विकासन्युज

तनहुँको घिरिङमा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, दर्जनाैं घाइते

दमाैली । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : मन्त्री पोखरेल

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताएका छन् । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रहेकाले शिक्षकले दिने शिक्षाले मुलुकलाई डोर्याउने बताए । “देश कता जान्छ भन्ने शिक्षाले नै निर्धारित गर्दछ, शिक्षा कस्तो दिने भन्ने शिक्षकको हातमा हुन्छ”, उनले भने, “जुन मुलुकमा विकासमा कायापलट भएको छ, त्यहाँ शिक्षकले राम्रो शिक्षा दिएका कारणले भएको छ, हाम्रो देशमा पनि शिक्षकले गुणस्तरीय शिक्षा दिएर मुलुकको समृद्धिका लागि भूमिका खेल्नुपर्दछ ।” उनले एउटा शिक्षक शिक्षाका लागि मात्र शिक्षक भएकाले त्यो शिक्षकले शिक्षा सुर्धान मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।  शिक्षामा मात्रात्मक विकास भएकाले अब गुणात्मक शिक्षा प्रदान गर्न शिक्षकलाई आग्रह गरे । “गुणात्मक शिक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुहोस्, गुणात्मक शिक्षा दिएर शिक्षाको गुणस्तर शिक्षकले बढाउनुपर्दछ”, उनले भने । मन्त्री पोखरेलले भर्खरै अस्थायी शिक्षकको समस्या समाधान गरेकाले अब द्वन्द्वपीडित शिक्षकका माग समाधान गर्न सरकार लागि परेको समेत जानकारी दिएका छन् । शिक्षकको पक्षमा सरकार सधैँ रहेकाले शिक्षकका समस्या आपसी छलफलबाट समाधान गर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले भर्खरै ल्याइएको शिक्षानीतिका आधारका उच्च शिक्षा ऐन, सङ्घीय शिक्षा ऐन र प्राविधिक ऐन ल्याउन थालेको समेत बताए । उनले शिक्षकका धेरै सङ्गठन भएकाले सरकारलाई काम गर्न समस्या परेकाले एउटै छाता सङ्गठन बनाउनसमेत आग्रह गरेका छन् । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुकमा शिक्षा र स्वास्थ्यमा प्रगति भएको भन्दै बजारले माग गर्ने खालका प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने जानकारी दिए । शिक्षाको गुणस्तर उठाउनका लागि सरकार, शिक्षक र व्यवस्थापन मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । हिस्टानका निवर्तमान अध्यक्ष दीपकराज सुवेदी र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले सबै शिक्षक सङ्गठन गोलबन्द हुनुपर्ने भन्दै शिक्षकका समस्या राज्यले सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा शिक्षक आन्दोलनमा सहयोग पुर्याएको भन्दै काँग्रेसका नेता महत, पूर्वशिक्षामन्त्री धनीराम पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, हिस्टानका पूर्वअध्यक्ष डिल्ली सिग्देल र दीपकराज सुवेदीलाई सम्मान गरेका थिए । माध्यामिक विद्यालय शिक्षक युनियन, नेपाल र नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियनबीच एकता भएको हो । हिस्टानका अध्यक्ष पुष्पप्रसाद न्यौपानेले एउटै मुद्दा भएकाले दुई शिक्षक सङ्गठनलाई एक बनाइएको जानकारी दिए। उनका अनुसार आजको एकता महाधिवेशनले ११५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । रासस

 राेल्पाका ३६० घर पहिराेको उच्च जाेखिममा, बस्ती स्थानान्तण गरिने

राेल्पा । राेल्पा जिल्लामा पहिराको अत्यधिक जोखिम देखिन थालेको छ । पहिराले जनधनको क्षतिका साथै बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । भौगोलिक अध्ययन र इञ्जिनीयरिङ डिजाइनबिना खनिएका सडकले पहिराको उच्च जोखिम देखिन थालेको हो । पहिराका कारण सुनछहरीका वडा नं ४ र ५ उच्च जोखिममा छन् । प्रदेश नं ५ का १२ जिल्लामध्ये रोल्पालाई विपद्का दृष्टिले उच्च जोखिमयुक्त जिल्लाका रूपमा लिइएको छ । जिल्लाका सुनछहरी, थवाङ, लुङ्ग्री, माडी र परिवर्तन गाउँपालिका पहिराको उच्च जोखिममा रहेका स्थानीय तह हुन् । ती गाउँपालिकामध्ये सुनछहरी गाउँपालिका सबभन्दा बढी जोखिममा रहेको छ । गाउँपालिकाका अध्यक्ष आशबहादुर घर्तीका अनुसार ती वडाका ३६० घर अत्यन्तै जोखिममा छन् । विसं २०७२ को भूकम्पले सुनछहरी–१ झङ्कीका ४० घर र सोही वडाको फुलिवनका २० घर पहिराका कारण विस्थापित भएका थिए । यसैगरी ४५ घरधुरीले बसोबास गर्दै आएको सोही गाउँपालिकाको वडा नं ३ चालावाङमा अहिले २२ घरधुरी मात्रै बस्दै आएका छन् भने बाँकी सबै विस्थापित भइसकेका छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सचिव शङ्करप्रसाद खरेलसहितको एक टोलीले स्थलगत निरीक्षण गरी सो क्षेत्रका बस्ती स्थानान्तरणका लागि विस्तृत योजना तयार गरेको छ । “रु १८ करोड बजेटसहितको विस्तृत विवरण तयार गरी सङ्घीय सरकारमा पठाएका छौँ”, मन्त्रालयका सचिव खरेलले भने । बस्तीमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी भवन र विद्यालय पनि उच्च जोखिममा छन् । बस्ती नै स्थानान्तरण गर्ने समस्या देखिन थालेको अध्यक्ष घर्तीको भनाइ छ । जिल्लाकै सुनछहरी–६ फगामको आप्राखोला पहिराका कारण गाउँले त्रासदीपूर्ण दैनिकी बिताउन बाध्य छन् । पहिराले बस्ती उजाड बनाउनुका साथै धनजनको क्षति आँकलन गर्न सकिने अवस्थामा नभएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । “तत्कालीन राजा महेन्द्रका पालामा बस्ती स्थानान्तरणको प्रयास गरिए पनि स्थानीयवासी सहमत नहुँदा स्थानान्तरण हुन सकेन”, उनले भने। सोही गाउँपालिकाका जैमाकसला र सेरमका बस्ती पनि उच्च जोखिममा छन् । पहिराका कारण वडा नं १ झाँकीको स्वरुप नै बदलिएको छ । सो गाउँका १६४ घरधुरीलाई स्थानान्तण गर्नुपर्ने समस्या देखिएको उनले बताए । पहिराको मुख्य कारक मान्छे भएको विपद् व्यवस्थापनका विज्ञ डा. दीपक चाम्लागाइकाे भनाइ छ । “माघ, फागुन र चैतमा खनेका सडक नै असार, साउनमा पहिरो बन्छ”, चाम्लागाइले भने । वन तथा संरचना निर्माणमा संहितालाई कडाइका साथ लागू नगरेकै कारण पहिराको विपद् बढ्दै गएको उनले जानकारी दिए । बाढीको जस्तै पहिराको पनि पूर्वसूचना प्रणाली जडान गरी क्षति न्यूनीकरण गर्न सकिने मन्त्रालयका सचिव खरेलको भनाइ छ ।

नाटाकाे अध्यक्षमा अच्युत गुरागाइँसहितको उम्मेदवारी घोषणा

काठमाडौं । आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)को चुनावका लागि अध्यक्ष पदका उम्मेद्वार अच्युत गुरागाइँसहितको उम्मेदवारी घोषणा भएको छ ।  गुरागाइँको समूहले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो समूहकाे उम्मेदवारी घोषणा गरेको हो । गुरागाइँ अध्यक्ष रहेको समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् । यस्तै सदस्यहरुमा परशुराम घिमिरे, नवराज भेटुवाल र रमेश थापा रहेका छन् । गुरागाइँ वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

ललितपुरका डेढ दर्जन सरकारी कार्यालयकाे पुनःनिर्माण सम्पन्न

ललितपुर । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले क्षति भएका जिल्लाका सरकारी भवनमध्ये १६ पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भएका सरकारी भवनमध्ये २१ को पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) लाई दिइएको थियो । जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले पुनःनिर्माण गर्ने गरी स्वीकृत प्राप्त भएका २१ कार्यालयमध्ये १६ को पुनःनिर्माण सम्पन्न भएको आयोजना प्रमुख चन्द्रकाजी गुरुङले जानकारी दिए । पुनःनिर्माण सम्पन्न भएका सरकारी कार्यालयमा यातायात व्यवस्था कार्यालय (एकान्तकुना), जिल्ला पशु सेवा कार्यालय (जावलाखेल), जिल्ला वन कार्यालय (गोदावरी), महानगरी प्रहरी प्रभाग (लगनखेल)को महिला बन्दीगृह, जिल्ला प्रशासन कार्यालयको आवास भवन (मानभवन) रहेका छन् । यसैगरी, जिल्ला कृषि विकास कार्यालय (गोटीखेल), क्षेत्रीय सिँचाइ निर्देशनालय गोदावरी, क्षेत्रीय पशु निर्देशनालय (लगनखेल), वनस्पति उद्यानको भवन (गोदावरी), राजश्व प्रशासन तालिम केन्द्रको भवन (हरिहरभवन), जिल्ला कारागार कार्यालय (नख्खु)को कार्यालय भवन, कारागार नख्खुको सिआरसी र डिआरसी भवन छन् । त्यसैगरी, जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले आवास बस्ती विकास, बुङ्मती पूर्वाधार विकास आयोजना र हरिहरभवनको राष्ट्रिय मानव अधिकार आयोगको प्रि–फ्याब भवन निर्माण गरेको छ । हरिहरभवनको निजामती किताबखानातर्फको भवनको मर्मतसमेत सम्पन्न भएको एकाइ (भवन) ले जनाएको छ । “बजेट नभएकै कारण साझा प्रकाशनको पुनःनिर्माण शुरु हुन सकेको छैन, प्रकाशनको भवन पुनःनिर्माणका लागि रु १८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ”, आयोजना प्रमुख गुरुङले भने । साझा प्रकाशन पुनःनिर्माणका लागि ठेक्का आह्वान गरी निर्माण व्यवसायीसँग सम्झौताको चरणमा पुगेपछि अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरेका कारण काम हुन नसकेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना प्रमुख नवराज प्याकुरेलले  बताए ।  राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सिञ्चाइ विभाग र क्षेत्रीय कृषि निर्देशनालयले भवन बनाउने जग्गा उपलब्ध नगराएकाले काम हुन नसकेको उनको भनाइ छ । यसरी भूकम्पले पूर्णरुपमा क्षति भएका ललितपुरका हरिहरभवन, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलका भवन र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जावलाखेलको भवन भने केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) बबरमहलले नै बनाइरहेको एकाइ (भवन) जिल्ला कार्यालयका इञ्जिनीयर सवि श्रेष्ठले जानकारी दिए । राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय पुस्तकालय जस्ता महत्वपूर्ण कार्यालय रहेको हरिहरभवनको पुनःनिर्माणमा ढिलाइ हुँदा पनि सरोकार भएका निकायको ध्यान जान नसकेकामा ललितपुरवासीको गुनासो छ । राष्ट्रिय पुस्तकालय जस्तो महत्वपूर्ण धरोहर रहेको भवनको पुनःनिर्माणमा सरकारले देखाएको उदासीनता उदेकलाग्दो भएको स्थानीयवासी रमेश महर्जनले दुःखेसो पोखे । “महत्वपूर्ण पुस्तक बोरामा कोचेर राखेको पाँच वर्ष भइसक्यो, कति नष्ट भए होलान्, त्यसको क्षतिपूर्ति कसले दिने ? तिनमा भएको ज्ञानको भण्डारबाट भावी पुस्ता विमुख हुनुपर्ने अवस्था आएको छ”, उनले भने । यसैगरी, जिल्लाका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको भवन, सामूहिक मूल साना गुठीको भवन ठेचो, पशु स्वास्थ्य अनुसन्धान कार्यालयको भवन निर्माण भइरहेको छ । आन्तरिक राजश्व कार्यालय पुल्चोक र जुद्ध वारुण यन्त्र कार्यालयको पुल्चोकस्थित भवन पुनःनिर्माण शुरु हुने क्रममा छ । जिल्लामा भूकम्पले कति सरकारी कार्यालयमा क्षति पुग्यो भन्ने तथ्याङ्क भने कार्यालयमा नरहेको आयोजना प्रमुख गुरुङले बताए। रासस

पार्सल आएको छ भन्दै ठग्ने विदेशी नागरिकसहित पाँच गिराेह पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पार्सल आएको छ भन्दै ठग्ने विदेशी सहित पाँच जनालाई पक्राउ गरेकाे छ । उनीहरूले ९८०३८०४८५८ बाट फोन गरेर विदेशबाट तपाईका आफन्तले पार्सलमा बहुमुल्य सामानहरु पठाएको छ त्यसको लागि भन्सार तिर्नु पर्ने रकम बैंकमा जम्मा गरिदिनु पर्यो भनेर बैंक नम्बर उपलब्ध गराउने गिरोहका विदेशी नागरिक सहित पाँच जनालाई शुक्रबार सार्वजनिक गरेकाे हाे । उक्त नम्बरबाट दैनिक एक दर्जन व्यक्तिलाई पार्सलको बारे लिन आउन फोन गर्ने गरेको पत्ता लागेको छ । सिआइबीले प्रेस बिज्ञप्ति जारी गरि विदेशबाट पार्सल पठाएको छ भन्दै फेसबुक ह्वाटसप, ट्वीटर, इमो लगायतका सामाजिक सञ्जालमा तपाईको आफन्तले पार्सल पठाएको छ भन्दै विदेशी व्यक्तिको नाममा प्रोफाइल तयार पारेर ठगी कार्यमा संलग्न रहेकाहरुलाई सिआइबीले पक्राउ गरेको हो । नक्कली प्रोफाइल बनाएर सामाजिक सञ्जालमा साथी बनाई विभिन्न बहुमुल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भनि ईमेलमा विभिन्न बहुमुल्य गरगहना, सामानहरु र डलर सहितको फोटो पठाई झुठो प्रलोभनमा पार्ने गरेको सिआइबीले जनाएको छ । निरन्तर संवादपछि सो पार्सल लिएर मेरो मान्छे नेपालमा आउदैछ र सो सामानहरु लिनु भन्ने गरेको त्यसपछि नेपालमा भएको सम्पर्क नंं ९८०३८०४८५८ नंं बाट विदेशी नागरिकले फोन गरि तपाईको सामान मैले लिएर आएको थिए भनेर झुक्याउने गरेको अनुसन्धानमा खुलेको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन् । पार्सल बोकेर आएको मान्छे नेपाल आएको र एयरपोर्टमा एक्सरे मेसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनि सम्पर्क गरि नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खाता नम्बर उपलब्ध गराई रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा सक्रिय रहेका नेपाली नागरिकहरु सहित विदेशीलाई काठमाण्डौंका विभिन्न स्थानबाट पक्राउ गरेको एसपी पाण्डेले बताए । सिआइबीले नाइजेरियन नागरिक श्रील सिआनसो, आइभरीकोष्टका नागरिक असापे एडजी, चितवनका चन्द्र गैह्रे,काठमाडौ ठमेलका उमेश श्रेष्ठ र चितवनका हरि ओझालाई पक्राउ गरेको हो ।

धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाद्वारा पदवहाली, सेयर बजार सुधारकाे काम अघि बढाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना शुक्रबार पदवहाली गरेको छन् । पदवहालीसँगै उनले सेयर बजार सुधार, बजारको स्थायीत्व तथा विकासमा क्रमबद्ध काम आगाडि बढाउने बताए । पुँजीबजारको विकासका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत सुधार गर्दै बजारलाई गतिशील बनाउने उनले बताएका छन् । साथै, लगानीकर्तालाई जागरुक गर्ने, प्रविधिको प्रयोग गर्दै पुँजी बजारमा लगानीलाई सहज बनाउने उनले बताए । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निर्णयको औपचारिक पत्र पाएपछि मात्र ढुंगानाले पद बहाली गरेका हुन् । ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनले बेलायतबाट अर्थशास्त्रमा एमए गरेका छन्।

सरकारी संस्थाका प्रमुखलाई राज्यमन्त्री दुगडकाे चेतावनी-‘कि संस्था नाफामा लानु कि राजीनामा दिनु’

काठमाडौं । उद्योगीबाट प्रतिनिधित्व गरेर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीकाे हैसियतमा सिंहदरबार छिरेकाे  माेतिलाल दुगडले मन्त्रालय समाल्ने वित्तिकै घाटामा गएका सरकारी संस्थानलाई नाफामा लाने र नीजि क्षेत्रको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रतिवद्धता अनुसार आफूले काम शुरू गरेकाे राज्यमन्त्री दुगडले बताए । राज्यमन्त्री दुगडले संस्थानका प्रमुखलाई बोलाएर कसरी नाफामा लान सकिन्छ र के छ कार्ययोजना भनेर सोध्न थालेका छन् । उनले  हेटौडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, दुग्ध विकास संस्थान, साल्ट्र ट्रेडिङ लगायतका संस्थानहरुका कार्यकारी प्रमुखहरूलाई बोलाएर संस्थानहरूकाे अवस्थाबारे जानकारी मागेका छन् । अब सबै संस्थानहरुसँग नाफा वा घाटाको विवरण हेर्ने र आवश्यक सुधारका प्रक्रियामा जाने उनले बताए । घाटामा रहेकाे संस्थानका प्रमुखहरूलाई कि संस्था नाफामा लानु, कि राजीनामा दिनु भन्ने सन्देश राज्यमन्त्री दुगडले  दिएकाे स्राेतले बतायाे । राजीनामा नदिनेलाई प्रक्रिया पूरा गरी हटाउने उनकाे साेच छ । घाटामा गएका संस्थानहरु सके नाफामा चलाउने नसके निजीकरण गर्ने निर्णय मन्त्रालयले लिने उनले बताए । नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकम लगायतका केही संस्थानहरु नाफामा छन् भने केही संस्थानहरू घाटामा चलिरहेका छन् । जम्मा ६५ संस्थानमध्ये अहिले ३६ वटा मात्र संचालनमा रहेका छन् । आन्तरिक समस्या, निजी क्षेत्रसँगको प्रतिस्पर्धामा कमी, नीतिको प्रभाव जस्ता कारणले धेरै संस्थानले प्रगति गर्न सकेका छैनन् । सरकारले संस्थानको निजीकरणको नीति लिएपछि ३० वटा सार्वजनिक सस्थान निजीकरण भए पनि त्यसबाट आशा गरेअनुसार प्रतिफल पाउन सकेका छैनन् । राज्यमन्त्री दुगडले आफू औद्योगिक क्षेत्रबाटै आएकाले व्यवसायीहरुको पिडा राम्रोसँग बुझेको र देशको आवश्यकतालाई समेत नजिकबाट नियालेकाले औद्योगिक क्षेत्रको समस्या र त्यसको समाधान कसरी गर्नुपर्छ भन्ने राम्ररी थाहा भएको भन्दै नेपालमा औद्योगिक क्रान्तिको जग आफूले खन्ने समेत बताए । उनले आफ्नो कार्यकालमा औद्योगिक क्षेत्रले उचाइ लिने बताए । उद्योग क्षेत्रले जुनसुकै हालतमा पनि परिर्वतन गर्ने छ । मन्त्रालयको ठूला, मझौला तथा साना सबै खाले उद्योगको स्वामित्व लिनेछ । मन्त्रालयले उद्योेग खोल्न स्वीकृति दिएको मन्त्रालयले ती उद्योग तथा व्यवसायको संरक्षणको जिम्मा पनि लिनेछ राज्य मन्त्री बताउछन् ।