विकासन्युज

मेची अस्पतालमा कोभिड–१९ को उपचार शुरु

झापा । मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोभिड–१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधबारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताए । अस्पतालको आइसोलेसनमा यसअघि कोभिड–१९ का सङ्क्रमितलाई राख्ने गरिएको थिएन तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचारसमेत गर्न थालिएको हो । सोमबार विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच सङ्क्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले जानकारी दिए । प्रदेशसभा सदस्य वसन्त बानियाँले मेची अस्पतालमा कोभिड सङ्क्रमितको उपचार हुनु र पिसीआर प्रयोगशलासमेत सञ्चालनमा आउनु झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङवासीका लागि समेत खुशीको विषय भएको बताए । रासस

सप्तरीमा आजदेखि निषेधाज्ञा जारी

काठमाडाैं । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढेको पाइएपछि सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आजबाट लागु हुने गरी साउन २६ गतेसम्म का लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे । सप्तरीको सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा यसअघिबाटै निषेधाज्ञा जारी थियो । सप्तरी जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ ।  

माछापुच्छ्रे बैंकका ग्राहकलाई सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीको सेवामा विशेष छुट पाउने भएका छन् । ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका विभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन् । सो सम्बन्धी माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका हुन् । बैंककोे डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंक बन्यो मादमे खोला जलविद्युतको मुख्य लगानीकर्ता, बैंकको मात्रै ३ अर्ब बढी लगानी

काठमाडाैं । एनएमबि बैंकले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ । त्यस्तै, सह-वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बैंक र प्रभु बैंक रहेका छन् । २४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ४८ कराेड रूपैयाँ रहेको छ । जसमध्ये बैंकहरुको लगानी कुल ३ अर्ब ३२ कराेड रूपैयाँको हुनेछ । यो आयोजनासँगै एनएमबि बैंकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

अब चेक तथा एटीएम बिनै सांग्रिला डेभलपमेन्ट बैंकबाट एक लाखसम्म झिक्न सकिने

काठमाडौं । अब चेक तथा एटीएम बिना सांग्रिला डेभलपमेन्ट बैंकबाट एक लाख रुपैयाँसम्म झिक्न सकिने भएको छ । बैंकले ग्राहकको सेवा र सुबिधालाई मध्यनजर गर्दै क्युआर कोड स्क्यान गरी सो मात्राको नगद निकाल्न मिल्ने योजना ल्याएको हो । यससँगै उनीहरुले आफुले चाहेको रकम आफ्नो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । हाल सांग्रिला डेभलपमेन्ट बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिनेछ । चेक र एटीएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।  

लगानी बोर्डकाे सीईओमा सुशील भट्ट नियुक्त, काे हुन् उनी ?

काठमाडाैं । योजना आयोगका सदस्य सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । आज बसेकाे मन्त्रिपरिषदको बैठकले उनलाई सीईओमा नियुक्त गरेकाे हाे । बोर्डको सीईओका लागि अर्थमन्त्री डा‍. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाको नाम सिफारिस गरेको थियो। तीन जनामा डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए। सीईओका लागि खुलाइएको आवेदनमा १२ जना इच्छुक देखिएका थिए। डा. सरोज कोइराला, रामकृष्ण खतिवडा, सुशील भट्ट, सुशील ज्ञवाली, कृष्णप्रसाद आचार्य, दीपकराज जोशी, सुमन शर्मा, चण्डिका भट्ट, शेरजंग कार्की, रमेश चन्द्र पौडेल, लक्ष्मीविलास कोइराला र आशिष गजुरेलले सीईओका लागि दरखास्त दिएका थिए। १२ जनामध्ये ३ जनाको नाम समितिले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्। उनी सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाका हुन् । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् । उनीसँग बैंकिङ र जलविद्युत क्षेत्रको समेत अनुभव छ । याेजना आयोगमा रहँदा उनले याेजना बैंककाे अवधारणा ल्याएर कार्यान्वयनमा लगिरहेका थिए । उनी नेपाल व्यवस्थापन संघकाे निवर्तमान अध्यक्ष पनि हुन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंककाे गभर्नर भएपछि उक्त पद खाली थियाे । प्रधानमन्त्री अध्यक्ष र अर्थमन्त्री उपाध्यक्ष रहने लगानी बाेर्डले ६ अर्बभन्दा पुँजी हुने परियाेजना तथा कम्पनीलाइ लाइसेन्स दिने, यस्ता परियाेजनाहरूकाे विकास गर्ने, प्रवर्द्धन गर्ने काम गर्छ ।    

कनेक्ट आईपीएसबाट सञ्चय कोषको सापटी तिर्न तोकियो सीमा, कतिसम्म पाइन्छ ?

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज कनेक्ट आईपीएस मार्फत जम्मा गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ । कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आज(साउन १९ गते) आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसी प्रसाद गौतमले उक्त कार्यक्रमको शुरुवात गरेका हुन् । सञ्चयकर्ताहरुले आफ्नो खाता रहेको जुनसुकै बैकहरुबाट कनेक्ट आईपीएस मार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।  कोषले अनलाईन प्रणाली मार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधि मार्फत कारोबार गर्न सक्ने अवस्था सृजना भएको छ । कोषले शुरु गरेको अनलाईन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफु रहेकै स्थानबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आईपीएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाईसी गरेको हुनुपर्नेछ । हाललाई ५ हजार रुपैयादेखि १० लाख रुपैयाँसम्म सापटी तिर्न सक्ने गरी कारोबारको सीमा कायम गरिएको छ । यसले विश्वमा फैलिरहेको कोभिड-१९ को संक्रमणको महामारीको विषंम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको छ ।

नेपाल बैंकले ल्यायो सहुलियत कर्जा योजना, कुनकाे व्याजदर कति ?

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंकले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा नयाँ कर्जा योजनाहरु ल्याएकाे छ । यस याेजना अन्तर्गत बैंकले घर कर्जा, नयाँ लघु उद्यम तथा सम्वृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा सस्ताे व्याजदरमा दिने भएकाे हाे । बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच वर्ष अवधिकालागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ । लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ्ग क्षेत्रकै न्युन ब्याजदर हो । यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाख रूपैयाँदेखि ९९ लाख रूपैयाँसम्मको लागी लघु उद्यम कर्जा र १ करोड रूपैयाँदेखि ३ करोड रूपैयाँसम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागी सम्वृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने छ । दुबै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजीकर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ । घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसकाे वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो । यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ । नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८६ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याई कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।