विकासन्युज

कुलमान घिसिङलाई निरन्तरता दिन नेपाली काँग्रेसकाे माग

काठमाडाैं । नेपाली काँग्रेस (वी.पी)ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन माग गरेकाे छ । साेमबार काँग्रेसले प्रेस विज्ञप्ति जारी गरी साे माग गरेकाे हाे । घिसिङकाे कार्यकाल यही भदाै अन्तिम साता सकिदैछ । दैनिक १८ घण्टा लाेडसेडिङ भएकाे बेलामा ४ वर्षअघि  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएकाे थिए । उनले छाेटाे समयमा नै देशलाई लाेडसेडिङ मुक्त गरेका थिए भने ३६ अर्ब संचित नाेक्सानमा रहेकाे  प्राधिकरणलाई नाफामा लगेका थिए । काँग्रेसले कोभिड-१९ को रोकथामको लागि सरकारले लकडाउन र निषेधाज्ञालाई मात्र विकल्पको रूपमा लिइ नागरिकलाई घरमै थुनेर राखी नागरिक रोगले भन्दा भोकले मर्ने दिन आएको भन्दै साेमबार वालुवाटार चोकमा नेपाली काँग्रेस महामन्त्री तथा पूर्व मन्त्री सुशीलमान सेरचनको नेतृत्वमा भिख मागी जनतालाई राहत बाड्ने कार्यक्रम रहेकोमा भिख माग्ने क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरि प्रहरीले धर्पकड गरेको जनाएकाे छ । प्रहरीले प्रहार गरेको पानीको फोहोराबाट नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व मन्त्री सुशीलमान सेरचन घाइते भएका छन् । अहिले प्रहरीले धर्पकड गरि महामन्त्री तथा पूर्व मन्त्री सुशीलमान सेरचन, नुवाकोट जिल्ला सभापति श्याम बहादुर गुरुङ, नेविसंघ (वी. पी.) महामन्त्री विकास पाण्डे, तरुण दल (वी. पी.) केन्द्रिय सदस्य सर्वजित सेरचन र जितकुमार थापा, नेविसंघ (वी. पी.) नुवाकोट जिल्ला अध्यक्ष तथा केन्द्रिय कार्यलय सचिव सुशीलराज वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिगि अहिले कमलपोखरी स्थित मालिगाँउ चौकीमा राखेको छ । केन्द्रीय सरकार र स्थानीय सरकारको लकडाउन र निषेधाज्ञाले ब्यापार, ब्यबसाय तथा उद्योग कलकार खाना तहसनस भएको छ तर बैंक, फाइनाइन्स तथा वित्तीय संस्थाहरुले साँवा ब्याजतिर्न दवाव दिएकाे भन्दै व्यवसायीलाई राहात दिन माग गरेकाे छ । काँग्रेसले अग्रपंतिमा खटिने स्वास्थाकर्मी, सुरक्षाकर्मी, पत्रकारहरुका निमित्त पिपीई, भाईजर हेल्मेट स्यानिटाईजर, हातमा लगाउने पन्जा लगाएतका स्वास्थ सामाग्री, एबं  अग्रपन्थिमा खटिने कर्मचारीहरुले विशेश भत्ता नदिएकाे तर सरकार भने पटक पटक कोरोना (कोभिड-१९) तथा ब्यबस्थापनका निमित्त ३४ अर्ब खर्च गरिएको समाचार प्रकासित गरेकाे प्रति काँग्रेले विराेध जनाएकाे छ । साथै, बिना आधार रेलमार्ग ट्रयाकबेड निर्माणका निमित्त  २८-३० अर्बको  बोलपत्र आह्रवान गरेकाेमा विराेध गरेकाे छ । 

तातोपानीले मात्र कोरोना जितिन्न: भाइरोलोजिष्ट सुदीप खड्का

बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेका थिए, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मबल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौँ ।” आइतबार दिउँसोसम्म बागलुङमा सङ्क्रमितको सङ्ख्या २८६ पुगेको छ । तीमध्ये २६१ जना आइसोलेसनमा बसेर निको भएपछि घर फर्किए । कोरोनाका कारण एक जनाको ज्यान गयो । निसीखोलाका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो । जिल्लाका आइसोलेसन र प्रि–आइसोलेसनको तथ्याङ्कअनुसार निको भएका अधिकांशमा कोरोना सङ्क्रमणको लक्षण नै थिएन । उनीहरु कसैले पनि न त खोपको प्रयोग गरे न औषधि नै । सबैले भन्ने एउटै हो, “ढुक्कले बसेँ, समाचार पढेँ, तातोपानी खाएँ, कोरोना जितेँ ।” यद्यपि आइसोलेसनमा बसेर तातोपानी खाँदैमा वा आत्मबल बढाउँदैमा कोरोना नजितिने विशेषज्ञको धारणा छ । “निको हुन्छ, ९८ प्रतिशतमा ग्यारेन्टीका साथ निको हुन्छ त्यसमा दुईमत रहेन”, अमेरिकामा रहेका जीवाणु वैज्ञानिक (भाइरोलोजिष्ट) सुदीप खड्का भन्छन्, “कोरोनाको न त कुनै औषधि प्रमाणित छ न खोप, तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ ।” उहाँ इबोला भाइरसको सुई पत्ता लगाउने वैज्ञानिकमध्येको एक सदस्य छन् । लक्षण नदेखिएका अधिकांश बिरामी निको हुने भएकाले तातोपानी, आत्मबल र जडीबुटीको भ्रम परेको उनको जिकिर छ । “कोरोना लागे पनि तातोपानीले जितिन्छ भनेर भ्रममा नपरौँ, यो गलत हो”, खड्का भन्छन्, “लक्षण भएका र जोखिममा रहेका बिरामीलाई कठिन हुन सक्छ ।” अरु भाइरसभन्दा कोरोनाकोे फैलावट धेरै भएकाले यो रोगसँग खेलबाड गर्न नहुने उनको तर्क छ । नेपालमा पछिल्लोपटक समुदायमा फैलिएको सङ्क्रमणले थप खतराको सङ्केत गरेको भन्दै इबोलाभन्दा कम मृत्युदर भएको कोरोनाले धेरैको मृत्यु निम्त्याउने उनले बताए । “एक तिहाइ मान्छेलाई यसको लक्षण नै देखिँदैन, जुन खतरनाक हो”, खड्का भन्छन्, “अहिले हामीले सबै निको हुन्छ भनेर हेलचेक्र्याईं गर्दा दुई प्रतिशतमा पर्ने उमेर पुगेको समूहलाई निकै कठिन हुन्छ ।” उनले कोरोनाको औषधि वा खोप तयार भएर तत्काल आउने सम्भावना नरहेको समेत बताए । रासससँगको टेलिफोन संवादमा खड्काले भने, “इबोलाको खोप सबैभन्दा छोटो समयमा बनेको हो, जसका लागि दुई वर्ष लाग्यो ।” कोरोनाका तयार भएका खोप तेस्रो परीक्षणमा रहेको भए पनि त्यसको उपलब्धता अझै कठिन रहेको उनको भनाइ छ । “खोप बने पनि त्यसको उत्पादन सबैलाई पुग्ने गरी बनाउन कति समय लाग्ला ?”, प्रतिप्रश्न गर्दै उनले भने, “त्यसैले हामीले सतर्कता अपनाउनुको विकल्प नसोचौँ ।” विदेशमा जस्तो नेपालमा सङ्क्रमण फैलिँदैन भनेर चलेका हल्लासमेत भ्रम भएको भन्दै उनले आगामी दिन थप खतरनाक भएको सङ्केत गरे । अस्पताल, भेन्टिलेटर र आइसियु लक्षण भएका बिरामी र कोरोनाका कारण कठिन अवस्थामा रहेका बिरामीको लागि तयार राख्नुपर्ने खड्काको सुझाव छ । रासस

कालिकोट पहिरो: १० को मृत्यु, दुई जना बेपत्ता

सांकेतिक तस्विर खलङ्गा । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव राति ७ बजेतिर फेला परेको हो । शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका चार जनाको मृत्यु भएको छ । चालीस वर्षीय प्रयाग शाही, उनकी सात वर्षीया छोरी हिमा तथा छोराहरू पाँच वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो । यस्तै सुर्खेतको भेरीगङ्गा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए । बेपत्ता रहेका दुई जनाको नाम खुलिसकेको छैन । जीवितै उद्धार गरेर अस्पताल पठाइएका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो । स्थानीय प्रशासनले भदौ २० गतेसम्म निषेधाज्ञा जारी गरेकाले बिहान पहिरो जाने बेला सबै घरभित्रै भएको हुनसक्ने स्थानीयावासी जयबहादुर शाहीले बताए ।

ग्रील तथा स्टील उद्याेगबाट १ लाख ६० हजार श्रमिक बेरोजगार-महासंघ

काठमाडौं । महामारीको कारण ठूलो क्षति व्यहोरिरहेका उद्योगीहरुलाई केही समय धैर्या गर्न ग्रिल तथा स्टील व्यवसायी महासंघले आग्रह गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ का कारण गरिएको लकडाउनका कारण क्षति व्यहोरिरहेका उद्योगी तथा व्यवसायीहरुलाई धैर्य रहन आग्रह गरेको हो । विज्ञप्तीमा महासंघले यस्तो समयमा उद्योग संचालन गर्दा कर्मचारीलाई कार्यस्थलमा राखी दोस्रो व्यक्तिलाई असर नपर्ने गरी सम्पूर्ण सुरक्षा विधि अप्नाउन पनि आग्रह गरेको छ । ‘सरकारले कोभिड-१९ का कारण संकटमा परेका उधोगी व्यवसायीहरुको लागी घोषणा गरिएका सुबिधाहरु पुर्नकर्जा ,सहुलियत पुर्ण कर्जा, कर्जाको पुर्नतालिकीकरण लगायतका सुविधाहरु सरोकारवाला निकायमा सम्पर्क गरि सुबिधा लिनुहुन आग्रह गर्दछौं’, विज्ञप्तीमा उल्लेख छ । महामारीको कारण देशभरि सञ्चालित ११ हजार ग्रील तथा स्टील उद्याेगगमा संलग्न १ लाख ६० हजार श्रमिकहरुको रोजगारी गुमेको महासंघले जनाएको छ । यस्तै महासंघले भविष्यमा आईपर्ने सम्भावित दुर्घटनाबाट बच्न राष्ट्रिय बिमा संस्थानमा गर्दै आईरहेको ग्रील व्यवसायी र श्रमिकहरुको ७ लाखको दुर्घटना बिमा कार्यक्रममा पनि चाँडो संलग्न हुने आग्रह गरेको छ । महासंघले विज्ञप्ती मार्फत छिटो भन्दा छिटो जोखिम कम भएका स्थानमा सुरक्षित किसिमले उद्याेग सञ्चालन गर्ने वातावरण मिलाउन र लकडाउनबाट प्रभावित उद्याेगी व्यवसायीहरुलाई सरकारबाट सहज किसिमले राहत दिलाउने कार्यकम लागिरहने जनाएको छ ।

३० करोड लगानी रहेकाे मनाङ एग्रोकाे स्याउ विश्व बजारमा

मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ । हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेँसी झर्न बाध्य बनाउँछ । तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङ सीमित खेतीयोग्य जमिन र उत्पादनमा रमाउँछ । गोराहरु उकालो लागे, पर्यटन फस्टायो तर प्रकृतिले दिएको चिसोलाई ‘क्याच’ गर्नबाट मनाङ चुकिरह्यो । छिमेकी जिल्ला मुस्ताङले लहलह स्याउ फलाउँदा मनाङ जौ, आलु, फापर जस्ता अन्नबालीमा निर्भर रह्यो । सर्पमा विख र मान्छेमा इख चाहिन्छ भन्छन् । राजनीतिक चेत भएका पोल्देन छोपाङ गुरुङ आफैँ मनाङमा केही गर्न चाहन्थिए । उनले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गरे । करिब १० वर्षअघि त्यस्तो सपना देख्नु दुस्साहस नै थियो । परम्परागत स्याउ खेतीलाई उन्नत र बृहत् बनाउन एग्रो मनाङ प्रालि नामक कम्पनी खडा गरिएको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ । सात्ताइस वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा रसिलो स्याउ फलाउन  हालका सङ्घीय सांसदसमेत रहेका पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सिएको छ । मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० सालतिर स्थानीयभन्दा फरक खालका गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउका बिरुवा रोपियो । बिरुवाहरु इटाली र सर्भियाबाट ल्याइएको थियो । “हाम्रो ठाउँ (भ्राताङ)मा थप जग्गा पनि छैन, लगभग ७३५ रोपनीको फार्ममा ५५० रोपनीमा अहिले स्याउ उत्पादन भइरहेको छ”, मनाङ एग्रो प्रालिका निर्देशक युवराज गुरुङले भन्छन्, “अहिलेसम्म ३० करोड लगानी भएको छ, हाम्रो आठ जनाकै परिवार यही फार्ममा संलग्न छौँ ।” उनका अनुसार स्याउ खेतीका लागि शुरुमा हिमाली परियोजनाले रु दुई करोड २४ लाख अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ । बाँकी लगानी बैंकतिरबाट जुटाइएको उनले सुनाए । अहिले स्याउ हरियै छ । करिब साढे दुई महिनापछि स्याउ पाक्छ, फार्ममा रहेका ६८ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन् । केही बिरुवा यही वर्ष थपिएको छ । “यो पटक ६०० टन उत्पादन होला, मूल्य चाहिँ गुणस्तरअनुसार लिने हो”, व्यवस्थापन विषय पढेका ३७ वर्षीय युवराजले भन्नुभयो, “बजारको समस्या छैन । कति स्याउ वाइन उद्योगलाई दिइन्छ, कति चाना बन्छ, केहीको जुस बनाइन्छ ।” स्याउ त सबै ठाउँमा फल्छ विश्व बजारमा निर्यातको सपना पालेका युवराजले दुई हजार ८५० मिटर उचाइमा उत्पादित स्याउलाई ‘हिमालयन फ्रेस’ को नाममा ‘ब्राण्डिङ’ गरिरहेका छन् । मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्राण्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उनले बताए । यो स्याउ फार्म एसियाकै ठूलो हो । फार्ममा प्रत्यक्ष २६/२७ जनाले काम गरिरहेका छन्, सिजनमा अरु २२/२४ जनाले पनि काम पाउने युवराजको भनाइ छ । फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ । गण्डकी सरकारले मनाङसँगै गोर्खाको चुनुब्रीमा शुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो । रासस

लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

काठमाडाैं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको बताइएकाे हाे । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि लामो  दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो । यस्तै, सरकारले आन्तरिक उडान पनि भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि आन्तारिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।

हङकङ र ल्हासाका लागि उदय रानामगर र नवराज ढकाल महावाणिज्यदूत नियुक्त

काठमाडौं। सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको हो। रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत नियुक्ति प्रक्रियाका लागि अघिल्लो मन्त्रिपरिषदले दुबैलाई परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो। सरुवाअघि रानामगर झापाका प्रमुख जिल्ला अधिकारी थिए। ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए। उदय रानामगर र नवराज ढकाल दुबै नुवाकाेट जिल्ला बेलकाेगढी नगरपालिकाका स्थायीबासी हुन् ।  

सरकारी निर्णय विपरित निदान अस्पतालमा आरडिटी परीक्षण जारी, शुल्क प्रतिव्यक्ति १७८० रुपैयाँ

ललितपुर। सरकारी निर्णय विपरित निजी क्षेत्रका हस्पतालहरुको आरडिटी विधिबाट कोरोना परीक्षणलाई जारी राखेका छन् । आरडिटी विधिबाट कोभिड–१९ रोगको परीक्षण गर्दा त्यसको नतिजा विश्वासिलो नभएको भन्दै सरकारले एन्टिबडिमा आधारित आरडिटी परीक्षणमा रोक लगाएको थियो । तर निजी क्षेत्रका अस्पतालहरुले सर्वसाधारणसँग महँगो शुल्क लिएर सोही विधिबाट कोरोना जाँच गरिरहेका छन् । ललितपुर जिल्लाको पुल्चोकस्थित निदान अस्पतालले कोरोना परीक्षणको नाममा आरडिटी परीक्षण गराउँदै आएको र उपभोक्तासँग प्रतिव्यक्ति १ हजार ७ सय ८० रुपैयाँ शुल्क लिने गरेको पाइएको छ । गत शुक्रबार मात्र होटल भिभान्तामा कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण आरडिटी विधिबाट गरेको पाइएको छ । ग्रुपमा आएका कर्मचारीको गर्दा प्रतिव्यक्ति १ हजार ३ सय ४० लिएको छ । अस्पतालले शुक्रबार नै व्यक्तिगत तवरले चेक जाँच गर्दा १ हजार ७ सय ८० रुपैयाँ लिइको कागजपत्र विकासन्युजले प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले एन्टिबडिमा आधारित आरडिटीबाट कोभिड–१९ जाँच बन्द गरिएको बताए । ‘विरामीको जाँच गर्न आरडिटी विधि प्रयोग गर्न पाइदैन । अनुसन्धानको लागि मात्र प्रयोग गर्न पाउने नियम रहेको छ’ उनले भने । यदि कुनै पनि स्वास्थ्य संस्थाले अहिले पनि कोभिड–१९ पत्ता लगाउनको लागि एन्टिबडिमा आधारित आरडिटी परीक्षण गराइरहेको छ भने त्यसलाई नियम अनुसार कारवाही हुने उनले बताए । तर निधान हस्पिटलका प्रमुख कार्यकारी अधिकृत विपिन प्रधानले सरकारी निर्णयबारे अनविज्ञता व्यक्त गरे । ‘आरडिटी विधिबाट जाँच बन्द गर्ने सरकारको निर्णयबारे हामीले औपचारिक पत्र पाएका छैनौं । सार्वजनिक सूचना आएको भए हाम्रो जानकारीमा छैन’ उनले विकासन्युजसँग भने । कोडिभ १९ शंका लागेको विरामीको ल्याव टेष्टका लागि आवश्यक नमूना पीसीआर गराउनु पर्दा टेकु वा पाटन अस्पताल पठाउने गरेको र विशेष रिक्वष्ट आएको अवस्थामा आरडिटी गराउने गरेको पनि उनले बताए । आरडिटी किट पहिला सरकारले आरडिटी टेष्टलाई मान्यता दिएकोले त्यतिबेला नै किनिएको किटहरुको प्रयोग गरी आरडिटी टेष्ट गरेको तर नयाँ परीक्षण सामाग्री खरिद नगरेको पनि उनले बताए । उनको यो भनाईले आरडिटी परीक्षणमा सरकारले लगाएको बन्देज जानकारी भएको तर पहिले नै किनिएका किटको उपयोगका लागि आरडिटी परिक्षण जारी राखेको प्रष्ट भएको छ । के हो एन्टिबडिमा आधारित आरडिटी परीक्षण ? सरुवा रोग विशेषज्ञ डा अनुपा बास्तोलाको अनुसार शरीरमा कोरोना भाईरसले प्रवेश गरिसकेपछि शरीरले त्यस विरुद्ध लड्ने एन्टिबडि उत्पादन गर्दछ ।  त्यही एन्टिबडि छ कि छैन भनेर पत्ता लगाउने विधिलाई एन्टिबडिमा आधारित आरडिटी परीक्षण भनिन्छ । कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि आईजीएम र आईजीजी हुन् ।  आईजीएम एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो कहिले उत्पादन हुन्छ भन्ने पनि व्यक्ति पिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ । त्यस्तै, आईजीजी एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ । सुरुमा रोग लागि सकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ । यस विधिमा धेरै प्रश्न उठेपछि सरकारले केही महिना अघि यस परीक्षणलाई रोक लगाएको छ । यसलाई अनुसन्धानको लागि प्रयोग गर्न पाउने नियम रहेको छ । के हो एन्टिजेन्टमा आधारित आरडिटी परीक्षण ? एन्टिजेन्टमा आधारित आरडिटी परीक्षणले कोरोनाभाईरसको प्रोटिणको कणलाई पत्ता लगाउने गर्दछ । यसलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको लागि मान्यत दिएको छ ।