पुरानो संसद भवन भत्काएर नयाँ भवन बनाउन विकास समितिकाे निर्देशन
काठमाडाैं । व्यवस्थापिका संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवन भत्काउन निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले पुरानाे भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् । मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि उनले पुरानो संसद् भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिइएको हो । खड्काले पुरानाे भवनकाे माैलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएकी हुन् । तर, पूरातत्त्व विभाग भने भवन नभत्काई अहिलेकै स्वरुपमा प्रवलीकरण गर्नुपर्ने राय राखेकाे थियाे । भूकम्पका कारण क्षतिग्रस्त सो भवन भत्काउने कि नभत्काउने भन्ने विषयमा हालसम्म प्राधिकरण, मन्त्रालय र पूरातत्त्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।
नेपाल बिल्डटेक एक्स्पो २०२० हुँदै, १ सय ६० प्रदर्शनी स्टल रहने
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना हुने भएको हो । महासंघले मंगलबार पत्रकार सम्मलेनको आयोजना गर्दै माघ ३,४ र ५ गते एक्स्पो हुने बताएको हो । महासंघकोृ २१औँ वार्षिक साधारण सभालाई लक्षित गरी एक्स्पो आयोजना हुने भएको छ । माघ ३ र ४ गते हुने महासंघको साधारण सभा रहेको छ । भक्तपुरको सल्लाघारी मैदानमा हुने साधारण सभामा देशभरका १५ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहने पत्रकार सम्मलेनमार्फत बताइएको छ । महासंघका महासचिव रोशन दाहालले विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरणबारे अवगत बनाउन उपयुक्त मञ्च बन्ने विश्वास लिइएको बताए । उनले निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु ७० हजार स्क्वायर फिट क्षेत्रफलमा एक्स्पो सञ्चालन गरिने बताए । ३ दिनसम्म चल्ने उक्त एक्स्पोमा ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन हुनेछ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको मंगलबार अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा गुहेश्वरी भवन, ललितपुरमा सम्पन्न भई आ.व.२०७५/०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान हुने गरि पारित गरिएको छ । संचालक समितिमा नियुक्त स्वतन्त्र संचालक किर्तिनाथ मास्के साधारण सभाबाट अनुमोदन भएअनुसार अध्यक्ष श्रीमान श्रेष्ठ, संचालक सरोजनी श्रेष्ठ, संचालक डा.रेश्मी श्रेष्ठ, संचालक राजेश मानन्धर र संचालक किर्तिनाथ मास्के समेत पाँच जनाको संचालक समिति रहेको छ । संस्थाको चुक्ता पूँजी रु ८० करोड रहेकोमा हाल सम्ममा निक्षेप रु. ४ अर्व २३ करोड तथा कर्जा रु.३ अर्ब ४८ करोड पुगेको छ । यस संस्थाको हाल सम्म १६ वटा शाखा कार्यालय र १ वटा एक्टेन्सन काउण्टर रहेको छ ।
कञ्चनपुरको पुनर्बास र बेलौरीमा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग भयो यस्तो सम्झौता
काठमाडौं । सूदुरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको पुनर्बास र बेलौरी नगरपालिकामा अब औद्योगिक ग्राम बन्ने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बेलौरी नगरपालिकाबीच बेलौरीमा औद्योगिक ग्राम बनाउने सम्झौता सम्पन्न भएको छ भने पुनर्बास नगरपालिकासँग औपचारिक सम्झौता हुन बाँकी छ । स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले मन्त्रालय र बेलौरी नगरपालिकाबीच औद्योगिक ग्राम बनाउने सम्झौता भएको हो । सम्झौता अनुसार मन्त्रालयले औद्योगिक ग्राम बनाउन बेलौरी नगरपालिकालाई ९२ लाख रुपैयाँ अनुदान दिएको छ । मन्त्रालय र बेलौरी नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर र चेक हस्तान्तरण भएको छ । कञ्चनपुरको दुई नगरपालिका पुनर्बास र बेलौरीमा औद्योगिक ग्राम बनाउन खानेपानी मन्त्री बिना मगरले पहिलै देखि नै पहल गर्दै आएकी छन् । समझदारी पत्र अनुसार बेलौरी नगरपालिकाले आफ्नै स्रोतबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य सुरु गरी तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाइसक्नुपर्ने छ । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई औद्योगिक ग्रामको फोकल पर्सन तोकिएको छ । नगरपालिकाले डीपीआर बनाउँदा औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५को मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध हुने आधारमा तथा वातावरणीय संवेदनशीलता क्षेत्रको पहिचान गरी आधार नक्सा तयार गर्नुपर्ने छ । वातावरण संरक्षण ऐन २०७६ अनुसार वातावरणीय अध्ययन प्रतिवेदन र डिपीआर तयार गरी स्वीकृत भएपछि औद्योगिक ग्राम निर्माणको काम अघि बढ्ने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताए । औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास, विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधार बनाइनुपर्ने सम्झौतामा उल्लेख छ । औद्योगिक ग्रामभित्र उद्योगका उत्पादन प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनुपर्ने छ । बेलौरी नगरपालिकाले औद्योगिक ग्राम बनाउन ७ बिघा जग्गा छुट्याईसकेको नगर प्रमुख चौधरीले जानकारी दिए । उद्योग मन्त्रालयबाट ९२ लाख अनुदान पाइसकेको र अब छिट्टै काम सुरु गरिने चौधरीले बताए । चालु आर्थिक वर्षभित्रै पूर्वाधार बनाउन सुरु गर्ने सरकारको तयारी छ । कूल ग्रार्हस्थ उत्पादनमा उद्योगको योगदान बढाउन मन्त्रालयले औद्योगिक ग्राम स्थापनाको कार्य अघि बढाएको हो । हाल उद्योगको योगदान १५ प्रतिशत पनि छैन । औद्योगिक ग्राममा बिजुली, पानी, बाटोका लागि बजेट संघीय सरकारले उपलब्ध गराउनेछ ।
बजार अभावका कारण दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान
सिन्धुली । भैँसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन् । दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन् । हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त गरिन्, तर दूध बिक्री नहुँदा समस्यामा परेको सुनाइन् । पर्मिलाले भनिन्, “आफ्नै लगानीमा भैँसी पालेर दूध बिक्रीबाट राम्रै आम्दानी गर्ने सोचेको थिएँ, तर दूध नै बिक्री नभएर समस्या थपिएको छ ।” उनका अनुसार दैनिक ६० लिटर दूध उत्पादन हुन्छ तर बजार भने छैन । लगानी डुबिसकेको र दूधको बजारीकरणका लागि सहयोग गरिदिन दूधौली नगरपालिकालाई आग्रह गरिए पनि सुनुवाइ नभएको उनको भनाइ थियो । उनी भन्छिन्, “अब विस्तारै भैँसी नै बिक्री गर्ने योजना पो बनाएको छु ।” दैनिक दूध दिने ११ भैँसी पाल्ने योजना बनाएर पर्मिलाले व्यवसाय शुरु गरेकी थिइन् । सात भैँसी बेचेपछि अहिले पाँचवटामा सीमित भएको छ । “दूध बिक्री नभएपछि भैँसी नै बेचे, स्थानीयस्तरमै कृषि व्यवसाय गरौँ भन्ने सपना सफल हुन सकेन अब के गर्ने अन्योल भएको छ”, उनले भनिन् । भैँसीको दूध बिक्री नहुँदा डोरकुमारी कार्की पनि समस्यामा परेकी छन् । उनी भन्छिन्, “दूध उत्पादन हुन्छ, तर न बजार छ न मूल्य, बरु भैँसी नै बेच्न सजिलो भन्ने बित्तिकै बिक्री भइहाल्छ ।” दूध बेचेको पैसाले घर चलाउने सोच राखेपनि खर्चका लागि जोहो गरेको पैसा कटाएर भैँसी पाल्नुपरेको उनले सुनाइन् । यसमा सम्बन्धित पक्षले नै चासो नदेखाएको उनको भनाइ थियो । सो क्षेत्रमा घाँस पर्याप्त भएकाले पशुपालनको राम्रो सम्भावना छ । बजार नहुँदा भने कोसँग गुहार माग्ने भन्ने चिन्ता थपिएको छ । “गाउँघरमा एक/दुई माना दूध बेचेर टिक्न मुस्किल भयो”, उनले दुखेसो पोखिन् । किसानहरु मिलेर दुग्ध उद्योग सञ्चालकसँग कुरा गरेपनि दूध नियमित नलिएको उनीहरुको भनाइ थियो । “भैँसीले नियमित दूध दिन्छ, कसरी दूधको व्यवस्थापन गर्ने, दूध तताएर दही बनायाैं, मोही बनाएर घ्यू निकालौँ भने पनि काम गर्ने जनशक्ति हुँदैन, नगरपालिकामा छिमेकी जिल्लाको दूध आउँछ तर स्थानीय उत्पादन बिक्री हुँदैन”, उनको गुनासो छ । यस्तै जगतबहादुर कार्कीले पनि चार भैँसीको दूध बिक्री नभएर दुई वटा बेचे । बाँकी पनि बेच्ने योजना उनको छ । दूध बिक्री भए भैँसी धेरै पालेर व्यवसायी बन्ने योजना बनाएकाे जगतबहादुरले बजार नै नपाएपछि भैँसी पालेर मात्र काम नभएको बताउँछन् । “आफूजस्ता धेरै किसानको यही समस्या छ”, उनले भने, “अन्तका किसानले एउटा भैँसीको बिहानको दूध बेचेर घर खर्च चलाएको र बेलुकाको दूध घरायसी प्रयोजनका लागि राख्ने गरेको सुनेको थिएँ, आफूले बिहान–बेलुकाको दूध बेच्ने र व्यवसायी बन्ने सोचअनुसार चार भैँसी पालेँ, तर सकिँदोरहेनछ, बजार नै भेटिएन ।” दूध बिक्री नहुँदा समस्या भोगिरहेका सो क्षेत्रका यी प्रतिनिधि किसान मात्र हुन् । अधिकांश भैँसीपालक किसानको समस्या उस्तै छ । उत्पादन भएको दूध बिक्री नहुँदा आफैलाई भैँसी पालेको सजाय पाएको किसानको दुःखेसो छ । दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले दूध बिक्री नभएको सम्बन्धमा कुनै जानकारी नआएको बताए । नगरपालिकाका अन्य स्थानमा सङ्कलन केन्द्र स्थापना गरी दूध बिक्री भइरहेको बताउँदै ढोडेनीका किसानको समस्या समाधान गर्न आफूले तत्कालै पहल गर्ने उनले बताए । नगरपालिकाले दूधमा आफूलाई आत्मनिर्भर बन्ने योजना अघि सारेको र किसानलाई प्रोत्साहन गरिरहेको अवस्थामा त्यस क्षेत्रका किसानको समस्या समाधान गर्न आफू लाग्नेसमेत नगरप्रमुख राउतले बताए । नगरपालिकाका अन्य स्थानमा घरबाटै न्यूनतम प्रतिलिटर रु ६० भन्दा बढीमा बिक्री भइरहेको र प्रतिलिटर रु ५२ सस्तो भएको भन्दै मूल्यमा एकरुपता, चिस्यान तथा सङ्कलन केन्द्रको स्थापना र बजारीकरणमा नगरापलिका तयार रहेको उनले बताएका छन् । यस्तै सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले किसानले दूध बिक्री नभएको गुनासो गरेको र उन्नतशील कृषि तथा उद्यमशील सहकारी संस्थाले केही प्रतिशत रकम लगानी गरे आफूले स्थानीयस्तरमा नै चिस्यान केन्द्रको स्थापना गर्न सहयोग गर्ने बताए । रासस
तराई–मधेश द्रुतमार्ग प्रभावित क्षेत्रमा तेस्रो चरणको वृक्षारोपणको प्रक्रिया शुरु
काठमाडाैं । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रभाव क्षेत्रभित्र परेर काटिएका रुख तथा बिरुवाको सट्टामा नेपाली सेनाले व्यापक रुपमा वृक्षरोपणको कामलाई अगाडि बढाइरहेको छ । सेनाले सोही प्रयोजनाका लागि बाराका तीन स्थानमा बिरुवा रोप्ने तथा हुर्काउने कामका लागि प्रक्रिया थालेको हो । सेनाले बोलपत्रमार्फत बिरुवा रोप्न तथा हुर्काउनका लागि सार्वजनिक रुपमा नै सूचना प्रकाशित गरी सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ । करिब रु तीन करोड लागत रहेको सो योजनाका लागि सेनाले बोलपत्रदातालाई विद्युतीय खरिद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । बाराका तीन स्थानमा रोपिने बिरुवाका लागि कूल रु दुई करोड ९७ लाख ८४ हजार ८५७ बराबरको लागत रहने अनुमान गरिएको छ । देशकै पहिलो र महत्वाकाङ्क्षी परियोजनाका रुपमा रहेको द्रुतमार्गमा हालसम्म १७ हजार ९४९ र भविष्यमा पुल तथा सुरुङ निर्माणका क्रममासमेत हटाउनुपर्ने रुख सङ्ख्या दुई हजार ७० रहेका छन् । ती बिरुवा काटिएपछि एक रुख बराबर २५ बिरुवा रोप्नुपर्ने वन तथा भूसंरक्षण विभागबीच समझदारी भएको छ । सोही समझदारीलाई कार्यान्वयन गर्ने लक्ष्यकासाथ सेनाले ७ नं बेसक्याम्प अर्थात् राजदमार बेसक्याम्प र निजगढ बेसक्याम्पभित्र दुई नर्सरीमा बिरुवा हुर्काइरहेको छ । सेनाले पहिलो चरणअन्तर्गत गत असोजमा बाराको कोल्हवी नगरपालिका–८ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रमा रहेको ५.६१ हेक्टर खाली क्षेत्रमा पाँच हजार सिमल, शिरीष तथा जामुनका बिरुवा रोपी रेखदेख गरिरहेको छ । सरकारले सञ्चालन गरेको वृक्षारोपण अभियानकै क्रममा ती बिरुवा रोपिएको थियो । यस्तै दोस्रो चरणमा केही दिनभित्रै बाराकै निजगढ नगरपालिको नागमणि र कछडिया सामुदायिक वन क्षेत्रको ७० हजार खाली जग्गामा एक लाख १२ हजार बिरुवा रोप्नका लागि अन्तिम तयारी भइरहेको छ । सेनाले सरकारको आग्रहमा फलफूलका बिरुवासमेत रोप्ने योजना अगाडि सारेको छ । सेनाले तेस्रो चरणमा निजगढ नगरपालिका–१०, कोल्हवी नगरपालिका–८ नयाँबस्ती र कोल्हवी नगरपालिका–५ बारामा बिरुवा रोप्नका लागि बोलपत्र आह्वान गरेको छ । निजगढ–१० मा बिरुवा रोप्नका लागि अनुमानित लागत रु एक करोड ३६ लाख २१ हजार ३८१ रहेको छ । कोल्हवी–८ का लागि रु ९१ लाख ७३ हजार ४०३ र कोल्हवी–५ का लागि रु ६९ लाख ९० हजार ७३ बराबरको लागत रहने अनुमान गरिएको छ । द्रुतमार्ग आयोजना कार्यान्वयन तथा अप्रेशन महाशाखाका प्रमुख सेनानी विश्वबन्धु पहाडीका अनुसार द्रुतमार्ग आयोजनामा बिरुवा काट्ने मात्रै नभई संरक्षणमा समेत सेना लागेको तथा वृक्षरोपणलाई तीव्र पारिएको हो । “हामीले सरकारले तय गरेको नीतिअनुसार नै एक रुख काट्दा २५ बिरुवा रोप्ने लक्ष्यका साथ काम गरिरहेका छौँ’, सोही लक्ष्य पूरा गर्न नर्सरी नै तयार पारेर बिरुवा हुर्काइएको छ”, पहाडीले भने । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्गको सडक क्षेत्रमा पर्ने रुख तथा बिरुवा काटिएका छन् । त्यही काटिएका रुखको सट्टामा रोप्नुपर्ने बिरुवा हुर्काउने काममा नेपाली सेनाका प्रमुख सेनानी सुशीलकुमार कार्कीको नेतृत्वमा एउटा टोली नै परिचालित छ । सेनाको ८ नं बेसक्याम्प राजदमार र १० नं निजगढमा नर्सरी नै तयार गरिएको छ । नर्सरीमा केही भर्खर उम्रिएका बिरुवा छन् भने केही अन्यत्र सार्न लैजान ठिक्क भएका छन् । राजदमारमा मात्रै खयर ४० हजार ५९५, इपिलइपिल १५ हजार ३५५, सिमल सात हजार ८९५, सिसौ चार हजार ५२०, अमला ५५, अन्य एक हजार ५०० गरी कूल ७० हजार ४२० बिरुवा तयार पारिएको छ । सो बेसक्याम्पमा मात्रै कूल ७० हजार ४२० बिरुवा हुकर्ने चरणमा छन् । यस्तै निजगढ बेसक्याम्पको नर्सरीमा मात्रै टिक ४९ हजार ४००, खयर ३६ हजार, सिमल चार हजार ५००, सिसौ दुई हजार २००, अमला एक हजार ५००, निम ६००, बेल ५०० र अन्य एक हजार गरी कूल एक लाख १० हजार ७०० वटा बिरुवा नर्सरीमा हुर्कने क्रममा छन् । नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गमा सडकखण्डको काम द्रुतगतिमा भइरहेको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा पुगेको छ । सेनाले दुई बेसक्याम्पमा गरी कूल एक लाख ८१ हजार १२० बिरुवा अन्यत्र सार्न तयार हुने क्रममा छन् । सेनाले इपिल, मलेसियन साल, बेल अमला, खयर, सिमल र छिटो बढ्ने बिरुवा हुर्काइरहेको छ । आवश्यकताअनुसार थप बिरुवा पनि उत्पादन गर्ने लक्ष्य राखिएको प्रमुख सेनानी कार्कीले जानकारी दिए । सेनाले डिभिजन वन कार्यालयबाट उपलब्ध हुने ३१५ हेक्टर सरकारी खाली जग्गाका प्लटलाई आवश्यक फेन्सिङ, सिँचाइ तथा संरक्षणको व्यवस्था गरी आगामी पाँच वर्षभित्र बिरुवा हुर्काइ सम्बन्धित वन डिभिजनलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माणलाई गति मात्रै दिएको छैन, मुलुकको पहिलो द्रुतमार्ग निर्माणलाई प्रत्यक्ष रुपमा नेतृत्वसमेत गरेको छ । निर्माणको गति र भइरहेको कामको प्रगतिका आधारमा चालू आवको अन्त्यसम्म सेनाले सडकतर्फको सबै काम सम्पन्न गर्नेछ । कालोपत्र गर्नेसम्मको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न ३० प्याकेजमा काम भइरहेको छ । सडक निर्माणको काम अन्तिम चरणमा पुग्ने क्रममा रहेसँगै सेनाले सुरुङ र पुल निर्माणका लागिसमेत प्रक्रिया शुरु गरिसकेको छ । मार्गमा तीन सुरुङ निर्माण हुनेछन् । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार महादेवडाँडामा ३.३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । यस्तै धेद्रेमा १.६ र लेनडाँडामा १.४ किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ । कूल ७२.५ किलोमिटर लामो द्रुतमार्गमा पहिले ९६ पुल निर्माण हुने भनिए पनि स्वीकृत डिपिआरमा ८६ पुल निर्माण हुने उल्लेख छ । चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ छ किलोमिटर र पुलको लम्बाइ १० किलोमिटर हुनेछ । आयोजनामा पुल र सुरुङबाहेकको खण्ड ५५.५ किलोमिटर हुनेछ । त्यसमध्ये कूल ३१ किलोमिटरको काम करीब सम्पन्न भएको छ । द्रुतमार्ग आयोजना कार्यान्वयन तथा अप्रेशन महाशाखा प्रमुख पहाडीका अनुसार बाँकी सडकको ‘ट्र्याक’ खोल्ने काम पनि ८० प्रतिशत सकिएको छ । आयोजनाको कूल खण्डमध्ये ललितपुरमा ७.९ किलोमिटर, काठमाडौँमा चार किलोमिटर, मकवानपुरमा ५३ किलोमिटर र बारामा ७.६ किलोमिटर पर्दछ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विसं २०७४ वैशाख १२ गते आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सोही वर्षको जेठ १४ गते निजगढमा आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री प्रचण्डले गर्नुभएको थिए । रासस
काठमाडौँको तीनकुनेमा कार दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौँ । काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा १० च ३०४ नं को कार अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनियन्त्रित भएर गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए । दुर्घटना कसरी भयो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भइ आगलागी हुँदा ४८ लाखकाे क्षति
खोटाङ । विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा रु ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, रु दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा रु ४८ लाखभन्दा बढीको क्षति भएको हो । आगलागीमा कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तनलगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । मंगलबार बिहान करिब ८ः०० बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएको थियो । अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हुन् । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।