विकासन्युज

निगमले पाँच गन्तव्यमा उडान गर्दै

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको छ । उडान हुने गन्तव्य निश्चित भए पनि उडान तालिका टुङ्गिन नसकेको निगमका प्रवक्ता अर्चना खड्काले बताए । निगमले उडान गन्तव्य किटान गरी प्राधिकरणबाट अनुमति लिनेछ । यता प्राधिकरणले जनाएअनुसार निगमले भारतको नयाँ दिल्लीमा १४, बैङ्लोरमा तीन, मुम्बईमा सात तथा चीनको ग्वाङ्जाओमा तीन, दुबईमा सात, दोहामा सात, क्वालालम्पुरमा सात, बैङ्कक हङ्कङ र नारितामा समान तीन उडान गर्नेगरी प्रस्ताव आएको छ । हिमालय एयरलाइन्सले पनि पाँच वटा गन्तव्यमा सातामा २१ उडान गर्ने तयारी गरेको छ । हिमालयले चीनको चोङचिङ, यूएईको अबुधावी, साउदी अरबको दमाम, कतारको दोहा र मलेसियाको क्वालालम्पुरमा उडान गर्ने गरी प्राधिकरणबाट उडान अनुमति लिएको छ । कम्पनीले चोङचिङमा एक, दोहामा पाँच, अबुधाबीमा चार, दमाममा सात, क्वालालम्पुरमा सात उडान गर्नेछन् । बन्दाबन्दीपछि स्वास्थ्य प्रोटोकल पालना गर्दै उडान सञ्चालनका लागि सरकारले स्वीकृति दिएपछि मात्रै विदेशी एयरलाइन्सले व्यावसायिक उडान गर्न पाउछन् । विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मार्गनिर्देशनलगायत आधारमा नेपालको नियामक प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाएको छ । नेपालमा उडान गर्न चाहने सबै एयरलाइन्सले उक्त मापदण्डमा रहेको उडान सञ्चालन गर्नुपर्ने हुन्छ । यद्यपि, अन्तर्राष्ट्रिय उडानका लागि कुन एयरलाइन्सको गन्तव्य अनुसार कति उडान गर्ने भन्ने विषय अझै छलफलमै रहेको प्राधिकरणले जनाएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका थिए । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ उडान र अवतरण गरी सरदर १०० उडान हुने गरेको थियो । सरकारले कोभिड–१९ रोकथामका लागि गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म नेपालभर बन्दाबन्दी लागू गरेको थियो । उक्त अवधिमा नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ । उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा वायुसेवा कम्पनी जुटेका छन् । आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका ४८ उडान स्वीकृति भएको बताइएको छ । बुद्ध एयरको १८, यती एअरलाइन्सको ११, श्री एयरलाइन्सको आठ तथा समान तीन उडान पाएको सीता, समिट र सीम्रिक एयरले २ वटा उडान गर्ने अनुमति पाएका छन् । आन्तरिक उडानको पनि औपचारिक निर्णय भइनसकेको प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडाैं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन् । नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्स, भारतको इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजीरा एयर, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएका छन् । सरकारले भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सोही अनुरुप दुबैतर्फका एयरलाइन्सले आफ्नो उडान तयारीलाई तीव्रता दिएका छन् । प्राधिकरणका प्रवक्ता क्षेत्रीले अन्तर्राष्ट्रिय एयरलाइन्सले शुरुमा एक साताको उडानका लागि निवेदन दिएका हुन् । नेपाल उडान गर्न निवेदन दिएका एयरलाइन्समध्ये मालिन्दा एयरले हप्तामा १५, मलेसियायन एयरले पाँच र एयर अरेबियाले पनि समान उडान गर्ने प्रस्ताव गरेको छ । यस्तै फ्लाई दुबई, सलाम एयर, इण्डिगोले सातामा सात÷सात वटा, टर्कीले छ वटा, जजीराले दुई वटा, एयर चाइना र चाइना साउदर्न ले सातामा एक÷एक वटा मात्रै उडान अनुमति मागेका छन् ।

विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह

बनेपा । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेको अवस्थामा कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएको भन्दै आइतबार सूचना जारी गरी जिल्लाभित्रका सबै विद्यालयलाई कक्षा सञ्चालन नर्गन आग्रह गरेको हो । इकाइ काभ्रेपलाञ्चोकका निमित्त प्रमुख सुरेन्द्रप्रसाद भट्टले नेपाल सरकार भदौ १ गतेदेखि मात्रै नयाँ विद्यार्थी भर्ना गर्ने र भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउनेसम्बन्धी निर्णय भएकामा जिल्लाका कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएकाले विद्यालय खोलेर कक्षा सञ्चालन नर्गन आग्रह गरेको बताए । “निर्देशिका अनुसार उहाँहरुले अनलाइन र वैकल्पिक माध्यमबाट सिकाइमा सहजीकरणलाई निरन्तरता दिन सकिन्छ तर विद्यालय नै खोलेर कक्षाकोठामा भीड जम्मा गरेर कक्षा सञ्चालन गर्न पाइँदैन”, उनले भने । त्यसका लागि स्थानीय तहले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आवश्यक निर्देशन गरी विद्यालय खोलेर कक्षा सञ्चालन गरिरहेका विद्यालयलाई बन्द गर्न इकाइले आग्रहसमेत गरेको छ ।

अब तयारी खाना खान रेष्टुरेन्ट धाउनै नपर्ने, सजिलो मिल्सले ल्यायाे ‘अनलाईन फुड डेलिभरी’ सेवा

काठमाडाैं । सजिलो मिल्स प्रा.लि. ले श्रावण २० गते मंगलबारबाट ‘अनलाईन फुड डेलिभरी’ सञ्चालन गर्न गइरहेको छ । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा पुर्‍याउने उद्देश्यले कम्पनीले आफ्नो कारोबार सञ्चालन गर्न लागेकाे हाे । कम्पनीले पहिलो चरणमा काठमाडाैं भित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहकको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्‍याउने लक्ष्य लिएको छ । हालसम्म ३५ वटा रेष्टुरेन्टसँग यस सम्बन्धी सम्झौता भइ सकेको छ । दोस्रो चरणमा घरमा तैयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्‍याउने कार्यक्रम बनाएको छ । घरमा तैयार हुने खानाको लागि उपत्यका भित्र पाँच-पाँच जना महिलाको समूह बनाई २५ स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तैयार गरिनेछ । उनीहरुलाई आवश्यक सामाग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गरिनेछ र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादन शिल बनाउने प्रयास गरिनेछ । लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौं भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो । अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा. सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकर/बीमा व्यवसायी रमेश कुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यका वासीको मन जितेर रोजगारी श्रृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने कम्पनीकाे विश्वास रहेकाे छ ।

राजधानीको कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको सोमबार बिहान मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

‘कम्तिमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने पनि काेराेनाबाट जोगिन सकिन्छ’

काठमाडाैं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपील गरेका छन् । पछिल्लो समय सरकारले लकडाउन हटाई सके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ । संक्रमण कम गर्नका लागि एक अर्काबिच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ । तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिध भ्याण्डेलरले दुरी कायम गर्न अपील गरेका हुन् । खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबिच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपील गरेका हुन् । उनले कम्तिमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न ध्यान दिन आग्रह गरेका छन् । त्यस्तै, मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपील गरेका छन् । ‘कोभिड एक प्रकारको रोग हो यसले हामि सबैलाई असर गरेको छ । कोभिडको भाइरस हामीले खोक्दा अथवा छुदा अर्को व्यक्तिमा संक्रमण भैरहेको छ । यो रोग संक्रामक भए पनि जोगिनका लागि सजिलो उपायहरु छन् । हामीले एक अर्का बीच दूरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं । कम्तिमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने मात्र पनि जोगिन सकिन्छ । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौं । तर हामीले काम ब्यबहारमा एक अर्का बीच दूरी कायम गर्न सके सक्रमण हुने झिनो सम्भावना मात्र हुन्छ। त्यसैले एक अर्का बीच दूरी बनाउनु धेरै महत्वपूर्ण छ । हामीले दूरी कायम गर्न सकेमा संक्रमण रोक्न, लकडाउन हुन नदिन, संक्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ । हाम्रो भौतिक दूरी संक्रमण रोक्ने एक अचुक कडी हो । यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो । यसले पनि संक्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ । यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो । हामीले दूरी कायम गर्न सके कसैलाई छुन पर्दैन । यसैले मेरो सबै नेपाली दाजु भाइलाई बिनम्र अनुरोध छ दूरी बढाऊ संक्रमित बाट जोगीऔँ ।’- उनले भने ।

प्रभु बैंकको २० लाख कित्ता ऋणपत्रको बिक्री खुला, कति दिने आवेदन ?

काठमाडौं । प्रभु बैंकको कूल २० लाख कित्ता डिबेन्चर (ऋणपत्र)को बिक्री खुला भएको छ । बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र आज(साउन १९ गते)देखि बिक्रीमा राखेको हो । बैंकले “प्रभु बैंक डिबेन्चर २०८४” नामक कूल दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । जसमध्ये ८ लाख कित्ता ऋणपत्र अर्थात ८० करोड ऋणपुँजी रकम(५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । त्यस्तै, १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल एक अर्ब २० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवर(प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिने बैंकले जनाएको छ । ८ वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याज पाइने छ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् रहेकाे छ । ऋणपत्र किन्न चाहने इच्छुकले साउन १९ गतेदेखि छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ १ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् । उक्त ऋणपत्र निष्काशनको लागि बैंकले केयर रेटिङ्स नेपालबाट केयर-एनपी बीबीबी(त्रिपल बी) केयर रेटिङ् पाएको छ । जसले समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा कम्पनी मध्यम रुपमा सुरक्षित मानिन्छ । जोखिमको दृष्टीमा यस्ता उपकरणहरु मध्यम कर्जा जोखिम भएको मानिन्छ ।

सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु: मेलम्ची पहिरामा हराएका आठ शव फेला

सांकेतिक तस्वीर सिन्धुपाल्चोक । मेलम्ची पहिरामा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ । बरुवामा घर पुर्दा दुईको मृत्यु अविरल वर्षासँगै आएको पहिराले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिराले एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए । गएराति गएको पहिराले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् । उनीहरुका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौँ आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् । गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पु¥याएको अध्यक्ष लामाले बताए । “कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्”, उनले भने, “गाउँपालिकाभरि पहिराले क्षतविक्षत बनाएको छ ।” भोटेकोशी गाउँपालिकाका बाढीपीडितलाई म्याट्रेस नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बाढीपीडितका लागि रु तीन लाख ५० हजार बराबरको म्याट्रेस सहयोग गरेको छ । उक्त सहयोग आज गाउँपालिका प्रमुख राजकुमार पौडेललाई हस्तान्तरण गरिएको हो । विपत्तिको यस घडीमा सहयोग गर्न पाएकामा नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले खुशी व्यक्त गरेको छ । यो विपत्मा सहयोगको हात फैलाउने सङ्घप्रति गाउँपालिका अध्यक्ष पौडेलले आभार प्रकट गरे । गत असार महिनाको बाढीपहिराले भोटेकोशी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको थियो भने कैयौँ घरबारविहीन भएका थिए ।