विकासन्युज

साढे ८ लाख नेपालीले गरे कोरोना बीमा, कति पर्यो दाबी भुक्तानी ?

काठमाडौं । बीमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमालेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताए । त्यसबापत अहिलेसम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताए । बीमा समितिले वैशाख ४ गतेदेखि कोरोना भाइरस (कोभिड१९) बीमालेख जारी गरेको थियो । जसमा सबै निर्जीवन बीमा कम्पनीको बीमा पुल मार्फत बीमालेख जारी गर्ने व्यवस्था भएकोे थियो । समितिले दुई श्रेणीको बीमाङ्क रकम कायम गरी बीमालेख जारी गरेको थियो । जसमध्ये एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख बीमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको थियो । जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको थियो । त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिदा अहिले १ लाख रुपैयाँको बीमा ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँको बीमा १ सय ५० रुपैयाँमा हुन्छ । सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बीमाङ्क रहेको बीमालेख विक्री नभई एक लाख रुपैयाँ बीमाङ्क भएको बीमालेख मात्रै विक्री भएको समितिका अध्यक्ष चापागाईंले बताए । त्यस्तै अहिलेसम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दावी भुक्तानी पाइसकेको पनि उनले बताए । त्यसबाहेक अहिले करिब २ सय ५० जनाको दावी परेको र त्यसको फरफारक हुन बाँकी रहेको अध्यक्ष चापागाईंले बताए । अहिलेको कोरोना बीमालेख एकपटकका लागि मात्रै भएको पनि अध्यक्ष चापागाईंले स्पष्ट पारेका छन् । एकपटक दावी भुक्तानी भएका व्यक्तिले कोरोना निको भएपछि फेरी कोरोना बीमा गर्न सक्ने व्यवस्था अहिले नरहेको उनले बताए । तर त्यस्ता व्यक्तिबाट बीमालेखको माग हुन आएमा समितिको सञ्चालक समितिको बैठक बसेर मापदण्डमा परिमार्जन गरी बीमा गर्न दिने व्यवस्था गर्न सकिने पनि उनले बताए । एकपटक संक्रमण भई निको भएका व्यक्तिमा फेरी संक्रमण देखा पर्दैन भन्ने मान्यता अनुरुप कोरोना बीमाको मापदण्ड बनाइएकाले दावी भुक्तानी लिएपछि संक्रमण निको भएमा पुनः बीमा गर्न नसकिने उनले स्पष्ट पारे । अहिलेको व्यवस्था अनुसार बीमा कम्पनीलाई कोरोना बीमाको कुनैपनि दायित्व नपर्ने पनि अध्यक्ष चापागाईंले बताए । बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ सम्म दायित्व लिनुपर्नेमा अहिले नेपाल सरकारले सबै कर्मचारीको बीमा गर्दा एक अर्ब प्रिमियम पुग्ने भएकाले बीमा कम्पनीहरुमाथि कुनै दायित्व नपर्ने बताउँदै उनले एक अर्ब भन्दा माथि साढे ३ अर्ब सम्म पुनर्बीमा कम्पनी र बीमा समितिले व्यहोर्ने पनि बताए । साढे ३ अर्ब भन्दा माथिको बीमा दावी भुक्तानी भने नेपाल सरकारले गर्नेछ । एकपटक कोरोना बीमा गरेपछि २०७८ असार मसान्तसम्म कोरोना संक्रमण पुष्टि भएमा बीमाङ्क रकम दावी गर्न पाइनेछ ।

खतिवडालाई राष्ट्रियसभामा मनोनित गर्ने कि नगर्ने ? आज छलफल हुँदै, खतिवडा अनुपस्थित

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले मन्त्रिपरिषद् बैठक शुरु भएको जानकारी गराएका हुन् । आजको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा निर्णय तथा छलफल गर्ने बुझिएको छ । आजको बैठकमा कोरोना भाइरसका सम्बन्धमा सरकारले गरेका काम कारबाहीका विषयमा समेत छलफल हुने पनि बताइएको बताइएको छ । यस्तै, स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा राष्ट्रियसभामा रिक्त रहेको एक पदका लागि मनोनित गर्ने विषयमा समेत छलफल हुनेछ । भदौ २० गते अर्थमन्त्रीको कार्यकाल सकिँदैछ । २० गतेसम्ममा उनलाई संघीय संसद्को सदस्य नबनाइएमा संवैधानिक प्रावधान अनुसार उनी स्वतः अर्थमन्त्रीबाट मुक्त हुनेछन् । त्यस कारणले पनि आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ । आजको मन्त्रिपरिषद् बैठकमा खतिवडाकाे विषयमा छलफल हुने भएकाेले आजको बैठकमा उनी अनुपस्थित भएको बताइएकाे छ । उनको विषयमा छलफल हुने भएकोले पनि उनी  अनुपस्थित भएकाे हुन सक्ने स्राेत बताउँछ ।  हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै खतिवडा दोहोरिन सक्ने संकेत दिएका थिए । त्यसका साथै आजको बैठकले विभिन्न सार्वजनिक संस्थानहरुमा विभिन्न व्यक्तिलाई नियुक्त गर्ने समेत निर्णय गर्नेछ ।

उपत्यकाका स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा शुरु, कुन रुटमा कति बजे चल्छन् ? (भिडियाेसहित)

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा सुरु गरिएको छ । कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै पहिलो पंक्तिमा खटिएर सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बससेवा सुरु गरिएको हो । भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी छ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयुक्त बैठकले उपत्यकामा निशेषधाज्ञा जारी गरेसँगै स्वास्थ्यकर्मीलाई अस्पताल जान समस्या परेपछि निःशुल्क बससेवा सुरु गरिएको नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले बताए । सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधा नहोस् भनेर निःशुल्क बससेवा सुरु गरिएको उनले बताए । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरेको हो । सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने नेपाल मेडिकल एशोसियशनका केन्द्रीय सदस्य डा रितेश थापाले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको सिफ्टअनुसार दुई समयमा गाडी सञ्चालन हुने उनले बताए । अत्यावश्यक सेवाका लागि एउटा गाडी २४ घण्टा नै सञ्चालन गर्ने गरि तयारी गरिएको पनि उनले बताए । यी रुटमा चल्नेछन् स्वास्थ्यकर्मीका लागि निःशुल्क बस यी रुटमा चल्नेछन् स्वास्थ्यकर्मीका लागि निःशुल्क बस –बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ । बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । Gepostet von Bikashnews.com am Sonntag, 30. August 2020   बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ । बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । सेवा नै धर्म हो भन्ने भावना बोेकेको रोटरी क्लबले समेत स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको समस्या समाधानका लागि सहयोग गरेको रोटरी क्बल अफ काठमाडौै हेल्थ प्रोफेसनल्सका अध्यक्ष कविता रेग्मीले बताए ।

मन्त्रिपरिषद् बैठक शुरु, के होला निर्णय ?

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले मन्त्रिपरिषद् बैठक शुरु भएको जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जालबाट मन्त्रिपरिषद्को नियमित बैठक भएको जानकारी गराएका छन् । आजको बैठक पनि कोरोना भाइरस र विभिन्न सार्वजनिक संस्थानहरुमा नियुक्तीबारे निर्णय हुने बताइएको छ ।

सिभिल अस्पतालका कर्मचारीकाे आन्दोलन शुरू, सरकारी कर्मचारी सरह तलव सुविधा दिन माग

काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आज (आइतबार) देखि आन्दोलन शुरु गरेको हो । कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरहरु सहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका हुन् । यस्तै माग पुरा नहुँदा सम्म हातमा कालोपट्टि लगाएर काम गरिने कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए । उनले नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखिएको बताए । यस्तै अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तीनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी विदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार विदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका माग समेत कर्मचारीहरुले राखेका छन् । आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । उनीहरु ‘काम नगर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न कसले रोक्यो ?’, ‘सरकारी संस्थामा काम गर्ने कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलब दिन के ले रोक्यो ?’, ‘गल्ती गर्ने कर्मचारीलाई संरक्षण किन र कहिले सम्म ?’, ‘कर्मचारीलाई ज्यालादारीमा कहिले सम्म काममा लगाउने ?’, ‘मेरो कार्य मूल्याङ्कन कहिले ?’, ‘१२ वर्षदेखि एउटै तह, स्तरउन्नती कहिले हुन्छ ?’ लेखिएका ब्यानरहरु लिएर आफ्ना मागहरु पुरा गराउन अस्पताल अगाडि उभिएका थिए ।

समाज लघुवित्तको आईपीओ बाँडफाँड भोलि, कति बजे ?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भोलि सोमबार(भदौ १५ गते) बाँडफाँड हुने भएको छ । यसअघि शनिबार बाँडफाँड गरिने भनिएको तर प्राविधिक समस्याका कारणले सो दिन गर्न नसकिएकोले भोलि गर्ने निर्णय भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) धुर्व तिमल्सिनाले भोलि दिउँसो दुई बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा हुने जानकारी गराएका छन् । साथै, क्यापिटलको फेसबुक पेजबाट पनि लाइभ गरिने उनले बताए । संस्थाले गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार प्रिअलोटमेन्ट भएको छ । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताकाे दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त आईपीओमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ३ सय ७० वटा आवेदन योग्य भएका छन् भने बाँकी १६ हजार ७ सय ६८ वटा आवेदन रद्द भएकाे छ । गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन भएकाे उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । सम्बन्धित समाचारः ८ हजार ७० जनाले समाज लघुवित्तको आईपीओ पाउने

नेप्से सामान्य अंकले बढ्दा साढे एक अर्ब माथिको सेयर कारोबार

काठमाडौं । आइतबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । टीएमएसमा समस्या आएर बीचमा केही समय रोकिएपछि बेलुकी सवा ५ बजेसम्म कारोबार भएको बजारमा परिसूचक ४.६४ अंकले बढेर १४६२ अंकमा पुगेको हो । नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि सेन्सेटिभ इन्डेक्स सामान्य अंकले ओरालो लागेको छ । सामान्य अंकले उकालो लागेको बजारमा साढे एक अर्ब माथिको सेयर किनबेच भएको छ । सो दिन एक सय ८६ कम्पनीको ३६ लाख ८५ हजार ९ सय ६३ कित्ता सेयर एक अर्ब ६१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको ३१ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७ सय ५५ रुपैयाँ पुगेको छ । त्यस्तै, एनआरएन इन्फ्राइस्टस्चरको ११ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.७६ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ५ रुपैयाँ पुगेको छ । आइतबार कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । बजारमा कारोबारमा आएका ३ समूहबाहेक बाँकी समूह हरिया देखिएका छन् । बैंकिङ, विकास बैंक र म्युचअल फण्ड समूह क्रमशः ७.४४, ०.४५ र ०.०३ अंकले घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९४ अंकले बढेको छ । सम्बन्धित समाचारः टीएमएसको समस्या समाधान, सेयर कारोबार पुनः शुरु, अब कति बजेसम्म हुन्छ ? टीएमएसमा समस्या आएपछि लगानीकर्ता तनावमा, भन्छन्- खातामा नभएको सेयर पनि बेचियो, कतै जरिवाना लाग्ने त हैन ? टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी

अबदेखि जुनसुकै एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम झिक्दा मात्रै शुल्क लाग्दैनथ्यो । अरु बैंक वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्दा शुल्क तिर्नुपथ्र्याे । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत जुनसुकै बैंक वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिने नीतिगत व्यवस्था गरेको थियो । मौद्रिक नीतिमा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशन जारी गर्दै शुल्क नलाग्ने व्यवस्था गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि सो अवधिभर कुनै पनि एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्य स्वदेशभित्रै अर्काे बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै पनि शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।