कारागारका क्षमताभन्दा तेब्बर कैदीबन्दी, खानेपानी र शौचालयको समस्या
काठमाडौं । सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको कैदीबन्दी बताउँछन् । त्यसमा पनि पुरुष कैदीबन्दीभन्दा महिला कैदीबन्दीलाई ठूलो समस्या छ । उनीहरुलाई एउटै शैय्यामा तीन जनासम्म सुत्नुपर्ने बाध्यता छ । सिरहा कारागारमा १ सय ३५ पुरुष र १५ महिला गरी १५० कैदीबन्दी राख्ने क्षमता रहेकामा हाल ४ सय ६८ पुरुष र २२ महिला कैदीबन्दी तथा उनीहरुसँगै आश्रित एक बालक र दुई बालिकालाई राखिँदा खान, बस्न र सुत्नसमेत समस्या भइरहेको कैदीबन्दीको भनाइ छ । “एउटै कोठामा १०/१२ जनासम्म कोचाकोच गरेर राख्दा सुत्न बस्न ठूलै समस्या भइरहेको छ”, कारागारमा कैदी जीवन बिताइरहेका ज्ञानबहादुर थापा मगरले भन्नुभयो, “क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ, तर जम्मा १२ मात्र शौचालय छ ।” यस्तै अवस्था छ, महिला कैदीबन्दीको पनि । दुई कोठामा राखिएका महिला कैदीबन्दीका लागि केवल दुई शौचालय र एउटा स्नानगृह रहेकाले समस्या भएको महिला कैदीबन्दीको भनाइ छ । एउटा कोठामा १० जनासम्मलाई पुग्ने खाट नअटेपछि तीन/तीन जना एउटै खाटमा सुत्नुपरेको र खाटमा नअटेर केही महिला बन्दी भुइँमै सुत्न बाध्य भएको थुनामा रहेकी शुभकलादेवी यादवले भने, “कोठा र खाटको अभावले आफूहरुलाई भुइँमै बस्नुपर्ने बाध्यता छ ।” क्षमताभन्दा बढी बन्दी राखिँदा दैनिक जीवन असहज बनेको उहाले बताए। “आफूहरुको कैद सजाय यातनाजस्तै भएको छ । न त आफूहरुको यहाँ स्वास्थ्यकै ख्याल छ न त कुनै सुविधा नै, त्यसमा पनि भवन जीर्ण छ”, उनले भने । क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण ठूलै समस्या सिर्जना भएको कारागारमा जेलर बबिता महतो बताए । भवन अभाव र त्यसमा पनि जीर्ण कारागारभित्र अत्यधिक कैदीबन्दी राखिएका कारण उनीहरुलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता रहेको जेलर महतो जानकारी दिए । रासस
महिला आयोगमा आउने मुद्दाको निणर्य नभएसँगै दर्ता हुने उजुरी घट्दो
काठमाडौं । लामो समयसम्म पदाधिकारीविहीन हुँदा राष्ट्रिय महिला आयोगमा आउने उजुरीमा निणर्य हुनसकेको छैन । आयोग २०७४ असोज २९ गतेदेखि नै पदाधिकारीविहीन हुँदा महिला हिंसा वा अन्य उजुरीबारे निणर्य गर्न कठिन भएको हो । उजुरीमा कुनै निणर्य नभएपछि आजकाल आयोगमा उजुरी कम आउन थालेको छ । चालू आर्थिक वर्षको साउनमा १२१, भदौमा ९९, असोजमा ५१ र कात्तिकमा ५८ घरेलु हिंसामा उजुरी परेका छन् । त्यसैगरी साउनमा १९, भदौमा १५ र कात्तिकमा सात मात्रै उजुरी परेका छन् । असोज महिनामा भने कत्ति पनि उजुरी परेको छैन । पदाधीकारी नहुँदा उजुरीमा निर्णय हुनसकेको छैन । “पदाधिकारी नहुँदा काममा अप्ठ्यारो पर्नु स्वाभाविक हो, केन्द्रीय कार्यालयमा आफ्नो कार्यालय छैन, प्रदेश कार्यालय गठन भएको छैन, धेरै काम आयोगको बोर्डले नै गर्नुपर्ने भएकाले छिट्टै पदपूर्ति हुने अपेक्षा राखेका छौँ”, आयोगका सचिव दीपेन्द्र काफ्लेले भने । आयोगले प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्य समूह गठन गरी सोही विषयमा केन्द्रित रही सुदूरपश्चिम प्रदेश, प्रदेश नं २ र गण्डकी प्रदेशमा सार्वजनिक सुनुवाइलगायतका कार्यक्रम भने सञ्चालन गर्दै आएको छ । पुराना उजुरीमा निर्णय नहुँदा उजुरीको चाङ बढ्दो छ । रासस
प्रदेश नं. ३ को स्थायी राजधानी हेटौँडा नै राख्ने प्रदेशसभाको निर्णय, वाग्मती नामाकरण
काठमाडौं । नाम र राजधानीको सम्बन्धमा सर्वदलीय बैठकले प्रदेश नं ३ लाई वाग्मती नामाकरण गर्ने र स्थायी राजधानी हेटौँडालाई कायम गराउने एउटा मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । साथै सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मत पारित गराउने निर्णय भएको हो। स्थायी राजधानी र नामका विषयमा सर्वसम्मत गराउने प्रयासस्वरुप मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, विवेकशील नेपाली दल, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र राप्रपा संयुक्तका प्रदेशसभा सदस्यको उपस्थिति थियो । बैठकमा मुख्यमन्त्री पौडेलले महत्वपूर्ण विषयवस्तुमा यो वा त्यो दल भन्दा पनि सर्वदलीय सहमतिमा निर्णय गर्दा सकारात्मक सन्देश जाने र सकसमा रहेका अन्य प्रदेशले पनि प्रदेश नं ३ ले स्थापित गरेको नजिरबाट समस्या हल गर्न सक्ने बताए । उनले सकेसम्म स्थायी राजधानीको एउटा मात्र नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मतीलाई सबै दलले समर्थन गरेका छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले इतिहास लेखाउने बेलामा एक भएर जानुको विकल्प नरहेको जानकारी दिए । “राजनीति चुनावका बेला गर्ने हो, अहिले साझा मुद्दामा सबै दल एक छन् भन्ने सन्देश दिन एकढिक्का भएर निर्णय गर्नुपर्छ”, उनले भने । बैठकमा सहभागी हुनुअघि आफ्नो दलको संसदीय दलको बैठक बसेको र बैठकले प्रदेशसभामा प्रस्ताव हुने हेटौँडा र वाग्मतीको पक्षमा मत जाहेर गर्ने सर्वसम्मतिले निर्णय गरेको भन्दै नेता बानियाँले एकता प्रदर्शन गर्नुपर्ने बेलामा तलमाथि हुने देखिए ह्वीप लगाएरै भए पनि अगाडि बढ्ने बताए । नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिगत रुचि र चाहनाभन्दा पनि माथि उठेर एकता प्रदर्शन गर्नेबेला भएको उनको भनाई छ । “हामीभित्र पनि विभिन्न धारणा थिए, अडान थिए तर छलफल र अन्तरक्रियाबाट एउटै धारणा बनाएका छौँ, अब सबै दलको धारणा एउटै भए जनतामा सकारात्मक सन्देश प्रवाह हुन्छ र राम्रो सन्देश जान्छ”, उनले भने। नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले प्रदेशको राजधानी उपत्यकाभित्र वा आसपास हुनुहुँदैन भनेर आफ्नो दलले पहिल्यैदेखि भन्दै आएको बताए । उनले नामसमेत कुनै जातजाति, धर्म र संस्कृतिलाई प्रतिनिधित्व गर्ने र विवाद निम्त्याउने खालको हुनुहुन्न भन्ने माग रहेकामा हाल अघि सारिएको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती आफूहरुलाई स्वीकार्य हुने जानकारी दिए। राप्रपाका रीता माझीले प्रदेशसभामा ऐतिहासिक सहमति कायम हुनुपर्ने भन्दै नाम वाग्मती र सामरिक महत्वका हिसाबले हेटौँडा राजधानी उपयुक्त हुने बताए । राप्रपा संयुक्तका रीना गुरुङले आफूहरु शुरुदेखि नै हेटौँडाको पक्षमा रहेको र राजधानीको नामसमेत साझा आएकाले सर्वसम्मति गराउने मुख्यमन्त्रीको चाहनामा साथ दिने जनाए । छलफलमा विवेकशील नेपाली दलका रमेश पौडेलले आफ्नो दलले कसैले पनि नउठाएका बेला प्रदेश नं ३ को नाम वाग्मती प्रदेश हुनुपर्छ भनेर आवाज उठाउने काम गरेको भन्दै नाममा आपत्ति नरहेको र राजधानीका सम्बन्धमा भने बताए। त्यस्तै विवेकशील साझाकी शोभा शाक्यले आफ्नो दलले नामाङ्कनको बारेमा विगतमै धारणा बनाइसकेकाले वाग्मतीमा समर्थन गर्ने रहेको भन्दै राजधानीको सम्बन्धमा भने आधिकारिक धारणा दिने उनको भनाई छ । प्रदेशसभामा नेकपाका ८०, काँग्रेसका २२, विवेकशील नेपालीका तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका एक, राप्रपा संयुक्तका एक र नयाँ शक्तिका एक गरी ११० सदस्य छन् । रासस
खानेपानी मन्त्रीद्वारा भीमदत्त नगरपालिकामा ओभरहेड खानेपानी ट्याङकीको शिलान्यास
कंचनपुर । खानेपानी मन्त्री बिना मगरले कन्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६,८ र १० मा संचालन हुने खानेपानी ओभरहेड ट्याङकीको शिलान्यास गरेका छन्। सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्री मगरले एक समारोहका बीच ओभरहेड ट्याङकीको शिलान्यास गरेका हुन्। उक्त खानेपानी आयोजनाले भिमदत्त नगरपालिका तीन वडाका १७ सय २३ घरधुरीका करिब साढे ९ हजार जनसंख्या लाभान्वित हुनेछन् । उक्त आयोजनाको कूल लागत १८ करोड ५३ लाख रुपैयाँ रहेको समितिले जनाएको छ । यो ट्याङकीको क्षमता साढे चार लाख लिटर रहेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा सिङ्गो देशको सपाट मार्ग चित्र कोर्न चाहिरहेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्वमा देशको सरसफाइ गुरुयोजना बनाउने तयारी भैरहेको जानकारी दिए । ‘खानेपानीको पहुँचबाट पहुँचविहीन भएका जनताको समस्यालाई सम्बोधन गर्न देशै भरीको योजना बनाउदै छौं ।’ उनले भने, ” खानेपानी संगै सरसफाइ र ढलको पनि रोड म्याप तयार गर्नेछौं । ‘ उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्दै सूदुरपश्चिम क्षेत्रको विकासमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख विद्यानाथ भट्टराईले यो आयोजना अबको १३ महिना भित्रमा सम्पन्न गरिसक्नुपर्ने बताए । उनले यो आयोजना एडीबी लगायत नगर विकास कोषबाट आर्थिक सहयोगमा बन्न लागेको जानकारी दिए । यसैबीच कन्चनपुरको बेलौरीमा भएको अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जनताका माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा गर्दै जाने बताएका छन् । शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईमा निर्मित त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील रहेको उल्लेख गरेका छन् । मन्त्री मगरले नागरिकको जीवन स्तरमा सुधार ल्याउन र दैनिक जीवनसँग जोडिएका विषयमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
एनएमबि बैंकको ३५ प्रतिशत लाभांश पारित, सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । एनएमबि बैंकको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको २१ प्रतिशत बोनस र कर प्रयोजन सहित १४ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् । उक्त सभा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा सम्पन्न भएको थियो । सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना गरी सञ्चालक पदमा ६ जना निर्वाचित गरेको छ । जसमध्ये संस्थापक शेयरधनीबाट पवन कुमार गोल्याण, एफएमओको तर्फबाट नीको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट शिरिश कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन निर्वाचित भएका छन् । हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
पञ्चकन्याले ल्यायो सीपीभीसीको नयाँ ग्रेडको दुई पाइप, यस्ता छन् विशेषता
काठमाडौं । विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको पाईपहरु नेपाल भित्र्याएको छ । कम्पनीले शुक्रबार एक पत्रकार सम्मेलन गरी ‘फेल्म प्रो पाईप तथा फिटिङ्गस्(फाइर स्प्रिंकल सेरिज)’ र ‘ट्रान्सप्यारेन्ट फिटिङ्स’ नामक दुई उक्त ग्रेडका पाईपहरुको आधिकारिक अनावरण गरेको हो । जसमध्ये फेल्म प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन-कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई फाइर स्प्रिंकलको लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, ट्रान्सप्यारेन्ट फिटिङ्स तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महंगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नया“ विकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ । दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेकिस्यूइ कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्याण्र्डडबाट बनाईने हु“दा कम्तिमा ५० वर्षसम्म टिकाउ हुन्छ । पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्गस्मा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आईएसआई चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ ।
नेपाल हस्तकला व्यवसायी संघकाे प्रथम साधारण सभा सम्पन्न
काठमाडाैं । नेपाल हस्तकला व्यवसायी संघकाे प्रथम वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सघंकाे प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएकाे हाे । साधारण सभामाले स्थापना भएकाे छाेटाे समयमा गरेका गतिविधीहरू प्रस्तुत गरेकाे थियाे । २०७६ असारमा स्थापना भएकाे संघले हालसम्म गरेका कार्यक्रमहरू शुक्रबारकाे साधारणसभामा प्रस्तुत गरिएकाे थियाे । नेपाल हस्तकला महासंघले आयोजना गरेको १७ औं हस्तकला व्यापार मेलामा संस्थाका ८ जना सदस्यहरु संयुक्त रुपमा सहभागी भएकाे साधारण सभामा जानकारी गराइएकाे छ । कार्यक्रममा संस्थाले उत्कृष्ट स्टलको अवार्ड प्राप्त गरेको थियो। २०७६ मंसिर १६ गते समान उद्देश्य भएका हस्तकला क्षेत्रका १६ वटा जिल्ला संघ तथा वस्तुगत संघका प्रतिनिधिहरुबीच परिचय तथा छलफल गरी सुसम्बन्ध कायम गर्न पहल गरेको जानकारी गराइएकाे छ ।
काठमाडौंको कमलाक्षीमा गण्डकी विकास बैंक, थप तीन स्थानमा विस्तार गर्ने तयारी
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको कमलाक्षीमा शाखा कार्यालय विस्तार गरेको छ । यो सहित विकास बैंकको शाखा संख्या ९२ वटा पुगेको छ । त्यसैगरी विकास बैंकले जनकपुरको जनकपुरधाम, काठमाडौंको गल्कोपाखा, बद्रियाको बाँसगढीमा थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यी शाखा सञ्चालनमा आय पछि बैंकको कुल शाखा संख्या ९५ पुग्नेछ । हाल यस विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, गत मंसिर मसान्तसम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७.३२ प्रतिशत नगद लाभांस वितरण गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई सकेको छ भने पुस मसान्तमा सम्पन्न हुन लागेको बाह्रौ वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।