विकासन्युज

यस वर्षका सबै ब्यापार मेला सारिए, अर्बौंको कारोबार प्रभावित

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्षका व्यापार मेलाहरु पनि निकै प्रभावित हुने भएका छन् । दिनप्रतिदिन बढ्दै गएको कोरोना भाइरस संक्रमणको कारण प्रत्येक वर्ष हुने व्यापार मेला सारिएका छन् । विभिन्न संघ तथा महासंघहरु यस वर्ष व्यापार मेला के कसरी गर्ने, गर्ने कि नगर्ने भनेर आन्तरिक छलफलमा लागेका छन् । हरेक वर्षको असोज तथा कार्तिकमा हुने अटोमोबाइल क्षेत्रकै वृहत मानिएको ‘नाडा अटो शो’ यस वर्ष कोभिड–१९ कै कारण स्थगित गरिएको छ । नाडाले यस वर्ष दशैंतिहार लक्षित ‘नाडा अटो शो’ नहुने साउनमै विज्ञप्ती जारी गरेर जानकारी गरिसकेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना भायरस बढ्दै गएकाले यस वर्ष नाडा सो नहुने लगभग निश्चित भएको बताएका छन् । ‘हामीले साउनमा विज्ञप्ती नै जारी गरेर नहुने जनाएको थियौं, उतिखेर कोरोना कम भयो भने गर्न सकिने सोचमा थियौं, आजभोलि दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ, अब हामीले पनि यस वर्षको लागि नगर्ने नै मनसाय बनाइसकेका छौं,’ उनले भने । यस्ता विभिन्न व्यापार मेलाहरु नभएपछि देशको अर्थतन्त्रमा पनि ठूलो नोक्सान हुने उनको भनाई छ । ‘यस वर्ष राजश्व नै आधा मात्र उठेको छ, बजार नै बन्द छ, सामान नै आएको छैन, नाडामा पनि गत वर्षको तुलनामा ५० प्रतिशत कम व्यापार भएकोे छ,’ उनले भने । उनका अनुसार कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेको बेला सरकारले समेत सार्वजनिक सभा, सम्मेलन, पार्टी, उत्सवका कार्यक्रम तथा त्यस्ता कुनै पनि प्रदर्शन एवम सामूहिक भेटघाटका गतिविधि नगर्न भनिसकेको अवस्थामा नाडा अटो शो पनि प्रभावित हुन पुगेको हो । उनले अटो शोमा गाडी प्रदर्शन गर्न नपाए पनि यस वर्ष विशेष रुपमा शोरुममै गाडीको प्रदर्शन गर्न सकिने बताए । ‘नाडा अटो शो भनेको नेपालका लागि गाडी खरिद विक्रीको ठूलो प्लेटफर्म हो । नेपालीहरुको प्रमुख चाडपर्व दशैँतिहारकै मुखमा आयोजना गरिने यस खालको अटो मेलामा अधिक मात्रामा अटोमोबाइलको व्यापार हुने गर्छ । गत वर्षको नाडा सोमा ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै, यस वर्ष हस्तकला प्रदर्शनी पनि नहुने बताइएको छ । हरेक वर्षको कात्तिक/मंसिरमा हुने हस्तकला प्रदर्शनी यस वर्ष कोरोना भाइरसको कारण नहुने भएको हस्तकला महासंघका वाणिज्य उपाध्यक्ष रविन्द्र शाक्यले बताए । ‘हामीले औपचारिक रुपमा रद्द गरेका जानकारी गरेका छैनौं, सरकारले निषेधाज्ञा खोलेपछि समय हेरेर गर्न सकिन्छ, यही अवस्थामा भने यो वर्ष गर्न सकिने अवस्था छैन,’ उनले भने । उनका अनुसार अवस्था सामान्य भएपछि नयाँ वर्षलाई लक्षित गरेर मेला गर्न सकिने छ । उनले पनि ५० प्रतिशतसम्म घाटा हुने उनको भनाई छ । उनले निर्यात पनि घटेको बताए । गत वर्ष हस्तकला प्रदर्शनीमा ६ करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै करोडौंको कारोबार हुने क्यान इन्फोटेक पनि यो वर्ष हुने कि नहुने भन्ने यकिन भएको छैन । हरेक वर्षकोअ माघ फागुनमा हुने क्यान इन्फोटक यो वर्ष कोरोनाले निर्धारण गर्नेछ । अझै पनि धेरै समय भएकाले क्यान इन्फोटेक गर्ने कि नगर्ने भन्ने बारे छलफल पनि भइरहेको नेपाल कम्प्युटर एसोसियसनका कोषाध्यक्ष डा. पवन शर्माले बताए । ‘अहिले हुन्छ कि हुँदैन भन्ने अवस्था छैन, हामीसँग समय छ, कोरोनाको संक्रमणकाे स्थितीले नै क्यान इन्फोटेक पनि निर्धारण गर्छ,’ उनले भने । यस वर्ष व्यापार मेला हुने सम्भावना न्यून छः सभापति श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले यस वर्ष व्यापार मेला हुने सम्भावना न्यून रहेको बताएका छन् । उनले कोरोना भाइरसको कारण सबै गतिविधिहरु ठप्प भएकोले यस वर्ष सबै व्यापार मेलाहरु सञ्चालन गर्न नसकिने बताए । ‘कोरोनाको कारण अर्थतन्त्र ठप्प नै छ, मानिसको आवतजावत नै रोकिएको छ । विदेशी पर्यटकहरुको आगावमन पनि छैन, यस वर्षका व्यापार मेला हुन कठिन छ,’ उनले भने । व्यापार मेलाहरुको उद्धेश्य नै स्वदेशमा उत्पादित वस्तुको प्रचार प्रसार तथा प्रवद्र्धन भएकोले विदेशीहरुको आगावमन पनि नभएको र नागरिकहरु पनि कोरोनाको त्रासले घरभित्रै भएकोले व्यापार मेला हुन नसक्ने उनले बताए । ‘अन्तर्राष्ट्रिय जहाज पनि सञ्चालन हुन सकेको छैन, यो समयमा व्यापार मेलाभन्दा पनि जीवन बचाउन तर्फ सबै केन्द्रित हुनु पर्छ, निकासी सम्बन्धि वस्तुको प्रवद्र्धन गरेर व्यापार घाटालाई कम गर्ने हाम्रो उद्धेश्य हो, त्यो सबै रोकिएको छ,’ उनले भने । उनले व्यापार मेलाहरु नहुँदा देशको अर्थतन्त्रमा पनि ठूलो धक्का लाग्ने सक्ने बताए । सधैँका वर्षहरूमा अर्बाैंकाे काराेबार हुने ती मेलामा यस वर्ष भने मेला नहुँदा काराेबार  हुन नसक्ने उनले बताए ।

एकजना काेराेना संक्रमितले ३ हजार मानिसलाई सार्न सक्ने

काठमाडाैं । एकजना काेराना संक्रमितले ३ हजार मानिसलाई काेराेना सार्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एकजना काेराना संक्रमितले ३ हजार जनालाई काेराेना सार्न सक्ने बताएका हुन् । उनले मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा यस्ताे बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । आइतबार मात्र नेपालमा हालसम्मकै उच्च १२ सय २१ संक्रमित थपिएका छन् भने त्यसमा उपत्यकाका मात्रै ४२९ जना रहेका छन् । पछिल्लाे समय नेपालमा काेराेना संक्रमण बढेकाे अवस्था छ । नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ। हाल क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् भने आजसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै हालसम्म २० हजार ८ सय २२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २१६ पुगेकाे छ ।

वाणिज्य विभागले भन्योः १ लाख सम्मको राजश्व कनेक्ट आइपिएसबाट तिर्नुस्

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभागलाई तिर्नु पर्ने राजश्व कनेक्ट आइपिएसबाट तिर्न अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै १ लाख भन्दा कम रकम कनेक्ट आइपिएसबाट तिर्न सकिने जनाएको हो । सूचनामा भनिएको छ, ‘विभागबाट प्रदान गरिने फर्म तथा व्यवसाय दर्ता अनुमति, आयात–निर्यात इजाजत इत्यादिका साथै उपभोक्ता संरक्षण सम्बन्धी ऐन–नियमबमोजिम गरिएका जरिवाना आदेशह? वापत नेपाल सरकारलाई बुझाउनुपर्ने १ लाख सम्मको राजस्व महालेखा नियन्त्रक कार्यालयको पोर्टल चबवबकधब।ाअनय।नयख।लउ मा गएर पेमेन्ट गेटवे कनेक्ट आईपीएस प्रयोग गरी भुक्तानी गर्न सकिन्छ ।’ याे समाचार पनि पढ्नुस्: कर तिर्न कर कार्यालय जानै नपर्ने, ट्राफिक जरिवाना पनि मोबाइल बाटै

काेभिड अस्पतालसँग समन्वय नगरी संक्रमित पठाए कारवाही हुने

काठमाडाैं । बिना कुनै समन्वय काेभिड-१९ अस्पतालमा काेराेनाका बिरामी रिफर गर्ने अस्पतालहरुलाई कारवाही हुनेभएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कुनै पनि समन्वय नगरी काेराेनाका बिरामी पठाउने अस्पताललाई कारवाही हुने बताएका हुन् । गाैतमले काेराेना संक्रमितलाई बिना कुनै चिकित्सक र समन्वय बिना काेभिड-१९ अस्पतालहरुमा पठाएका बिरामीकाे ज्यान तलमाथि भएमा रिफर गर्ने अस्पताल नै जिम्मेवार हुने बताए । अन्य अस्पतालहरुले रिफर गर्दा काेभिड अस्पतालमा बेडहरु अवस्था बुझेर समन्वय गरी बिरामीलाई  चिकित्सकसँग पठाउनुपर्ने उनले बताए ।  

इन्डोनेसिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौता हुने

काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतवार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भदौ १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादरभन्दा बढी नलिन वायुृसेवा संचालकहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्ड्यन प्राधिकरण मार्फत वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेका छ । त्यस्तै, नेपालीहरु स्वदेश फिर्तीलगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ । समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन । समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, होटल एसोसिएसन लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ । यस्तै, बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेका छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको बार्षिक कार्ययोजनामा समावेश गरिएका माईलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए ।

बाहिर नहिँड्ने कैदीबन्दीलाई समेत कसरी लाग्यो कोरोना ?

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरस देखा परेको बताइएको छ । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासनले बताएको हाे । कारागारको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १ सय ७५ जना कैदीबन्दीको पिसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना देखिएको हो । बाहिर हिँडडुल नगर्ने कैदिबन्दीलाई समेत कोरोना देखिन थालेपछि कोरोनाको जोखिम बढ्दै गएको बुझ्न सकिन्छ । कैदीबन्दीको उपचार र एकठाउँबाट अर्कोतिर लैजाँदा संक्रमण भएको हुन सक्ने बताइएको छ ।

घर-घरमै रेमिटेन्सको सेवा पुर्याउँदै आइएमई, यस्तो छ प्रकृया

काठमाडौं । आइएमईले घर-घरमै रेमिटेन्सको सुविधा पुर्याउने भएको छ । जसको लागि आइएमईले आफ्नो डिजिटल वालेट आइएमई पे मोबाइल वालेट एपलाई सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको हो । । कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिका बीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा उक्त सेवा सुरु गरेको हो । नयाँ सुविधा अन्तर्गत आफुलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी तपाईंको रकमको अवस्था एकिन गर्न सकिने छ । यदि आफुले पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नु सकिन्छ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा थिची आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सक्नेछन् । यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ । आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज र ५० रुपैयाँसम्मको बोनस पनि प्राप्त हुन्छ । भौतिक दूरी कायम गरी समुदायस्तरमा कोभिड-१९ रोग नफैल्ययाउन हाल सबैको जिम्मेवारी भएको छ । यस्तो बेलामा रकम त आवश्यक पर्छ नै, तर त्यसलाई कसरी प्राप्त गर्ने भन्ने ठूलो मर्का सेवाग्राहीहरूलाई अवश्य पनि पर्न जान्छ । यस्तो विषम परिस्थितिमा आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवा उपलब्ध गराउने छन् । परिस्थिति सामान्य हुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद् लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ । यसरी डिजिटल प्रणालीबाट विदेशबाट आएको रकम सुरक्षित रूपमा आफ्नै मोबाइलमा प्राप्त गर्न सकिने प्रावधान प्रदान गर्ने आइएमई पहिलो र सबैभन्दा सुरक्षित माध्यम पनि हो ।

शिखर इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।