अमेरिका-इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा, वार्तामा उपराष्ट्रपति भान्सले नेतृत्व नगर्ने
काठमाडौं । आगामी दिनमा अमेरिका र इरानबीच हुने शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन् । राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उनले लेखेका छन्, ‘मेरा प्रतिनिधिहरू पाकिस्तानको इस्लामाबाद जाँदैछन् र उनीहरू भोलि साँझ वार्ताका लागि त्यहाँ हुनेछन् ।’ पाकिस्तानी अधिकारीहरूले यसअघि इश्लामावाद शहरभर र छिमेकी रावलपिण्डीमा सडक बन्द गर्ने र सवारी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । एएफपीका पत्रकारहरूले इस्लामावादको सबैभन्दा सुरक्षित होटल, जहाँ अमेरिका र इरानी प्रतिनिधिहरूबीच पहिलो चरणको वार्ता भएको थियो, त्यहाँ नजिकै सशस्त्र गार्डको उपस्थिति र चेकप्वाइन्टहरू बनाइएको बताएका छन् । सुरक्षा सावधानीका लागि आइतबारदेखि नै सेरेना होटल जाने अधिकांश सडकहरू काँडेतार, ब्यारिकेड, कडा सुरक्षा र ट्राफिक डाइभर्सनका साथ बन्द गरिएका छन् । नागरिकहरूलाई सुरक्षा निकायहरूसँग सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ, ‘शहरका एक अधिकारीले एक्समा पोस्ट गरेका छन् ।’
कांग्रेस सभापति थापाद्वारा एकताका लागि पहल सुरु, पूर्णबहादुर खड्कासँग भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् । उनले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गरेका हुन् । सभापति थापा नेता खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए । पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले बताए । ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु ’, सभापति थापाले भने। सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उनको भनाइ थियो । उनले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेस नेता कार्यकर्तालाई आह्वान गरे ।
अब कर्मचारीले १५ दिनमै तलब पाउने, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता वितरण प्रणालीमा परिवर्तन गरेको छ । अब सरकारी कर्मचारीहरूले महिनाको अन्त्यमा एकैपटक तलब पाउने व्यवस्थाको सट्टा महिनाको दुई पटक अर्थात् अर्धमासिक रूपमा तलब पाउने भएका छन् । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै यस नयाँ व्यवस्थालाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । वैशाख ४ गतेको माननीय अर्थमन्त्रीस्तरको निर्णयानुसार अब कर्मचारीको तलबभत्ता र सुविधा अर्धमासिक रूपमा भुक्तानी गर्ने परिपाटी सुरु गर्न लागिएको हो । हालसम्म महिना भुक्तान भएपछि मात्र मासिक रूपमा तलब दिने गरिन्थ्यो । तर, कर्मचारीहरूको आर्थिक सहजता र खर्च व्यवस्थापनलाई मध्यनजर गर्दै महिनाको दुई पटक तलब दिने व्यवस्था मिलाउन लागिएको अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । मन्त्रालयले महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई पत्र पठाउँदै अर्धमासिक रूपमा तलब वितरणका लागि आवश्यक प्राविधिक र प्रशासनिक व्यवस्था मिलाउन अनुरोध गरेको छ । यो व्यवस्था लागू भएपछि सरकारी कर्मचारीहरूले हरेक १५/१५ दिनमा आफ्नो पारिश्रमिक प्राप्त गर्नेछन् ।
पर्यटकलाई हैरानी दिने १६ महिला पक्राउ
काठमाडौं । लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने १६ जना महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने, हैरानी दिने र लुटपाट गर्ने गरेको जनगुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार लेकसाइड क्षेत्रमा रातिको समयमा अनैतिक क्रियाकलाप बढ्दै गएको र यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको भन्दै स्थानीय बासिन्दा र पर्यटकहरूबाट समेत व्यापक गुनासोको आधारमा अनुसन्धान लागि नियन्त्रणमा लिएको जनाइएको छ । पछिल्लो समय लेकसाइड क्षेत्रमा पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई दुःख दिने, हैरानी पार्ने र लुटपाट गर्ने जस्ता कार्यमा केही व्यक्तिहरू सक्रिय रहेको सूचना र जनगुनासोलाई मध्यनजर गर्दै प्रहरीले आफ्नो सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ट्रम्पको चेतावनी: 'इरानले सम्झौता नगरे पावर प्लान्ट र पुलहरू ध्वस्त पारिनेछ'
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने आइतबार बताएका छन् । उनले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबारसम्ममा इस्लामावाद पुग्ने यसअघि नै बताएका थिए । इस्लामावादमा तेहरानसँग अघिल्लो चरणको वार्ताको नेतृत्व गरेका तर कुनै सम्झौता नगरी आएका उपराष्ट्रपति भान्सले यस पटक अमेरिकी वार्ता टोलीको नेतृत्व नगर्ने समाचारले वार्ताको वातावरण अन्योलपूर्ण अवस्थाको रूपमा देखा परेको छ किनकि ट्रम्पको क्याबिनेटका सदस्यहरूले उपराष्ट्रपति भान्सले नै वार्ताको नेतृत्व गर्ने बताएको थियो । ‘यो केवल सुरक्षाका कारण हो,’ राष्ट्रपति ट्रम्पले एबीसी न्यूजसँग भने, ‘इस्लामिक गणतन्त्रसँग सम्झौता गर्न सक्ने क्षमताको चिन्ताका कारण भान्सलाई इस्लामावाद यात्राबाट हटाइएको भन्ने कुनै पनि धारणा सही होइन ।’ ‘जेडी भान्स महान् (सक्षम) हुनुहुन्छ,’ ट्रम्पले थपे । यसअघि संयुक्त राष्ट्रसङ्घका लागि वाशिङ्टनका दूत माइक वाल्ट्जले एबीसी न्यूजको ‘दिस विक’ कार्यक्रममा भनेका थिए, ‘राष्ट्रपतिले घोषणा गरेजस्तै हाम्रा मुख्य वार्ताकारहरू र उपराष्ट्रपति अर्को चरणको वार्ताका लागि पाकिस्तान यात्रामा जान लाग्नुभएको छ।’ अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले सीएनएनको स्टेट अफ द युनियनसँग भने,‘भान्सले सुरुदेखि नै वार्ताको नेतृत्व गरिरहनुभएको थियो र यस पटक पनि सम्भवतः उहाँ नै जानुहुनेछ ।’ सोमबारदेखि सुरु हुने भनिएको वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन । ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उहाँका ज्वाइँ जारेड कुश्नर अप्रिल ११ मा भएको लामो वार्तामा पाकिस्तान पुगेका थिए । त्यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा इरानले दुई हप्ताको युद्धविरामको पूर्ण उल्लङ्घन गरेको आरोप लगाउँदै कुनै सम्झौता नभए इरानका पावर प्लान्ट र पुलहरू नष्ट गर्ने चेतावनी दिएका थिए । ट्रम्पले आफूले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरेको बताउँदै भनेका थिए, ‘यदि तेहरानले अस्वीकार गरेमा ‘अमेरिकाले इरानका सबै पावर प्लान्ट र हरेक पुल ध्वस्त पार्नेछ । अब कुनै राम्रो विकल्प छैन ’ वाल्ट्जले नयाँ चरणको वार्ताले अविश्वसनीय परिणाम निम्त्याउँछ भन्ने विश्वास व्यक्त गरे। ‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि बन्द रह्यो । रणनीतिक जलमार्ग पुनः खोल्ने घोषणा गरेको एक दिनपछि इरानले शनिबार फेरि उक्त मार्ग पानीजहाजका लागि बन्द गरेको घोषणा गरेको थियो। बेलायतको सामुद्रिक सुरक्षा निकायले शनिबार इरानको रिभोलुसनरी गाड्र्सले एउटा ट्याङ्करमाथि गोली चलाएको जनाएको छ भने सुरक्षा गुप्तचर संस्था भ्यानगार्ड टेकले खाडीबाट भागिरहेको एउटा खाली क्रुज जहाजलाई ‘नष्ट’ गर्ने चेतावनी दिएको जनाएको थियो । तेस्रो घटनामा, बेलायतको एक निकायले भनेको थियो, आफूले एक जहाजलाई ‘अज्ञात प्रोजेक्टाइल’ द्वारा आक्रमण भएको रिपोर्ट प्राप्त गरेको थियो । आक्रमणबाट ढुवानी कन्टेनरमा क्षति पुगेको तर आगो नलागेको रिपोर्टमा उल्लेख छ । अमेरिका-इरानबीचको दुई हप्ता लामो युद्धविराम बुधबार सकिँदैछ ।
भारतमा पटाका उद्योगमा आगलागी हुँदा २० जनाको मृत्यु, ६ घाइते
काठमाडौं । भारतको दक्षिणी क्षेत्रमा रहेको एक पटाका कारखानामा आइतबार भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका प्रहरीले जनाएको छ । स्थानीय प्रहरी प्रमुख एन श्रीनाथले एएफपीलाई बताएअनुसार तामिलनाडु राज्यको विरुधुनगर जिल्लामा रहेको एक कारखानामा भएको घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । उनले आगलागीको कारण खुल्न नसकेको र उद्धारकर्ताले समाचार तयार पार्दासम्म घटनास्थलमा अझै काम गरिरहेको बताए । भारतमा प्रायः सुरक्षा नियमहरूको कमजोर पालना र कमजोर कार्यान्वयनको कारण औद्योगिक दुर्घटनाहरू हुनुलाई सामान्य रूपमा लिने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत उक्त घटनामा आफ्ना प्रियजन गुमाएका पिडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले एक्समा एक पोस्ट गर्दै पटाका कारखानामा भएको आगलागी र मृत्युको घटना ‘दुःखद’ भएको बताएका छन् । मध्य भारतको एक विद्युत गृहमा यसै हप्ता भएको विस्फोटमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत महिना पनि भारतको पश्चिम क्षेत्रमा रहेको एक पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले दिएको जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर ललितपुरमा बस्ने भएको छ ।
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार (आज) बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने रास्वपाको तयारी छ । बैठकले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ । यसअघि प्रवास विभाग प्रमुखको जिम्मेवारीमा उपसभापति डिपी अर्याल रहेका थिए । अर्याल सभामुखमा निर्वाचित भएपछि उनी पार्टीको जिम्मेवारीबाट अलग भएका छन् । उनी सभामुखमा निर्वाचित भएसँगै सो पद रिक्त थियो । सचिवालयले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ । पार्टी प्रवक्ता झाका अनुसार केन्द्रीय समिति बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे ‘ब्रिफिङ’ हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुको रिपोर्टिङ हुनेछ । केन्द्रीय सदस्यलाई दुई मिनेटका दरले समय छुट्याइएको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकारलगायत विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।