विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकको सम्पूर्ण कर्जाको ब्याजदर एकल अङ्कमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अङ्कमा हुने गरी तोकेको छ । बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकेको हाे । हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

एनसेलको ‘नयाँ सजिलो सिम’, पहिलाे १ वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नयाँ ग्राहकहरुले कर सहित मात्र रु ९९ मा यो सिम लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले सिम लिदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्ष सम्म रिचार्ज गर्दा बोनस डेटा पाउँछन् । यो नयाँ सिम लिदा ग्राहकले रु २० मेन ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउँछन् । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुनेछ । यो नयाँ सिमको प्रमुख विषेशता भनेको सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् । ग्राहकले सिम लिएको दिनको भोलि पल्ट मध्यरात सम्ममा रु १०० वा सो भन्दा बढिको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा) बोनस स्वरुप पाउँछन् । यो डेटाको समयावधि ५ दिन रहेको छ । यसका साथै, ग्राहकले प्रत्येक रु १०० मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा ((१०० एमबी अल टाइम अल नेटवर्क र १०० एमबी फोरजी डेटा) बोनस पाउँछन् । उदाहरणका लागि यदि यो सिम लिने ग्राहकहरुले भ्वाइस, डेटा वा एसएमएस सेवामा रु १०० खर्च गरेमा उनीहरुले बोनस डेटा २०० एमबी पाउँछन् । यसरी प्राप्त हुने बोनस डेटा ३ दिनका लागि मान्य रहन्छ । यो नयाँ सिम लिनका लागि पहिचान प्रमाणिकरणका निमित्त सकल सहित नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानीको फोटोकपी र पासपोर्ट साइजको फोटो एक प्रति आवश्यक पर्दछ । नयाँ थिम ‘प्लस’ अन्तर्गत ‘नयाँ सजिलो सिम’ स्टार्टर प्याकको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “ग्राहकहरुलाई डेटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याउन पाएकोमा हामी निकै हर्षित छौं ।” नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, भ्वाइस सेवाको बढि आवश्यकता रहेकाका लागि ‘इन्डलेस कुराकानी प्लस’ र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ पनि सुरु गरी सकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

सुन तोलाको ५ सयले बढ्यो, हालसम्मकै उच्च

काठमाडौं । बजारमा आज सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ । बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सय ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला  ९३ हजार ५ सय ६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला १० ले वृद्धि भएर एक हजार १ सय ४५ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले ल्यायो आकर्षक व्याजदरमा ३ दिनभित्र कर्जा प्रवाह योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहनेछ । यसैगरी बैंकले ८.९९५ मा गाडी कर्जा र ९.४९५ मा सेयरको धितोमा कर्जा प्रवाह गर्नेछ । यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट÷क्रेडिट कार्ड जारी शुल्कमा ५०५ छुट र लकर सुविधामा ५०५ छुट प्रदान गरिनेछ । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको हो । कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ ।

ट्राफिक नियम पालनामा थप कडाई गर्दै ट्राफिक प्रहरी

काठमाडौँ । झण्डै चार महिनाको लकडाउन मंगलबार रातिदेखि अन्त्य भए पश्चात उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य एकसाथ थालेको छ । लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि विशेष ट्राफिक प्रहरीहरूको टोली परिचालन गरेको महाशाखाले जनाएको छ । उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेरनगरेको, चालक र यात्रुले मास्क लगाएकोरनलगाएको, तोकिएको भाडादर लिएरनलिएको, ५० प्रतिशत मात्र यात्रु राखेरनराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताए । ‘उपत्यकाका २९ स्थानमा चेकप्वाईन्टका साथै बसपार्क, बसबिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई विशेष अनुमगन गर्नेछ,’ उनले भने, ‘हिजाेमात्रै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य पोर्टोकल अनुसार नचलाइएका ८७२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइवुझाई गरेको छ ।’ त्यस्तै लकडाउन शुरु भएदेखि महाशाखाले ट्राफिक नियम उल्लघंन गर्नेलाई गरिने कारबाही बन्द गरेको थियो । लेन पालना नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनाधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर पनि आज बुधबार देखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए । ‘हिजाेमात्रै ट्राफिक नियम उल्लघंन गर्ने २६३ जना चालकलाई कारबाही गरेका छौं,’ उनले भने ।

सबै जिल्लाका सहकारीलाई मर्ज गर्दै पशुपति सेभिङ एण्ड क्रेडिट

काठमाडौं । पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले सहकारी–सहकारी बीच बृहद एकीकरण अभियान संचालन गर्ने भएको छ । ७७ जिल्ला र ७५३ स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहद एकीकरण अभियान संचालन गर्न लागेको हो । बृहद एकीकरणका लागि संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमीटी समेत निर्माण गरेको छ । यहि समितिमार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ । संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पुरा गर्नका लागि बृहद एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी दिए । “स–साना संस्था संचालन गरेर अब राज्यले सहकारी अभियानबाट राखेको अपेक्षा पुरा हुदैन” उनले भने, “त्यसका लागि एक÷दुई वटा संस्था एकीकरण गरेर पुग्दैन, वृहद एकीकरण गरी बलियो पुँजीगत आधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन आवश्यक छ ।” अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्था दर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदान न्यून छ । संस्थाहरु स–सानो हुँदा पुँजी छरिन गई सहकारीमार्फत अत्याधुनिक सेवा प्रदान गर्न र ठूला ठूला परियोजनाहरुमा लगानी समेत गर्न सकिएको छैन । यहि कारण पूँजीगत आधार बलियो भएको दिगो सहकारी संस्था निर्माण गरी त्यसमार्फत सदस्यलाई प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने र सहकारीमार्फत उत्पादनमुलक ठूला उद्योग तथा व्यवसाय संचालन गर्ने लक्ष्य रहेको संयोजक लामाले बताए । संघिय सरकारले आर्थिक वर्ष २०७७÷०७८ बजेट वक्तव्यमा पनि सहकारीसंस्थाहरुलाई एकीकरणका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसैगरी संघिय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघलगायतका संघसंस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेका छन् । बृहद एकिकरण अभियानमा सहकार्य, समन्वय र हातेमालो गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुलाई संयोजक लामाले आग्रह गरे ।

शुरु भो राष्ट्रिय परिचयपत्र वितरण

परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिलदत्त कंहारलाई परिचयपत्र वितरण गरेर उक्त कार्य शुभारम्भ गरे । नागरिकको सम्पूर्ण विवरण उपकरण र कम्प्युटरबाट प्रमाणित भएपछि पहिलो सेवाग्राहीको रुपमा रामग्राम–७ निवासी कंहारलाई परिचयपत्र प्रदान गरिएको थियो । गतवैशाखदेखि नै वितरण कार्य शुरु गर्ने लक्ष्य रहे पनि कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण रोकिएको थियो । हाललाई सदरमुकाम परासीबाटै परिचयपत्र वितरण गरिने प्रजिअ पाठकले जानकारी दिए । सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको थियो । आगामी दुई वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्यअनुसार ७७ वटै जिल्लाबाट परिचयपत्र शुरु भएको जनाइएको छ । उनले भने, “हस्तलिखित हस्ताक्षर, दश औँला, औँठा छाप, रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधारिकरुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने गरी परिचय नम्बर प्रदान गरिन्छ, यो आधुनिक प्रविधियुक्त परिचयपत्रले नागरिकलाई हरेक क्षेत्रमा सहज हुनेछ ।” परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति÷पत्नीको नाम नखुलेमा विवाददर्ता प्रमाणपत्र, नागरिकतामा अङ्ग्रेजीमा नाम नखुलेको भए अङ्ग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

कञ्चनपुरमा लकडाउनकाे समयमा आत्महत्या बढ्यो

महेन्द्रनगर । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “विष सेवन र झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क हेर्दा गत चैतदेखि असारसम्म अरु बेलाको भन्दा वृद्धि भएको देखिन्छ ।” उनले भने, “वैशाख र जेठ महिनामा गरी आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दासमेत दर्ता भएका छन् ।” प्रहरीका अनुसार विष सेवन गरेर गत चैत महिनादेखि ३२ जनाले आत्महत्या गरेका छन् भने सोही अवधिमा झुण्डिएर ४० जनाले आत्महत्या गरेका छन् । “लकडाउनमा बेरोजगारी, विपन्न समुदायका जीविका चलाउनेदेखि विविधखाले समस्याले पनि हिंसाका घटना बढेको देखिन्छ ।” उनले भने, “लकडाउन अवधिमा हुने अपराध नियन्त्रणमा प्रहरी पनि सोहीअनुसार योजना बनाएर अघि बढेको छ ।” लकडाउन अवधिमै आत्महत्या दुरुत्साहन मुद्दामा एक जना पूर्पक्षका लागि कारागार चलान हुनुका साथै एक जना तारेखका छुटेका छन् । “लकडाउनमा यहाँ आत्महत्या तुरुत्साहनमा दुई वटा मुद्दा दर्ता गरेर कारवाही अघि बढेको थियो ।”, प्रहरी प्रवक्ता थापाले भने । विगतमा पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना बढी नै रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।