कोरोना भाइरसका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएकाे बताए । दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको जानकारी दिए । अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४/१५ दिनसम्म कयौं बिरामीलाई हामीले राख्यौं, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।” उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरिकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए। ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनले जानकारी दिए। बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने जानकारी दिए । सरकारले अहिले १ सयभन्दा बढी शैया विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले भने । पच्चीस शैयामा दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकालको भनाइ थियो । रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ थियो । हालसम्म नेपालमा पाँच जना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीन जनामा नेगेटिभ देखिएको र बाँकी दुई जनालाई निगरानीमा राखिएको मन्त्री ढकालको भनाइ थियो । चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको भन्दै मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गरे। फरक प्रसङ्गमा उहाँले सङ्घ मातहत रहेका अस्पतालमा विकास समिति गठनका लागि प्रक्रिया अघि बढेको बताए । रासस
युरोपियन युनियनको सदस्यबाट बाहिरियो बेलायत
लण्डन। करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर नामाकरण गरे र हाल संसारभरका मिडियाले यही शब्दको प्रयोग गरेका छन् । शनिबार बेलायत र विश्वका मिडियाले ब्रेक्जिट सफल भएको लेखेका छन् । यसअघि राखिएको अन्तिम समयतालिका सन् २०२० को जनवरी ३१ अर्थात् शुक्रबार बेलायत युरोयिन युनियनबाट औपचारिक रुपमा नै अलग भएको छ । स्थानीय समयानुसार शुक्रबार राति ११ बजे बेलायत युरोपियन युनियनको सदस्यबाट बाहिर निस्किएपछि अब यसको सबै औपचारिकता पूरा भएको हो । युरोपेली युनियनको सदस्य रहेको करिब ४७ वर्षपछि बाहिरिएबाट युनियनको परिचय पनि फेरिन पुगेको छ र बेलायत बाहेकको युरोपेली युनियनको पहिचानमा अब यो युनियन रहेको छ । बेलायतका नागरिकको जनमतका आधारमा नै बेलायतले यो निर्णय लिन पुगेको हो । बेलायतमा सन् २०१६ जुन २३ मा बेलायत युरोयिन युनियनबाट निस्किने विषयमा जनमतसंग्रह भएको थियो । त्यस जनमत संग्रहमा बेलायती नागरिकले बेलायतलाई उक्त युनियनबाट बाहिर निस्किन जनमत दिएका थिए । त्यस निर्वाचनमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए । त्यस्तै बेलायत युरोपियन युनियनबाट बाहिरिन हुदैन भन्ने पक्षमा मतदान गर्नेको संख्या ४८ प्रतिशत थियो । त्यस जनमत संग्रहपछि नै बेलायत ईयूबाट बाहिरिने प्रक्रिया सुरु भयो । तर पछि आएर भने बेलायतले विविध खाले समस्याहरु ब्यहोरेको थियो । किन भने यिनै समस्याहरुका कारण नै यस अवधिमा प्रधानमन्त्री नै दुई जना बन्नु परेको थियो । त्यस जनमतसंग्रहकै कारण लगत्तै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । डेभिडपछि प्रधानमन्त्री बनेकी थेरेसा मेले ब्रेक्जिटको एजेण्डा पूरा गर्ने भनेर लाग्नुभएको थियो । तर पनि यस प्रयोजनका लागि आवश्यक पर्ने विभिन्न सर्तहरूका विषयमा उनले संसदको समर्थन हासिल गर्न नसकेर राजीनामा दिए । उनको राजीनामापछि यो दायित्व वर्तमान प्रधानमन्त्री बोरिस जोनसनसमक्ष आएको थियो । उनले आफूले यो दायित्व पूरा गरेको बताए । ब्रेक्जिट हुने समय शुरुमा सन् २०१९ को मार्च २९ को लागि नै तय गरिएको थियो । तर पनि यस विषयमा विवादहरु उत्पन्न भए । ईयु र पूर्व प्रधानमन्त्री थेरेसा मेबीचमा सम्झौता भएपछि त्यसलाई संसदले अस्वीकार गरेपछि कैयौँ पटकसम्म पछि धकेलिएको थियो । यसै विषयमा गत डिसेम्बर महिनामा भएको निर्वाचनमा बेलायतको हाउस अफ कमन्सका ८० सदस्यको बहुमत प्राप्त भएपछि प्रधानमन्त्री जोनसनलाई बे्रक्जिटमा जान सहज सहमति प्राप्त भएको हो । सोही प्रावधानअनुरुप गएराति बेलायत बाहिरिएको हो । बेलायत बहिर्गमन भएपनि सुरुमा ११ महिनाको अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि इयु नियमको पालना गर्ने सहमति भएको पनि प्राप्त समाचारमा जनाइएको छ । यी दुई पक्षबीचको भविष्य र व्यापार सम्बन्धको वार्ता एक वर्षभित्र गरिने बताइएको छ । त्यसैले यस प्रक्रियाले पूर्णता पाउनका लागि थप ११ महिनाको अवधि आवश्यक पर्नेछ । रासस/सिन्ह्वा/एएफपी
हेटौंडा–काठमाडौं सुरुङमार्गको डिपिआर फागुनमा सक्ने, चैतदेखि निर्माण शुरू
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् । प्रदेश सभाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने बताए। मुख्यमन्त्री पौडेलले काठमाडौंसँग जोडिने हेटौंडाका सबै मार्गहरु छ महिनाभित्र स्तरोन्नती र आरामदायी हुने बताए । उनले हेटौंडाबाट काठमाडौं जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताए। प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने जानकारी दिए । प्रदेश राजधानीको स्थायित्व टुङ्गो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए। रासस सम्बन्धित समाचारहरू : निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र हेटौंडा–काठमाडौं यात्रा अब तारमै, ९४ वर्षअघिको रज्जुमार्ग पुनः संचालनको गृहकार्य
राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्
काठमाडौं । लमजुङमा निर्माण भइरहेकाे रुदीखोला–बी जलविद्युत आयोजनाकाे काम सम्पन्न हुने क्रम बढेको छ । निजी क्षेत्रकाे लगानीमा निर्माण भएकाे साे आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ । कूल ६.६ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । कूल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रतिमेगावाट लागत १८ करोड रुपैयाँ पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिए । विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कूल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ । रासस
साताको शेयरबजारः साढे छ अर्बमाथि कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २ सय ४९ कित्ता शेयर छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४ सय ६४ रुपैयाँमा खरीदबिक्री भए । साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर ९६ करोड ५० लाख १८ हजार ६ सय ६२ मूल्यमा खरीदबिक्री भए । यस्तै सोमबार नेप्से झण्डै २४ अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीका २४ लाख नौ हजार २ सय ६२ कित्ता शेयर ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ मूल्यमा खरीदबिक्री भए । यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुग्यो । मङ्गलबार कूल १ सय ७८ कम्पनीका ३७ लाख ३९ हजार ३ सय ९७ कित्ता शेयर एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८ सय ५ रुपैयाँमा खरीदबिक्री भयो । बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १ सय ७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३ सय ८३ रुपैयाँमा खरीदबिक्री भयो । साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भयो । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७ सय ४९ मूल्यमा खरीद बिक्री भए । यस साता स्टकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए । स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन् । रासस
चिनियाँ नागरिकलाई अष्ट्रेलिया आउन रोक, नागरिकलाई चीन नजान सरकारको घोषणा
सिड्नी ।अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय नोवेल कोरोना भाइरसको संक्रमण बढेसँगै अष्ट्रेलियन सरकारले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न आदेश दिएको छ । चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको हो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, “अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ ।” यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उनले जानकारी दिए । उनले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइसकिएको बताए। अष्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ । रासस/एएफपी
अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ संचालन, डेढ करोड लागतमा निर्माण
काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ सञ्चालन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको हो । ८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्गोजका नाममा तयार भएको यो पदमार्ग नयाँ हो । हिमाल आरोहण भएको ७० वर्षपछि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गले जोडेर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। “आधार शिविरलाई आधारभूत स्तरको पदमार्गले जोड्नुका साथै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं” उनले भने, “नारच्याङदेखि नीलगिरिखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्गमा पर्यटक र पूर्वाधारका लागि लगानी भित्र्याउन पहल थालेका छौं ।” पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा बिहीबारदेखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘मौरिस हर्गोज ट्रेल’ घोषणा गर्नुका साथै पदमार्गको नक्सा सार्वजनिक गरे । हार्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । यो पदमार्ग मौरिसकालीनजस्तै कठिन र ‘वाइल्ड’ रहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । ८ वर्षअघि गुरुङको अगुवाइमा पदमार्ग पहिचान भएको थियो । पछिल्लो पाँच वर्षयता पर्यटन विभाग, प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को डेढ करोड लगानीमा पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । नारच्याङदेखि छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गका आकर्षण भएका धवलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले बताए । फराकिलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग आठ वर्षअघि पहिचान गरिएको थियो । यसअघि मुस्ताङको कुञ्जो हँुदै भिर र जङ्गलमा एक साता हिँडेर, हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । रासस
७० प्रतिशत ग्राहक बैंकमा जानु नपर्ने याेजना ल्याउँदै एनएमबी बैंक, साथमा एफएमओ र सीसीडी
काठमाडौं । पछिल्ला दिनमा नेपाली टेलिभिजन च्यानलमा एउटा फरक खालको विज्ञापन बजिरहेको छ । साना तथा मझौला कर्जा प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको विज्ञापनले धेरैले ध्यान आकर्षित गरेको छ । कृषक आफ्ना कृषि उपज व्यापारीलाई बिक्री गरिरहेका छन् तर त्यही मध्येकी एक कृषक अर्थात् रङ्गमञ्चकी कलाकार लक्ष्मी बर्देवा आफूले उत्पादन गरेको कृषि उपज व्यापारीलाई बेच्न छाडेर आफैं उद्यम गर्न थालेकी छिन् । यही सामान्य लाग्ने विषय समेटिएको विज्ञापनले भन्ने सन्देश हो, ‘साना तथा मझौला उद्यम गर्न चाहुनुहन्छ भने एनएमबी बैंकमा आउनुस् र सहजै कर्जा लिनुस् ।’ पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्था साना तथा लघु उद्यमतिर आकर्षित भइरहेका छन् । कृषि र साना तथा मझौला उद्योगको विकास नगरी आर्थिक समृद्धि कोरा कल्पना मात्रै हुनजान्छ भन्ने ध्येयका राखिएको छ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी । “३० वर्षे बैंकिङ करियरमा हरेक दिन हरेक मिनेट मेरा लागि सिकाइका समय बनिरहेका छन् । सुखमा मात्तिइन्, दुःखमा पनि आत्तिने बानी छैन । हरेक क्षणलाई सदुपयोग गरेको छु । त्यसैले नै मलाई सफलता दिएको छ”, उनले भने, “बैंकिङ आफैंमा रिस्की क्षेत्र पनि हो तर यसलाई फुकी फुकी विचार गरी गरी अगाडि बढ्दा सफलता मिलेको छ ।” बैंकिङ क्षेत्रका शुरुवाती दिनहरु अहिले जस्तो सहज थिएन । तीनवटा सरकारी बैंक थिए भने तीनवटा निजी क्षेत्रका त्यसमा पनि विदेशी लगानीका बैंक थिए । बैंकिङ कारोवार गर्न असाध्यै गाह्रो थियो । उपभोक्ता बैंक खोज्दै जानुपर्दथ्यो तर अहिले बैंकहरुले ग्राहक खोज्दै हिँडेका छन् । तत्कालीन ग्रिन्डलेज बैंक हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहायक पदबाट बैंकिङ करियर शुरु गर्नुभएका केसी यतिबेला एउटा सफल बैंकरका रुपमा थिए । जीवनमा पाएको सफलताका कथा मात्रै सुनाउनु भएन दुःखका पाटाहरु खोले। जीवन सिकाइ हो, अनुभवले खारिँदै जाँदा दुःख पनि सुखमा परिणत हुँदै जान्छन्, मैले सिकेको जीवनमन्त्र यही हो, भाग्यले यहाँसम्म पुर्यायो, केसीको मुहारमा विगतमा ती दिन ताजा बनेर आए । जतिबेला सामान्य एलसी खोल्नसमेत महिना दिन लाग्थ्यो, ग्राहकहरु भौंतारिँदै हिँड्थे । बैंकका कर्मचारी कुनै छुट्टै ग्रहबाट आएका जस्ता थिए । समयले परिवर्तन ल्यायो, सोच बदलियो, मान्छेका चाहना र अवसर पनि बदलिए । बैंक उद्योगका रुपमा विकास हुँदै गयो, आज म जहाँ छु, त्यो मेरो मेहनतको परिणाम हो, केसी विगतमा हराए। उनले भने, “सहायक पदबाट जागिरे जीवन शुरु गरेको मेरा लागि बैंकको उच्च पद प्राप्त हुनु नै सफलताको उच्चतम विन्दु हो । मेरा लागि परिवारको सहयोग, अनि भाग्य दुवै सफलता कारक बने । सिकारु मेरो चरित्र आज पनि उस्तै छ ।” केही समय स्ट्याण्र्डड चार्टडमा गुजारेपनि एनएमएबी फाइनान्स हुँदै विकसित भएको हाल एनएमबी बैंकका हरेक शाखामा काम गरेको अनुभव नैसहयोगी बने । “म सेलीब्रेटी होइन, तर अवसरको भने सदुपयोग गरे । यो नै मेरो जीवनको सफलताको यात्रा हो । बैंकले गत आर्थिक वर्षमा दुई अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गर्यो । ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि सञ्चित मुनाफा ५४ करोड ८९ लाख रुपैयाँ र शेयर स्वाप अनुपातबाट ६० करोड ३६ लाख जगेडा कोषमा राखेको छ । सिमेन्ट उद्योगमा क्रान्ति नै ल्याएको नेपाली साझेदार सहितको होङ्सीमा नेपाली बैंकहरुले १६ अर्ब लगानी गरेका छन् । त्यसमा एनएमबीले मात्रै ६ अर्ब ७५ करोड लगानी गरेको छ । सिडिसीको नेपाल प्रवेश पनि सोही बैंकबाट भएको हो । गत फागुनमा सिडिसीले बैंकलाई १ अर्ब ५० करोड ऋण दिएको छ । त्यो सिडिसीको पहिलो लगानी थियो । बैंकले विदेशी रणनीतिक साझेदारको परामर्शमा धेरैभन्दा धेरै साना तथा मझौला कर्जामा ध्यान दिएको छ । विदेशबाट कर्जा ल्याएर बैंकले गाउँगाउँमा गएर कृषि कर्जा प्रवाह गर्दै आएको छ । महिला उद्यमशील महासङ्घसँग सम्झौता गरेर १२ हजार महिलासँग बैंक जोडिन लागेको छ । विदेशबाट फर्केका नेपालीलाई कर्जा प्रवाह गर्न लागेको छ । यसै आर्थिक वर्षमा एक हजारभन्दा धेरैलाई यस्तो कर्जा प्रवाह गर्न लागेको छ । देशभित्रै पूँजी निर्माण देशको विकासका लागि पहिले आन्तरिक स्रोतको जोगाड गरौ भन्नेतर्फ ध्यान दिएको छ एनएमबीले । गत वैशाख १ गतेदेखि प्रधानमन्त्रीले शुरु गरेसँगैनेपालीको बैंक खाता अभियानले सार्थक सफलता पाइरहेको छ । पूँजी निर्माण गर्ने र बैंकिङ पहुँच पुर्याउने त्यो एउटा सुवर्ण अवसर नै थियो । खर्च गर्ने मात्रै होइन बचत गर्ने पनि बानी पनि बसाल्ने अभियान हो त्यो । ‘खोलौं खाता’ भन्ने नाराले बैंकिङ उद्योगलाई सहयोग गरेको छ । एनएमबी अब राजधानीभन्दा पर दूरदराजमा जान प्रयत्न गरिरहेको छ । वाग्मती प्रदेशभन्दा पर जाऔँ र केही गरौँ भन्ने सोँच छ बैंकको । सपना दूरदराजमा छन् । चाहना गाउँमा छन्, शहरोन्मुख क्षेत्रमा छन् । लगानी शहरभन्दा पर जरुरी भइसकेको छ । मानिसले नयाँ सोच शहरको भीडभन्दा पर प्रतिबिम्बित गरेका छन् । बैंकले अरू संस्थालाई गाभ्दा पनि ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेका वित्तीय संस्थालाई ध्यान दिएको छ । नेपालको समस्या बचत नगर्ने अनावश्यक खर्च गर्नेमा छ । नेपाल भित्रिएको रु आठ खर्ब जति विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । विलाशिताका सामानमा पैसा बगिरहेको छ । सरकारले शुरु गर्नुभन्दा पहिल्यै एनएमबी बैंकले ‘एक घर, एक बैंक खाता’ भन्ने अभियान नै चलाएको थियो । त्यसको ब्रान्ड एम्बेस्डर महानायक राजेश हमाल हुनुहुन्थ्यो । बचत गर्नुपर्छ भनेर वित्तीय साक्षरता अभियान चलाउने पहिलो बैंक थियो एनएमबी । कृषि उद्यमशीलतामा ध्यान जहाँ उद्यमशीलता छ, त्यहाँ लगानी गरौं भन्ने बैंकको मूलमन्त्र छ । त्यसले रोजगारी सिर्जना हुन्छ र आर्थिक गतिविधि पनि बढाउँछ भन्नेतर्फ ध्यान दिएको छ । बैंक खाता अभियान शुरु भएपछि दुई लाख जति नयाँ खाता थपिए । नेपालमा वार्षिक दुई खर्ब रुपैयाँ जतिको कृषि उपज आयात भइरहेको छ । नेपालमा काम गर्ने मान्छे छन्, उद्यमशीलता भएका किसान पनि छन् । बजार छ, उपभोग पनि छ । उत्पादन गर्ने किसान र बजारको सम्बन्ध राम्रो नहुँदा विचौलियाले हालीमुहाली गरेका छन् । दुःख गर्ने किसानले केही नपाउने, उपभोक्ताले बढी पैसा तिर्नुपर्ने अवस्था छ । त्यो अवस्थाको अन्त्यका लागि कृषि उद्यमशीलतालाई जोड दिएको छ बैंकले । काम गर्न सक्ने ६० लाख कामदार विदेशमा छन् । “उनीहरु सीप सिकिरहेका छन् । उनीहरु फर्केर आउँदा नेपालमा काम गर्ने वातावरण बनोस् भनेर हामी लागेका छौँ”, लगानीको विराट क्षेत्र देखिरहेको केसीले सुनाए । नेपालमा रहेको अपार सम्भावना पानीमा बगेर गइरहेको छ । त्यो सम्भावनालाई यथार्थतामा परिणत गर्ने केसीको सोँच छ । ऊर्जामा ठूलो लगानी बैंकले कृषिको अलावा ऊर्जा क्षेत्रमा समेत ठूलो लगानी गरेको छ । जलविद्युत्का अलावा वैकल्पिक ऊर्जामा पनि ध्यान दिएको छ । नेपाललाई मध्यस्तरीय आय भएको देश बनाउने महत्वपूर्ण माध्यम भनेकै ऊर्जा हो । पछिल्ला १५ वर्षमा निजी क्षेत्रले गरेको लगानीले ठूलो योगदान गरेको छ । व्यापारिक घराना पनि ऊर्जामा लगानी गर्न आएका छन् । त्यसमा एनएमबी बैंकको ठूलो साथ छ भन्छन् केसी । सो बैंकले मात्रै ४० भन्दा बढी परियोजनामा लगानी गरेको छ । १६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रतिबद्धता जनाएको छ । एनएमबी बैंकको साझेदार संस्था पनि ऊर्जामा लगानी केन्द्रित गर्न चाहन्छ । डचहरुको वित्तीय संस्थासँग एनएमबी बैंक जोडिएको छ । नेदरल्यान्डको एफएमओ बैंकको साझेदार हो । सो संस्थाको १५ प्रतिशत शेयर एनएमबीमा छ । दिगो विकास गर्न दीर्घकालीन लगानी गरौं भन्ने उनीहरुको सोच छ । बैंकले सौर्य ऊर्जामा पनि लगानी गरेको छ । रुफ टफ सोलार परियोजनामा पनि त्यसमा समेटिएको छ । नेट मिटरिङ गर्ने कार्यविधि नेपाल विद्युत् प्राधिकरणले ल्याएको छ । “विद्युत् पर्याप्त हुने वित्तिकै नयाँ प्रकारको लगानी जुट्छ । रासायनिक मल कारखाना खुल्छन् । नयाँ सिमेन्ट उद्योग खुल्छन् । “लागत घटेपछि मूल्य प्रतिस्पर्धी हुन्छ”, उनले भने । राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि नै ऊर्जामा लगानी गर्ने पर्ने बताए । “लोडसेडिङ हटाउन नेपाल विद्युत् प्राधिकरण लाग्यो, हामीजस्ता बैंकहरुले पनि लगानी गर्यौ । आजको दिनमा जश प्राधिकरणले लिन्छ तर बैंकको लगानी पनि कम छैन नि, देश उज्यालो भएको जश हामीले पनि पाउनुपर्छ”, ? “हामीले दिगो विकास गर्ने क्षेत्रका रुपमा ऊर्जालाई लियौं”, उनले भने, “नेपालमा ३ सय ६० दिन घाम लाग्छ, सौर्य परियोजनामा लगानी गर्दा फाइदा हुन्छ । हामी गरेको कामले भावी पुस्तालाई पनि फाइदा पुग्ने हुनुपर्छ ।” सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई पछ्याउन बैंक तथा वित्तीय संस्था लागेका छन् । नेपालका सबै बैंक तथा वित्तीय संस्थाको पैसा जम्मा पार्दा पाँच हजार मेगावाटभन्दा बढी निर्माण गर्ने स्रोत जम्मा हुँदैन । लगातार आठदेखि १० प्रतिशतको आर्थिक वृद्धिका लागि ठूलो लगानी चाहिन्छ । उनले ‘क्वान्टम लिप’को कुरा गरे । नेपालको पूँजीले मात्रै त्यो छलाङ हान्न नसक्ने अवस्था छ । उच्च आर्थिक वृद्धिका लागि ऋण लिन डराउनु हुँदैन तर त्यसलाई सदुपयोग गरेको उनको भनाइ छ । नेपालको कूल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशतको हाराहारीमा मात्रै ऋण छ । अरू देशले ७५ प्रतिशतसम्म पनि ऋण लिएका छन् । संसारभर दिगो विकासका लागि फाइनान्सिङ गर्ने कोष छन् । डच फाइनान्सले लगानी गरेको र स्वपूँजी नै राखेकाले पनि एनएमबीलाई सजिलो भएको उनको धारणा छ । “नेपालको आर्थिक क्षेत्रमा हामीले केही नयाँ गरौं भन्ने लाग्यो । अरू बैंकभन्दा फरक छन् हाम्रो लगानी गर्ने मोडल । यसअघि नै विदेशी संस्थाले लगानी गरेका कारण पनि हामीलाई सजिलो भयो”, उनले भने, “पुराना वैधानिकताले पनि काम ग¥यो । नेपालमा पैसा चाहिने समय आयो भन्ने भएपछि हामीले विदेशी संस्थाबाट पैसा ल्यायौँ ।” गत आवमा मात्रै १३ खर्ब जतिको व्यापार घाटा भयो । त्यसलाई घटाउने दायित्व सरकारको मात्रै होइन होला । हाम्रो पनि हो भन्ने ठानेर आन्तरिक रुपमा आर्थिक गतिविधि बढाउन केन्द्रित भएको उनकाे भनाई छ । “विदेशबाट आएको भन्दा ठूलो परिणाममा पैसा विदेशिएको छ । त्यसलाई रोक्न केही न केही त अवश्यै गर्नुपर्छ नि”, उनले भने। कूल ३०० भन्दा बढी साना तथा मझौला उद्योगमा लगानी गरेको छ । साना, मझौला र मध्यमस्तरका उद्यम व्यवसायमा लगानी बढाउनुपर्छ भन्ने सोचका साथ प्रदेश–१, प्रदेश–५ र गण्डकीमा बलियो उपस्थिति जनाएको छ बैंकले । भौगोलिक हिसाबले बजार पहुँच विस्तारका लागि मर्जरमा गएको केसी विस्तारमा सुनाउनुहुन्छ । बैंकको प्राथमिकताको क्षेत्र कृषि, ऊर्जा, पर्यटन जस्ता सरकारले प्राथमिकता दिएका नै हुन् । साना तथा मझौला उद्यम व्यवसायमा पनि हाम्रो बलियो पकड जरुरी छ भन्ने रणनीतिले काम गरेको छ । राम्रो पडक भएका बैंक वित्तीय संस्थासँग रणनीतिक रुपमा मर्जरलाई जोड दिएको छ । त्यसले बिग मर्जर नै चाहिन्छ भन्ने मान्यतालाई समेत गलत साबित गरेको छ । केही वर्षअगाडिसम्म काठमाडौंसहित केही प्रमुख शहरमा मात्रै धेरै आर्थिक गतिविधि हुन्थे । अहिले देशभर विस्तार भएको छ । पछिल्ला तीन वर्षमा देशको आर्थिक वृद्धिदर लगातार ६ प्रतिशतभन्दा माथि पुगेको छ । त्यसले पनि बैंकलाई अवसरै अवसर दिएको छ । किन एनएमबी बैंक सामान्यता बचत गर्न ग्राहक बैंकमा आउँछन् तर एनएमबी बैंकले बचत मात्रै गर्दैन । बचत भएको पैसा बृहत्तर आर्थिक लाभ हुने क्षेत्रमा लगानी गर्छ । जो कोहीले बचत गरेको रकम पनि कहाँ लगानी भयो भनेर हेर्न जान्न सक्छ । एनएमबीले दिगो क्षेत्रमा लगानी बढाएको छ । कुनै ठूलो होटलमा खुल्यो भने त्यसले पोल्ट्री, डेरी र बेकरी उद्योगमा सहयोग पुर्याउँछ भन्ने ठानेको छ बैंकले । बचतकर्ताको पैसाले ब्याज मात्रै कमाउँदैन, दिगो आर्थिक विकास पनि गर्छ भन्ने मान्यता अगाडि सारेको छ । यस्तै सुशासनका आधारमा हेर्दा केसीले नेतृत्व गरेको बैंक शीर्ष स्थानमा छ । अधिकाशं ग्राहक सन्तुष्ट छन् किनकि विदेशीदेखि स्वदेशी लगानीकर्ता पनि खुशी छन् । कर्मचारी सञ्चयकोषसमेत बैंकको लगानीकर्ता हो । डिजिटल बैंकिङमा पनि उस्तै ध्यान दिएको छ । ग्राहकलाई पछिसम्म सम्झने खालको सेवा दिएका छौँ, उनले आफ्नो बखान आफैँ गरे तर सत्यमा टेकेर । “ नेपालको कर्पोरेट बैंकिङ एवम् सुशासनमा एनएमबी बैंक अरूभन्दा धेरै माथि छ ।” नेपालमा मोबाइलको प्रभाव बढ्दै गएको छ । हरेकको हातमा स्मार्ट फोन छ । हामी अब विद्युतीय बैंकिङमा जान लागेका छौं । ७० प्रतिशत ग्राहक बैंकमा नै नआइकन पनि कारोवार गर्ने वातावरण बनाउन लागेको केसीले सुनाए । ग्राहकलाई गुणस्तरीय सेवा दिने हाम्रो पहिलो लक्ष्य छ । गाडी किन्न पैसा माग्न आयो भने सहजै दिने तर केही उद्यम गर्छु भन्नेलाई धितो खोज्ने प्रवृत्तिको कहिले अन्त्य हुन्छ होला ? “बाहिरबाट हेर्दा सवारीसाधनमा भएको लगानी अनुत्पादक नै लाग्न सक्छ तर संसारभर नै अटो फाइनान्सिङ भइरहेको छ । त्यसले आर्थिक गतिविधि भइरहेको छ भन्ने पनि देखिन्छ तर हाम्रोमा बाध्यता छ । सार्वजनिक सवारीको अवस्था बेहाल छ । मानिसहरु गाडी नै नभए पनि मोटरसाइकल भने पनि किनौँ भन्ने अवस्थामा छन्”, उनले भने । रेल सञ्जाल विस्तार नभएको अवस्थामा बाध्यता नै छ ।आर्थिक गतिविधि बढेर नेपाल विस्तारै फैलिँदैछ । सवारीसाधन अत्यावश्यक नै भइसकेको छ । त्यसका कारण यो उत्पादनशील क्षेत्र नै हो । सवारी साधनमा बढी लगानी किन ? एनएमबीले विद्युतीय सवारी साधारण खरिद गर्नेलाई आधार दरमा नै ऋण दिएको छ । वातावरणीय सुरक्षा एवम् जगेर्नाका लागि पनि त्यसो गरिएको छ। यातायातको क्षेत्रमा सरकार वा बैंकले थप लगानी गर्ने बेला आएको छन् । राम्रोसँग वातावरण बनाइदिनुस् कोही पनि व्यक्तिगत सवारीसाधन लिएर हिँड्दैन । व्याज किन बढी छ ? ब्याजदर बजारले निर्धारण गर्छ । माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्तले ब्याजदर निर्धारण गर्छ । राष्ट्र बैंकको निर्देशन छँदैछ । गत वर्षभन्दा यस वर्ष कम ब्याजदर छ तर निक्षेपकर्ताको पनि हित हेर्नुपर्छ । उनीहरुलाई मार्ने कुरा भएन । मूल्य वृद्धिको मात्रा पनि हेनुपर्नेछ । एकल विन्दुमा ब्याजदर ल्याउने विषय पनि बजारले नै निर्धारण गर्ने कुरा भएको छ । बढी ब्याजदर भएको कुरा गलत हो । बैंकिङ सुरक्षामा अब्बल विश्वभर नै साइबर सुरक्षाको विषय अहम् बनेको छ । जस्तोसुकै सुरक्षा प्रणाली जडान गरे पनि सुरक्षाको पर्खाल तोड्नेसँग त केही लाग्दैन । एनएमबी बैंकले के गरिरहेको छ रु हाम्रो स्वाभाविक प्रश्न थियो । विश्वभर नै बैंकिङ सुरक्षाको प्रश्न उठिरहेको छ । बैंक विश्वासको व्यापार हुने क्षेत्र पनि हो । लगानीकर्ता र निक्षेकपर्ताको विश्वास पनि टुट्छ । जस्तोसुकै सुरक्षा प्रणाली राख्दा पनि ह्याक भइरहेको छ । केही समयपहिले चिनियाँ ह्याकरले प्रणाली नै झण्डै सिध्याएका थिए । सचेत देखिनुहुन्छ केसी । निक्षेपकर्ताको पैसा सुरक्षित राख्ने दायित्व एकातिर छँदैछ । अर्कोतिर बैंकले जर्मनीको एक सेक्युरिटी अडिट गर्ने कम्पनीलाई बोलाएर अडिट गरायो । त्यसको निष्कर्ष आयो, एनएमबी बैंक हरेक तवरले सुरक्षित छ । आइएसओ मान्यता मान्यता प्राप्त बैंकको प्रमाणपत्र पनि पायो । ‘बैंक अफ दी इयर’को पटक पटक मान्यता पाएको सो बैंकले सुरक्षाका लागि दुई–चार करोडको लोभमा फसेको छैन । केही रकम लोभ गर्दा ठूलो नोक्सानी व्यहोर्ने पक्षमा छैन एनएमबी बैंक । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसीकाे व्यक्तित्व बैंकका प्रमुख कार्यकारी अधिकृतभन्दा काम गर्ने सन्दर्भमा एनएमबी बैंकका प्रमुख कार्यकारी शक्तिशाली छन् । करिब ८० प्रतिशतभन्दा बढी ऋणको निर्णय गर्ने क्षमता केसीसँग छ । व्यवस्थापनले पनि केसीलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिएको छ । सुशासनमा अब्बल रहेको बैंकमा व्यावसायिक वातावरण छ । विदेशी लगानीकर्ता एफएमओले पनि त्यही सिकाएको छ । सरकारी स्वामित्वको कर्मचारी सञ्चयकोषको निर्देशक पनि सञ्चालक समितिमा छन् । बैंकका संस्थागत लगानी बढी भएकाले पनि बोर्ड र व्यवस्थापनको बीचमा हुनुपर्ने सम्बन्ध सुमुधुर छ । विश्वासको मात्रा बढी छ । दैनिक काम कारवाहीमा सञ्चालक समिति लाग्नु हुँदैन, नीतिगत र दीर्घकालीन निर्णयमा लाग्नुपर्छ भन्ने संस्कार स्थापित छ । जसका कारण पनि निर्णय क्षमताका हिसाबले प्रमुख कार्यकारी अधिकृत केसी शक्तिशाली छन् । केसीले ऋणको निर्णय गर्ने अधिकतम अधिकार शाखा प्रमुखलाई पनि दिए । उच्च व्यवस्थापनका कर्मचारीसँग सुमधुर सम्बन्ध छ जसले संस्थागत हितमा निर्णय गर्छ । कसलाई ऋण दिने, ब्याजदर कति हुनेजस्ता विषयमा सञ्चालक समिति लाग्दैन । पछिल्ला तीन–चार वर्षको अवधिमा एनएमबीले विभिन्न पाँच वटा विकास बैंकलाई आफूमा समाहित गरायो । त्यसले पनि विश्वासको वातावरणलाई थप मजबुत बनाएको छ । जनतामा विश्वास बढेको छ । मर्ज गर्दा वा प्राप्ति गर्दा समस्या के कस्ता हुँदा रहेछन् ? फरक प्रणाली र कार्यशैली भएका कर्मचारीलाई एकै ठाउँमा ल्याएर काम गराउनु जटिल विषय हो, तेरो र मेरो भन्ने हुँदोरहेछ । राम्रो योजना भएन भने जटिलता हुन्छ तर हामीले सबैलाई मिलाएर ल्याएका छौं । कर्मचारीलाई तेरो र मेरो भन्ने गरेका छैनौं । फरक चिन्तनमा काम गर्नेको मनोविज्ञान बुझेर परिचालन गरेका छौं । सांस्कृतिक रुपमा एक ठाउँमा ल्याउने विषय सबैभन्दा महत्वपूर्ण रहेछ । पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा एनएमबी बैंकका स्रोत फाइनान्स कम्पनीबाट सन् २००८ मा वाणिज्य बैंकमा स्तरोन्नति भएको हो, एनएमबी । विकास बैंक र फाइनान्स कम्पनीसँग मात्रै मर्ज गरेर आफ्नो उपस्थिति देशभर पु¥याएको छ । नेपालमा विदेशबाट ऋण ल्याउने बैंकको पहिचान पनि बनाएको छ । बैंकले राम्रै नाफा कमाएको छ । केन्द्रीय बैंकले तोकेका ८ अर्ब रुपैयाँ चुक्ता पूँजी भए पुग्नेमा अहिले १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाली बैंक पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा गएर स्रोत जुटायो । नेपालका बैंकहरुको अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्थापित संस्थाबाट रेटिङ भएको थिएन । त्यसैले सबैका लागि त्यो नयाँ काम थियो तर अप्ठेरासँग जुधेर बैंकले विदेशबाट पैसा ल्यायो र लगानी गरेको सिइओ केसीले बताए। “विदेशीले पनि पत्याउँदा रहेछन, पैसा ल्याउने हैसियत पनि राख्दोरहेछ भन्ने सन्देश प्रवाह भयो । त्यस्तो सन्देश प्रवाहले अन्य प्रकारका व्यवसाय विस्तारका लागि हामीले अवसर पायौँ”, उनले भने । बैंकले ऋणको किस्ता भुक्तानी गर्न थालिसकेको छ । ३० खर्ब रुपैयाँ निक्षेप भएको बजारमा चार–पाँच अर्ब विदेशबाट ल्याउँदैमा खासै अर्थ राख्दैन तर नजिर स्थापना गर्ने कुरा नै महत्वपूर्ण थियो । विदेशबाट ऋण ल्याउने बेलामा एनएमबीको डिडिए गरियो । त्यसले पनि धेरै कुरा सिकायो बैंकलाई । त्यो घटनालाई कोसेढुङ्गाका रुपमा लिनुहुन्छ केसी । एफएमओका अधिकारी एनएमबी बैंकको सञ्चालक समितिमा छन् । सञ्चालक समितिमा आउने व्यक्तिसँग संसारभरको ठूलो बैंकिङ अनुभव छ । त्यस्तो व्यक्तिबाट हामीले केही नयाँ कुरा सिक्ने अवसर पाएको उहाँको भनाइ छ । विदेशी साझेदारले संस्थागत सुशासनमा बढी जोड दिन्छन् । नेपाली बैंकहरुको व्यवसाय खासगरी नेपालभित्र मात्रै केन्द्रित छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली बैंकहरु बहुराष्ट्रिय बैंकसँग नै निर्भर छन् । नेपालको निर्यात तथा आयात व्यापारलाई अझै सहजीकरण गर्ने हो भने नेपालका बैंकहरुले विदेशका महत्वपूर्ण र व्यापारिक हिसाबले रणनीतिक महत्वका बजारमा उपस्थिति जनाउनु अत्यावश्यक छ । रासस