सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ । नक्सालमा आयोजित उक्त कार्यक्रममा सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको हो । कार्यक्रममा अस्पताललाई बैंकले उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताएका छन् ।
सनराइज बैंककाे क्यास ब्याक योजना, अनलाइन काराेबार गर्दा एक हजार फिर्ता पाइने
काठमाडौं । सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले माघ १ गतेदेखि तीन महिनासम्म लागू हुने गरी उक्त याेजना ल्याएकाे हाे । यस योजना अन्तर्गत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल (पीओएस) टर्मिनल वा ई-कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल (पीओएस)टर्मिनलमा कारोबार गर्दा २५० रुपैयाँ क्यास ब्याक र ई-कर्मशमा कारोबारमा २५० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५०० रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५ हजार रुपैयाँ वा सो भन्दा बढिको खरिद कारोबार गरेमा एक हजार रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम ३ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।
गण्डकी विकास बैंकको सभाले पारित गर्यो १७.३२ प्रतिशत लाभांश
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडको १२ औं वार्षिक साभारण सभाले प्रस्तावित १७.३२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै विकास बैंकले शेयरधनीलाई चुक्ता पुँजीको १७.३२ प्रतिशत अर्थात ४७ करोड ६३ लाख रुपैयाँ कर समेतको नगद लाभांश वितरण गर्ने छ । यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्त सम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको संस्थाले जानकारी दिएको छ । हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएकोछ । निकट भविश्यमा बैंकले विभिन्न स्थानमा गरी थप ३ बटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेकोले कूल शाखा संख्या ९५ पुग्नेछ । यस बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाहरुको बीचमा समझदारी पत्रमा हस्ताक्षर भै प्राप्ती सम्बन्धी प्रक्रिया अघि बढेको छ । मेगा बैंक नेपालले यस बैंकलाई प्राप्ती गरे पश्चात बन्ने एकिकृत बैंक अझ सवल, सक्षम र अग्रणी बैंक बन्न सफल हुनुका साथै यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन, संरक्षण र उच्च प्रतिफल दिन सफल हुने संस्थाकाे विश्वास छ ।
कसरी बनाउने चाकु ? के कस्ता छन् यसका फाइदा ?
काठमाडौं । हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ । माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ । माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार विक्री वितरणको लागि पर्याप्त मात्रामा राखिएका पनि हुन्छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार व्यवसायिक चाकु उत्पादन गर्ने संस्था विभागमा दर्ता भएका छैनन् । यसैकारण यस्ता खाद्य पदार्थको गुणस्तरमा यकिन हुन सकिने अवस्था भने छैन । तर, परम्परादेखि उत्पादन गरिदै आएको खाद्य पदार्थ भएकोले गुणस्तरहीन हुन्छन् भनेर आरोप लगाइहाल्न मिल्ने अवस्था पनि छैन । गुलियो तथा अमिलो खाद्य पदार्थ आफैमा सुरक्षित खाद्यपदार्थ भएकाले यसको विग्रिने सम्भावना अति हुन्छ । सखर तथा चिनीलाई पकाएर बनाउने चाकुको गुणस्तरमा विभागले हालसम्म बजारमा अनुगम गरेको छैन । काठमाडौं उपत्यकामा धेरै चाकु उत्पादन हुने स्थान टोखा हो । टोखामा माघे संक्रान्तिताका धेरै परिमाणमा चाकु उत्पादन हुने गर्छ । घरमा नै बनाउने आफ्नै प्रक्रिया भएकोले पनि यसको विश्वनियता बढ्दै गएको छ र पछिल्लो समय चाकुलाई नेपाली चक्लेटको रुपमा ब्राण्डिङ गर्ने प्रयास पनि भएको छ । बजारमा माघे संक्रान्ति तथा नेवारहरुको यमुरी पूर्णिमाको दिन चाकुको प्रयोग धेरै हुने भएपनि हालसम्म कुनै गुनासो नआएको विभागको भनाइ छ । चाकु बनाउने तरिका पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउने, उक्त पानी र सखर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्ने । तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्ने । त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने । यस्तै, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ । यस्ता छन् चाकुको फाइदा गुलियो खाद्यवस्तुले शरिरलाई शक्ति प्रदान गर्ने गर्दछ । जाडो मौसममा थकित शरिरलाई सन्तुलन गर्ने काम गुलियो खाद्यान्नभित्र पाइन्छ । चिसोबाट थाकेको शरिरलाई न्यायो हुन्छ भन्ने मान्यताका साथ चाकु, घ्यू, तरुल, तिल, सक्खरखण्ड जस्ता खाद्यपदार्थलाई प्रसादको स्वरुप लिने गरिँदै आएको छ । सखर र पानीबाट बन्ने चाकुमा कार्बाेहाइड्रेड प्रशस्त मात्रामा हुन्छ । त्यस्तै, चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरिर तथा रक्तअल्पता भएका विरामीको लागि यसले धेरै फाइदा गर्छ । शरिरलाई ताप प्रदान गर्नका लागि घ्यू सन्तुलित मात्रामा प्रयोग गर्दा उपयुक्त हुन्छ । जाडोयाममा शरिरलाई अधिक मात्रामा उर्जा आवश्यक पर्ने हुँदा घ्यू र चाकु प्रयोग गरिएको हो ।
बजाजको नयाँ शोरुम स्याङ्जामा, ग्राहकलाई आकर्षक उपहारको व्यवस्था
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले स्याङ्जामा नयाँ शोरुम विस्तार गरेको छ । कम्पनीले उक्त विस्तारित शोरुम “अर्पण इन्टरप्राइजेज” को अझै आधुनिक एवं सुविधा सम्पन्न गरी मंगलबार उद्घाटन गरेको हो । स्याङ्जामा बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्नेछ । यो उद्देश्यलाई सार्थक पार्ने अर्पण इन्टरप्राइजेजका प्रोप्राइटर अरुण श्रेष्ठलाई स्याङ्जामा डिलरसीप प्रदान गरिएको छ । बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले भने, “हामी स्याङ्जामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । स्याङ्जामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।” शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।
बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ भारतमा सार्वजनिक, नेपाल आइपुग्दा कति पर्ला मूल्य ?
काठमाडाैं । भारतीय टू व्हिलर्स कम्पनी बजाजले आफ्नो पहिलो इलेक्ट्रिक वाहन ‘चेतक’ लाई सुरुवाती मूल्य १ लाख रुपैयाँ तोक्दै भारतमा आज लञ्च गरेको छ । चेतक स्कुटर ‘अरबेन’ र ‘प्रिमियम’ गरी दुई अलग भेरियन्टहरुमा उपलब्ध रहेको छ जसमध्ये टप भेरियन्ट प्रिमियमको मूल्य भारतीय बजारका लागि १ लाख १५ हजार रुपैयाँ तोकिएको छ । प्रिमियम भेरियन्ट थप मेटालिक कलर अप्शन र फ्रन्ट डिस्क ब्रेकमा उपलब्ध रहेको छ भने अरबेन भेरियन्टमा चाहिँ मेटालिक कलर अप्शन उपलब्ध छैन र त्यसैगरी अगाडिको चक्कामा ड्रम ब्रेकको प्रयोग भएको छ । ब्याट्री र मोटर चाहिँ दुवैमा उहि समावेश छन् । यस्ता छन् विशेषता चेतकमा ३ किलोवाटआवरको लिथियम–आयन ब्याट्री समावेश छ जसलाई फुल चार्ज हुन ५ घण्टाको समय लाग्छ भने ८० प्रतिशत चार्ज हुन साढे तीन घण्टा र २५ प्रतिशत चार्ज हुन १ घण्टाको समय लाग्दछ । बजाजको दावी अनुसार यो ब्याट्रीको आयु ७० हजार किलोमिटर रहेको छ अर्थात् स्कुटरले ७० हजार किलोमिटरसम्मको यात्रा गर्दा सम्म यो ब्याट्री सकुशल नै रहिरहन्छ । यस स्कुटरले ४.०८ किलोवाट (५.४७ एचपी) को उच्चतम पावर र १६ एनएमको उच्चतम टर्क उत्पादन गर्दछ । चेतकमा ‘इको’ र ‘स्पोर्ट’ गरी दुई राइडिङ्ग मोडहरु दिइएका छन् । यस स्कुटरले इको मोडमा ९५ किलोमिटरको माइलेज प्रदान गर्दछ भने स्पोर्ट मोडमा चाहिँ ८५ किलोमिटरको माइलेज प्रदान गर्छ । चालकले एक्कासी एक्सलेरेटर दबाएर गती लिने वेलामा स्कुटरमा ‘किक डाउन मोड’ चालु हुन्छ जसले गर्दा स्कुटर एकछिनको लागि इको मोडबाट स्पोर्ट मोडमा प्रवेश गर्दछ र स्वतः फेरी इको मोडमै सिफ्ट हुन्छ । बजाजका अनुसार ओभरटेक गर्दा स्कुटरलाई बढी गतीको आवश्यकता भएको हुनाले यो फंक्शन समावेश गरिएको हो । चालकको सहजतालाई मध्यनजर गरेर बजाजले यस स्कुटरमा रिभर्स गियरको फिचर पनि समावेश गरेको छ जसले चालकलाई साँघुरो पार्किङ्गस्थलहरुमा मद्दत पुर्याउँछ । त्यसैगरी, यस स्कुटरमा स्मार्टफोन कनेक्टिभिटीको सिस्टम पनि समावेश छ जसमार्फत् स्कुटरको लोकेशन, चार्जको मात्रा, बाँकि रहेको रेञ्ज लगायतको जानकारी पाउन सकिन्छ । यसका साथै कसैले स्कुटरमा छेडछाड लगायत कुनैपनि किसिमको शंकास्पद गतिविधि गरेमा पनि चालकले आफ्नो स्मार्टफोन मार्फत् जानकारी पाउन सक्नेछन् । नेपाल आइपुग्दा कति पर्ला मूल्य ? बजाजको नेपालका लागि आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले चेतकको नेपाल लञ्च र सम्भावित मूल्यका वारे केहिपनि उल्लेख गरेको भने छैन । भारतमा १ लाख रुपैयाँ पर्ने मोटरसाइकल अथवा स्कुटर नेपाल आइपुग्दा त्यसको मूल्य सवा तीन लाखको हाराहारी पर्न जान्छ । यो तथ्यका साथै इलेक्ट्रिक वाहनमा नेपाल सरकारले दिएको उल्लेखनीय भन्सार छुटलाई समेत आधार मान्ने हो भने चेतकको नेपाली बजार मूल्य साढे २ लाख देखि ३ लाख रुपैयाँको बीचमा कायम हुन सक्छ ।
नेपाल एग्रो लघुवित्तद्धारा दुई दिने कर्मचारीको तालिम सम्पन्न
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २ दिने कर्मचारी तालिम सम्पन्न गरेको छ । संस्थाले फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि पुस २७ र २८ गते पोखरामा उक्त कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको हो । तालिममा संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यले कर्जा प्रवाह गर्दा समूह सदस्यहरुलाई दोहोरोपना नहुने गरी, उनीहरुको व्यवसाय र क्षमता अनुसार मात्रै कर्जा प्रवाह गर्नुपर्ने, कर्जाको सदुपयोग राम्ररी जाच गरी उनीहरुलाई सफल र उदाहरणीय कृषक बन्न प्रेरित गर्नुपर्ने, कृषकहरुलाई तालिम दिइने बताएका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालबाट शाखाहरुले कार्यान्वयन गर्नुपर्ने नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको वारेमा र वचत कर्ता तथा ऋणीहरुको हितलाई ध्यनमा राखेर कार्य गर्नुपर्ने बताए । पछिल्लो समयमा अधिककर्जाको भारबाट सदस्यहरुलाई बचाउनुपर्ने अवस्था आएकोले नेपाल राष्ट्र बैंकको एकल कर्जा सिमा भन्दा बढि कर्जा प्रवाहन गर्न र नेपाल एग्रोले आक्रमक होइन रक्षात्मक रणनीति लिनुपर्ने पनि प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए ।
राम्रो कम्पनी खोजेर लगानी गर्नुस्, सेयरबाटै दालभात खान पुग्छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो कम्पनी खोजेर लगानी गर्न लगानीकर्तालाई सुझाव दिएका छन् । सेयर लगानीमा राम्रो कम्पनीमा लगानी गर्दा नोक्सान व्यहोर्नु नपर्ने भन्दै उनले कम्पनी छनोट नै सबैभन्दा महत्वपूर्ण कदम हुने वताएका हुन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री खतिवडाले यस्तो वताएका हुन् । डा. खतिवडालाई सेयर बजारप्रति नकारात्मक व्यक्तिका रुपमा पनि व्याख्या गर्ने गरिन्छ । राम्रो कम्पनीमा लगानी गरे सो कम्पनीबाट प्राप्त हुने लाभांशले दालभात खान पुग्ने मन्त्री खतिवडाले बताए । यस्तै, मन्त्री खतिवडाले पछिल्लो समय सेयर बजारको संरचनात्मक परिवर्तन आएको पनि बताए । सेयर बजारमा भएका सुधारको व्याख्या गर्दै उनले अहिले तत्काल सेयर बाँडफाँड भएर प्रतिफल प्राप्त गर्न सकिने अवस्था आएको बताए । लगानीकर्ताले दोहोरो कर तिर्नु परिरहेको भनेर गुनासो गरिरहेको विषयमा भने उनले आगामी आर्थिक वर्षको बजेटबाट सो विषय सम्बोधन हुने दाबी गरे । यस्तै, धितोपत्र वोर्डका निवर्तमान अध्यक्ष डा. रेवतबहादुर कार्कीले अर्काे स्टक एक्सचेन्ज ल्याउने सार्वजनिक अभिव्यक्ति नै दिएका भएपनि अर्काे स्टक एक्सचेन्ज नआउने अर्थमन्त्री खतिवडाको भनाइ छ । यस्तै, सेयर बजारमा सरकारले हस्तक्षेप नगर्ने प्रतिवद्धता मन्त्री खतिवडाले दोहोर्याए । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ऋणपत्र कारोबार सुरु भएको जानकारी दिँदै सरकारी ऋणपत्रको कारोबार सूचीकृत गर्न पनि आग्रह गरे । सेयर ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले नीतिगत सुधार आवश्य रहेको भन्दै अनलाइन मार्फत सेयर बजारको कर तिर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले आफुहरु अन्तराष्ट्रियस्तरको ब्रोकर बन्न तयार रहेको बताए ।