमा बिरामी आउने गरेका छन् । स्वास्थ्यचौकीमा निमोनिया, रुघाखोकीका बिरामीले भरिएको केआइसिंह गाउँपालिका–५ रानागाउँ स्वास्थ्यचौकीका अहेव रमेश जोशीले जानकारी दिए । उनले भने, “चिसोका कारण बिरामी थपिने क्रम बढेको छ ।” जिल्ला आयुर्वेद अस्पताल दिपायलमा चिसो बढेसँगै बाथरोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । अहिले दैनिक ४० देखि ५० को सङ्ख्यामा बाथरोगी उपचारका लागि आउने गरेको अस्पतालका वैद्य खड्क बमले जानकारी दिए । चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् । रासस

कर्णालीका पाँच हजार युवाले यस वर्ष रोजगारी पाउने

सुर्खेत ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालिमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सिटीइभिटीले सञ्चालन गर्ने कार्यक्रम पारदर्शी हुनुपर्ने बताए । “सिटीइभिटीले राज्यको लगानीलाई दुरुपयोग हुन नदिन प्रभावकारी अनुगमन संयन्त्रको विकास गर्नुपर्छ, गरिब र न्यून आयस्रोत भएका व्यक्तिका लागि यसका कार्यक्रम उपयोगी छन्”, उनले भने, “तर, बिचौलियाले कार्यक्रम लिएर झारा टार्ने, बजेट सक्ने काम भएको गुनासो पनि सुनिने गरेको छ, अब सिटीइभिटीले यसतर्फ ध्यान दिनुपर्छ ।” सिटीइभिटीका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । “चालू आवमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौँ”, उनले भने । कार्यक्रममा प्रदेशअन्तर्गतका सिटीइभिटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । रासस

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त, सेयर बजारकाे स्थायीत्व र प्रवर्धनमा जाेड

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डकाे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे उच्च स्राेतले बतायाे । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए  र  बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनी नेपाल धिताेपत्र विनिमय बजारमा तीन वर्ष सञ्चालक समिति सदस्य समेत भएका थिए । माेरङ जिल्लामा २०१९ साल माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए । २०४६ सालमा राष्ट्र बैंकमा जागिर शुरू गरेका उनी विदेशी विनिमय व्यवस्थापन विभागकाे कार्यकारी निर्देशक पदबाट अवकास पाएका  थिए । ढुंगानाले अब धितोपत्र बोर्डमा ५ वर्ष नेतृत्व गर्ने छन् । बोर्डमा अध्यक्ष नै कार्यकारी प्रमुखको हुन्छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पछिल्लो समय प्रभावकारी नियामकको रुपमा अगाडि बढिरहेको छ । नियुक्ती पछि विकासन्युजसँग कुरा गर्दै उनले पुँजी बजारकाे स्थायीत्व र  बजार प्रवर्धनकाे कार्यलाई प्राथमिकता राख्ने बताए । बोर्डले नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत पब्लिक कम्पनीहरु, मर्चेन्ट बैंकर्स, सेयर ब्रोकर लगायत पुँजी बजारमा प्रत्यक्ष रुपमा संलग्न कम्पनीहरुको अनुगमन गर्छ । बोर्ड अध्यक्ष छनौटका लागि गठन भएको सिफारिस समितिले ढुंगाना, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र डा केशब श्रेष्ठको नाम सिफारिस गरेको थियो । धितोपत्र बोर्डको अध्यक्ष डा रेवतबहादुर कार्कीको कार्यकाल सकिएपछि गत कात्तिकदेखि उक्त पद खाली थियो ।

मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा फुडमान्डुमा ३० प्रतिशत छुट

काठमाडौं । अब एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाट खानेकुरा अर्डर गर्दा ३० प्रतिशत छुट पाउने भएका छन् ।  बैंकका ग्राहक फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा बैंककाे मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा साे मात्राकाे छुट पाउने भएका हुन् । फुडमान्डु प्रा. लि.को ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकिङ्ग साझेदार भएसँगै एनआईसी एशिया बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो सम्बन्धि दुई कम्पनीबीच सोमबार सम्झौता भएको हो । उक्त सम्झौता अन्तर्गत ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यिुआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने छन् । यो अफर पुस २१ गतेदेखि पुस २७ गतेसम्म लागू हुनेछ । हाल बैंकले ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सनराइज बैंक कञ्चनपुरको चाँदनीमा, कृषि क्षेत्रमा थप लगानी गर्ने

काठमाडौं । सनराइज बैंकले आफ्नो कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने पुस २१ गते सुदुरपश्चिम प्रदेशको उक्त स्थानमा शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको हो । सोमबार आयोजित उद्घाटन समारोहमा महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् । कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यस क्षेत्रमा बैंकले थप लगानी गर्दै जाने बताएका छन् । हाल सनराइज बैंकले १३० वटा शाखा, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५१ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटीएमहरु संचालन गर्ने योजना रहेको छ ।

विषादीयुक्त खानाले वर्षेनी साढे तीन लाखको मृत्यु, जाेखिम कम गराउने सरकारी प्रयास विफल

काठमाडाैं ।  विषादीयुक्त खाना खानाले वर्षेनी साढे तीन लाख मानिसकाे मृत्यु हुने गरेकाे छ । मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी विषादीहरू उत्पादन र प्रयोग गर्नाले विश्वमा वर्षेनी ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको पाइएकाे हाे। विश्व स्वास्थ्य संघको प्रतिवेदन अनुसार स्वास्थ्यको ख्याल नगरी विषादीको उत्पादन तथा प्रयोगले वर्षेनी मृत्यु हुने मानिसको संख्या बढ्दै गएको हो । पछिल्लो समय विश्वमा नै बढ्दो विषादीको प्रयोगसँगै मानव स्वास्थ्य र स्वच्छ वातावरणका लागि चुनौतीपूर्ण देखिएको छ । संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गर्ने गरेको उक्त प्रतिवेदनमा समावेश छ । मानव स्वास्थ्यका लागि हानिकारक विषादीकाे प्रयाेग राेक्नका लागि नेपाल सरकारले पनि प्रयास नगरेकाे हाेइन । तर, विगत ६ वर्षदेखि विषादी प्रयाेग प्रतिबन्ध गर्ने याेजनामा रहेकाे नेपाल सरकारकाे याेजना कार्यक्रममा मात्र सिमित हुने गरेकाे छ । यसले पनि नेपाल सरकारले गरेकाे प्रयास  विफल भएकाे मान्न सकिन्छ । ६ वर्षसम्मकाे अवधिमा  आइपुग्दा विषादी प्रयोगमुक्त बनाउने नेपाल  सरकारको नीति प्रभावहीन देखिएको छ । अन्नवाली तथा खाद्यवस्तुमा विषादी प्रयोगमुक्त बनाउने सरकारको नीति प्रभावहीन देखिएको हो । सन् २०१३ देखि खाद्यवस्तुमा विषादी मुक्त गर्ने नीति तथा कार्यक्रमहरु अघि सारेको थियो । तर, ६ वर्ष बितिसक्दा पनि त्यो कार्यक्रम भने प्रवाभकारी नदेखिएको हो । सरकारले २४ वटा विषादीलाई कृषिमा प्रयोग गर्न प्रतिबन्ध गरेको छ । सरकारले विभिन्न विषादीहरु प्रयोगमा प्रतिबन्ध लगाएपनि त्यसको कार्यान्वयन भने देखिँदैन । ती विषादीहरु मानव स्वास्थ्यका लागि हानिकारक र उतिकै खतरनाक भएपनि यसको प्रयोगमा भने कमि आएको छैन । खाद्यवस्तुमा विषादीको भार ६ प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ८४ करोड रुपैयाँ अर्थात ६३२.४१ टन बराबरको विषादी नेपाल भित्रिएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सबैभन्दा बढी रोगनासक विषादी २ सय ६७ टन, किटनाशक २ सय १६ टन, झारनासक १ सय ४२ टन र अन्य ५ टन विषादी नेपाल भित्रिएको छ । हरेक वर्ष विषादी प्रयोग मुक्त समाज तथा बजार निर्माण गर्नका लागि केन्द्रले गरेको कामको प्रभाव नदेखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईले स्विकार गरे । ‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराका साथ वर्षेनी कार्यक्रम हुँदै आएपनि विषादी प्रयोग र आयातमा भने कमि आउन सकेको छैन । भारतसँग खुल्ला सिमानाका कारण पनि अवैध रुपमा विषादीको आयात भइरहेको जानकारहरु बताउँछन् । यी हुन् सरकारले रोक लगाएका विषादी ‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराको साथ सरकारले २४ वटा विषादीमा प्रतिबन्ध लगाएको छ । तरकारी तथा फलफूल परीक्षणको समयमा विभिन्न खालका तरकारी तथा फलफूलमा भेटेका २४ वटा विषादीलाई सरकारले प्रतिबन्धित विषादीको रुपमा घोषणा गरेको हो । सरकारले अल्ड्रिन, विएचसि,क्लोरोडेन, डानअल्ड्रिन, डीडीटी, इन्ड्रिन, हेप्टाक्लोर, लिन्डेन, अर्गानो मक्र्यूरि फंगीसाइड विषादीहरु प्रयोग गर्न रोक लगाएको छ । यस्तै,मिरेक्स, फस्फामाइडिन, टोक्सानफेन, मोनोक्रोटोफस, मिथाइल पाराथियन, इण्डोसल्फान, फोरेट, बेनोमाइल विषादी प्रयोग गर्न पनि पूर्ण रुपमा प्रतिबन्ध गरेको छ । चालु आर्थिक वर्षको पुस अन्तिमसम्म कार्बाेफ्यूरान, ट्राइजोफस, डाइक्लोरभस, कार्बारिल, कार्बाेसल्फान, डाइकोफल, एलम्यूनियम फस्फेट नामका विषादी प्रयोग तथा वेचविखन गर्न पाइने सरकारले जनाएको छ । पुरुषको तुलनामा महिला र केटाकेटीहरुमा विषादीको नकारात्मक असर बढी पर्ने हुन्छ । विषादीको कारणले तत्काल असरको रुपमा मानवमा मुर्छा पर्ने, झाडा पखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म ल्याउछ भने दीर्घकालिन असरमा अन्धोपन, क्यान्सर, ट्यूमर आदी जस्ता ल्याउने गर्दछ । यी विभिन्न समस्यालाई मध्यनजर गर्दै नेपालमा सन् २०१३ देखि सप्ताहव्यापी शुरु गर्दै आएको हो ।

सेभेन सिज एजुकेशनमा परामर्श लिनेलाई घर तथा कार्यालयको मर्मत सम्भारमा विशेष छुट

काठमाडौं । सेभेन सिजएजुकेशन कन्सल्टेन्शीमा परामर्श लिन आउने विद्यार्थीहरुले घर तथा कार्यालयको मर्मत सम्भारमा विशेष छुट पाउने भएका छन् । उच्च शिक्षाका लागि कुशल मार्गदर्शन गर्दै आईरहेको सेभेन सिजएजुकेशन कन्सल्टेन्शी र मर्मत सम्भार सम्बन्धि कार्य गर्दै आइरहेको हेरचार डटकमबीच सम्झौता भएसँगै विद्यार्थीहरुलाई सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सम्झौता अनुसार सेभेन सिजएजुकेशन कन्सल्टेन्शीमा परामर्श लिन आउने विद्यार्थीहरुको घर तथा कार्यालयहरुमा आवश्यक पर्ने धारा, पानी बिजुली, कार्पेन्ट्री तथा अन्य मर्मत सम्भारमा हेरचारले सेवादिने तथा सो वापत लिने सेवा शुल्कमा विषेश छुट पाउने हेरचारका प्रबन्धक उत्सव भट्टराईले बताएका छन् । सम्झौतामा सेभेन सिजएजुकेशन कन्सल्टेन्शीका तर्फबाट सेभेन सिजका प्रमुख क्षितिज कोईराला र हेरचारकातर्फबाट प्रवन्धक उत्सव भट्टराईलेले हस्ताक्षर गरेका छन् । कुमारीपार्टीमा केन्द्रिय कार्यलय रहेको सेभेन सिजएजुकेशन कन्सल्टेन्शीले विगत ५ वर्षदेखि उच्च शिक्षाका लागि कुशल मार्गदर्शन गर्दै आईरहेको छ । त्यस्तै, हेरचार डटकम विगत डेड वर्षदेखि मर्मत सम्भार सम्बन्धि कार्य गर्दै आइरहेको छ ।