
काठमाडौं । प्राईम कमर्सियल बैंकसँग एक्युजिसनको चरणमा रहेको कैलाश विकास बैंकले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १८.७७ प्रतिशत लाभांश दिने भएकाे छ । शुक्रबार सम्पन्न विकास बैंकको २६औं वार्षिक साधारणसभाले पारित गरेसँगै विकास बैंकले शेयरधनीलाई सो मात्राको लाभांश दिने भएकाे हाे ।
सभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो ।
उक्त बैंकले एक्युजिसन हुने प्रस्तावका साथसाथै, कैलाश विकास बैंकको १०० कित्ता शेयर वापत प्राईम कमर्सियल बैंकको ९४ कित्ता शेयर हुने गरि अर्थात १ः०.९४ को स्वाप रेसियो पनि पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
हाल १०२ शाखा र ४० वटा एटीएम मार्फत देशभरि वित्तीय सेवा विस्तार गरेको बैंकको चुक्ता पुँजी झण्डै तीन अर्बको हाराहारीमा पुगेको छ । बैंकले हालसम्म ३४ अर्ब निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।