विकासन्युज

मुक्तिनाथ विकास बैंकले कर्जामा २ प्रतिशत छुट दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने छ । यसका साथै, बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।

हिमालयन बैंकद्धारा सिद्धि स्मृति प्रतिष्ठानलाई सहयाेग

काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित “सिद्धि स्मृति प्रतिष्ठान—“सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । त्यस प्रतिष्ठानमा विरामी तथा अस्पतालका अन्य लुगाहरु दैनिक रुपमा धुनु र सुकाउनु पर्ने तर हाल रहेको मेसिन विग्रिने र पटक–पटक बनाई राख्न पर्ने समस्या व्यहोरी रहेको हुँदा बैंकले सहयोग स्वरुप ५ लाख मुल्य बराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र पन्ध्र किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको छ । साथै बैंकले उक्त प्रतिष्ठानको लागि रु. १ लाख ५७ हजार ६ सय ३५ बराबरको १० हजार थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ । वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरुको उपस्थितिमा उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानलाई एक समारोहका बीच हस्तान्तरण गरे ।

१०औं वर्ष पार गरी मेगा बैंक दोस्रो दशकमा प्रवेश

काठमाडौं । मेगा बैंक नेपाल सञ्चालनको १० वर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । १० औं बार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले स्थापनाको १० बर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको बताए । ग्राहकहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको उनले बताए । यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धी भएको अध्यक्ष शाहले बताए । मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै उनले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको बताए । कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश बर्षको वित्तिय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए । स्थापनाको १० औं वर्षलाई विशेष बर्षका रुपमा मनाउन लागिएको सिइओ खुञ्जेलीले जानकारी दिए । उनका अनुसार, यसका लागि बैंकले बार्षिक क्यालेन्डर बनाएर बर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्व लगायत अन्य विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना बैंकले बनाएको बताए । ‘बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको मनन गर्दै बर्षभरि नै उहाँहरुलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम गरेर १० औं बार्षिकोत्सव मनाउने योजनामा छौं ।’– सिइओ खुञ्जेलीले भने । १० औं बर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८.३२ प्रतिशतमा कायम राख्न सफल भएको छ । जसले गर्दा कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यावसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरुलाई मेगा बैंकले सस्तो ब्याजदरमै विभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ । यसैगरी, बार्षिकोत्सवको अवसरमा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गरेकाे छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक स्थापनकालको १० औं बर्षमा आइपुुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२ औं स्थानमा रहेको छ । २०७७ आषाढ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ । मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका २ सय ६ शाखा सञ्जालमार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नाे “एक शाखा–एक छोरी छात्रवृत्ति” कार्यक्रम अन्तर्गत बैंकका शाखाहरुबाट एक–एक जनाका दरले १०१ जना छात्राहरुको शिक्षाको लागि आर्थिक एवं शैक्षिक सामाग्री सहयोग गरेकोमा सोही छात्राहरुको यस बैंकमा बचत खाता खोली बैंकको तर्फबाट प्रत्येक छात्राको खातामा १–१ हजार रुपैयाँ जम्मा गरी आर्थिक सहायता गर्ने घोषणा गरेको छ । छात्राहरुमा सानै उमेर देखि बैंकमा बचत गर्ने बानीको पनि बिकास होस भन्ने उद्देश्यले बैंकको तर्फबाट १–१ हजार जम्मा गर्ने गरी बचत खाता खोली दिन लागेको मेगा बैंकले जनाएको छ ।

कक्षा १२ काे परीक्षा असाेजभित्र भइसक्छ: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज महिना भित्रमा भइसक्ने बताएको छ ।  बोर्डका प्लस टुतर्फका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा असोजभित्रमा भइसक्ने बताएका हुन् । ‘स्थिती सामान्य रहे हामी भदौ अन्तिम हप्तादेखि असोजको अन्त्यसम्ममा परीक्षा लिइसक्नेछौं, परीक्षा तयारीको लागि बोर्ड बैठक पनि छिटै बोलाउँदै छौं,’ परीक्षा नियन्त्रक शर्माले भने । कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण कक्षा १२ लगायत विभिन्न तहको परीक्षा स्थगित भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन हटाउँदै परीक्षा लिन पाउने अनुमति दिएसँगै रोकिएको परीक्षाहरु हुने भएको हो । यसअघि एसईईको परीक्षा यस वर्ष नहुने र विद्यार्थीलाई विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा अंक दिने बताएसँगै केही समय अगडी कक्षा ११ लाई पनि आन्तरिक मुल्यांकनको आधारमा अंकदिने निर्णय भएको थियो । तर कक्षा १२ को हकमा भने परीक्षा लिन बाहेक केही पनि विकल्प नरहेको राष्ट्रिय परीक्षा बोर्डले बताएको थियो । यस बर्ष कक्षा ११ र १२ मा गरेर कुल ९ लाख ६५ हजार विद्यार्थी छन् । जसमा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी कक्षा ११ मा रहेका छन् भने ४ लाख ३१ हजार ३ सय ३० विद्यार्थी कक्षा १२ मा रहेका छन् ।

देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा

काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहेपनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायतक नदीहरुमा पानीको बहाब घट्दो क्रममा रहेको बताए । यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती नदीमा बहाब घटबढ हुने क्रममा रहको उनले बताए । गत २४ घण्टामा कन्काइ नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको छ । अहिले देशभरीको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घण्टामा प्रदेश नम्बर १, २, ५, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए । आज देशकाे अधिकांश स्थानमा वर्षा भएकाे छैन । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती बबई महाकाली लगायतका २१ वटा नदी आफ्नो कार्यक्षेत्र भित्र रहेको बताए । महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संक्षण, बक्राह, कोशी, बागमती र कमला लगायत १० वटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने उनले बताए । गत आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्द निर्माण भई १ सय ९० हेक्टर जग्गा डुबान हुनबाट जोगाइएको पनि उनले बताए ।

लघुवित्तमा देखिएका जोखिमलाई हटाएर मौद्रिक नीति कार्यान्वयन गर्न संघको आग्रह

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्त क्षेत्रमा देखिएका जोखिमलाई हटाएर मौद्रिक नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिले लघुवित्त क्षेत्रसँग सम्बन्धित आएका केहि प्रावधानले लघुवित्त क्षेत्रलाई थप जोखिम तर्फ लान सक्ने देखिएकाले त्यसलाई थप विश्लेषण गरी कार्यान्वयनमा ल्याउन संघले आग्रह गरेको हो । ‘कोभिड-१९ का कारण प्रत्यक्ष प्रभावित लघुवित्त क्षेत्रलाई हालको विषम परिस्थितिमा लगानीयोग्य वित्तीय श्रोतको लागत (कस्ट अफ फण्ड) लाई नियन्त्रण गर्ने व्यवस्था नभई कर्जाको ब्याजदरको अधिकतम सीमा १५ प्रतिशत कायम गरिदा ती संस्थाहरुको वित्तीय अवस्थामा ठुलो नकारात्मक असर पर्ने देखिएको छ ।’- संघका अध्यक्ष बसन्तराज लम्सालले  बताएका छन् । यसैगरी, २०७६ पौष मसान्तमा नियमित र असल वर्गमा रहेका ऋणीहरुको हकमा तत्पश्चात् कोभिड-१९को कारणले २०७७ असार मसान्तसम्मको साँवा र ब्याज असुल हुन नसकेको अवस्थामा असल वर्गमा रहेका कर्जाको कर्जा नोक्सानी वापत ५ प्रतिशत व्यवस्था गर्नुपर्ने नीति समेत लघुवित्त वित्तीय संस्थाको हकमा लागु गर्दा यी संस्थाहरुको वित्तीय अवस्थामा अधिक नकारात्मक असर परी संस्था सञ्चालनमा समस्या आउने संघले जनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका क्रममा जारी गरिने निर्देशनहरुमा यी विषयहरुमा न्यायोचित ढंङ्गले सम्बोधन गर्नेमा लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको विश्वास रहेको छ ।

घरेलु उद्योग र ट्याक्सी चालकले पनि पुनरकर्जा पाउने, व्याजदर ५ प्रतिशत मात्रै

काठमाडौं । घरेलु तथा साना उद्योग संचालन गर्ने र ट्याक्सी तथा टेम्पो चलाउन ऋण लिएका व्यक्तिले पनि पुनरकर्जा सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको पुनरकर्जा कार्यविधिमा ट्याक्सी तथा टेम्पो चालकले पनि ५ प्रतिशत व्याजको पुनरकर्जा सुविधा लिन पाउने व्यवस्था गरिएको छ । ‘व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा बैंक तथा वित्तीय संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिने छैन,’ कार्यविधिमा उल्लेख छ । राष्ट्र बैंकले सवारी कर्जामा पुनरकर्जा सुविधा उपलब्ध नगराउने व्यवस्था गरेको पनि व्यक्तिगत नाममा कर्जा लिइ ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गर्नेहरुले पनि पुनरकर्जा लिन पाउने व्यवस्था गरेको छ । लघु, घरेलु तथा साना उद्यमले पनि पाउने नेपाल राष्ट्र बैंकले दिने पुनरकर्जालाई ती प्रकारमा वर्गीकरण गरेको छ । लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रु.१५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिएको छ । यस्तै, विशेष पुनरकर्जा बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिने भनिएको छ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गलेसक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिने कार्यविधिमा उल्लेख छ । यसबाहेक नेपाल राष्ट्र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जा मानिने कार्यविधिमा व्यवस्था गरिएको छ । व्याजदर लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको व्याजदर ५ प्रतिशत तोकिएको छ । ऋणीले यस्तो कर्जा प्रयोग गरे वापत बैंक तथा वित्तीय संस्थाहरुलाई ५ प्रतिशत व्याज दिनुपर्छ भने बैंक वित्तीय संस्थाहरुले त्यो ५ प्रतिशतमा ३ प्रतिशत आफूले राखेर बाँकी रहेको २ प्रतिशत व्याज नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्छ । विशेष पुनरकर्जाको व्याजदर ३ प्रतिशत छ । भने साधारण पुनरकर्जाको व्याज पनि ५ प्रतिशत नै छ । कति समयलाई पाइन्छ ऋण ? एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुदैन । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी नेपाल राष्ट्र बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ । यस्तो पुनरकर्जा नवीकरण गर्न सक्नेछ । कतिसम्म पाइन्छ ऋण ? नेपाल राष्ट्र बैंकबाट आह्वान गरी बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँ हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । राष्ट्र बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन । राष्ट्र बैंकबाट आह्वान गरी ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन । कसरी पाइन्छ ऋण ? बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकले देहाय बमोजिमको प्रक्रियाबाट पुनरकर्जा प्रदान गर्नेछः (१) प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमुष्ट रूपमा प्रदान गरिनेछ । (क) एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जाको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन आह्वान गर्नेछ । (ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्रमा बैंक तथा वित्तीय संस्थाले आफ्ना प्रत्येक शाखाहरूबाट लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनरकर्जा पाउने ऋणीका लागि प्रतिशाखा न्यूनतम पाँच ग्राहकले सुविधा पाउनेगरी निवेदन पेश गर्न सक्नेछन् । (ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिकरूपमा पुनरकर्जा स्वीकृत गर्न सकिनेछ । (घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सो रकमको प्रवाह बजारको अवस्था, इजाजतपत्रप्राप्त संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा उपलब्ध गराउनेगरी वितरणको तालिका बनाई सोही अनुसार प्रवाह हुनेछ । (ङ) स्वीकृत पुनरकर्जा रकम भुक्तानी हुनुअघि बैंक तथा वित्तीय संस्थाको अख्तियार प्राप्त अधिकारीले आवश्यक कागजात सहित तमसुक लगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ । यस्तो अख्तियारी इजाजतपत्रप्राप्त संस्थाको प्रमुख कर्जा अधिकृत वा सो भन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ । (च) तमसुकको प्रक्रिया सम्पन्न भई बैंक तथा वित्तीय संस्थाले भुक्तानी प्राप्त गरे पश्चात सम्बन्धित सबै ग्राहकलाई पुनरकर्जा बापत प्रदान गर्नुपर्ने व्याजदर सुविधा पुनरकर्जा अवधिभर प्रदान गर्नुपर्नेछ । (३) ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा देहायको प्रक्रिया अवलम्बन गरी पुनरकर्जा उपलब्ध गराइने छ । (क) पुनरकर्जाको लागि बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूवाट आवेदन आह्वान गर्नेछ । (ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्र पुनरकर्जा आवश्यक पर्ने ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले निवेदन पेश गर्न सक्नेछन् । (ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्न सकिनेछ । (घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित ‘घ’ वर्गका संस्थामा सो रकमको प्रवाह, बजारको अवस्था, संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी एकै पटक वा विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा प्रवाह गर्न सकिनेछ । (ङ) बैंकबाट स्वीकृत रकम भुक्तानी हुनुअघि सम्बन्धित ‘घ’ वर्गका संस्थाले बैंक समक्ष आवश्यक कागजात सहित तमसुक लगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ । (च) ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको अख्तियार प्राप्त अधिकारीले तमसुक लगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ । यस्तो अख्तियारी ‘घ’ वर्गका संस्थाको प्रमुख कर्जा अधिकृत वा सो भन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ । (छ) तमसुकको प्रक्रिया सम्पन्न भई बैंक तथा वित्तीय संस्थाले भुक्तानी प्राप्त गरे पश्चात यस्तो पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणीको व्याजदर कम हुने गरी व्याजदरमा समायोजन गर्नुपर्नेछ । कस्तो व्यवसायमा पाइन्छ ऋण ? (१) लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि (क) सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको रु.१५ लाखसम्मका कर्जाहरू, (ख) प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे तापनि त्यस्तो घटना अघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका रु.१५ लाखसम्मका कर्जाहरू, (ग) प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, (घ) वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, (ङ) कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, (च) कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, (छ) तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाहरु, (ज) बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू । (२) विशेष पुनरकर्जाका लागि (क) सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, (ख) न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू, (ग) रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु, (घ) वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु, (ङ) कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरु । (३) साधारण पुनरकर्जाका लागि (क) जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू, (ख) पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू । (ग) कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरू । (घ) तोकिएका उद्योगलाई प्रवाहित कर्जाहरु । कस्तो व्यवसायमा पाइदैन ऋण ? पुनरकर्जा सुविधाका लागि अयोग्य हुने कर्जाहरुमा (१) कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू । तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिनेछैन । (२) व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु । (३) पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अन इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु । (४) चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग÷व्यवसायलाई प्रवाह भएका कर्जाहरु । (५) बैंकले समय समयमा तोकेका अन्य कर्जाहरु । कार्यविधि यस्तो छ [pdf id=228801]

नेपाल क्लियरिङ्ग हाउसकाे कुल कारोबार स‌ंख्या २ करोड नाघ्यो

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्मा कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको छ । यो गत वर्षको तुलनामा २२.२% ले बृद्धी भएको हो । विभिन्न भुक्तानी प्रणालीहरु मार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ने.रु.९६.८ खर्ब , युएस डलर ३२ करोड, युरोपियन डलर २३.८ करोड र जबिपि १७.१ करोड बराबर रहेका छन् । यस सँगै राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसिएचएलको स्थापना वर्ष देखि हालसम्मको वृद्धी दर ५८.८% पुगेको छ । हाल एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत दैनिक औसत रु.३६.२ अर्ब बराबरको ७७,११५ भुक्तानी कारोबार हुने गरेका छन् । एनसिएचएलका एनसिएचएल ईसिसि, एनसिएचएल ईसिसि र कनेक्ट आईपिएस लगायतका विभिन्न भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु संचालनमा रहेका छन् । यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरु थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्ट आईपिएस आरटिजिएस पनि संचालन गर्दै आएको छ । विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआई मार्फत हाल बैंक वित्तिय संस्था, पिएसपि, पिएसओ, लगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको छ । यसको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, थर्ड पार्टी भुक्तानी लगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत आ.व.मा रु.२१९ अर्ब बराबरको अन्तर बैंक सरकारी भुक्तानी तथा रु ३.१२ अर्ब बराबरको राजस्व संकलन एनसिएचएलका प्रणालीहरु मार्फत भएका छन् । कोभिड–१९ को कारणले चैत्र ११, २०७६ बाट भएको लकडाउनको अवस्थामा पनि एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरुले सर्वसाधारण तथा बैंकिङ्ग क्षेत्रलाई नन क्यास कारोबार गर्न आवश्यक सहयोग पुर्याउदै आएको थियो । लकडाउन अवधिमा पनि यसका विभिन्न भुक्तानी प्रणाली मार्फत ५२.५ लाख भुक्तानी कारोबारहरु भएका थिए । एनसिएचएल ईसिसि र एनसिएचएल आईपिएसका निम्ती सेवाग्राही बैंककै शाखा पुग्नु पर्ने भएता पनि कनेक्ट आईपिएस मार्फत भने बैंक शाखा नपुगि अनलाईनबाटै फन्ड ट्रान्सफर तथा अन्य भुक्तानी गर्न सकिन्छ । यसै कारणले गर्दा लकडाउन अघि एक अर्ब दैनिक औसत कारोबार हुने गरेको कनेक्ट आईसिपएसमा असारमा भने २.५ अर्ब बराबरको दैनिक औसत कारोबार भएको छ । हाल डिजिटल भुक्तानी प्रणालीले लिएको गतिलाई निरन्तरता दिन श्रावण १, २०७७ बाट एनसिएचएलका भुक्तानी प्रणालीहरुमा शुल्क पनि घटाइएको छ । नेपाल राष्ट्र बैंक सँगै बैंक वित्तिय संस्थाहरुबाट प्रवद्र्धित एनसिएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको लाईसेन्स प्राप्त संस्था हो । एनसिएचएलले डिजिटल भुक्तानी क्षेत्रको विकासको लागि आफ्ना पूर्वाधारहरु विभिन्न संस्थाहरुलाई प्रदान गर्दै आएको छ । यसमा बैंक वित्तिय संस्था, पिएसपि, पिएसओ, रेमिट्यान्स कम्पनी, इन्सुरेन्स, सरकारी अर्ध–सरकारी संस्था, कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेप्से तथा अन्य विभिन्न संस्थाहरु लगायत १०२ सदस्यहरु रहेका छन् ।