विकासन्युज

४८ दिनपछि सुधनको गृह मन्त्रालयमा ‘कमब्याक’

काठमाडौं । विभिन्न विवादमा परेपछि राजीनामा दिएका सुधन गुरुङ ४८ दिनपछि पुनः गृहमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । गत वैशाख ९ गते पदबाट राजीनामा दिएका गुरुङले जेठ २६ गते (मंगलबार) पुनः गृहमन्त्रालयको कमाण्ड सम्हालेका हुन् । गत वर्षको चैत १३ गते पहिलो पटक गृहमन्त्री बनेका गुरुङ सम्पत्ति विवरण, सेयर स्वामित्व र आर्थिक कारोबार लगायतका विषयमा विवादमा मुछिएका थिए । विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिएका थिए । गुरुङको राजीनामालगत्तै सरकारले उनीमाथि लागेका आरोपहरूको छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिले गुरुङको सम्पत्ति, सेयर स्वामित्व र समग्र आर्थिक कारोबारको विस्तृत अध्ययन गरेको थियो । समितिले गुरुङमाथि लागेका आरोपहरूमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिले आरोपबाट मुक्त गरेकै आधारमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उनलाई पुनः मन्त्रीमण्डलमा समेट्दै गृहमन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । समितिको प्रतिवेदनकै आधारमा मन्त्री गुरुङले सफाइ पाएर मन्त्रालयमा कमब्याक गरे पनि उक्त छानबिन प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन । प्रतिवेदन सार्वजनिक नभएकाले यसको पूर्ण विवरण र समितिको ठोस निष्कर्षबारे सर्वसाधारणमा अझै कौतुहलता कायम छ । पहिलो पटक मन्त्री बनेको २७ औं दिनमै गुरुङले राजीनामा दिएका थिए । पहिलो पटक मन्त्रिपरिषद् गठन हुँदा तेस्रो मर्यादाक्रममा रहेका गुरुङ त्यसपछि मर्यादाक्रम परिवर्तन हुँदा उनी पाँचौँ स्थानमा परेका थिए । यद्यपि अहिले पनि उनी पाँचौं स्थानमै रहेका छन् । गत वर्षको फागुन २१ गते सम्पन्न  प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ बाट विजयी भएका गुरुङ जेनजी आन्दोलनपछि राजनीतिक वृत्तमा चिनिएका हुन् । उनी त्यसअघि उनी ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष थिए । जेनजी आन्दोलनको पहिलो दिन उनले सञ्चारमाध्यममा ‘म स्वयंसेवकका रूपमा पानी बाँड्न आएको हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए । गुरुङमाथि ‘फ्री तिब्बत’ अभियानसँग जोडिएका संस्थासँगको सहकार्य, ‘टीओबी’को आरोप पनि लाग्दै आएको थियो ।

सुधनलाई पाँचौं र महावीरलाई आठौं वरीयता

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै मन्त्रिपरिषद्को वरीयताक्रम पनि निर्धारण गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि सार्वजनिक गरिएको मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार गृहमन्त्री गुरुङ पाँचौं र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन आठौं स्थानमा रहेका छन् ।  शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा-१ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् । दुवै मन्त्रीका लागि यो सरकारमा दोस्रो कार्यकाल हो । गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने पुनले अघिल्लो कार्यकालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरेका थिए । यस्ताे छ वरियता

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सम्पन्न, मीरा राणा र रसाइलीलाई नगदसहित सम्मान

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२' सम्पन्न भएको छ । कार्यक्रम जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा आयोजना गरिएको थियो । उक्त समारोहमा गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार सि.के. रसाइलीलाई जनही १ लाख १ रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको छ । नगद पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यान्सर सर्भाइभर रहेको उल्लेख गर्दै उक्त रकम क्यान्सर समाजलाई हस्तान्तरण गरेकी छन् । उनले क्यान्सर पीडित कलाकारलाई सहयोग गर्ने उद्देश्यले हालै क्यान्सर समाज स्थापना गरिएको जानकारी दिइन् । यसैगरी कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ वरिष्ठ संगीतकार तथा गितारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ । ५० हजार रुपैयाँ राशिको उक्त सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील भई स्वास्थ्योपचार गराइरहेका स्रष्टालाई प्रदान गरिँदै आएको छ । सम्मान कार्यक्रममा भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले संगीत तथा कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ भने सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको जनाएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि विश्वका विभिन्न देशबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । कम्पनीले हालै ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ भने सोही माध्यमबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।    

मन्त्री गुरुङ र पुनले लिए सपथ, दुवैलाई दोस्रो पटक जिम्मेवारी

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा-१ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् । दुवैका लागि यो मन्त्रिपरिषद्मा दोस्रो पटकको जिम्मेवारी हो । गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै, पुनले विगतमा पनि सरकारमा रहेर शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको नेतृत्व गरिसकेका छन् । 

बैंकिङ र बिमासहित २५ अत्यावश्यक सेवामा हडताल पूर्ण रूपमा निषेध

काठमाडौं । सरकारले बैंकिङ, बिमा लगायतका २५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरेको हो । सरकारका अनुसार सार्वजनिक सेवा अवरुद्ध हुन नदिन अत्यावश्यक सेवामा हडताल निषेध गरिएको हो । यस निर्णयअनुसार डाँक, तार तथा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट यात्रु तथा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा तथा विमानको सञ्चालन र मर्मतसम्बन्धी सेवा, हवाई ग्राउन्ड, रेल्वे स्टेसन र सरकारी गोदाममा मालसामान व्यवस्थापनसँग सम्बन्धित सेवा अत्यावश्यक सेवाभित्र परेका छन् । त्यस्तै, सरकारी छापाखाना, रक्षा सामग्री उत्पादन तथा वितरण, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी आपूर्ति, होटल तथा पर्यटन आवास सेवा, पेट्रोलियम पदार्थ (एलपी ग्यास सहित) को आयात, ढुवानी र वितरण, अस्पताल तथा स्वास्थ्य सेवा, औषधि उत्पादन तथा बिक्री वितरण, फोहोरमैला व्यवस्थापन तथा सरसफाइ सेवा पनि यस सूचीमा समावेश छन् ।  यसैगरी बैंकिङ र बिमा सेवा, विद्युत् सेवा, दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति, मौसम तथा बाढी पूर्वानुमान सेवा, मास्क तथा ह्यान्ड स्यानिटाइजर सम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा, राहदानी सेवा र इन्टरनेट सेवामा समेत हडताल निषेध गरिएको छ ।

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट

काठमाडौं । मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा मकालु वाईन इन्डस्ट्रीज लिमिटेडका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको कम्पनीले विगत ३१ वर्षदेखि करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय वाइन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ । कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको पनि लगानी रहेको छ । साथै कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारीसमेत गरिरहेको जनाएको छ ।

गृहमा सुधन र विज्ञान प्रविधि मन्त्रीमा महावीर नियुक्त, सपथका लागि शितल निवास पुगे

काठमाडौं । सरकारले सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेको छ। नवनियुक्त मन्त्रीद्वय राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी तथा पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिएको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रविधि अभियन्ताका रूपमा परिचित पुनको मन्त्रिपरिषदमा प्रवेशलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको विकाससँग जोडेर हेरिएको छ । त्यस्तै, गुरुङले गृह प्रशासन, शान्ति–सुरक्षा तथा सुशासनका क्षेत्रमा नेतृत्व गर्नेछन् । उनी दाेस्राे पटक गृहमन्त्री बन्न लागेका हुन् ।

एमालेको सुझाव संकलन तालिका सार्वजनिक, सातै प्रदेशमा भेला हुने

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन तथा समीक्षा कार्यदलको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ । बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण र पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न विभिन्न प्रदेश, जनसंगठन तथा निकायका पदाधिकारीहरूसँग छलफल गर्ने निर्णय गरेको छ । कार्यदलले सुझाव संकलनका लागि विस्तृत भेला तालिकासमेत सार्वजनिक गरेको छ । निर्णयअनुसार जेठ ३० गते बागमती प्रदेश, असार २ गते कोशी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश र असार १३ गते मधेश प्रदेशका पदाधिकारीहरूसँग सुझाव संकलन गरिनेछ । यस्तै, असार १६ गते राजधानी विशेष समन्वय, असार १७ गते सम्पर्क समन्वय समिति, असार १८ गते जनसंगठन तथा असार १९ गते विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यतालिका तय गरिएको छ । कार्यदलले प्रदेशस्तरीय भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारीहरूको सहभागिता रहने जनाएको छ । कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका इन्चार्जहरूले गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी पार्टी महासचिवलाई प्रदान गर्ने निर्णय गरेको छ । साथै आयोजना हुने सबै भेलाहरूमा कार्यदलका संयोजक, महासचिव तथा सदस्यहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ। पार्टी पुनर्गठन र संगठनात्मक सुधारका लागि सुझाव संकलन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदलले प्रदेशदेखि केन्द्रीय तहसम्मका नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेको एमालेले जनाएको छ ।