विकासन्युज

चुनाव सार्न महासंघले बोलायो पदाधिकारी बैठक, कोषाध्यक्ष भन्छन्ः यो त किर्ते काम भयो

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पदाधिकारी बैठक बोलाएको छ । महासंघले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं महाधिवेशन तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । साउन ८ गते साढे २ बजे पदाधिकारी बैठक बोलाइएको जानकारी प्राप्त भएको कोषाध्यक्ष निरक केसीले जानकारी दिए । तोकिएको समयमा महाधिवेशन गर्न सक्ने अवस्था नभएकोले पदाधिकारी बैठकबाट निर्णय गर्नुपर्यो भन्दै अध्यक्ष भवानी राणाले टेलिफोनमार्फत जानकारी दिएको कोषाध्यक्ष केसीले बताए । ‘महाधिवेशनको विषयमा छलफल गर्नुपर्ने भयो, तोकिएको समयमा गर्न सक्ने अवस्था देखिएन, पूर्वअध्यक्षहरु पनि सहभागी गराएर छलफल गरेर निर्णय गर्नुपर्ने भयो भन्दै अध्यक्षले फोन गर्नुभएको थियो, म अहिले काठमाडौं बाहिर छु, अध्यक्षलाई यही कुरा जानकारी गराएँ, उहाँले जुममा सहभागी गराउँछु भन्नुभएको छ,’ कोषाध्यक्ष केसीले विकासन्युजसँग भने । महासंघ पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, जिल्ला/नगर उपाध्यक्ष, वस्तुगत र एसोसिएट गरी ३ जना उपाध्यक्ष र एक जना कोषाध्यक्ष हुन्छन् । पदाधिकारी बैठकमा विशिष्ट सदस्य उपस्थित हुने भएपनि उनीसँग मताधिकार हुदैन । विशिष्ट सदस्यको रुपमा पूर्वअध्यक्ष चण्डीराज ढकाल छन् । संस्थापन पक्ष चुनाव सार्ने तयारीमा छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासको कारण सरकारले गत चैत ११ गतेदेखि जारी गरेको देशव्यापी लकडाउन साउन ६ गतेदेखि हटाएको छ । लकडाउन हटेपनि लामो दुरीका सार्वजनिक सवारी साधन खुलेका छैनन् । निजी सवारी साधनको हकमा पनि एक जिल्लाबाट अर्काे जिल्लामा र खासगरी काठमाडौं उपत्यका आउनको लागि प्रशासनको अनुमतिमा मात्रै प्रवेश पाइन्छ । सरकारले लकडाउन हटाए पनि सभा सम्मेलन गर्न अनुमति खुल्ला गरेको छैन । एक स्थानमा २५ जनाभन्दा बढी भेला भएर कुनै पनि कार्यक्रम गर्न नपाइने नियम सरकारले लागू गरेको छ । यही सन्दर्भमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने अवस्था आएको महासंघ संस्थापन पक्षको निक्र्योल छ । ‘देशभरका कम्तिमा पनि १ हजारभन्दा बढी व्यवसायी महाधिवेशनमा सहभागी हुनुपर्छ, सरकारले काठमाडौं उपत्यका छिर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ, आन्तरिक हवाइ उडान पनि भदौ १ गतेदेखि मात्रै खुल्ने भनिएको छ, कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको र सहज रुपमा आवत जावत पनि गर्न नसकिने अवस्था भएकोले व्यवसायीको स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता देखाउँदै महाधिवेशन केही पर सारौं भन्ने हाम्रो कुरा हो, यो बेला महाधिवेशन भएन भने आकाशै खस्ने भन्ने पनि होइन, यही विषयमा छलफल गरेर महाधिवेशन सार्ने निर्णय गर्न पदाधिकारी बैठक बोलाइएको हो,’ संस्थापन निकट एक व्यवसायीले भने । तर, कोषाध्यक्ष केसी भने पदाधिकारी बैठकले महाधिवेशन सार्ने निर्णय गर्न नसक्ने बताउँछन् । ‘विधि विधान लत्याएर आफ्नो अनुकुलतामा मात्रै महाधिवेशन गर्ने गर्ने भन्ने सोच कसैले पालेको छ भने बेग्लै कुरा हो, महाधिवेशन सार्ने अधिकार केन्द्रीय समितिलाई मात्रै छ, पदाधिकारी बैठक बोलाएर अधिवेशन सार्न सकिदैन,’ कोषाध्यक्ष केसीले भने । तर, संस्थापन पक्ष निकट व्यवसायी भने केन्द्रीय समिति बैठकले नै यससम्बन्धि निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिइसकेको बताउँछन् । ‘यसअघिको केन्द्रीय समिति बैठकको निर्णय सबैले हेर्नुभएकै होला, त्यो बैठकले महाधिवेशन सम्बन्धी आवश्यक निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिएको छ, त्यो निर्णप्रति कसैको शंका छ भने फेरि केन्द्रीय समिति बैठक बोलाऊँ न त,’ ती व्यवसायीले भने । कोषाध्यक्ष केसी भने महाधिवेशन सम्बन्धी सबै निर्णय गर्ने अधिकार पदाधिकारीलाईलाई दिइको भन्ने कुरा आफूलाई जानकारी नभएको बताउँछन् । ‘महासंघ सार्वजनिक संस्था हो, यस्तो संस्था विधि विधान अनुसार चल्नुपर्छ, पहिलो कुरा त केन्द्रीय समितिको अधिकार पदाधिकारीलाई दिनै मिल्दैन, दोस्रो कुरा यस्तो निर्णय भएको जस्तो मलाई लाग्दैन, यदि केन्द्रीय समितिको अधिकार पदाधिकारीले गर्ने भन्ने निर्णय माइन्यूट भएको रहेछ भने त्यो त किर्ते कुरा भयो,’ कोषाध्यक्ष केसीले भने । साउन २६ र २७ गते महासंघ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोस प्रधान प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खुलेर समर्थन गरेका छन् भने पूर्वअध्यक्ष तथा महासंघ विशिष्ट सदस्य चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्रप्रसाद ढकाललाई खुलेर समर्थन गरेका छन् । ढकाल पक्ष महाधिवेशन सार्न नहुने पक्षमा छ भने अध्यक्ष राणा तथा वरिष्ठ उपाध्यक्ष गोल्छा चुनाव सार्ने मनस्थितिमा पुगेका छन् । भोलिको पदाधिकारी बैठकमा महाधिवेशन सार्ने विषयमा मतविभाजन हुने सम्भावना बढी छ । मतविभाजन भएको अवस्थामा महाधिवेशन सार्ने पक्षमा वहुमत हुने देखिन्छ । अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष (उद्योग वाणिज्य) किशोर प्रधान चुनाव सार्ने पक्षमा छन् । चुनाव सार्न हुदैन भन्ने पक्षमा उपाध्यक्ष (वस्तुगत) उमेशलाल श्रेष्ठ, उपाध्यक्ष (एसोसिएट) चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष निरक केसी छन् । भोलिका पदाधिकारी बैठकमा महासंघका पूर्वअध्यक्षहरुलाई पनि बोलाइएको छ । सम्बन्धित सामग्री नैतिक प्रश्नले पिरोलेको कुरा गर्दा अर्कै रंग दिन खोजियोः शेखर गोल्छा शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो महासंघका दुई किङ मेकर, काे बढी प्रभावशाली ?

एक वर्षमा जीवन बीमा बजारः बीमालेखका आधारमा २६ प्रतिशत र शुल्कका आधारमा ३३ प्रतिशतले बढ्यो

काठमाडौं । एक वर्षमा जीवन बीमा बजार जीवन बीमालेखका आधारमा २६ प्रतिशतले बढेको छ । बीमाशुल्क संकलनका आधारमा भने ३३ प्रतिशतले बढेको छ । कम्पनीहरुले जारी गर्ने बीमालेख तथा बीमाशुल्क संकलन जस्ता परिसूचकको आधारमा जीवन बीमा बजार बढेको पाइएको हो । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा ५६ लाख ७७ हजार जीवन बीमालेख जारी भएका थिए । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कम्पनीहरुले जारी गरेको जीवन बीमालेखको संख्या ७१ लाख ९६ हजार पुगेको छ । बीमालेख संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २६.७५ प्रतिशतले बढेको हो । ३३ प्रतिशतले बढ्यो बीमाशुल्क जीवन बीमाशुल्क ३२.८४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा बीमाशुल्क ७१ अर्ब ४ करोड रुपैयाँ रहेको थियो भने गत आर्थिक वर्षको अन्त्यमा ९४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । घट्यो बैदेशिक रोजगार बीमालेख बैदेशिक रोजगार बीमालेख भने १० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा १६ लाख ५० हजार रहेको बैदेशिक रोजगार बीमालेख गत आर्थिक वर्षको अन्त्यमा भने १३ लाख ८१ हजारमा सिमित हुन पुगेको छ । यस्तै, कुल जीवन बीमालेख संख्या १७ प्रतिशतले बढेको छ । समितिका अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा ७३ लाख २८ हजार रहेको कुल जीवन बीमालेख संख्या गत आर्थिक वर्षको अन्त्यमा ८५ लाख ७७ हजार पुगेको छ । ६ प्रतिशतले बढ्यो निर्जीवन बीमा शुल्क निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ६.३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा २४ अर्ब ३२ करोड रुपैयाँ रहेको निर्जीवन बीमाशुल्क गत आर्थिक वर्षको अन्त्यमा २५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । ४ प्रतिशतले बढ्यो बीमाको दायरामा आउने जनसंख्या आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्मका बीमाको दायरामा आएको जनसंख्या १८ प्रतिशत थियो । गत आर्थिक वर्षको अन्त्यसम्म बीमाको दायरामा आएको जनसंख्या २२ प्रतिशत पुगेको छ । बीमाको दायरामा आएको जनसंख्या एक वर्षमा ४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शाखा कार्यालय ८ प्रतिशतले बढ्यो गत आर्थिक वर्षको अन्त्यसम्ममा बीमा कम्पनीहरुको शाखा संजाल संख्या ८ प्रतिशतले वृद्धि हुन पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ५ सय २३ रहेको थियो । गत आर्थिक वर्षको अन्त्यमा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ७ सय ४२ पुगेको छ । ७ प्रतिशत बढे कर्मचारी बीमा कम्पनीहरुमा काम गर्ने कर्मचारीको संख्या ७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा बीमा कम्पनीहरुको कर्मचारी संख्या ९ हजार ४ सय ८६ रहेको थियो । गत आर्थिक वर्षको अन्त्यमा कर्मचारी संख्या १० हजार २ सय ३६ पुगेको छ ।

नैतिक प्रश्नले पिरोलेको कुरा गर्दा अर्कै रंग दिन खोजियोः शेखर गोल्छा

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । साउन २६ र २७ गते ललितपुरको एक रिसोर्टमा हुन लागेको चुनावलाई लिएर विभिन्न गतिविधि हुन थालेका छन् । चुनावको मिति नजिकिदै गर्दा चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई पक्ष एक अर्कालाई कमजोर देखाएर चुनावी दाउपेचमा लागेका छन् । महासंघ निर्वाचनको केन्द्रमा रहेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा (जो साउन २६ र २७ गतेको साधारणसभाबाट स्वतः अध्यक्ष बन्दैछन्) देखिएका छन् । महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानलाई गोल्छाले खुलेरै सहयोग गरेका छन् । यसैकारण ढकाल समुहले गोल्छाप्रति विभिन्न प्रश्न उठाएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । लकडाउनकै कारण चैत २८ र २९ गतेका लागि तोकिएको महासंघको निर्वाचन रोकिएको थियो । यस्तैमा सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउँदै लगेको छ । लकडाउन खुकुलो बन्दै गएपछि महासंघ नेतृत्वले साउन २६ र २७ गतेका लागि निर्वाचन तोकेको छ । सरकारले साउन ६ गतेदेखि लकडाउन पूर्णरुपमा हटाएको छ । लकडाउन हटाएपनि सार्वजनिक सवारी साधन, विद्यालय तथा विश्वविद्यालयको अध्ययन अध्यापन, सिनेमा घर तथा सबै प्रकार भेला तथा सम्मेलन खुल्ला गरिएको छैन । जनस्वास्थ्यविदहरुले लकडाउन हटेपनि कोरोना संक्रमण नहटेको भन्दै सजग रहन सचेत गराउँदै आएका छन् । यही सन्दर्भमा वरिष्ठ उपाध्यक्ष गोल्छाले हिजो (साउन ६ गते) सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै तोकिएकै समयमा महासंघको निर्वाचनको गर्न चुनौतिपूर्ण रहेको बताएका थिए । गोल्छाको यही जानकारीलाई अर्काे पक्षले ‘चुनाव सार्ने प्रपन्च’का रुपमा व्याख्या गरेको थियो । आफ्नो अभिव्यक्तिलाई गतल अर्थ लगाइएको भन्दै गोल्छाले आज (साउन ७ गते) अर्काे ट्वीट गर्दै आफ्नो नैतिक प्रश्नलाई गलत रंग दिएको र त्यसले आफूलाई दुःख लागेको बताएका छन् । ‘पदभार ग्रहण गर्ने इच्छाभन्दा बढी सदस्य साथीहरु प्रतिको सुरक्षा दायित्वले घच्घच्याइ रहेछ । लकडाउन खुल्दै गर्दा देशैभरिका १००० व्यवसायीलाई एकै स्थानमा जम्मा गर्दा कतै सुरक्षा जोखिम होला कि भन्ने नैतिक प्रश्नले पिरोलेको छ मलाई तर यसलाई अर्कै रंग दिन खोजिएको देख्दा दुःख लाग्छ,’ गोल्छाले ट्वीट गर्दै भनेका छन् । सम्बन्धित सामग्री शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो महासंघका दुई किङ मेकर, काे बढी प्रभावशाली ?

कामना सेवाद्वारा यातायात व्यवसायीलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत छुट

काठमाडौं । कोभिड–१९ को कारण विशेष गरी यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको भन्दै कामना सेवा विकास बैकले ब्याजमा भारी छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्र्तरगत हायर पर्चेज कर्जा लिएका ग्राहकहरुले २०७७ साल आषाढ मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने बैंकले योजना सार्वजनिक गरेको छ । साथै, आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्ने बैंकले जनाएकाे छ । यो योजनाले यातायात व्यवसायीहरुलाई  अधिकतम लाभ पुराउने बैकले विश्वास लिएको जनाएकाे छ ।  

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले दैनिक १५ उडान गर्ने

काठमाडौं ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तराष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए । उनले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गरिने बताए । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ । तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन। तरपनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटा भन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए । त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुने उनले बताए । अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा चार घण्टा अघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उनले बताए । समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो । यस्तै देश भित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए ।  

काेराेनाकाे कारण नेपालमा थप २ जनाकाे मृत्‍यु

काठमाडाैं ।  काेराेनाकाे कारण नेपालमा थप २ जनाकाे मृत्‍यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपालमा थप २ जनाकाे मृत्‍यु भएकाे बताएका हुन् । मृत्‍यु हुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका घर भएका ६० वर्षिय पुरुष रहेकाे गाैतमले बताए । उनलाई साउन २ गते विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे । उपचारकाे क्रममा उनकाे हिजाे अर्थात साउन ६ गते मृत्‍यु भएकाे हाे । यस्तै अर्काे व्यक्ति पाेखरामा काम गरिरहेकाे ४९ वर्षिय चिनियाँ महिला रहेकाे गाैतमले बताए । मणिपाल अस्पताल पाेखरामा उपचार गराईरहेकाे उनलाई हेलिकप्टरबाट साउन २ गते काठमाडाैं ल्याईएकाे थियाे । उनमा परीक्षण गर्दा काेराेना पुष्टि भएकाे र आज उनकाे मृत्‍यु भएकाे हाे । याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्‍यु हुनेकाे संख्या ४२ पुगेकाे छ । हाल नेपालमा कुल १८ हजार ९४ जनामा काेराेना पुष्टि भएकाे छ ।

काठमाडाैं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे ३ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ८५ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ५९, ललितपुरकाे ७९ र भक्तपुरकाे ४७ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

नेपालमा थप १ सय जनामा कोरोना पुष्टि, २१६ जना निकाे भए

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा २१ हजार ८ सय ४२ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २७ हजार ६ सय १४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट २ सय १६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।