यस वर्षका सबै ब्यापार मेला सारिए, अर्बौंको कारोबार प्रभावित

<p>काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्षका व्यापार मेलाहरु पनि निकै प्रभावित हुने भएका छन् । दिनप्रतिदिन बढ्दै गएको कोरोना भाइरस संक्रमणको कारण प्रत्येक वर्ष हुने व्यापार मेला सारिएका छन् । विभिन्न संघ तथा महासंघहरु यस वर्ष व्यापार मेला के कसरी गर्ने, गर्ने कि नगर्ने भनेर आन्तरिक छलफलमा लागेका [&hellip;]</p>

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्षका व्यापार मेलाहरु पनि निकै प्रभावित हुने भएका छन् । दिनप्रतिदिन बढ्दै गएको कोरोना भाइरस संक्रमणको कारण प्रत्येक वर्ष हुने व्यापार मेला सारिएका छन् ।

विभिन्न संघ तथा महासंघहरु यस वर्ष व्यापार मेला के कसरी गर्ने, गर्ने कि नगर्ने भनेर आन्तरिक छलफलमा लागेका छन् । हरेक वर्षको असोज तथा कार्तिकमा हुने अटोमोबाइल क्षेत्रकै वृहत मानिएको ‘नाडा अटो शो’ यस वर्ष कोभिड–१९ कै कारण स्थगित गरिएको छ ।

नाडाले यस वर्ष दशैंतिहार लक्षित ‘नाडा अटो शो’ नहुने साउनमै विज्ञप्ती जारी गरेर जानकारी गरिसकेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना भायरस बढ्दै गएकाले यस वर्ष नाडा सो नहुने लगभग निश्चित भएको बताएका छन् । ‘हामीले साउनमा विज्ञप्ती नै जारी गरेर नहुने जनाएको थियौं, उतिखेर कोरोना कम भयो भने गर्न सकिने सोचमा थियौं, आजभोलि दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ, अब हामीले पनि यस वर्षको लागि नगर्ने नै मनसाय बनाइसकेका छौं,’ उनले भने ।

यस्ता विभिन्न व्यापार मेलाहरु नभएपछि देशको अर्थतन्त्रमा पनि ठूलो नोक्सान हुने उनको भनाई छ । ‘यस वर्ष राजश्व नै आधा मात्र उठेको छ, बजार नै बन्द छ, सामान नै आएको छैन, नाडामा पनि गत वर्षको तुलनामा ५० प्रतिशत कम व्यापार भएकोे छ,’ उनले भने ।

उनका अनुसार कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेको बेला सरकारले समेत सार्वजनिक सभा, सम्मेलन, पार्टी, उत्सवका कार्यक्रम तथा त्यस्ता कुनै पनि प्रदर्शन एवम सामूहिक भेटघाटका गतिविधि नगर्न भनिसकेको अवस्थामा नाडा अटो शो पनि प्रभावित हुन पुगेको हो ।
उनले अटो शोमा गाडी प्रदर्शन गर्न नपाए पनि यस वर्ष विशेष रुपमा शोरुममै गाडीको प्रदर्शन गर्न सकिने बताए ।

‘नाडा अटो शो भनेको नेपालका लागि गाडी खरिद विक्रीको ठूलो प्लेटफर्म हो । नेपालीहरुको प्रमुख चाडपर्व दशैँतिहारकै मुखमा आयोजना गरिने यस खालको अटो मेलामा अधिक मात्रामा अटोमोबाइलको व्यापार हुने गर्छ । गत वर्षको नाडा सोमा ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, यस वर्ष हस्तकला प्रदर्शनी पनि नहुने बताइएको छ । हरेक वर्षको कात्तिक/मंसिरमा हुने हस्तकला प्रदर्शनी यस वर्ष कोरोना भाइरसको कारण नहुने भएको हस्तकला महासंघका वाणिज्य उपाध्यक्ष रविन्द्र शाक्यले बताए ।

‘हामीले औपचारिक रुपमा रद्द गरेका जानकारी गरेका छैनौं, सरकारले निषेधाज्ञा खोलेपछि समय हेरेर गर्न सकिन्छ, यही अवस्थामा भने यो वर्ष गर्न सकिने अवस्था छैन,’ उनले भने ।

उनका अनुसार अवस्था सामान्य भएपछि नयाँ वर्षलाई लक्षित गरेर मेला गर्न सकिने छ । उनले पनि ५० प्रतिशतसम्म घाटा हुने उनको भनाई छ । उनले निर्यात पनि घटेको बताए । गत वर्ष हस्तकला प्रदर्शनीमा ६ करोड रुपैयाँको कारोबार भएको थियो ।

यस्तै करोडौंको कारोबार हुने क्यान इन्फोटेक पनि यो वर्ष हुने कि नहुने भन्ने यकिन भएको छैन । हरेक वर्षकोअ माघ फागुनमा हुने क्यान इन्फोटक यो वर्ष कोरोनाले निर्धारण गर्नेछ । अझै पनि धेरै समय भएकाले क्यान इन्फोटेक गर्ने कि नगर्ने भन्ने बारे छलफल पनि भइरहेको नेपाल कम्प्युटर एसोसियसनका कोषाध्यक्ष डा. पवन शर्माले बताए ।

‘अहिले हुन्छ कि हुँदैन भन्ने अवस्था छैन, हामीसँग समय छ, कोरोनाको संक्रमणकाे स्थितीले नै क्यान इन्फोटेक पनि निर्धारण गर्छ,’ उनले भने ।
यस वर्ष व्यापार मेला हुने सम्भावना न्यून छः सभापति श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघ व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले यस वर्ष व्यापार मेला हुने सम्भावना न्यून रहेको बताएका छन् । उनले कोरोना भाइरसको कारण सबै गतिविधिहरु ठप्प भएकोले यस वर्ष सबै व्यापार मेलाहरु सञ्चालन गर्न नसकिने बताए ।

‘कोरोनाको कारण अर्थतन्त्र ठप्प नै छ, मानिसको आवतजावत नै रोकिएको छ । विदेशी पर्यटकहरुको आगावमन पनि छैन, यस वर्षका व्यापार मेला हुन कठिन छ,’ उनले भने ।

व्यापार मेलाहरुको उद्धेश्य नै स्वदेशमा उत्पादित वस्तुको प्रचार प्रसार तथा प्रवद्र्धन भएकोले विदेशीहरुको आगावमन पनि नभएको र नागरिकहरु पनि कोरोनाको त्रासले घरभित्रै भएकोले व्यापार मेला हुन नसक्ने उनले बताए ।

‘अन्तर्राष्ट्रिय जहाज पनि सञ्चालन हुन सकेको छैन, यो समयमा व्यापार मेलाभन्दा पनि जीवन बचाउन तर्फ सबै केन्द्रित हुनु पर्छ, निकासी सम्बन्धि वस्तुको प्रवद्र्धन गरेर व्यापार घाटालाई कम गर्ने हाम्रो उद्धेश्य हो, त्यो सबै रोकिएको छ,’ उनले भने ।

उनले व्यापार मेलाहरु नहुँदा देशको अर्थतन्त्रमा पनि ठूलो धक्का लाग्ने सक्ने बताए । सधैँका वर्षहरूमा अर्बाैंकाे काराेबार हुने ती मेलामा यस वर्ष भने मेला नहुँदा काराेबार  हुन नसक्ने उनले बताए ।

Share News