विकासन्युज

कर्मचारी संचय कोषका ऋणीले हिमालयन बैंकबाट ऋण तिर्न सक्ने

काठमाडौं । कर्मचारी संचयकोषका ऋणीले हिमालयन बैंकबाट ऋण तिर्न सक्ने भएका छन् । कोषका संचयकर्ताले कोषबाट लिएको ऋणको सावा र व्याज कनेक्ट आईपीएस इपेमेन्टद्वारा हिमालयन बैंक खातामा भुक्तानी गर्न सक्ने छन् । सो सम्बन्धि हिमालयन बैंक र कर्मचारी संचयकोषबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कोषका संचयकर्तालाई फाइदा पुग्ने बैंकको विश्वास छ ।

एनसीएचएलले घटायो भुक्तानी कारोबारको शुल्क

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)ले सञ्चालन गर्दै आएकाे एसीएचएल इसीसी, एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्राणालीको कारोबारमा लाग्ने शुल्क घटाएको छ । विद्युतीय भुक्तानी कारोबारलाई सहज एवम् विश्वसनीय माध्यम बनाई आफ्नो सदस्य तथा ग्राहकलाई सहयोग गर्ने उद्देश्यले एनसीएचएलले उक्त निर्णय गरेको हो । यसअघि कोभिड-१९ का कारणले सबै भुक्तानी प्राणालीहरुमा कारोबार शुल्क नलाग्ने व्यवस्था गरेकाे एनसीएचएलले साउन १ गतेदेखि शुल्क लिने निर्णय गरेको हो । एनसीएचएलले साउन १ गतेदेखि लागु गरिएको भुक्तानी शुल्क एनसीएचएल ईसीसीमा ०-१५, एनसीएचएल आईपीएसमा २-१० र कनेक्ट आईपीएस मा २-१५ कायम हुने गरी परिवर्तन गरेको छ । त्यसैगरी कनेक्ट आईपीएसमा सदस्य बैंक तथा वित्तिय संस्था एवम् भुक्तानी सेवा प्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याई ०.७५ प्रतिशत (न्युनतम रु २ र अधिकतम रु १००) बनाइएको छ । यद्यपी एनसीएचएलको एक्स्प्रेस र हाई भ्याल्यु क्लियरिङ्गको शुल्क यथावत राखेको छ । एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग (एनसीएचएल ईसीसी), अन्त बैंक विद्युतीय भुक्तानी (एनसीएचएल आईपीएस), कनेक्ट आईपीएस इपेमेन्ट, कनेक्ट आरटिजिएस र नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउँदै आएको छ । २०७७ असार ३१ गतेसम्म लकडाउनको अन्तरालमा एनसीएचएलद्वारा जम्मा ५४ लाख २० करोड रुपैयाँ कारोबार गरिएको र सो बापत लाग्ने ५ करोड २० लाख रुपैयाँ शुल्क नलिएको हो । एनसीएचएलले परिवर्तनमा ल्याएको शुल्कहरुले डिजिटल भुक्तानी कारोबार र समग्र अर्थतन्त्रमा नगदको निर्भरता कम गर्न सहयोग गर्ने विश्वास लिईएको छ । परिवर्तन गरिएको कारोबार शुल्क एनसीएचएलको प्रत्यक्ष तथा अप्रत्यक्ष सदस्यहरु सबैलाई लागु हुनेछ ।

कोरोना जोखिम भत्ता अझै पाएनन् चिकित्सकले, सरकार भन्छः पठाइसक्यौं

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कारोना भाइसको जोखिम कम गर्न खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले कोरोना जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले कोरोनाका बिरामीको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कोरोना जोखिम भत्ता दिने घोषणा गरेपनि उनीहरुले भने भत्ता नपाएको गुनासो गरेका हुन् । सरकारले जोखिम भत्ता पाउने निर्णय गरेको करिब ४ महिना बितिसक्दा पनि उनीहरुले कोरोना जोखमि भत्ता नपाएको बताएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गत चैत ९ गते कोरोना भाइरस (कोभिड १९) संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि कार्यमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपल्ब्ध गराउने निर्णय गरेको थियो । यस सम्बन्धि सरकारले कसले कति रकम पाउने भनेर कार्यविधी पनि तयार पारिसकेको छ । देशकै सबैभन्दा पहिला कोरोना भाइरस उपचारमा खटिने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पततालमा कार्यरत चिकित्सकहरुले समेत अहिलेसम्म कोभिड १९ जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत एक चिकित्सकले कोभिड १९ जोखिम भत्ता को बारेमा धेरै कुरा हुँदै आएको भएपनि अहिलेसम्म नपाएको गुनासो गरे । अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबीच कोरोना भत्ता पाउने सम्बन्धि हल्ला भइरहेको भएपनि अहिलेसम्म कसैले नपाएको उनको भनाई छ । यस्तै, सोही अस्पतालमा कार्यरत अर्का चिकत्सकले पनि कोरोना जोखिम भत्ता नपाएको गुनासो गरे । ‘भत्ता पाइने भनेको सुनिएको थियो, अहिले सम्म पाएका छैनौं,’ उनले भने । तर अस्पतालका निर्देशक डा सागर राज भण्डारीले मन्त्रालयबाट रकम आइसकेको बताए । ‘मन्त्रालयबाट रकम आइसकेको छ, हामीले चिकित्सकको खातामा पठाउन बाँकी नै छ, आजभोल सबै पठाइसक्छौं,’ उनले भने । यस्तै, कोभिड १९ उपचारमा खटिएका पाटन अस्पतालका चिकित्सक तथा कर्मचारीले कुनै पनि रकम नपाएको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रो.डा. पारस कुमार आर्चायको अनसुार अहिलेसम्म कोभिड १९ भत्ताको लागि आफुहरुलाई कुनै पनि रकम नआएको बताएका छन् । यस्तै, स्वास्थ्य मन्त्रालय अन्तर्गतको टेकुस्थित स्वास्थ्य सेवा विभागका अन्तर्गत रहेको कार्यालयका कर्मचारीहरुले कोभिड १९ भत्ता नपाएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले भने सबै रकम सम्बन्धित अस्पताल तथा कार्यलयमा पठाइसकेको बताएको छ । सरकारले गत आर्थिक वर्षको असारमसान्तसम्म सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण गरिसक्ने बताएको थियो । तर चालु आर्थिक वर्ष सुरु भएर एक हप्ता बितिसक्दा पनि उनीहरुले रकम पाएका छैनन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै रकमहरु सम्बन्धित अस्पतालमा पठाइसकेको बताए । गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल र पाटन अस्पताल भने आफुहरु अन्तर्गत नरहेको बताएका छन् । उनीहरु त्रिभुवन विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको उनले बताए । सरकारले बजेटमार्फत कोभिड १९ का बिरामीको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सबैलाई कसैलाई शतप्रतिशत र कसैलाई ५० प्रतिशत र कसैलाई २५ प्रतिशत भत्ता दिने बताएका थिए । सम्बन्धित समाचार:  सरकारले चिकित्सकलाई धन्यवाद मात्र दियाे काेराेना जोखिम भत्ता दिएन

सेयर बजारमा उछाल कायमै, दोश्रो पटक पनि लाग्यो सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा उछाल कायमै रहेको छ । बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेर खुलेको बजारमा पुनः करिब एक मिनेटमा दोश्रो पटक सर्किट लागेको हो । बिहान ११ बजेर २१ मिनेट जाँदा नेप्से परिसूचक ५ प्रतिशतले बढेर १५५३ अंकमा पुगेको छ । जुन ७४ अंक बढी हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि बन्द भएको छ । र, सो अवधिपछि कारोबार पुनः सुचारु हुने छ । यसअवधिमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । ५ कम्पनी कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंक र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सम्बन्धित समाचारः खुल्ने बित्तिकै सेयर बजारमा लाग्यो सर्किट

खुल्ने बित्तिकै सेयर बजारमा लाग्यो सर्किट

काठमाडौं । सोमबारको सेयर बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेको छ । बजार खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै पहिलो सकारात्मक सर्किट लागेको हो । यससँगै सेयर कारोबार २० मिनेटको लागि बन्द भएको छ । यसअवधिमा नेप्से परिसूचक ६०.३४ अंकले बढेर १५३९ अंकमा पुगेकाे छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.१७ प्रतिशतले बढेर ३२५ अंकमा पुगेको छ । बजारमा १०६ कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

अनाधिकृत मोबाइल फोनको किनबेच नगर्न संघको आग्रह, गरेकाे पाइएमा कानूनी कारवाही हुने

काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआईए) र नेपाल मोबाइल वितरक संघले अनाधिकृत मोबाइल फोनको किनबेच नगर्न आग्रह गरेको छ । दुुवै व्यवसायिक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका सदस्यहरुसंग आबद्ध सबै बिक्रेताहरुलाई अनाधिकृत तथा अवैध(इलिगल) मोबाइल फोनको खरीद बिक्री नगर्न नगराउन अनुरोध गरेका हुन् । साउन १ गते पश्चात कुनै बिक्रेताबाट अनाधिकृत मोबाइल फोनको खरिद/बिक्री गरेको प्रमाण पाईएमा एक पटकका लागि अवैध कारोवार गर्ने/गराउने बिक्रेतालाई आफ्नो दायित्व प्रति सचेत गराइने दुवै संगठनले जनाएका छन् । उक्त मितिपछि दोस्रो पटक पनि कुनै बिक्रेताबाट अनाधिकृत/अवैध मोबाइल फोनका खरिद/बिक्री गरेको प्रमाण पाईएमा यस्ता फर्म/बिक्रेतासंग यस मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका कुनै पनि सदस्यले कारोवार वा व्यापारिक सम्बन्ध राख्न असमर्थ रहने विज्ञप्तिमा जनाइएको छ । साथै, यस एशोशिएसनद्वारा जारी गरिने कालो सुचिमा समावेश गर्न सिफारीस गरिने छ । कालो सुचिमा सूचीकृत फर्म/बिक्रेतासंग यस एशोशिएसनका कुनै पनि सदस्यले आफू अथवा क्षेत्रीय बितरक वा अरु कुनै माध्यमबाट कारोवार गर्ने छैन । उक्त कार्य गरेको पाइएमा सम्बन्धित सरकारी नियमक निकायलाई आवश्यक कानूनी कारवाहीका लागि सूचित गराइने संगठनले जनाएको छ ।

संचालनमा आएको तीन घण्टा नबित्दै बुटवल-तानसेन सडकखण्ड फेरि अवरुद्ध

बुटवल । पहिरो हटाएर संचालनमा ल्याइएको तीन घण्टा नबित्दै बुटवल तानसेन सडकखण्ड फेरि अवरुद्ध भएको छ। शुक्रबार रातिदेखि अवरुद्ध बनेको बुटवल–पाल्पा सडकखण्ड आईतवार साँझ सवा पाँच बजेदेखि खुलेको थियो। दुई दिनको प्रयास पछि खुलेको सडकमा फेरि तानसेन नगरपालिका वडा नम्बर ८ गौंडेपुल डुम्रेमा ठुलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको हो। निरन्तर पानी परेपछि ढुङ्गा हटाउन नसकिएको प्रहरीले जनाएको छ। यसअघि शुक्रबार झरेको पहिरोका कारण सडकमा रोकेर राखिएको लु २ ख ११७१ नम्वरको मालवाहक ट्रक पुरिएको थियो। असारको अन्तिम सातादेखि लगातार पानी पर्न थालेपछि बुटवल तानसेन सडकखण्डमा दिनहुं पहिरो झर्ने गरेको छ। एकहप्ताको अवधिमा यो सडकखण्ड पहिरोका कारण ६ दिन अवरुद्ध भएको प्रहरीले जनाएको छ। पाल्पा र रुपन्देहीको सिमाक्षेत्र सिद्धबाबादेखि दोभानसम्म चट्टान सहितको पहिरोका कारण वर्षैभरी जोखिमयुक्त सिद्धार्थ राजमार्ग दोभानदेखि तानसेनसम्म भने वर्षायाममा पहिरोको जोखिममा हुने गर्छ।

अविरल वर्षाका कारण सर्लाही सदरमुकामका सरकारी कार्यालय र दर्जनौँ घरहरू डुबानमा

साङ्केतिक तस्विर सर्लाही । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरू डुबानमा परेका छन्। भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन्। सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन। निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन्। जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ। खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत शुरु गरेको जिल्लाका किसानहरुले बताएका छन। गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उनको भनाइ छ। मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ। यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ। सर्लाहीको कर्णाली भनेर मानिने नारायणखोलामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ।