लगानी प्रोत्साहित गर्न नियमावली बनाइँदै, २ अर्बसम्मको परियोजनाले ईआईए गराउनु नपर्ने
काठमाडौं । उद्योग स्थापना तथा परियोजना संचालनमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को सीमा कम भएको भन्दै बढाउन लागिएको छ । अहिले २५ करोड रुपैयाँभन्दा बढीको आयोजना विकासमा अनिवार्य रुपमा ईआईए गर्नुपर्ने भएपनि अव यो रकम बढाएर २ अर्ब रुपैयाँ बनाउन लागिएको छ । उद्योग राज्यमन्त्री मोतिलाल दुगडले सरकारले वातावरण संरक्षण ऐनलाई संशोधन गरेर २ अर्ब रुपैयाँसम्मको आयोजना विकासमा ईआईए गर्नु नपर्ने व्यवस्था ल्याउन लागिएको वताए । ईआईएकै कारण लगानी प्रभावित भएकोले सीमा बढाउन लागिएको उनको भनाइ छ । २५ करोडभन्दा बढी रकम लगानी गर्न ईआईएको झन्झटिलो कानुनी प्रक्रियाले थप लगानी विस्तार गर्न नपाएको गुणासो उद्योगी व्यवसायीहरुले गर्दै आएका थिए । उनीहरुले २५ करोड रुपैयाँसम्मको लगानीमा उद्योगहरुको क्षमता विस्तार गर्न नपाएको बताउँदै आएका थिए । उद्योगी/व्यवसायीहरुको सोही गुनासोलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २५ करोडभन्दा बढी लगानी गर्दा गर्नुपर्ने ईआईएको सीमा २ अर्ब रुपैयाँ पुर्याउन वातावरण मन्त्रालयलाई प्रस्ताव गरेको छ । सरकारले २०५४ सालमा २५ करोड रुपैयाँभन्दा बढीको लगानीमा ईआईए अनिवार्य गरेको थियो । अहिलेको सो सीमा कम भएको सरकारी अधिकारीहरुको पनि बुझाई छ । उद्योग मन्त्रालयले गरेको प्रस्ताव वातावरण मन्त्रालयले पनि सकारात्मक रुपमा लिएको छ । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा बागती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले ईआईएको सीमा बढाउदा लगानी प्रोत्साहित हुने वताए । मन्त्रालयले वातावरण संरक्षण ऐन संशोधन गरेर नियमावली बनाइरहेको छ । सोही नियमावलीमा २ अर्ब रुपैयाँसम्मको लगानी गर्दा ईआईए गर्न नपर्ने व्यवस्था गर्न लागिएको छ ।
प्रोग्रेशिभ फाइनान्सको २३औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सोमबार २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनको सभा कक्षमा संचालन गरिएको सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गरेका थिए । महर्जनले वित्तीय संस्था आफ्नो अस्तित्व समाप्त पार्ने गरी मर्जर तथा अक्विजिशनमा नजाने जानकारी दिँदै संस्थालाई अझ सबल बनाई निकट भविश्यमा अझ आधुनिकिकरण गर्दै स्तरोन्नतिका निम्ति आफू प्रयासरत रहने धारणा व्यक्त गरेका छन् । सो सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ । हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रवाह गरिरहेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४ वटा शाखा कार्यालयहरु थप गरी कम्तीमा १० शाखा तथा ४ एक्सटेन्सन काउन्टरको संजाल मार्फत सेवा विस्तार गर्ने योजना बनाएको छ ।
नेपाली ‘यात्री’ भर्सेज भारतीय ‘रिभोल्ट’, दुई इलेक्ट्रिक बाइकमध्ये कसको पल्ला भारी ?
काठमाडौं । नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’लाई एक महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएसँगै यो मोटरसाइकलले धेरैलाई प्रभावित बनाउन सफल भएको थियो । नेपालमा यो बाइक सार्वजनिक हुनुभन्दा लगभग ५ महिनाअघि मात्र भारतमा बनेको इलेक्ट्रिक मोटरसाइकल ‘रिभोल्ट आरभी ४००’ सार्वजनिक गरिएको थियो । यो बाइकले पनि बाक्लो संख्यामा प्रसंशक कमाउन सफल भएको थियो । भारतमा सार्वजनिक भएको सो बाइकलाई चाँडै नै नेपाल भित्र्याउने तयारी पनि चलिरहेको छ । यी दुवै मोटरसाइकल इलेक्ट्रिक भए तापनि यिनमा धेरै भिन्नता पाउन सकिन्छ । केही पक्षमा रिभोल्टले बाजी मारेको देखिन्छ भने केहीमा यात्रीले रिभोल्टलाई धेरै पछाडि पारिदिएको छ । लुक्स यात्री क्याफे रेसरको डिजाइनमा आधारित छ भने रिभोल्टमा हामी साधारण नेकेड बाइककै लुक्स पाउन सक्छौं । फ्युचरिस्टिक डिजाइन पाएको यात्रीको लुक्स अरु मोटरसाइकलभन्दा पृथक रहेको छ भने रिभोल्टलाई हेर्दा लाइट वेट मोटरसाइकलको झल्को आउँछ । ब्याट्री र मोटर यात्रीमा ६ किलोवाटआवरको लिथियम आयनको ब्याट्री समावेश छ भने रिभोल्टमा ३.२४ किलोवाटआवरको लिथियम आयनको ब्याट्री समावेश छ । मोटरतर्फ भने यात्रीमा ३० किलोवाटको मोटर जडान गरिएको छ भने रिभोल्टमा ३ किलोवाटको मोटर जडान गरिएको छ । पावर र टर्क यात्रीले ४० एचपीको पावर र १२० एनएमको टर्क उत्पादन गर्दछ भनी कम्पनीले दावी गरेको छ भने रिभोल्ट आरभि ४०० ले ६.७१ एचपीको पावर र १७० एनएमको टर्क उत्पादन गर्दछ भनेर रिभोल्ट मोटर्सले दावी गरेको छ । चार्जिङ्ग टाइम यात्रीमा समावेश ब्याट्रीलाई चार्ज गर्न केवल २ घण्टाको समय लाग्दछ भनेर कम्पनीले जनाएको छ । तर यो २ घण्टामा ब्याट्री १०० प्रतिशत नै चार्ज हुन्छ या सोभन्दा थोरै हुन्छ भन्ने वारे कम्पनीले प्रष्ट्याएको भने छैन । रिभोल्ट्स मोटर्सका अनुसार रिभोल्ट आरभि ४०० लाई ७५ प्रतिशत चार्ज गर्न ३ घण्टाको समय लाग्दछ र १०० प्रतिशत नै चार्ज गरिसक्न ४.५ घण्टा समय लाग्दछ । माइलेज र टपस्पिड यात्रीमा ‘सुस्ते’, ‘ठिक्क’ र ‘बबाल’ गरी ३ ओटा राइडिङ्ग मोडहरु रहेका छन् । सुस्ते मोडमा बाइक थोरै पावरमा विस्तारै चल्दछ र बढी माइलेज प्रदान गर्दछ । कम्पनीका अनुसार यो मोडमा चलाउँदा यात्रीले २ सय ३० किलोमिटरको रेञ्ज दिन्छ । रिभोल्ट आरभि ४०० मा चाहिँ ‘इको’, ‘नर्मल’ र ‘स्पोर्ट्स’ गरी ३ अलग राइडिङ्ग मोड दिइएका छन् । कम्पनीका अनुसार यो मोटरसाइकलले इको मोडमा १ सय ५० किलोमिटरको उच्चतम रेञ्ज प्रदान गर्दछ । यात्री मोटरसाइकल्सको दावीअनुसार यात्रीले बबाल मोडमा १ सय २० किलोमिटर प्रतिघण्टाको उच्चतम टपस्पिड हासिल गर्न सक्दछ । तर, रिभोल्ट आरभि ४०० ले भने स्पोर्ट्स मोडमा ८० किलोमिटर प्रतिघण्टाको उच्चतम टपस्पिड हासिल गर्न सक्दछ । अन्य यात्रीमा ७–इञ्च फुल एचडी टचस्क्रीन ड्यासबोर्ड दिइएको छ भने रिभोल्टमा चाहिँ नर्मल डिजिटल ड्यासबोर्ड दिइएको छ । त्यसैगरी यात्रीको बडी कार्बन फाइबरको पार्ट्सहरुले बनाएको छ भने रिभोल्टमा धेरै ठाउँमा प्लाष्टिक जडित छ । यात्रीमा एबीएस समावेश छ भने रिभोल्टमा एबीएस समावेश गरिएको छैन । यात्रीले कुनैपनि प्रकारको साउण्ड उत्पन्न गर्दैन तर रिभोल्टमा भने स्पिकर मार्फत् पेट्रोल मोटरसाइकलले उत्पन्न गर्ने कृतिम साउण्ड समावेश गरिएको छ । मूल्य यात्री मोटरसाइकल्सले मूल्यको वारेमा हाल केही नखुलाए तापनि सो मोटरसाइकलको मूल्य नेपाली बजारमा ४ लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ । रिभोल्ट ४०० आरभि भारतीय बजारमा १ लाख ३८ हजार रुपैयाँमा बिक्री वितरण भइरहेको छ भने नेपाली बजारमा आइसक्दा सो बाइकको मूल्य ३ लाख ५ हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशकाे सबै स्थानीय तहमा ‘हेलिप्याड’ बन्दै, आठ लाख विनियोजन
गलेश्वर । गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने जानकारी दिए । सबै स्थानीय तहमा एक/एक वटा हेलिप्याड निर्माण गर्ने योजनासहित प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल थालेको उनले बताए । मन्त्री लम्सालका अनुसार प्रदेश सरकारले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५/७६ को बजेटमा करिब रु आठ लाख विनियोजन गरेको छ । यी चार जिल्लामा चालु आवभित्रै हेलिप्याड निर्माण गरिसकिने छ । हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पुर्याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकप्टरमार्फत पर्यटकलाई सहज रूपमा आवतजावत गर्न सहयोग पुग्ने छ । चालु आवमा सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न पर्याप्त बजेट विनियोजन नभए पनि स्थानीय तहहरूसँग छलफल गरी आगामी आवमा यथेष्ट बजेट विनियोजन गरिने उनले जानकारी दिए । रासस
नेपाली प्राध्यापन गर्नेहरु संगठित, आचार्यको नेतृत्वमा बन्यो समिति
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यापनरत नेपाली शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर गरेका नेपाली शिक्षाका शिक्षकहरुले आफूले प्राध्यापन गर्ने पाठ्यक्रम, शिक्षण विधि, प्रविधिलगायत विषयमा छलफल भएको थियो । साथै, प्राध्यापकहरूले नेपाली भाषा शिक्षण र दोस्रो भाषा शिक्षणका क्षेत्रमा देखिएका चुनौती र अवसरका विषयमा छलफल, अन्तक्रिया गरी सामूहिक दृष्टिकोण विकासका माध्यमबाट प्राज्ञिक उन्नयनका निम्ति साझा मञ्च निर्माण गरेका छन् । कीर्तिपुरमा भएको विभिन्न क्याम्पसमा नेपाली शिक्षा प्राध्यापनरत शिक्षकहरुको भेलाले प्रा.डा. शर्वराज आचार्यको संयोजकत्वमा १३ सदस्यीय नेपाली भाषा शिक्षा समाज तदर्थ समिति निर्माण गरेको छ । तदर्थ समितिका अन्य सदस्यहरुमा सानोठिमी क्याम्पस, भक्तपुरका हिमलाल पुरी, भारती अधिकारी, महेन्द्ररत्न क्याम्पस, ताहाचलका डा. दुर्गाप्रसाद दाहाल, रामकुमार राई शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका दिनेश घिमिरे, डा. केशव भुसाल, बुटवल बहुमुखी क्याम्पसका डा. नारायणप्रसाद पन्थ रहेका छन् । यसैगरी, गोरखा क्याम्पसकी इन्द्रकुमारी देवकोटा, सोलुखुम्बु बहुमुखी क्याम्पसका उद्धवकुमार शर्मा, गणेशमान सिंह बहुमुखी क्याम्पस, काठमाडौँका दीपकबाबु निरौला, सिद्धज्योति क्याम्पस, सिन्धुलीका अर्जुन दाहाल र सुर्खेत क्याम्पसका डा. हर्कबहादुर शाही रहेका छन् ।
राजस्व छलीको आरोपमा साढे १२ करोड बिगोसहित छ जनाविरुद्ध मुद्दा
काठमाडौं । झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छली गर्ने काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेको हाई वे लिंक प्रालिका सञ्चालक तथा रोज इन्टरप्राइजेजका फिरोज मास्के समेत ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दामा राजस्व चुहावट गरेको अभियोगमा १२ करोड ५७ लाख विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद माग दाबी लिई सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।
नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट म्याद नाघेका खाद्य वस्तु बरामद, रु ५० हजार जरिवाना
नेपालगञ्ज । संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब रु २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार नै ती अखाद्यवस्तु नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् । टोलीले उक्त ट्रेडर्सबाट बिक्रीका लागि राखिएका म्याद नाघेका चाउचाउ, बिस्कुट, चियापत्ती, चिसो पेयपदार्थलगायतका वस्तु फेला पारेको थियो । पसलबाट उपभोग्य मिति समाप्त भएको वस्तु फेला परेको, कतिपय वस्तुको खरिद बिल नभएको र पसल नवीकरणसमेत नगरेकाले सञ्चालकलाई रु ५० हजार जरिवाना गरिएकाे हाे । साथै, २४ घण्टाभित्र पसल दर्ता गराउन निर्देशन दिइएको उनले बताए । प्रमुख पौडेल नेतृत्वको संयुक्त बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्त हित संरक्षण मञ्च र वडा प्रहरी कार्यालयका पदाधिकारीको सहभागिता थियो ।
माघ १ गते ५६ हल गोरु जुधाउने तयारी, नुवाकाेटकाे मेला रसुवा, धादिङ र गाेरखामा विस्तार
काठमाडौं । माघे संक्रान्तिको अवसरमा नुवाकोट र धादिङका विभिन्न ठाउँमा ५६ हल गोरु जुधाइने तयारी भएको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि माघ १ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका ३ मा गोरु जुधाई मेलाको आयोजना हुने भएको छ । सोमबार नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा पर्यटन बोर्डको अगुवाईमा ५६ हल गोरु जुधाइको तयारी भएको जानकारी स्थानीय आयोजकहरुले गराएका छन । रसुवा–नुवकोट पर्यटन समाजले आयोजना गरेको पत्रकार सम्मेलन तारुका गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए । आन्तरिक तथा वाह्य पर्यटकको प्रबद्र्धन गर्ने उद्देश्यले एक दशक देखि नुवाकोटको तारुकामा एकीकृत ढंगबाट मेला आयोजना हुँदै आएको छ । यस वर्ष पनि माघे संक्रान्तिको अवसरमा नुवकोट तारुकामा २२ हल गोरु जुधाईने र रसुवा नुवाकोटको सीमाना बेत्रावतीमा १२ हलगोरु जुधाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै, नुवाकोटको पंचकन्या गाउँपालिका घलेगाउँमा ८ र धादिङको धुँवाकोटमा १४ हल गोरु जुधाइने कार्यक्रम छ । स्थानीय संस्कृतिलाई जीवित राख्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यी क्षेत्रहरुको प्रवद्र्धन गर्ने र नेपाल भ्रमण वर्ष २०२० पार्ने अभियानमा समेत गोरु जुधाई मेलाले सहयोग पुर्याउने आयोजकको दावी छ । माघे संक्रान्ति नेपालीहरु आफैमा विषेस चाड हो । त्यसमा किसानहरुले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरंजन प्रदान गर्दै आएका छन । नुवाकोटको तारुकामा मल्लकालिन राज जयपृथ्वीबहादुर सिंहको पालादेखी चलिआएको गोरु जुधाई अहिले नुवाकोट, रसुवा, धादिङ र गोरखामा समेत फैलदै आएको छ । पत्रकार सम्मेलनमा बोर्डका संचालक समिति सदस्य दिपक महत, पर्यटन व्यावसायी रामशरण थपलिया, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले बोलेका थिए ।