विकासन्युज

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ। दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ। इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ। रासस

काठमाडौंमा पहिरोबाट एक जनाको मृत्यु

काठमाडौं । पहिरोबाट काठमाडौंमा एक जनाकाे मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित घट्टेखोलामा गएको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु गएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गुरुङको आइतबार साँझ पहिरोमा पुरिएर ज्यान गएको हो ।  

फरार रहेका सिद्धार्थ बैंकका पूर्वसञ्चालक पक्राउ

काठमाडौं । फरार रहेका  सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार  बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो । उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो।अदालतको सो फैसलापछि उनी फरार रहँदै आएका थिए ।

सेयर बेच्नेले २ दिनमै पैसा पाउने, स्टक डिलर यही वर्ष आउने

काठमाडौं । धितोपत्र बोर्डले चालु आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डका नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नोपाल स्टक एक्सचेञ्ज (नेप्से) को विद्युतीय कारोवार प्रणालीमा धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासँग आवद्ध गरी पूर्ण स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइने भनिएको छ । यस्तै धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस टु मा हुने तथा हाल नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) लाई प्रभावकारी बनाउने भनिएको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारको चरणबद्ध विकासका लागि बोर्डको चार वर्षीय रणनीतिक योजना (आव २०७७/७८–२०८०/८१) तयार गरी लागू गर्ने भएको छ । वस्तु विनिमय बजार सम्बन्धमा ऐन तथा नियमावलीको व्यवस्था बमोजिम वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमतिपत्र प्रदान गर्ने व्यवस्था मिलाइने अध्यक्ष ढुंगानाले जानकारी दिए । बोर्डमा प्राप्त हुने कन्ट्रयाक्ट स्पेसिफिकेसनको अध्ययन गरी कारोबारका लागि दर्ता गर्ने व्यवस्था गरिने भएको छ । धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन प्रोत्साहन तथा सहजीकरण गर्ने बोर्डको कार्यक्रम छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँगको सहकार्यमा सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायीहरुले बोर्ड तथा नेप्सेमा पेश गर्नुपर्ने विवरणहरुको ढाँचा विकास गरी लागू गरिने अध्यक्ष ढुंगानाले जानकारी दिए । नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याई संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोवार प्रणालीलाई सुदृढ गर्ने र केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरी धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाइने बोर्डको भनाइ छ । सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण हुने व्यवस्था मिलाई सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोवारलाई सक्रिय बनाइने भएको छ । धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश गराई कारोवारको आकार बढाउन तथा दोस्रो बजार मूल्यमा स्थिरता ल्याउन धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमति दिइने बोर्डको कार्यक्रम छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक छ- चेम्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २ गते जारी भएको मौद्रिक नीतिलाई नेपाल चेम्बर अफ कमर्सले सकारात्मक रुपमा लिएको छ । कोभिड-१९को प्रभाववाट धराशायी र शिथिल भएको अर्थतन्त्रलाई गतिशिलता दिने र अर्थतन्त्रको पुंनरुत्थान गर्ने उद्देश्यले मौद्रिक नीति आएको चेम्बरले प्रतिकृया दिएको छ । मौद्रिक नीति तयारीको क्रममा नेपाल चेम्बर अफ कमर्सद्धारा दिइएका सुझावहरु मध्ये करीव ७५ प्रतिशत भन्दा वढिको संवोधन गरिएको छ । कोभिड १९ को विश्वव्यापी महामारीले उत्पन्न आर्थिक संकटका बीच व्यवसायिबाट निकै अपेक्षा गरिएको मौद्रिक नीतिबाट राहत प्राप्त गर्ने कुरामा चेम्वर बिश्वस्त रहेको छ । कोभिड १९ बाट प्रभावित पेशा, उद्यम र व्यवशायको कर्जामा पहुंच अभिवृद्धि गर्न पुंनरकर्जा संम्बन्धि व्यवस्थामा परिमार्जन गर्दै पुंनरकर्जाकोलागी उपलब्ध कोषको ५ गुणा सम्म उपलब्ध गराउने व्यवस्थाले व्यवशायमा सहजीकरण हुने अपेक्षा चेम्बरले लिएको छ । करिव ३ महिना देखि सम्पूर्ण आर्थिक गतिबिधिहरु लक डाउन भएको अवस्थामा उद्योग व्यवसायका स्थायी खर्चहरुको लागि तरलताको चरम अभाव सृजना भएका वर्तमान अवस्थामा चैत्र महिनाको चालु पुंजीमा २० प्रतिशत थप कर्जा प्रवाह गरिने व्यवस्थाले व्यवसायीहरुलाइ राहत पुग्न गएको छ । यस विषम परिस्थितिमा कोभिडबाट कम, मध्यम र अति प्रभावित पेशा र व्यवशायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्त सम्मको सावा किस्ता र व्याज रकमलाई क्रमशः आगामी पौष मसान्त, चैत्र मसान्त र २०७८ आषाढ मसान्त सम्म भूक्तानी गर्न सक्ने व्यवस्था भएकोमा चेम्बरले स्वागत गरेको छ । कृषि क्षेत्रमा २०८० असार मसान्त सम्म कूल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नु पर्ने ,कृषि विकास वैंकलाई कृषि क्षेत्रको अगुवा बैंकमा विकसित गर्ने, किसान क्रेडिट कार्डको व्यवस्था आदि प्रशंसनीय छन् । उर्जा क्षेत्रलाई थप गतिशीलता दिन २०८१ आषाढ मसान्त सम्म आफ्नो कूल कर्जा लगानीको न्यूनतम १० प्रतिशत यस क्षेत्रमा लगानी गर्नु पर्ने प्रावधानले थप गतिशिलता आई अर्थ व्यवस्थामा ठोस टेवा पुग्ने अपेक्षा चेम्बरले लिएको छ । कोभिड-१९ बाट अति प्रभावित पर्यटन लगायत संम्बन्धित क्षेत्रहरुमा पुंनरुत्थानकालागी चांलु पूंजि कर्जा, सहुलियतपूर्ण कर्जा र पुनंकर्जा प्रवाहमा आवश्यकता अनुसार उपलब्ध गराउन मौद्रिक नीतिले प्राथमिकता दिएको अत्यन्तै सह्राहनीय छ । वाणिज्य वैंकहरुले २०८१ आषाढ मसान्त सम्म लघु, साना एवंम मझौला उद्यमका क्षेत्रमा रु १ करोड भन्दा कमका कर्जाहरु आफ्नो कूल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नु पर्ने व्यवस्था विगत भन्दा निकै भिन्न र प्रभावकारी व्यवस्था भएको चेम्बरले महशुस गरेको छ । बैंकहरुले कायम गरेको कर्जा पुंजीको अनुपात (सिसिडि) ८५ प्रतिशतमा पुर्याइएको छ । यसबाट लगानी योग्य रकमको अभाव हुन नदिन र यसको ऋणमा व्याजदरमा समेत केही कमी आउने चेम्वरले अपेक्षा गरेकाे छ । बैंक तथा वित्तिय संस्थाहरु, विग मर्जरमा गाभिदा विभिन्न प्रकारका सहुलियत दिने व्यवस्था समेत उचित रहेको चेम्बरको बुझाई छ । बिगतमा सेवा शुल्क बापत अनियन्त्रित तरिकाले अशुल गरि रहेकोमा मौद्रिक नीतिले वाणिज्य बैंकले अधिकतम ०.७५ प्रतिशत, बिकाश वैंकले १ प्रतिशत र लघुवित्तले १.५ प्रतिशत भन्दा वढि सेवा शुल्क लिन पाउने छैनन् भन्ने व्यवस्था अत्यन्त सकारात्मक छ । स्प्रेड दर घटाउने बिषयमा चेम्वरको सुझाव रहेकोकम यस बिषयमा मौद्रिक नीति मौन रहेको छ । एकल दरको व्याज कायम गर्न थप मौद्रिक उपकरणहरु आगामी दिनमा परिचालन गरिने छ भन्ने बिषयमा चेम्वर बिश्वस्त रहेको छ । समग्रमा मौद्रिक नीति निजी क्षेत्र मैत्री भए तापनी यसको कार्यान्वयन पक्ष निकै चुनौतिपूर्ण देखिन्छ । पुनरकर्जा सम्वन्धी कार्यबिधिहरु सरल,सहज र स्पष्ट हुनु पर्दछ । यस सम्वन्धमा जारी हुने कार्यबिधि छोटो समयबाट उद्योगी व्यवसायीले प्राप्त गर्ने प्रक्रियामा आधारित हुनु पर्ने चेम्बरले जनाएको छ ।

अब पानी पनि एपबाटै अर्डर गर्न मिल्ने

काठमाडाैं । डा. पानी वाटर डेलिभरी एपले आज(साउन ४ गते)  बाट एपको माध्यमबाट नेपालमा पहिलो पटक पानी अर्डर गर्न मिल्ने सेवाको शुरुवात गरेको छ । पहिलो चरणमा नयाँ बानेश्वर, पूरानो बानेश्वर, ज्ञानेश्वर, गौशाला, माइतीघर, शंखमूल, सिनामंगल, मैतिदेवी, तिलगंगा, गैरिगाउँ, कोटेश्वर, डिल्लीबजार, अनामनगर, बिजुलीबजार, पेप्सीकोला, काँडाघारी र मूलपानीका सेवाग्राहीहरुलाई सेवा दिदैं सम्पूर्ण उपत्यकामा सेवा प्रदान भए पश्चात देशभरमा सेवा विस्तार गर्ने लक्ष्य राखिएको डा. पानीका म्यानेजिङ्ग डाईरेक्टर सुजित श्रेष्ठले जानकारी दिए । नेपालमा भएका खानेपानी प्रदान गर्ने प्रणालीहरुबारे अध्ययन गर्दा खानेपानीको गुणस्तर, खानेपानीको जारहरु भण्डारण स्थिति, ढुवानी तथा डेलिभरीमा सेवागा्रहीहरुको चासो रहेको र पानी ल्याईने जारको गुणस्तर कम हुँदा निराशा बढेको पाईयो । यही समस्यालाई समाधान गर्न डा. पानी एपले नेपाल सरकारद्वारा निर्धारण गरिएको मापदण्डहरु पालना गर्दै पूर्णतः ल्याब टेष्ट गरिएको खानेपानी वितरण गर्ने सेवाको शुरुवात गरेको हो । डा. पानीबाट डेलिभर गरिने जारहरु हाजिनिकल्ली ह्यान्डल गरिनुका साथै फ्याक्ट्रीबाट घरमै जार पुर्याइन्छ, जसले गर्दा घामको किरणमा पानी धेरै समयसम्म रहनपाउँदैन र नावश्यक संक्रमणबाट पनि सुरक्षित हुन्छ । डेलिभर गर्ने कामदारहरुले पनि मास्क, पञ्जा र हेयर कभर लगाएर पानीको जारलाई संक्रमण हुनबाट बचाउन मद्दत पुर्याउँछन् । सेवाग्राहीको अगाडि जारलाई यूभी लाईट र सेनिटाइजर स्प्रेगरेर मात्र डेलिभर गरिने भएकाले सफा तथा संक्रमण रहित खानेपानी जार घरदैलोमा पुर्याउनेमा डा. पानी विश्वस्त रहेको छ ।

रुरु हाइड्रोपावरको आईपीओमा किन लगानी गर्ने ? आशिष सुवेदीसँगको अन्तर्वार्ता

रुरु जलविद्युत परियोजनाले अब केही दिनमै साधारण सेयर निश्कासन गर्दैछ । कम्पनीले वि.स २०७१ सालदेखि ५ मेगावाटको माथिल्लो हुग्दीखोला आयोजना सञ्चालन गरी विदुत उत्पादन गर्दै आएको छ । करिब १ हजार जना प्रवद्र्धक रहेको परियोजना सरकारी-निजी-साझेदारी अवधारणामा निर्माण गरिएको हो । कम्पनीले ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण सेयर निश्कासन गर्न नेपाल धितोपत्र बोर्डमा असार २५ गते आवेदन दिएकाे छ। अयोजनाको वर्तमान अवस्था, निश्कासन गर्न लागेको साधारण सेयर र कम्पनीको वित्तीय अवस्थाको बारेमा कम्पनीका अध्यक्षा आशिष सुवेदीसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् ।  रुरु जलविदुत परियोजनाद्वारा प्रवद्र्धित माथिल्लो हुग्दी हाइड्रोपावरको वर्तमान अवस्था कस्तो छ ? ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजना वि.स.२०७१ साल चैत्रबाट विद्युत उत्पादन सुरु भएको हो । यो  परियाेजना गुल्मीको रुपाकोटमा अवस्थित छ । यसमा २ सय ५० जति स्थानीय गरी १ हजार जना प्रवद्र्धकहरु रहेका छन् । हामीले यसको राम्रोसँग प्रवद्र्धन गर्न सफल भएका छौं । हामी सबै अनुभवी टीम छौं । हामीले यसलाई सफल किसिमले बनाएका हौं । यसलाई हामीले प्रति मेगावाट १५ करोडभन्दा कम खर्च गरी निर्माण पुरा गरेका छौं । हामीले अनुमानित रकमभन्दा ७ करोड कममा आयोजना निर्माण गरेका हौं । यो आयोजनाको लगानी कति हो ? हामीले प्रति मेगावाट १५ करोडभन्दा कममा निर्माण गरेका हौं । यसको कुल लागत भने ७५ करोडभन्दा पनि कम लागेको छ । माथिल्लो हुग्दी जलविद्युत आयोजनामा कुन बैंकको लगानी छ ? यसमा ५ बैंकको लगानी रहेको छ । तिनीहरुमध्ये लिड बैंकको रुपमा एनएमबी बैंक रहेको छ । अन्य बैंकहरु सेन्चुरी, कुमारी, माछापुच्छ्रे, लुम्बिनी विकास बैंक रहेको छन् । हामीले किस्ता ऋण पनि समयमै तिरिहरेका नै छौं । अपरेसनल रुपमा हाम्रो एकदमै राम्रो टीम छ । टीम पनि सानो नै छ । तपाईहरुले प्रिमियम मूल्यमा आईपीओ निश्कासन गर्दै हुनुहुन्छ । धेरै जलविद्युत कम्पनीकाे सेयर मूल्य १०० भन्दा कम छ । केही कम्पनीकाे साधारणा सेयर बिक्री नै नभएकाे अवस्था छ । रुरुकाे सेयर किन प्रिमियम मूल्यमा ?  हामीले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको कूल ८ लाख १५ हजार ४ सय ११ कित्ता सेयर निष्काशन गर्दैछाैं । हामीले साधारण निश्कासनका लागि  असार २५ गते बोर्डमा आवेदन दिइसकेका छाैं । जसमध्ये परियोजनाले स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता र सर्वसाधारणलाई ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्काशन गर्न लागेकाे हाे । रुरु हाइड्रो सञ्चालनदेखि नै राम्रैसँग चल्दै आएको छ । हामीले लगातार रुपमा लाभांश पनि बाँडिरहेका छौं । यो वर्ष १७ देखि १८ प्रतिशतसम्म लाभांश बाड्ने स्थितिमा छौं । त्यसैले अरुको र हाम्रो धेरै फरक छ । यसमा लगानीकर्ताले बुझेर, जलविद्युतको अवस्था कस्तो छ भन्ने हिसावले अध्ययन गरेर लगानी गर्यो भने राम्रो नै हुन्छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा हामीले औषत रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड ४ प्लस’ पाएका छौं । यो धेरै कम हाइड्रो पावर कम्पनीले पाउँछन् । यसले पनि हामी विश्वस्त छौं । त्यसैले हामी प्रिमियममा आएका हौं । लगानीकर्ताहरुले पनि लगानी गरेको भोलिदेखि नै रिर्टन पाउने अवस्था छ । हाम्रो विगतको पर्फमेन्स पनि राम्रै छ । सर्वसाधारणहरुले लगानी गर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं । सर्वसाधारणहरुले रुरु हाइड्रोपावरमा किन लगानी गर्ने, यसका सवल पक्ष र लगानीकर्तालाई प्रतिफल दिन सक्ने आधार के छन् ? हाम्रो पहिलो आधार भनेको हामीले सुरुदेखि नै लगानीकर्ताहरुलाई हामीले लाभांश बाँड्दै आएका छौं । प्राविधिक रुपमा हाम्रो उत्पादन एकदमै राम्रो छ । प्राविधिक रुपमा अनुभवि टीमले काम गरिरहेका छन् । निरन्तर मेन्टिनेन्सदेखि लिएर सफिसियन्ट स्पेयर पार्टहरु पनि राखेका छौं । आयोजना लामो समयसम्मका लागि अवरुद्द भएको छैन ।हाम्रोमा रिक्स छैन । ऋण आधा तिरिसकेका छौं । लगानी गरेको वर्षदेखि नै रिर्टन पाउन सक्ने स्थिति छ । लगानीकर्ताहरुले कति पटक लाभांश पाए ? हामीले चार वर्ष अर्थात चार पटक लाभांश वितरण गरिसकेका छौं । चारै वर्ष १०/१० प्रतिशत लाभांश वितरण गरेका छौं । कुनै वर्ष ट्याक्स बाहेको लाभांश थियो होला कुनै वर्ष ट्याक्ससहितको दिएका थियौं । रुरुकाे सञ्चित कोषमा कति रकम छ ? करिब ७ करोड रुपैयाँ हाम्रो सञ्चित कोषमा छ । तपाईहरु जति कित्ता सेयर निश्कासन गर्दै हुनुहुन्छ, ती सबै कित्ता सेयर बिक्रि हुन्छ भन्ने कुरामा कति विश्वस्त हुनुहुन्छ ? हामीले ८ लाख कित्ता जति निश्कासन गर्दैछौं । त्यो भनेको धेरै ठूलो अमाउन्ट पनि होइन । जुन हिसाबको हाम्रो विगतको पर्फमेन्स छ त्यस हिसावले हामी एकदमै विश्वस्त छौं । हामीले स्थानीयका लागि भनेर ५० प्रतिशत छुट्याएका छौं । लोकल लेभलमा ४ लाख कित्ता नै बिक्री हुन्छ भन्नेमा हामी विश्वस्त छौं । पछिल्लो समय केही हाइड्रोपावर कम्पनीहरुले सेयर निश्कासन गरेर बाँडफाँड भइसकेपछि पनि नेप्सेमा सूचिकृत भएकाे छैन, काराेबार भएकाे छैन। रुरु हाइड्रो पावरमा त्यो प्रवृति दोहोरिने सम्भावना कतिको छ ? त्यस्तो काम निर्माणाधीन आयोजनाले गरेका होलान् । ती आयोजनाहरु कसरी बनेका छन् । निर्माण कार्य कहिले सकिने हो भन्ने कुरा भन्ने निश्चित पनि हुँदैन । तर, हाम्रो हकमा हामीले निर्माण गरेर पनि विदुत उत्पादन गरेका पनि ६ वर्ष भइसकेको छ । हामीले हामी कस्तो छौं भन्ने कुुरा प्रमाणित पनि गरिसकेका छौं । आयोजना कतिको छ भनेर सर्वसाधारणले अध्ययन गर्न सक्नु पर्छ । धेरैमा हाइड्रोपावरमा लगानी गर्यो भने डुबिन्छ कि भन्ने धारणा पनि धेरैले बनाएका छन् तर हाम्रो हकमा त्यो लागु हुँदैन । प्रोजेक्ट सँगसँगै प्रवद्र्धकहरु कस्तो छन् भन्ने कुरा पनि लगानीकर्ताले बुझ्नु पर्छ । हामी प्राविधिक रुपमा राम्रो भएकोले नै १५ करोडमा प्रतिमेगावाट निर्माण गर्न सफल भयौं । हामीले ७ करोड बजेट बचायौं । हामीले बदमासी गर्न चाहेनौं । हामीले त्यस्तो गरेको भए हामी अहिले लाभांश बाड्ने स्थितिमा हुँदैनथ्यौं होला । मुख्य कुरा सबै प्रवद्र्धक राम्रो र अनुभवि हुनुहुन्छ । आयाेजनाको ऋण भुक्तानी अवधि कति हो ? हाम्रो जलविद्युतको भुक्तानी अवधि १२ वर्षको छ । हामीले आईपीओबाट आएको पैसाले ऋण तिर्यो भने अझ सजिलो हुन्छ भन्ने हिसावले हामी अगाडि बढाइरहेका छौं । अझ १२ वर्षभन्दा पनि १० वर्षभित्र हामी सिध्याउने सोचमा छौं । हामीले अहिले जुन हिसावले काम गरिहरको छौं, यो हिसावले हामी सक्छौं पनि । यसकाे उर्जा खरिद सम्झौता दर कति हो ? हाम्रो वर्षामा ४.८० र हिउँदमा ८.४० रुपैयाँ रहेको छ । सरकारले २०७१ चैत मसान्त भित्र सक्नेलाई २० प्रतिशत थप गरी भुक्तानी दिने भनेको छ । हामी त्यसको लागि योग्य भएकोले त्यसमा हाम्रो थपिन्छ । अन्तिममा, आम सर्वसाधरणलाई रुरु हाइड्रपावरको सेयरमा लगानी गर्नको लागि प्रोत्साहन गर्न केही भन्न चाहनुहुन्छ ? हाम्रो ट्र्याक रेकर्ड राम्रो छ । हाम्रो प्रवद्र्धकदेखि परियोजनाको अवस्था कस्तो छ, यसको सञ्चालन कस्तो छ भनेर सर्वसाधरणले बुझ्न जरुरी छ । हाम्रोमा त्यस्तो कुनै समस्या छैन । हाम्रो विगत रेकर्ड पनि राम्रो छ । हामीले लगातार १० प्रतिशत लाभांश वितरण गर्दै आएका छौं । हाम्रोमा लगानी गर्दा शतप्रतिशत सुरक्षित हुन्छ । प्रतिफल पनि केही समयपछि पाइन्छ । केही परियोजनाहरु नराम्रो भयो भन्दैमा सबै हाइड्रो परियोजनालाई नराम्रो भन्न मिल्दैन । हाइड्रो पावर राम्रो क्षेत्र नै हो । केही परियोजनाहरु विभिन्न कारणले समस्या भएको हुन सक्छन । त्यस्तो समस्या सबै परियोजनामा हुँदैन । हामीले नाकाबन्दीमा पनि निरन्तर विदुत उत्पादन र सञ्चालन गर्दै आयौं । अन्य धेरै क्षेत्र लकडाउनको समयमा समस्या देखापरे तर हाइड्रो पावरमा त्यस्तो कुनै समस्या देखा परेन । हामीले देशको अर्थतन्त्रमा प्रभाव पार्छ । हामी सबैलाई यसमा सहभागी गर्न आग्रह पनि गछौं ।

नजिकको एटीएम बुथबाट पैसा झिक्नुस्, तिर्नु पर्दैन कुनै शुल्क

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड प्रयोग गरी जुनसुकै बैंक वित्तीय संस्थाको एटिएम बुथबाट रकम झिकेपनि शुल्न नलाग्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्काे बैंकको एटीएम बुथबाट रकम निकाल्दा शुल्क लाग्ने निर्णय गरेको थियो । एसोसिएसनले यस्तो निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएम बुथ प्रयोग गरी रकम निकाले पनि कुनै सुल्क नलाग्ने व्यवस्था गरेको थियो । मौद्रिक नीतिमा आएको सो व्यवस्था राष्ट्र बैंकले निर्देशन मार्फत कायान्वयन गराएको छ । ‘एउटा बैंक तथा वित्तीय संस्था जारी गरेका एटिएम कार्य स्वदेश भित्रै अर्काे बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण सन्त्रासको कारण सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । सो लकडाउनको समयमा सर्वसाधारणलाई सहज होस भनेर नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको कार्ड प्रयोग गरेर एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको थियो । लकडाउन खुकुलो भएसँगै बैंकहरुले उकतर्फि निर्णय गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड अर्काे बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गरी पैसा निकाल्दा साउन १ गतेदेखि शुल्क लाग्ने निर्णय गरेका थिए ।