काठमाडाैं । योजना आयोगका सदस्य सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । आज बसेकाे मन्त्रिपरिषदको बैठकले उनलाई सीईओमा नियुक्त गरेकाे हाे ।
बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाको नाम सिफारिस गरेको थियो। तीन जनामा डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए।
सीईओका लागि खुलाइएको आवेदनमा १२ जना इच्छुक देखिएका थिए। डा. सरोज कोइराला, रामकृष्ण खतिवडा, सुशील भट्ट, सुशील ज्ञवाली, कृष्णप्रसाद आचार्य, दीपकराज जोशी, सुमन शर्मा, चण्डिका भट्ट, शेरजंग कार्की, रमेश चन्द्र पौडेल, लक्ष्मीविलास कोइराला र आशिष गजुरेलले सीईओका लागि दरखास्त दिएका थिए।
१२ जनामध्ये ३ जनाको नाम समितिले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्।
उनी सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाका हुन् । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् । उनीसँग बैंकिङ र जलविद्युत क्षेत्रको समेत अनुभव छ ।
याेजना आयोगमा रहँदा उनले याेजना बैंककाे अवधारणा ल्याएर कार्यान्वयनमा लगिरहेका थिए । उनी नेपाल व्यवस्थापन संघकाे निवर्तमान अध्यक्ष पनि हुन् ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंककाे गभर्नर भएपछि उक्त पद खाली थियाे । प्रधानमन्त्री अध्यक्ष र अर्थमन्त्री उपाध्यक्ष रहने लगानी बाेर्डले ६ अर्बभन्दा पुँजी हुने परियाेजना तथा कम्पनीलाइ लाइसेन्स दिने, यस्ता परियाेजनाहरूकाे विकास गर्ने, प्रवर्द्धन गर्ने काम गर्छ ।