विकासन्युज

नाट्टाको अध्यक्षमा उत्रिए तीन प्रतिस्पर्धी, कसले मार्ला बाजी ?

काठमाडाैं ।  नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्डस् (नाट्टा)को आसन्न निर्वाचनले सम्बन्धित व्यवसायीबीच माहोल तताएकाे छ । २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी योजना सहित शुरू भएकाे नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नाट्टाकाे भूमिका पनि महत्वपूर्ण हुन्छ । यसले पनि नाट्टाको नेतृत्व कसले पाउँछ भन्ने विषयले पर्यटन क्षेत्रमा महत्व पाएकाे छ । नाट्टाको अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्प्रर्धा हुँदैछ भने उनीहरूले अलग अलग टिम बनाउने काम गरिरहेका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई र पूर्व महासचिव भिम प्रसाद पन्त नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पूर्व महासचिव तथा पर्यटन व्यवसायी मिहिका शाह धाख्वा नेतृत्वमा तेस्राे समूह बन्ने बताइएकाे छ । मिहिका शाहकाे टाेलीले आइतबार उम्मेदवारी घोषणा गर्ने तयारी गरेकाे छ । नाट्टामा वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र सदस्य भएइसकेका अच्युत गुरागाँइ हाल अध्यक्षका उम्मेदवार बनेका छन् । गुरागाइँकाे समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् । त्यस्तै, नाट्टाको पूर्व महासचिव शाहकाे समूहमा वरिष्ठ उपाध्यक्ष नारायण गुरुङ उपाध्यक्ष रमेश थापा, महासचिव कमला गुरुङ, सचिवमा अमृत ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ,सहकोषाध्यक्षमा फुडोमा शेर्पा रहेका छन् । पन्तको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बिनय बस्नेत, उपाध्यक्षमा वरुण मेहता र महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल उम्मेदवार बनेका छन् । उनकाे समूहमा सचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारी उम्मेदवार दिएका छन् । पन्तले यसअघि नाटामा महासचिवको भूमिका निर्वाह गरिसकेका छन । माघ ३ गते हुने निर्वाचनमा सबै समूहहरू अहिले चुनावकाे प्रचार प्रसारमा जुटिसकेका छन् । अध्यक्षका प्रत्याशीत तीन उम्मेदवारसँग हामीले तपाईको अध्यक्षको उम्मेदवारी किन र अध्यक्ष हुने तपाईका एजेण्डाहरु के-के छन् भनेर सोधेका छौं । अच्युत गुरागाई, अध्यक्षका प्रत्यासी मेरो नेतृत्वको समूहले नाट्टाका सदस्यहरुको हकमा काम गर्छ । सदस्य कम्पनीहरुलाई प्रविधीमैत्री बनाउन सोसियल मिडिया, डिजिटल मार्केटिङ लगायतका समयानुकुल तालिमहरु संचालन गर्नेछ । सदस्य कम्पनीहरुको सहज पहुँचका लागि नाट्टा सचिवालयलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधीमैत्री बनाउने हाम्राे प्रतिवद्धता हाे । होटल तथा एयरलाइन्सहरुले एजेन्टहरुलाई भन्दा कन्जुमरहरुलाई सस्तो रेट उपलब्ध गराइरहेको वर्तमान अवस्थामा एजेन्टहरुलाई प्रतिस्पर्धात्मक रेट उपलब्ध गराउने होटल तथा एयरलाइन्सहरुको नामलाई फेवरेट होटल र एयरलाइन्सको रुपमा नाटा वेबसाइट, नाटा न्यूज लेटरलगायत विभिन्न माध्यमबाट प्रवर्धन गरिनेछ । नाट्टा सदस्यहरुलाई कुनै आपतकालीन स्थिति आइपर्दा सहयोग पुर्याउने हेतुले राहत कोष खडा गराउने छु । गैरकानुनी टुर अपरेटरलाईलाई निरुत्साहित गर्दै नो टुर विद आउट गाइड एण्ड अपरेटरको अवधारणालाई कार्यान्यवन गराउन प्रयत्न गरिनेछ । काठमाडौं तथा अन्य मुख्य पर्यटकीय नगरीहरुमा टुरिष्ट बस टर्मिनल र पार्किङ व्यवस्थापनका लागि प्रभावकारी पहल गर्न कुनै कसर बाँकी राखिने छैन । पर्यटन व्यवसायको प्रवर्द्धनका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट कृषि क्षेत्रलाई जस्तै गरी सहुलियतपुर्ण व्याजसहित ऋण उपलब्ध गराउने नीतिगत व्यवस्था हुनका लागि पहल गर्नेछु । नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि सदस्य व्यवसायीहरुको सक्रिय संलग्नतामा बर्षभरी देशभित्र र बाहिर प्रबर्द्धनात्मक कार्यक्रमहरु आयोजना गर्नेछु । नेपाललाई आकर्षक गन्तव्यको रुपमा प्रचारप्रसार गर्न अन्तर्राष्ट्रिय रुपमा विशेष प्रवर्द्दनात्मक कार्यक्रमहरु संचालन गरेर युरोप, अस्ट्रेलिया, अमेरिका र एसियाका ठुला टर अपरेटरहरुलाई नेपालमा फामट्रिप गराउने छु । पर्यटकीय सुविधाका लागि प्रमुख सम्पदा, गन्तव्यस्थल र राष्टिय राजमार्गहरूमा सार्वजनिक शौचालय निर्माण गर्न भूमिका खेल्नेछु । आगामी दुई वर्षभित्र प्रदेश नम्बर २ र ६ प्रादेशिक संघ विस्तार गर्न पहल गर्नेछु ।  मिहिका शाह धाख्वा, अध्यक्षका प्रत्यासी परिवर्तनका निम्ति एकता भन्ने नाराका साथ हामी चुनावमा आएका छौं । एक सक्षम र अनुभवी टिम बनाएर हामी चुनावमा उत्रिएका छौं । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने हाम्रो प्रमुख ऐजेण्डा हो । हामी अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटनको प्रचार प्रसार गरेपनि हामीले त्यसको नतिजा पाइरहेका छैनौं । यसलाई पनि हामी नतिजामुखि बनाउनो छौं । हाम्रो पर्यटकलाई दिने सुविधाहरु बढाउने छौं । राजमार्गहरुमा सुविधा सम्पन्न भौतिक पूर्वाधारहरु निर्माण गर्न विशेष पहल गर्नेछौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जनशक्तिहरु परिचालन सहयोग गर्नेछौं । टुरिष्ट बसहरु सञ्चालन गर्न भूमिका खेल्नेछौं ।  भिमप्रसाद पन्त, अध्यक्षका प्रत्यासी म अन्तरर्राष्ट्रिय बजार प्रबर्द्धनमा क्षेत्रीय बजार भारत, चीन, दक्षिण कोरिया, भियतनाम, श्रीलंका, बंगलादेश र मलेसिया लगायतका विभिन्न देशहरूमा पर्यटकहरूको रूचि पहिचान गरि विशेष प्रबर्द्धनात्मक अभियानको संचालनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरू संचालन गर्नेछु । साथै, विश्वका अन्य विभिन्न मुलुकहरूमा नेपालको पहिचान हुने गरी पर्यटन क्षेत्रको प्रबर्द्धन गर्नेछु । सीमा क्षेत्रमा पर्यटक आगमनमा रहेका समस्याहरू समाधान गर्नुका साथै पर्यटकहरूको सहज आवागमनको लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्ने पहल गर्नेछु । विदेशी टूर अपरेटरहरूले नेपाल भ्रमण गराउँदा हुने गरेका भ्रामक तथा आपत्तिजनक क्रियाकलापलाई यथाशीघ्र रोक्न पहल गर्ने मेरो दायित्व रहने छ । होटल एशोसिएशनसँग समन्वय गरी स्वदेशी एजेन्सीहरूलाई प्राथमिकताका साथ प्रतिस्पर्धी दर रेट निश्चित गरी लागू गराउ प्रमुख भूमिकामा रहनेछु । यथाशीघ्र काठमाडौं र पोखरामा पर्यटक बसपार्क निमार्ण गर्न जोडदार पहल गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका सेवा, सुविधा र समस्याहरूको निराकरणका साथै विमानस्थलदेखि उपत्यकाको विभिन्न स्थानमा हवाई यात्रुका लागि मात्रै सार्वजनिक शटल बसका लागि पहल गर्नेछु । साथै, पर्यटन व्यवसायीहरुको षमता वृद्धिका लागि विशेष तालिमका कक्षाहरु सञ्चालन गरी प्रविधिमैन्त्री पर्यटन व्यवसायी बनाउन भूमिका खेल्नेछु ।  

शहरी विकास मन्त्रालयले ट्राफिक प्रहरीलाई दियाे १२० थान स्टप बोर्ड 

काठमाडाैं । शहरी विकास मन्त्रालयका राज्य मन्त्री रामबिर मानन्धरले ट्राफिक प्रहरीलाई १२० थान स्टप बोर्ड हस्तान्तरण गरेका छन् । शहरी विकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा मन्त्री मानन्धरले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाललाई एक समारोहकाबीच साे मात्रामा स्टप बोर्ड हस्तान्तरण गरेकाे हाे । काठमाडाैं उपत्यकाको विभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्राक्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सु-सुचित गर्ने प्रयोजनका लागि उक्तस्टप बोर्ड हस्तान्तरण गरेका हुन् । राज्य मन्त्री रामबिर मानन्धरका अनुसार कुनै पनि पैदल यात्रुहरुले सवारी दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउन नपरोस् तथा सुरक्षित रुपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न सजिलो होस भनेर यो बोर्ड हस्तान्तरण गरिएको हो । महाशाखाका प्रमुख ढकालले भने – ‘उक्त बोर्डहरु काठमाण्डौं उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ, आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा बोर्ड देखाएर बाटो काट्न लगाउने र  पैदल यात्रुहरुले पनि यसलाई प्रभावकारी र परिणाममूखी बनाउँदै सुरक्षितयात्रामा सहयोग गर्न समेत अनुरोध गर्दुछ ।’ उक्त बोर्डहरु सेफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.ली.ले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै तयार पारेको हो।

प्राईमसँग एक्युजिसन हुन लागेको कैलाशले लगानीकर्तालाई १८ प्रतिशत लाभांश दिने

काठमाडौं । प्राईम कमर्सियल बैंकसँग एक्युजिसनको चरणमा रहेको कैलाश विकास बैंकले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १८.७७ प्रतिशत लाभांश दिने भएकाे छ । शुक्रबार सम्पन्न विकास बैंकको २६औं वार्षिक साधारणसभाले पारित गरेसँगै विकास बैंकले शेयरधनीलाई सो मात्राको लाभांश दिने भएकाे हाे । सभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो । उक्त बैंकले एक्युजिसन हुने प्रस्तावका साथसाथै, कैलाश विकास बैंकको १०० कित्ता शेयर वापत प्राईम कमर्सियल बैंकको ९४ कित्ता शेयर हुने गरि अर्थात १ः०.९४ को स्वाप रेसियो पनि पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए । हाल १०२ शाखा र ४० वटा एटीएम मार्फत देशभरि वित्तीय सेवा विस्तार गरेको बैंकको चुक्ता पुँजी झण्डै तीन अर्बको हाराहारीमा पुगेको छ । बैंकले हालसम्म ३४ अर्ब निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।

१२ वर्ष जेल पर्ने डरले कर्जा स्वीकृतिको अधिकार पन्छाउँदै बैंक सञ्चालक तथा व्यवस्थापन समिति

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र व्यवस्थापन समिति दुबै पक्ष कर्जा स्वीकृत गर्ने अधिकारबाट पन्छिन खोजेका छन् । विगतमा कर्जा स्वीकृत गर्ने अधिकतम अधिकार खोज्ने प्रवृतिले बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति र व्यवस्थापन समितिमा संघर्ष हुने गरेकोमा हाल दुबै पक्ष उक्त अधिकारबाट पन्छन खोजिरहेको बैंकर्सहरुले बताएका छन् । बैंकिङ कसुर तथा सजाय ऐनले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा असुल नभएमा धितो मूल्याङकत गर्ने मूल्याङकनकर्तादेखि कर्जा स्वीकृत गर्ने प्रक्रियामा हस्ताक्षर गर्ने बैंकका कर्मचारी तथा सञ्चालक सबै दोषी ठहर हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाका आधारमा पछिल्लो समय बैंक अफ काठमाण्डूका तत्कालिन प्रमुख कार्यकारी अधिकृतसहित धेरै कर्मचारीलाई प्रहरीले पक्राउ गर्न थालेको छ । बैंकका वहलावाला तथा पूर्व कर्मचारीहरुलाई प्रहरीले भटाभट पक्राउ गर्न थालेपछि बैंकका कर्मचारीहरु तथा सञ्चालकहरु त्रसित भएको नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघको निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । कर्जा स्वीकृत सम्बन्धि फाइलमा हस्ताक्षेर गर्ने विषयले सबैको टाउको दुःखेको उनले बताए । विकास बैंकहरुमा पनि यस्तो समस्या देखिएको र सकेसम्म कर्जा सम्बन्धि फाइलमा हस्ताक्षर गर्नबाट पञ्छिन थालेको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द प्रसाद ढकालले बताए । कर्जा स्वीकृतिको क्रममा धितो मूल्याङकनदेखि आयस्रोतसम्मका धेरै विषय अध्ययन गर्नुपर्ने र गल्ती भएमा आफू पनि दोषी हुने भएकोले कर्जा स्वीकृत फाइलनमा हस्ताक्षर गर्न नपरे हुन्थ्यो भन्ने सोच सञ्चालकहरु देखिएको उनले बताए । ‘पहिला काम छिटो गर्नको लागि प्रमुख कार्यकारी अधिकृतलाई एकल निर्णय गर्ने सुविधा पनि थियो । अहिले एकल निर्णय गर्न कोही पनि चाहादैनन् । सामूहिक निर्णयबाट मात्र कर्जा स्वीकृत हुन्छ’ उनले भने । बैंकिङ कसुर तथा सजाय ऐनका अनुसार कर्जा लगानी गर्दा दोषी भेटिएमा दश लाख रुपैयाँसम्म बिगो भए एक वर्षसम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए दुई वर्षदेखि तीन वर्षसम्म कैद, पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि चार वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म बिगोभए चार वर्षदेखि छ वर्षसम्म कैद, दश करोड रुपैयाँ भन्दा बढी पचास करोड रुपैयाँसम्म बिगो भए छ वर्षदेखि आठ वर्षसम्म कैद, पचास करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयासम्म बिगो भए आठ वर्षदेखि दश वर्षसम्म कैद र एक अर्ब रुपैयाँ भन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । एउटा कुनै ठूलो कर्जा डुबेमा कर्जा स्वीकिृत गर्नेहरु १२ वर्षसम्म जेल बस्नुपर्ने भएपछि कर्जा स्वीकृत गर्ने कार्यबाट सबै पन्छन खोजिरहेको बैंकर्सहरु बताउँछन् । हाल बैंकहरुले आफ्ना प्रमुख कार्यकारी अधिकृतरुलाई १० करोड देखि ५० करोड रुपैयाँसम्म कर्जा स्वीकृत गर्ने अधिकार दिएकोमा प्रमुख कार्यकारी अधिकृतहरुले उक्त अधिकार आफूले मात्र प्रयोग नगर्ने बताउन थालेका छन् । सीइओहरुले आफूमा रहेको अधिकार प्रयोग नगरी कर्जा स्वीकृत समितिबाट वा बैंक सञ्चालक समितिबाट स्वीकृत गराउने र त्यसमा सामुहिक दाहित्व लिने अभ्यास थालेका छन् ।

शेयर लगानीकर्तालाई लाभांश लिन चटारो, कसरी लिने नगद लाभांश ?

काठमाडौं । पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारो छ । पुस महिनासम्म साधारणसभा गर्नैपर्ने बाध्यताका कारण ती कम्पनीहरुलाई एजीएम गर्न भ्याईनभ्याई भएको हो । त्यस्तै, कम्पनीलाई मात्र नभई सूचीकृत कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई पनि लाभांश लिन हतार भएको छ । बैंक तथा वित्तीय संस्थाले धमाधम वार्षिक साधारणसभा गरी प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीहरु वर्षभरी आफूले गरेको लगानीको लाभांश पाउन आतुर देखिएका छन् । कम्पनीले कहिले साधारणसभा बोलाउला र लाभांश लिन पाउँला भनेर कुरेर बसेका लगानीकर्ताहरु साधारणसभा सकिएको भोलिपल्टै आफ्नो खातामा लाभांश आओस् भन्ने चाहन्छन् । तर, आफूले लगानी गरेको कम्पनी वा संस्थाले वितरण गरेको नगद लाभांश कसरी लिने भन्ने बारे भने अधिकांश लगानीकर्ताहरु अझै पनि अनविज्ञ नै छन् । त्यसैले कतिपय लगानीकर्ताले आफूले लगानी गरेको वर्षाैं बित्दा पनि कम्पनीले वर्षैपिच्छे वितरण गरेको लाभांश नलिएर लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु परेकाे कयौँ उदाहारण छन् । त्यसैले, उक्त उदाहारणको पात्र नबन्नको लागि शेयरमा लगानी गर्ने लागानीकर्ताहरु भने अलि चनाखो वा प्रविधिसँग अपडेट हुन जरुरी हुन्छ । प्रविधिले गर्दा हाल शेयरधनीहरुले नगद लाभांश खातामै पाउने भईसकेको छ । जसका लागि उनीहरुले विभिन्न ४ वटा प्रकृया अपनाउनु पर्ने छ । अपनाउनुस् यी चार प्रकृयाः पहिलो त, शेयरधनीले हितग्राही(डिम्याट) खाता खोली आफूले खाता खोलेको निक्षेप सदस्य(डीपी) कोमा गएर आफ्नो प्रमाणपत्र डिम्याट गराउनु पर्ने छ । त्यस्तै, डिम्याट खातामा अनिवार्य बैंक खाता अद्यावधिक(अपडेट) गराउनु पर्ने छ । दोश्रो, डिम्याट गराइसकेको तर डिम्याट खातामा बैंक खाता अपडेट नभएको शेयरधनीले डीपीकोमा गएर बैंक खाता अपडेट गराउनु पर्ने छ । तेश्रो, शेयरधनीहरुले हितग्राही खातामा अपडेट भएको बैंक खातामा लाभांश वितरणको सूचना जारी भएपछि लाभांश बापतको रकम आईपीएस मार्फत साधारणतया ३ दिनदेखि १५ दिनभित्रमा सोही खातामा आफै आउने छ । चौथो, बैंक खाता अपडेट गरेको बढीमा १५ दिनभित्र नगद लाभांश खातामा जम्मा हुने हुँदा सो नभएमा शेयरधनीले आफूले खाता खोलेकोे डीपीमा गई आफ्नो बैंक खाताको विवरण रुजु(पुष्टि) गर्नुपर्ने छ । पुष्टि गर्दा फरक भेटिएमा सच्याउने र सही रहेता पनि बैंक खातामा जम्मा नभएको खण्डमा मात्र सम्बन्धित कम्पनीको शेयर रजिष्ट्रार कम्पनीमा सम्पर्क गुर्नपर्ने छ । यो सँगै शेयरधनीले विशेष ध्यान दिनुपर्ने कुरा के भने सीडीएससीबाट हरेक हप्ताको बिहीबार मात्र अद्यावधिक भएको शेयरधनीको लगत(अपडेटड डाटा बेस) उपलब्ध हुने भएकाले रजिष्ट्रार कम्पनीले शुक्रबारदेखि मात्र प्रशोधन कार्य शुरु गर्ने छ । किन जम्मा हुँदैन बैंक खातामा लाभांश ? डिम्याट खातामा उल्लेख भएको बैंक खाता नम्बर र नाम वास्तविक बैंक खाता नम्बर र नामसँग हुबहु नभएको खण्डमा शेयरधनीहरुको नगद लाभांश बैंक खातामा जम्मा हुँदैन।

नेपाल मेडिसिटीका चिकित्सकहरुसँग दक्षिण कोरीयाली सर्जनले गरे अन्तर्क्रिया

ललितपुर । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग दक्षिण कोरियाका प्रतिष्ठित सर्जन डा. किमले प्यान्कृयास सर्जरीका विषयमा अन्तर्क्रिया गरेका छन् । दक्षिण कोरिया स्थित क्यंगपुक नेशनल विश्वविद्यालयका हेपाटो बिलियरी तथा जनरल सर्जरी विभागमा कार्यारत डा. सांगगोएलकिमले शुक्रबार नेपाल मेडिसिटी अस्पतालका सर्जन लगायतका चिकित्सकहरुसँग अन्तर्क्रिया गरेका छन् । अन्तर्क्रियामा फरक शैलीमा उनले गर्दै आएका हेपाटो बाइलयरी सर्जरी प्रक्रियाबारे प्रष्ट पार्दै यसका लागि आवश्यक पद्धतीबारे बताएका छन् । नेपाल मेडिसिटी अस्पतालका सर्जरी विभाग प्रमुुख डा. सुुनिलकुमार शर्मा ढकालले डा. किमको उपस्थिती र अन्तर्क्रिया नेपाली चिकित्सकहरुका लागि निकै फलदायी रहने अपेक्षा गरेका छन् । नेपाल मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण र पद्धतिलाई अपनाउँदै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको अवस्थामा थप नयाँ पद्धतिबारे जानकारी प्राप्त गर्नुु सबैका लागि सुनौलो अवसर रहेको उनले बताएका छन् । अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वदेशमै विश्वस्तरिय उपचार प्रदान गर्दै आइरहेको र यस किसिमका कार्यक्रमलाई सधै प्रोत्साहन गर्दै आएको जनाए ।

आजदेखि मौसम सफा हुँदै जाने

काठमाडाैं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताए । “आज मध्याह्नसम्म देशैँभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ”, मौसमविद् शाक्यले भने । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाइएको छ । राति देशका मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशका पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । आइतबार देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा हुने सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन तथा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम डडेल्धुराकोे न्यूनतम तापक्रम माइनस शून्य दशमलव एक डिग्री सेल्सियसमा झरेको छ । रासस

वाणिज्य संघका सदस्यलाई पुरानो मेडिकल कलेजको सम्पूर्ण सेवामा २० प्रतिशत छुट

काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघबीच आपसी सहकार्यमा छुट सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ। गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो। यस स्मरण पत्रमा अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र निमित्त निर्देशक डा. राजेश यादवले र उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान तथा स्वास्थ्य विभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका हुन् । यस वर्ष उक्त स्मरण पत्र परिमार्जन सहित हस्ताक्षर भएको उद्योग वाणिज्य संघका स्वास्थ्य समिति प्रमुख शिरीष पन्तले बताए् । नीजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब उद्योग वाणिज्य संघ चितवनका सम्पूर्ण बैध सदस्यहरुले अस्पताल तर्फका सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने छन । व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था उद्योग वाणिज्य संघ चितवनका बैध सदस्य ४ सय जति रहेका छन ।आज उद्योग वाणिज्य संघ चितवनमा एक कार्यक्रमका बीच उक्त स्मरण पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै अध्यक्ष सहनलाल प्रधानले गत वर्ष जस्तै यश वर्ष पनि धेरै सदस्यहरुले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे । देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यश अस्पतालमा पहिला देखिनै स्वास्थ बीमा, कडा रोग , डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । सम्पूर्ण उद्योग वाणिज्य संघका सदस्य तथा पदाधिकारीहरुलाई अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निमित्त निर्देशक डा. राजेश यादवले बताए । उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै बिलिङ काउन्टर तथा सम्पर्क व्यक्ति व्यवस्था गरिने र हरेक वर्ष उद्योग वाणिज्य संघ संगको सहकार्यमा पिछडिएको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।