रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि सुरु हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, पार्टीका विभिन्न विभागहरू, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र संघीय नेतृत्व मञ्चमा मनोनयन गर्ने विषयमा पनि सचिवालयले निर्णय लिने जनाइएको छ ।
महामन्त्री पौडेलको स्पष्टोक्ति– पुरानो सदस्यता खारेज हुँदैन, झनै व्यवस्थित बनाउन खोजिएको हो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । एक पटक डिजिटल रेकर्ड भए पछि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एकपटक आ-आफ्नो स्थानबाट मेहनत गरिदिन नेताहरूलाई आग्रह गरे । सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे। ‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने, ‘यसमा कोही अलमलमा नपरौं ।’ महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधिबारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए । महामन्त्री पौडेलले पार्टीको सदस्य सँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको बताए । महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानु पर्ने व्यवस्था गरिएको बताए । ‘हरेक क्रियाशील सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो,’ उनले भने, ‘यसले विवरणमा पारदर्शितासमेत कायम गर्न सकिनेछ । कुनै विशेष कारण जान वडा जान नसक्नेका हकमा के गर्ने भन्ने विषय छलफलमार्फत टुंग्याइने उनले बताए । कांग्रेसले जिल्ला सभापति मार्फत सबै वडामा सदस्यताको फारम पठाउनेछ । वडा सभापति मार्फत अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ । सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भए पनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाइने छैन ।
यस्ता छन् रास्वपा केन्द्रीय समिति बैठकका प्रस्ताव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको भोलि सोमबार हुने बैठकका लागि विस्तृत कार्यसूची प्रस्ताव गरिएको छ । संगठनात्मक समीक्षा, पदाधिकारी मनोनयनदेखि नीति तथा विधि सुधारसम्मका विषयहरू समेटेर ९ बुँदे एजेन्डा तयार गरिएको प्रवक्ता मनिष झाले जारी प्रेस नोटमा बताइएको छ । प्रस्तावित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे समग्र रूपमा ब्रिफिङ गरिनेछ । त्यसपछि २० जना केन्द्रीय सदस्यले दुई–दुई मिनेटका दरले आफ्नो रिपोर्टिङ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयनसम्बन्धी विषयलाई पनि प्रमुख एजेन्डाका रूपमा समावेश गरिएको छ । त्यस्तै आगामी महाधिवेशनसँग सम्बन्धित कार्यविधिको मस्यौदा पनि छलफलमा ल्याइनेछ । पार्टीको विधान संशोधनसम्बन्धी विषयलाई समेत बैठकको प्राथमिक एजेन्डामा राखिएको झाले जारी गरेको प्रेस नोटमा बताइएको छ । यससँगै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार, क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुने जनाइएको छ । त्यस्तै प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मतदानको अधिकार दिने विषयमा नीतिगत छलफल गर्ने तयारी गरिएको छ, जसलाई पार्टीको दीर्घकालीन राजनीतिक सुधारसँग जोडेर हेरिएको छ । बैठकमा सचिवालयका निर्णयहरूको अनुमोदन पनि गरिने जनाइएको छ । विविध शीर्षकअन्तर्गत विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचारमाथि छलफल, विषयगत विभागहरूको योजना तयारी तथा नीति निर्माणसम्बन्धी निर्देशन, र संसदीय दलको विधान संशोधनसम्बन्धी विषयहरू पनि समेटिएका छन् ।
कजारिया रमेश टायल्सको सञ्जाल विस्तार, ललितपुरमा नयाँ शोरुम
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले ललितपुरको इमाडोलस्थित रातामकै चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सनद्वारा सञ्चालित उक्त शोरुम वैशाख ४ गते शुक्रबार उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारीको उपस्थिति रहेको थियो । तिवारीले रिबन काट्दै शोरुम उद्घाटन गरे । यससँगै ललितपुर तथा आसपासका ग्राहकहरूका लागि विश्वस्तरीय टायल समाधानहरू नजिकबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । सो अवसरमा कन्ट्री म्यानेजर तिवारीले छाया हार्डवेयरसँगको सहकार्यमार्फत ललितपुरमा उपस्थिति विस्तार गर्न पाउँदा खुसी लागेको बताए । उनका अनुसार नयाँ शोरुमलाई केवल बिक्री केन्द्र मात्र नभई ग्राहकहरूले प्रेरणा, नवप्रवर्तन र आधुनिक टायल समाधान अनुभव गर्न सक्ने केन्द्रका रूपमा विकास गरिएको छ । शोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सका विविध डिजाइन, आकर्षक फिनिस तथा उच्च गुणस्तरयुक्त उत्पादनहरू प्रदर्शनमा राखिएको छ, जुन आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकताअनुसार तयार गरिएको कम्पनीको दाबी छ । कम्पनीले नेपालमै स्थापना गरेको टायल उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको जनाएको छ । साथै, देशभर १०० भन्दा बढी शोरुममार्फत आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । कजारियाका उत्पादनहरूमा विभिन्न आकारका ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी टायल तथा सेरामिक वाल टायल समावेश छन्, जसलाई पानी तथा दाग प्रतिरोधी, दीगो र आधुनिक डिजाइनयुक्त रूपमा विकास गरिएको छ ।
बुटवलकै सबैभन्दा ठूलो 'न्यू इयर्स इभ सेलिब्रेशन' सम्पन्न
काठमाडौं । हायात प्लेस बुटवलले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ सेलिब्रेशन’ आयोजना गरेको छ । चैत ३० गते (अप्रिल १३) खुला आकाशमुनि होटलको स्विमिङ पुल परिसरमा आयोजित कार्यक्रमले बुटवललाई सांगीतिक तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा नयाँ उचाइमा पुर्याएको दाबी गरिएको छ । ‘एक रात, एक मञ्च, दुई आइकन’ (वन नाइट, वन स्टेज, टु आइकन) नारासहित आयोजित कार्यक्रममा २५० भन्दा बढी पाहुनाहरूको उत्साहजनक सहभागिता रहेको थियो । खुला आकाशमुनिको आकर्षक पुलसाइड सेटअप र रङ्गीचङ्गी बत्तीहरूको सजावटले २०८२ लाई बिदाइ गर्दै २०८३ को स्वागतका लागि विशेष माहोल सिर्जना गरेको थियो । कार्यक्रमको सुरुवात ऊर्जावान नृत्य प्रस्तुतिबाट भएको थियो । त्यसपछि प्रख्यात इन्स्ट्रुमेन्टल ब्यान्ड ‘कुटुम्ब’ले आफ्ना मौलिक धुनमार्फत दर्शकहरूलाई मन्त्रमुग्ध बनायो । माहोल अझै तात्दै जाँदा पप गायक नवीन के भट्टराईले स्टेज सम्हाल्दै आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे, जसमा सहभागीहरू नाचेका र रमाएका थिए । सांगीतिक प्रस्तुतिसँगै पाहुनाहरूले अनलिमिटेड लाइभ फुड काउन्टर, विविध परिकार तथा प्रिमियम पेय पदार्थको पनि भरपुर आनन्द लिएका थिए । कार्यक्रमको सफलताबारे हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले २५० भन्दा बढी पाहुनाको सहभागिताले आफूहरू उत्साहित भएको बताए । उनले कुटुम्ब र नवीन के भट्टराईजस्ता कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको उल्लेख गरे । कार्यक्रमको मुख्य आकर्षण मध्यरातको ‘काउन्टडाउन’ थियो । घडीले १२ बज्नासाथ हुटिङ र तालीसहित नयाँ वर्ष २०८३ को स्वागत गरिएको थियो । हायात प्लेस बुटवलले पश्चिम नेपालको हस्पिटालिटी र लाइफस्टाइल क्षेत्रमा नयाँ आयाम थप्दै आएको छ । यसपटकको न्यू इयर्स इभ कार्यक्रमको सफलताले विश्वस्तरीय अनुभव प्रदान गर्ने होटलको प्रतिबद्धतालाई अझ मजबुत बनाएको जनाइएको छ ।
बैजनी रङमा रंगिएको काठमाडौं : सडकमा पोखिएको वसन्तको मधुर सपना (फोटो फिचर)
काठमाडौं । जब चैत, वैशाखको चञ्चल बतासले हिमालका काखबाट सुस्तरी बगेर उपत्यका भित्रिन्छ, तब काठमाडौंले एउटा भिन्नै अवतार धारण गर्छ । धुलो र धुँवाको बाक्लो पर्दालाई चिर्दै शहरको मुटुमा यतिबेला ‘ज्याकाराण्डा’ का नीलाभ–बैजनी फूलहरू यसरी मुस्कुराइरहेका छन्, मानौँ आकाशले धर्तीमा आफ्नो सुन्दरताको मसी पोखिदिएको छ । शहरका व्यस्त सडकहरूमा यतिबेला मात्र ट्राफिक जाम छैन, त्यहाँ त वसन्तको एउटा कव्यात्मक उत्सव चलिरहेको छ । सुन्धारादेखि दरबारमार्गसम्म, अनि रत्नपार्कदेखि जमलका गल्लीहरूसम्मका ज्याकाराण्डाका रुखहरू फूलको भारले निहुरिएका छन् । ती डालीहरूबाट खसेका फूलका गुच्छाहरूले सडकका किनारा र फुटपाथलाई बैजनी गलैँचामा परिणत गरिदिएका छन् । ती सुन्दर पत्रदलहरूमाथि टेक्दा बटुवाका पाइलाहरू पनि कता कता अडिन्छन्, मानौँ यो कुनै साधारण बाटो होइन, एउटा स्वप्निल संसारको प्रवेशद्वार हो । तस्बिरहरूमा कैद भएको काठमाडौं झनै जीवन्त देखिन्छ । एकातिर नवनिर्मित धरहराको सेतो गजुरले आकाश चुम्न खोज्दैछ, अर्कोतिर त्यसकै वरिपरि फैलिएका बैजनी फूलहरूले आधुनिकता र प्रकृतिको एउटा अपूर्व सङ्गम झल्काएका छन् । खैरो र रङहीन देखिने कङ्क्रिटका भवनहरूका बीचमा यी फूलहरूले काठमाडौंलाई एउटा नयाँ प्राण भरेका छन् । काठमाडौंवासीका लागि यी फूलहरू केवल वनस्पतिका हिस्सा मात्र होइनन्, यी त ‘नोस्टाल्जिया’ (पुरानो याद) का संवाहक पनि हुन् । कलेजका ती दिनहरू, साथीभाइसँग हातमा हात मिलाएर हिँडेका ती साँझहरू, अनि यही बैजनी छहारीमुनि साटिएका कयौँ अधुरा प्रेमका सुस्केराहरू आज फेरि तिनै फूलहरूसँगै ब्युँझिएका छन् । बुढापाकाहरू यी फूललाई हेरेर पुराना दिन सम्झिन्छन् भने युवा पुस्ताका लागि यो ‘सेल्फी’ र ‘रिल्स’ बनाउने एउटा रङ्गीन पृष्ठभूमि बनेको छ । रुखका ती मसिना हाँगाहरूमा गत वर्षका सुकेका कोसाहरू र यो वर्षका नयाँ कोपिलाहरू सँगै देखिन्छन् । यसले समयको निरन्तरता र पुनर्जन्मको सन्देश दिइरहेको छ । जाडोको ठिहीले सुकेका ती हाँगाहरूमा आज जुन उभार आएको छ, त्यसले हरेक नगरवासीको मनमा एउटा आशाको सञ्चार गरेको छ । साँच्चै, काठमाडौं यतिबेला एउटा क्यानभास बनेको छ र ज्याकाराण्डा त्यसको मुख्य रङ । यो बैजनी वर्षाले शहरको कोलाहललाई केही क्षणका लागि भएपनि बिर्साइदिएको छ । यदि तपाईं यो बैजनी सम्मोहनको स्वाद लिन चाहनुहुन्छ भने, एकपटक शान्त मनले यी सडकहरूमा निस्कनुहोस् । तपाईंले पाउनुहुनेछ— वसन्त केवल ऋतु मात्र होइन, यो त काठमाडौंको हृदयमा फुलेको एउटा मीठो मुस्कान रहेछ । तस्बिरहरु : अनुप प्रधान
अब घरबाटै एनओसी लिन सकिने
काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय (केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो । उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । दुवै विश्वविद्यालयसँग अन्तरआवद्धता हुनुभन्दा अगाडि आवेदकले आवेदन दिइसकेपछि, आवेदकले राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआवद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’ (सीआइएमएस) मा भेटिएको अवस्थामा र आवेदकले राखेको एनईबीको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा एनईबीसँग अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा आवेदक विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ । तर फेसलेस बनाउँदा आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदनमा विश्वविद्यालयको सर्टिफिकेट राख्नु पर्ने र विश्वविद्यालयका प्रणालीहरूसँग अन्तरआवद्धता नभएकाले आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था रहेको थियो । महालेखा नियन्त्रणको कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग अन्तरआवद्धता भएकाले एनओसीको राजस्व पूर्ण रूपमा अनलाइनमार्फत लिइएको छ । एप्रुभ भएको एनओसी सर्टिफिकेट आवेदकले आफ्नै प्रोफाइलबाट पेपरलेस डाउनलोड गर्न सक्नेछन् । सर्टिफिकेटमा क्यूआर कोड भएकाले क्यूआर स्क्यानरबाट हेर्न सकिनेछ । त्रिवि र केयूसँग अन्तरआवद्धता भएपछि आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदकले आवेदनमा राखेको विश्वविद्यालयको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा त्रिवि र केयूसँग फेसलेस अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्रका विवरणहरू देखिने र आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने एनओसी शाखाले जनाएको छ ।
देउवा पक्षको निष्कर्स : पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बीच निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने निष्कर्ष निकालेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि देउवा पक्षका पूर्वकेन्द्रीय सदस्यहरू आगामी रणनीति तय गर्न तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्को निवासमा जुटेका थिए । सो भेलाले पार्टीभित्रको विभाजन अन्त्य गर्दै एकताको वातावरण निर्माण गर्न वर्तमान नेतृत्व जिम्मेवार बन्नुपर्ने धारणा अघि सारेको हो । भेलामा सहभागी नेताहरूले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै त्यसपछिको राजनीतिक दिशाबारे गम्भीर छलफल सुरु भएको बताएका छन् । उनीहरूका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच अबको भूमिकाबारे स्पष्ट रणनीति बनाउन आवश्यक देखिएको छ । भेलापछि विकासन्युजसँग कुरा गर्दै नेता जितजंग बस्नेतले सर्वोच्चको निर्णयपछि पार्टीभित्र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल प्रारम्भ भएको जानकारी गराए । उनले भने, ‘सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्नेबारे विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको छलफल हो ।’ देउवा पक्षले एकता, समन्वय र समावेशितालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पार्टीभित्र आफ्नो भूमिका तय गर्ने संकेत गरेको छ । यसले नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक दिशा निर्धारणमा नयाँ बहस सुरु हुने देखिएको छ ।