त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले दैनिक १५ उडान गर्ने
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तराष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए । उनले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गरिने बताए । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ । तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन। तरपनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटा भन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए । त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुने उनले बताए । अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा चार घण्टा अघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उनले बताए । समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो । यस्तै देश भित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए ।
काेराेनाकाे कारण नेपालमा थप २ जनाकाे मृत्यु
काठमाडाैं । काेराेनाकाे कारण नेपालमा थप २ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपालमा थप २ जनाकाे मृत्यु भएकाे बताएका हुन् । मृत्यु हुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका घर भएका ६० वर्षिय पुरुष रहेकाे गाैतमले बताए । उनलाई साउन २ गते विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे । उपचारकाे क्रममा उनकाे हिजाे अर्थात साउन ६ गते मृत्यु भएकाे हाे । यस्तै अर्काे व्यक्ति पाेखरामा काम गरिरहेकाे ४९ वर्षिय चिनियाँ महिला रहेकाे गाैतमले बताए । मणिपाल अस्पताल पाेखरामा उपचार गराईरहेकाे उनलाई हेलिकप्टरबाट साउन २ गते काठमाडाैं ल्याईएकाे थियाे । उनमा परीक्षण गर्दा काेराेना पुष्टि भएकाे र आज उनकाे मृत्यु भएकाे हाे । याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या ४२ पुगेकाे छ । हाल नेपालमा कुल १८ हजार ९४ जनामा काेराेना पुष्टि भएकाे छ ।
काठमाडाैं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए
काठमाडाैं । काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे ३ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ३ सय ८५ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ५९, ललितपुरकाे ७९ र भक्तपुरकाे ४७ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।
नेपालमा थप १ सय जनामा कोरोना पुष्टि, २१६ जना निकाे भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा २१ हजार ८ सय ४२ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २७ हजार ६ सय १४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट २ सय १६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
किन गए बीमा समितिका कर्मचारीहरु २० वटै जीवन बीमा कम्पनीमा ?
काठमाडौं । आर्थिक वर्ष सकिएको ७ दिनपछि नै बीमा समितिका कर्मचारीहरु २० वटै बीमा कम्पनीमा पुगेका छन् । समितिले कम्पनीहरुको स्थलगत अनुगमन (अनसाइड इन्स्पेक्सन) का लागि आफ्ना कर्मचारीहरु खटाएको हो । बीमा समिति स्रोतले दिएको जानकारी अनुुसार कम्पनीहरुको विजनेशन अवस्था बुझ्न आफ्नो कर्मचारी कम्पनीमा पठाएको हो । बीमा समिति बीमा क्षेत्रको नियामक निकाय हो । समितिले कम्पनीहरुको अन साइट तथा अफ साइट निरीक्षण पनि गर्ने गर्छ । सोही निरीक्षणको आधारमा समितिले बीमा कम्पनीका गतिविधीलाई मूल्याङ्कन गर्छ । बीमा उद्योगमा स्वस्थ्य प्रतिस्पर्धाको वातावरण हुनु पर्ने बीमा समितिले बताउदै आएको छ । यस्तै, कहिले काही कुनै घटनाक्रमले गर्दा समग्र उद्योगमा समेत दाग लाग्ने गरेको कारण बजारलाई स्वच्छ बनाउन समितिले आफ्ना कर्मचारीलाई कम्पनीमा पठाएको स्रोतको भनाइ छ । बीमा कम्पनीहरुको संख्या बढेसँगै स्वच्छ प्रतिस्पर्धालाई प्राथमिकता दिएको समिति बताउँछ । यस्तै, कहिकतै बीमा बजारमा विकृती आउने छिद्रहरु भेटिएमा त्यसलाई रोक्न समितिले आफ्नो तर्फबाट कदम चाल्ने गरेको छ । बीमा समितिले निर्देशनहरु जारी गर्ने, आफ्ना योजना बनाउने, बिमकहरुसँग मौखिक तथा लिखित छलफल समेत गर्दै आएको छ । साथै, बीमा बजारमा बीमाशूल्क दर सम्बन्धि बीमा समितिले गाईड लाइन नै तोकेको छ । समितिले अस्वस्थ वातावरणको अन्त्य हुनुपर्ने भन्दै यस्तो व्यवस्था अपनाउदै आएको छ । निर्जीवन बीमा क्षेत्रमा कहिकतै समस्या रहेकोमा समतिले सहमति समेत जनाउदै आएको छ । बीमाशुल्क निर्धारण गर्दा बीमा कम्पनीहरुले सल्भेन्सि मार्जिनको पूर्ण पालना गर्नुपर्छ । उक्त मार्जिन अनुसार बीमाशुल्क मार्जिन भन्दा धेरै वा थोरै हुनु हुदैन । समितिले १ः३ को अनुपातमा गरिने बीमा कारोबारलाई हेल्दी मान्दै आएको छ । यसको मतलब २० रुपैयाँ पर्ने चाउचाउलाई बजारमा जसरी २५ रुपैयाँमा बेच्न मिल्दैन, त्यसरी नै सोही चाउचाउ १५ रुपैयाँमा समेत नबेचौ भने जस्तै हो । बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुमा आफ्ना कर्मचारी पठाएर एउटा फिगर जम्मा गर्नेछ । सोही तथ्यांक तथा खोजीबाटै आगामी दिनमा समितिले बीमा कम्पनीहरुलाई सहजिकरण गर्नेछ । अनसाइड इन्स्पेक्सनमा गएका समितिका कर्मचारीहरुले बीमा कम्पनीको लेजर तथा सफ्टवयर अध्ययन गरी सोही अनुसारको तथ्यांक टिपोट गरेर आउने छन् । बीमा कम्पनीहरुले कमीकमजोरी गरेको पाएमा समतिका कारबाही समेत गर्ने जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को अत्यसँगै सुरु भएको चालु आर्थिक बर्षमा कम्पनीले आफ्नो कर्मचारीहरु कम्पनीमा खटाएर बीमा बजारको अवस्थामा थप सुधार ल्याउने जनाएको छ । समितिले चालु आर्थिक वर्षमा आफ्नो सुपरिवेक्षण, निरीक्षण थप प्रभावकारी ढंगले अघि बढाउने जानकारी दिएको थियो ।
सुनकोशी र तामाकोशी आसपासकाे बस्तीलाई सुरक्षित रहन आग्रह
रामेछाप । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको सूचनानुसार अविरल वर्षासँगै ताल फुट्न सक्ने सम्भावना रहेको जानकारी गराउँदै जिप्रकाले सुनकोशी तथा तामाकोशी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । नदी किनारका बासिन्दालाई सुरक्षित रहन र स्थानीय सरकारलाई पनि आवश्यक समन्वय गर्न जिप्रकाले आग्रह गरेको छ । जिप्रकाले ताल फुट्दा भोटेकोशी नदीमा पानीको वहाव बढेसँगै तामाकोशी र सुनकोशी नदीमा पनि वहाव बढ्न सक्ने जनाएको छ । जोखिममा रहेको ताल फुटेका अवस्थामा रामेछापका नवुघाट, बिर्ताघाट, चुकियाघाट, हर्दिनीघाट, कोरमाना, नवलपुरघाट, तल्लो खैरेनीटार, लुभुघाट, सिख्ता डप्खा, पुच्छीघाट, राकाथुमको बेलघारी नजिकको घरधुरी, सुनापति गाउँपालिकाको दोभानटार, सिन्धुरेटार र च्याडीटार बस्ती जोखिमा पर्ने पूर्व अनुमान गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तामाकोशी र सुनकोशी आसपासका बस्ती उच्च जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरिएको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजकसमेत रहेका प्रजिअ शर्माले स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।
पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने
पाेखरा । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ । सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारी साधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए । उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारी साधन सञ्चालन हुँदै आएका छन् । सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको बताउँदै शर्माले सो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने जानकारी दिए । आधारभूत सुरक्षा सतकर्ता अपनाएर सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा दुई हजार ५०० ट्याक्सी सञ्चालन हुँदै आएका छन् ।
पुल भत्किएपछि आवतजावतमा समस्या
दमौली । केही दिनअघि वर्षापछि आएको बाढीले तनहुँको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने पुल भत्किएको छ । पुल भत्किएपछि यहाँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । दुई वडा जोड्ने म्याग्दे खोलामाथि निर्माण गरिएको पुल बाढीका कारण भत्किएको म्याग्दे –७ का बासिन्दा एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दे गाउँ कमिटीका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए । “म्याग्दे खोलामा आएको बाढीले पुलको आधाभन्दा बढी भाग भत्किएको छ, पुलसँगै जोडिएको सडकमा पनि क्षति पुगेको छ”, नेपालीले भने, “पुल भत्किएसँगै स्थानीयवासीलाई खोला वारपार गर्न समस्या भएको छ ।” तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र स्थानीयवासीको श्रमदानमा रु १३ लाखको लागतमा उक्त पुल निर्माण गरिएको थियो । पुल भत्किएसँगै यहाँ सवारी साधन सञ्चालन बन्द गरिएको तथा मानिस वारपार गर्नका लागि बाँसको फट्ट राखिएको छ । “तत्कालका लागि मान्छे हिँड्न मिल्ने गरी वैकल्पिक व्यवस्थापन त गरिएको छ तर यहाँ पुनः पुल निर्माण गर्नुपर्छ”, नेपालीले भने । म्याग्देका अध्यक्ष मायादेवी रानाले तत्कालका लागि गाउँपालिकाले वैकल्पिक व्यवस्थापन गर्ने जानकारी दिए । “मानिस वारपार गर्नका लागि वैकल्पिक रुपमा केही व्यवस्थापन गाउँपालिकाले गर्छ, पुल निर्माणका लागि भने प्रदेश सरकारसँग अनुरोध गर्छाैँ ”, रानाले भने । यसै क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित सदस्य आशा कोइरालाले भत्किएको पुल पुनःनिर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइने बताए । बाढीपहिराका कारण गाउँपालिकाका धेरै ठाउँमा सडक, पुल, कजवे, घरलगायत भत्किएका छन् । बाढीपहिराले भत्किएका संरचनाको यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । “हालसम्म ७१ घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ, सात वटै वडामा भएका क्षतिका विवरण वडा कार्यालयमार्फत सङ्कलन गरिरहेका छौँ”, उनले भने । नागिलाका अनुसार पहिराका कारण थुप्रै घर पनि जोखिममा छन् । राजमार्गमा सडक भासिएपछि पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–१ नाहालमा सडक भासिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ । मङ्गलबार बिहान ८ बजे नाहालामा करीब १० मिटर सडक भासिएको थियो । सोही ठाउँमा डाइभर्सन बनाएर अपराह्न २ः३० बजेदेखि सवारी साधन सञ्चालन गरिए पनि राति पुनः समस्या आएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जीतेन्द्र श्रेष्ठले जानकारी दिए । डाइभर्सन बनाइएको ठाउँ हिलाम्य र दबिने खालको माटो भएका कारण सवारी साधन सञ्चालन गर्न कठिनाइ भएको बताइएको छ । उनका अनुसार उक्त ठाउँमा मङ्गलबार राति १५–२० गाडी फसेका थिए । ती गाडी निकाल्ने क्रममा एक व्यक्ति घाइते भएका छन् । उक्त ठाउँमा फसेका ट्रक र बस निकालिए पनि अहिले उक्त बाटो ठप्प जस्तै छ । “डाइभर्सन बनाएर साना सवारी साधन सञ्चालन भए पनि राति बस, ट्रक फसेर समस्या भयो, क्रेन प्रयोग गरेरै १५–२० वटा गाडी निकाल्याैँ, ग्राभेलिङ नगरी सवारी चलाउन सकिँदैन”, उनले भने । बाटो बन्द भएका कारण डुम्रेतर्फ आएका करीब ९० र दमौलीतर्फबाट आएका एक सय सवारी साधन रोकिएका छन् । निरन्तर वर्षाका कारण मङ्गलबार तनहुँका विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा खसेको पहिरो रातिसम्म हटाएर राजमार्ग सञ्चालन गराइएको थियो । १४ घर विस्थापित केही दिनदेखि निरन्तर परेको वर्षाका कारण बन्दीपुर गाउँपालिकामा १४ घरपरिवार विस्थापित भएका छन् । वर्षाका कारण पहिराले घर पूर्ण क्षति भएपछि ती विस्थापित भएका हुन् । बन्दीपुर–१ का चार, वडा नं ४ का चार, वडा नं ५ का दुई र वडा नं ६ का चार घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार विस्थापितले छिमेकी, आफन्तजन र आमा समूहको भवनमा आश्रय लिएका छन् । “मङ्गलबार साँझसम्म १४ घर पूर्णरुपमा क्षति भएको जानकारी प्राप्त भएको छ, सबै वडा कार्यालयमार्फत क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, थापाले भने । वर्षाका कारण गाउँपालिकाका सबै शाखा मार्ग पूर्णरुपमा अवरुद्ध भएको तथा थुपै्र घर जोखिममा रहेको थापाले जानकारी दिए । “यहाँका बाटाघाटा ध्वस्त भएका छन्, शेराटार, धरमपानी जाने बाटो त अत्यन्तै नराम्रोसँग बिग्रिएको छ”, थापाले भने, “शाखा मार्गको हालत पनि उस्तै छ ।” स डुम्रेदेखि बन्दीपुर जाने मार्ग पनि ठाउँठाउँमा गएको पहिराले बन्द भएको छ । बन्द मार्ग खुलाउन केही दिन लाग्ने देखिएको थापाले जानकारी दिए । “पृथ्वी राजमार्गअन्तर्गत गाउँपालिकाका विमलनगर, याम्पा र पिप्लेमा पहिरो पन्छाउन समय लागेकाले बन्दीपुर जाने मार्ग खुलाउन डोजर उपलब्ध हुन सकेन”, थापाले भने । मङ्गलबार बिहान खसेको पहिराले विमलनगर र याम्पामा दुईदुई तथा पिप्लेमा एक ठाउँमा बाटो अवरुद्ध भएको थियो । वर्षाका कारण नाहाला खोला बढेर खेतबारी बगरमा परिणत भएको छ ।