नेपाल टेलिकमद्धारा कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु
काठमाडौं । नेपाल टेलिकमले मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौ वागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने निर्णय गरिसकेको छ । यस बमोजिम कम्पनीले आज साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचना अनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको हो । सो अवसरमा साविक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको शुभारम्भ गरे । उक्त अवसरमा निर्देशक मालाकारले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेजहरु हस्तान्तरण गरेका थिए । पोखरामा आयोजित उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पठाउनु भएको शुभकामना सन्देश बाचन गरिएको थियो । शुभकामना सन्देशमार्फत प्रबन्ध निर्देशक अधिकारीले एफटिटिएच वितरणको मूल लक्ष्यलाई आत्मसात गरी आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुन निर्देशन दिएका थिए । यसका साथै कार्यसम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागु भइसकेकोले आफू कार्यरत सम्बन्धित प्रदेश प्रमुख तथा समस्त कर्मचारीहरुको संयुक्त प्रयासबाट प्रदेशलाई दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गर्नुहुने विश्वास लिएको उल्लेख गरेका थिए ।
मेलम्ची आयोजनामा भएको दुर्घटनाका मृतक तथा बेपत्ताका परिवारलाई क्षतिपूर्ति दिन मन्त्रालयले थाल्यो पहल
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा दुर्घटना भई ज्यान गुमाएका ईन्जिनियर सतीश कुमार गोइतको परिवारलाई उचित क्षतिपूर्ति र बीमा लगायतका सुविधाहरु दिने प्रक्रिया अघि बढाउन खानेपानी मन्त्रालयले पहल थालेको छ । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा मेलम्ची खानेपानी आयोजना विकास समितिले उक्त दुर्घटनामा मृतक र बेपत्ता हुनु भएकाहरुलाई उचित क्षतिपूर्ति र बीमा लगायतका सुविधा दिने प्रक्रिया अघि बढाउन निर्माण व्यवसायी सिनो हाईड्रोलाई निर्देशन दिएको छ । सुरक्षाका सबै उपायहरुको अबलम्बन गर्दा गर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकामा मेलम्ची समिति स्तब्ध भएको जनाएको छ । राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा गत असार ३० गते अचानक आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानस्थित १७ नम्बर गेट खुल्दा ईन्जिनियर गोईत सहित अन्य चार जनालाई पानीले बगाएको थियो । पानीको भेलले बगाएका कारण सवारी चालक राधाकृष्ण थापामगर अझै बेपत्ता भएका छन् भने घटनामा घाईते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भईरहेको छ । सशस्त्र प्रहरीको सहयोगमा सवारी चालक थापामगरको खोजी कार्य तीव्र पारिएता पनि हालसम्म कुनै सूचना प्राप्त हुन नसकेको आयोजनाले जानकारी दिएको छ । उक्त घटनाको सन्दर्भमा आईतबार ज्ञापन पत्र बुझाउन आएका प्रोगेसिभ ईन्जिनियरिङ एशोसियशन नेपाल प्रदेश नं. २ को प्रतिनिधि मण्डलसँगको भेटमा खानेपानी मन्त्री मगरले मेलम्ची आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको उक्त घटनाले आफू निकै स्तब्ध भएको बताएका छन् । मन्त्री मगरले सुरुङको परीक्षण गर्दा यस्तो घटना होला भनेर आफूले कल्पना समेत नगरेको बताए । ‘राष्ट्र र जनताको निम्ति काम गर्दा गर्दै ईन्जिनियर गोईतको ज्यान गयो । सवारी चालक मगर अझै बेपत्ता छन् । अन्य दुई जना घाईतेहरुको उपचार भईरहेको छ ।’ उनले भने, ‘यो घटनाले हामीलाई निकै गम्भीर र दुःखी बनाएको छ । उहाँहरुले गरेको योगदान प्रति हामीले सधैं सम्झन हाम्रो तर्फबाट केही न केही गर्नेछौं ।’ खानेपानी मन्त्री मगरसँग भेट गर्दै एशोसियशनका तर्फबाट ईन्चार्ज ईन्जिनियर राम एकवाल यादव र अध्यक्ष सागरकुमार चौधरीले ईन्जिनियर गोईतको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग राखेका थिए ।
हिमालयन बैंकद्धारा टिच फर नेपाललाई ५ लाख सहयाेग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न रु. पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा संस्थालाई उक्त सहायता रकम प्रदान गरेको हो । “एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडी बढेको टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेकोे छ । हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय–समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
खाँदबारी अस्पतालले बाढीपहिराका घाइतेको निःशुल्क उपचार गर्ने
खाँदबारी । जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै घाइते तथा बिरामीको उपचार निःशुल्क गर्ने जानकारी गराएको हो । अस्पतालले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क उपचार गर्ने निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुन्दरश्याम झाले बताए । यसअघिदेखि नै लक्षित वर्गको उपचार निःशुल्क हुँदै आएको समेत डा. झाले जानकारी दिए । घाइतेको उपचारका लागि प्रदेश सरकारबाट प्रतिव्यक्ति रु पाँच हजार अस्पताललाई प्राप्त हुने व्यवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए । बिरामी उपचार भई डिस्चार्ज भएर घर जाँदासमेत यातायात खर्च रु एक हजार दिने व्यवस्था रहेको अध्यक्ष शाक्यले बताए । उक्त रकम प्रदेश सरकारले नदिए पनि अस्पताल आफैँले उक्त सेवा दिनेसमेत अध्यक्ष शाक्यले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा मौद्रिक नीतिको स्वागत
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत गरेको छ । ऋणीले २०७६ चैत, २०७७ बैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज रकम २०७७ असार मसान्तसम्म भुक्तान गर्न सकिने व्यवस्था गरिएपछि ठूलो संख्यामा साना उद्योगीहरु लाभान्वित हुने भन्दै महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजदरमा निर्यातजन्य उद्योग र रुग्ण उद्योग लगायतका तोकिएका क्षेत्रमा विशेष पुनरकर्जा, २ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र ३ प्रतिशत व्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनरकर्जा प्रदान गरिएको र यस्ता पुनरकर्जामा ऋणीले क्रमशः ३ प्रतिशत, ५ प्रतिशत र ५ प्रतिशत मात्र ब्याज तिनर्पुर्ने व्यवस्था सकारात्मक भएको बताए । महासंघले कोभिड-१९ को संक्रमणबाट प्रभावित कृषि, ऊर्जा, पर्यटन तथा घरेलु, साना तथा मझौला उद्यममा कर्जा लगानी प्रोत्साहन गर्ने तथा सहुलियत कर्जाको पुनरसंरचना गरिने सकारात्मक पक्ष भएको भन्दै स्वागत गरेको छ । कृषि विकास बैंकले कृषकहरुलाई कृषि तालिम केन्द्रहरुबाट कृषिसँग सम्बन्धित तालिमहरु सञ्चालन गर्ने, कोभिड-१९ प्रकोपको कारण अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकासका लागि विद्यमान सहुलियतपूर्ण कर्जा कार्यक्रम सरल रुपमा कार्यान्वयन हुने व्यवस्था मिलाइएको र बैंक तथा वित्तीय संस्थाबाट तोकिएका क्षेत्रमा यस्तो कर्जा ऋणीलाई ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुने कुरा सकारात्मक भएको उनले बताए । मौद्रिक नीतिमार्फत सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्नुका साथै लक्षित क्षेत्र र वर्गमा कर्जामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य बैंकले कम्तीमा ५०० वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरका विकास बैकले कम्तीमा ३०० वा न्यूनतम प्रति शाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । विकास बंैकले आफ्नो कुल कर्जा लगानीको न्यूनतम २० प्रतिशत र वित्त कम्पनीहरुले न्यूनतम १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम, उर्जा र पर्यटन लगायत तोकिएका क्षेत्रमा २०८१ असार मसान्तसम्ममा प्रवाह गर्नुपर्ने व्यवस्थालाई महासंघले स्वागत गरेको छ । आ.व. २०७७/७८ को बजेटमा व्यवस्था गरिए बमोजिम ५० अर्बको कोष मार्फत पर्यटन, लघु, घरेलु तथा साना उद्यमका लागि ५ प्रतिशत व्याजदरमा कर्जा दिने, बैंकहरुका सवै शाखाहरुले सहुलियत कर्जा अनिवार्य रुपमा लगानी गर्नुपर्ने तथा वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १ करोड रूपैयाँभन्दा कम रकमका कर्जाहरु आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नु पर्ने व्यवस्था मिलाइएकोप्रति पनि महासंघले स्वागत गरेको छ । कोभिड-१९ बाट प्रभावित पेशा, उद्यम र व्यवसायको कर्जामा पहुँच अभिवृद्धि गर्दै आर्थिक क्रियाकलाप विस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन र देशका दुर्गमस्थानसम्म कर्जा सुविधा सहज गर्ने उद्देश्यले पुनरकर्जा सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्दै पुनरकर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था सकारात्मक पक्ष भएको महासंघको भनाई छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ प्रदान गरिने पुनरकर्जामा प्रति ग्राहक लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको सीमा १५ लाख रूपैयाँ, विशेष तथा साधारण पुनरकर्जाको सीमा ५ करोड रूपैयाँ र ग्राहक अनुसार मूल्याङ्कनका आधारमा प्रदान गरिने साधारण पुनरकर्जाको सीमा २० करोड रूपैयाँ हुने व्यवस्था मिलाइएको छ । कोभिड-१९ बाट अति प्रभावित पेशारव्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
पाँचतारे हाेटलका कर्मचारीले लकडाउनकाे समयमा कामै नगरी १० हजार तलब पाउने
काठमाडौं । बन्द भएको अवस्थामा पाउने सेवा सुविधा सम्बन्धि होटल सञ्चालक र मजदुहरुबीच सम्झौता भएकाे छ । होटल सञ्चालकहरुकाे एसोसिएशन र मजदुरहरुका प्रतिनिधिमुलुक संगठनको बीच सम्झौता भएकाे हाे । सम्झौता अनुसार होटलहरुमा कार्यरत मजदुरहरुले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउने भएका छन्। सम्झौताअनुसार दुई तारे होटलले महिनामा प्रति मजदुर ४ हजार ३ सय रुपैयाँ, एकसय भन्दा न्यून कोठा भएका चार तारे होटलका कर्मचारीले महिनामा ८ हजार रुपैयाँ पाउने छन् । यस्तै २ सय भन्दा न्यून कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले ९ हजार र दुई सय बढी कोठा भएका होटलहरुमा कार्यरत श्रमिक कर्मचारीले महिनामा १० हजार रुपैयाँ पाउने छन्। सम्झौता अनुसार कुनै पनि काम नगरेको अवस्थामा मजदुरहरुले याे सुविधा डिसेम्बर २०२० सम्म पाउने छन् ।
दृष्टिविहीनका लागि कामना सेवाले ल्यायो बचत खाता, नेपालको बैकिङ्ग क्षेत्रकै पहिलो
काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको छ । यो दृष्टिविहीनहरुलाई लक्षित गरी सञ्चालनमा ल्याईएको डिपोजिट प्रोडक्ट नेपालको बैकिङ्ग क्षेत्रकै पहिलो हो । यस खाता शुन्य मौज्दातमा खोली उच्चतम् प्रतिफल प्राप्त गर्नुका साथै बैंकबाट प्रदान गरिने अन्य विशेष सुविधाहरु समेत लिन सकिनेछ । हाललाई ज्ञानेश्वर स्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको छ । बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले यस खाताको शुभारम्भ गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले खाताको जानकारी तथा बैंकको अवधारणा बारे प्रकाश पारेका थिए । खाता शुभारम्भ कार्यक्रममा नेपाल नेत्रहिन संघका प्रोग्राम अफिसर शोभा न्यौपानेले दृष्टिविहीनहरुले भोग्नु परेका समस्या र चुनौतीहरुका बारेमा प्रकाश पारेका थिए । यसैगरी नेपाल नेत्रहिन संघका अध्यक्ष नर बहादुर लिम्बुले आफुहरु दृष्टिविहीन भएको कारण राज्यका निकायहरुबाट पाउने विभिन्न सुविधाहरु उपभोग गर्नबाट बञ्चित भएको गुनासो गर्दै कामना सेवा विकास बैंकले इज्जतका साथ हामीलाई आम नागरिक सरह बैंकिङ सुविधा लिन पाउने अवसर प्रदान गरेकोमा संघ तथा आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिएका छन् । साथै, अन्य बैंक ता वित्तीय संस्थहरुले समेत यो महत्वपूर्ण कार्यको अनुसरण गर्नु पर्ने उनले बताए ।
नेपाल कोरिया अस्पतालमा क्यान्सर र गङ्गालालका बिरामीको पिसिआर परीक्षण
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भक्तपुर क्यान्सर अस्पताल र शहीद गङ्गालाल हृदय रोग केन्द्रका बिरामीको निःशुल्क पिसिआर परीक्षण शुरु गरेको छ । नेपाल कोरिया अस्पतालसँग क्यान्सर अस्पताल र केन्द्रले सम्झौता गरी कोरोना भाइरस जाँचका लागि निःशुल्क पिसिआर परीक्षण शुरु गरिएको हो । नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले क्यान्सर अस्पतालमा आएका बिरामीमध्ये शल्यक्रिया गर्नुपर्ने दैनिक सात जनासम्म बिरामी र केन्द्रमा शल्यक्रिया गर्नुपर्ने दैनिक १० जनासम्म बिरामीको निःशुल्क पिसिआर परीक्षण गर्न शुरु गरिएको बताए । नगरप्रमुख श्रेष्ठले भने, “नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भक्तपुर क्यान्सर र गङ्गालाल अस्पतालमा आएका बिरामीमध्ये तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क पिसिआर परीक्षण गरी २४ घण्टाभित्र रिपोर्ट दिने गरी सहमति गरेका छौँ ।” क्यान्सर र गङ्गालाल अस्पताललाई यसले सहयोग पुग्नाका साथै शल्यक्रिया गर्नुपर्ने बिरामीले समेत छिटो उपचार पाउने उनको विश्वास छ । क्यान्सर अस्पतालका प्रशासकीय प्रमुख राजाराम तजलेले राष्ट्रिय प्रयोगशालामा पिसिआर परीक्षण गर्न पठाउँदा रिपोर्ट आउन पाँचदेखि सात दिनसम्म लाग्ने गरेकामा अब नेपाल कोरिया अस्पतालले दैनिक सात जनासम्मको निःशुल्क पिसिआर परीक्षण गरी २४ घण्टामै रिपोर्ट दिँदा अस्पताल र बिरामीलाई ठूलो सहयोग हुने बताए । गङ्गालाल अस्पतालले मध्यपुरथिमि नगरपालिकाको यो सहयोग उदाहरणीय भएको र यसबाट बिरामीले छिटो उपचार पाउन सजिलो हुने जनाएको छ । यसअघि पनि नगरपालिकाका जनप्रतिनिधि, सोही अस्पतालका बिरामी, कर्मचारी, पत्रकार, वाग्मती प्रदेशसभा सदस्य, अन्य नगरपालिकाका जनप्रतिनिधि, विभिन्न अस्पतालका आपत्कालीन अवस्थाका बिरामी गरी करीब एक हजार जनाको निःशुल्क पिसिआर परीक्षण गरिसकिएको छ । यसैबीच लायन्स क्लबले सो अस्पताललाई ४०० थान पिसिआर किट प्रदान गरेको छ । अस्पतालमा लायन्स क्लबको समूहले नगरप्रमुख श्रेष्ठलाई स्वाब सङ्कलन गर्ने किट हस्तान्तरण गरेको हो ।