विकासन्युज

उपत्यकामा काेराेना संक्रमितको नयाँ रेकर्ड: आइतबार ४२९ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३७२, ललितपुरको १२ र भक्तपुरको ४५ जना रहेको गौतमले बताए । आज देशभर १२ सय २१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

नेपालभर एकैदिन १२ सय बढिमा काेराेना देखियाे, हालसम्मकै उच्च

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ। हाल क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् भने आजसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै हालसम्म २० हजार ८ सय २२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २१६ पुगेकाे छ ।

काेराेनासँग लड्न निन्द्राकाे भूमिका महत्वपूर्ण : कुन उमेरकाले कति सुत्ने ?

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणलगायत रोगसँग लड्न रोगप्रतिरोधात्मक शक्ति अर्थात् इन्युनिटी पावर आवश्यक पर्ने र त्यो बढाउन निद्राको ठूलो भूमिका हुने बताएका छन् । उनले रोग, इम्युनिटी पावर र निद्राबीचको सम्बन्धबारे व्याख्या गर्दै कति वर्षका व्यक्तिले कति घण्टा सत्नुपर्छ भन्ने जानकारी दिएका हुन् । यस्ताे भन्छन् उनी:  काेरोना संक्रमणलगायतका रोगहरूसँग लड्नका लागि निद्राको ठूलो भूमिका छ। रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ। हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं। हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं। त्यस्तै राम्रोसँग निद्रा परेको समयमा हामी आफूई निकै स्वस्थ अनुभव गर्दछौं। हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहारजत्तिकै महत्व दिइएको छ। हामी रातिमा ७(९ घण्टा सुत्यौं भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ। जसले गर्दा हामी खुसी हुन्छौं। साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ। कति घण्टा सुत्नुपर्छ ? १४-२५ वर्षका व्यक्तिलाई: ८-१० घण्टा २६-६४ वर्षका व्यक्तिलाई: ७-९ घण्टा ६५ वर्ष तथा सोभन्दा धेरै उमेरका व्यक्तिलाई: ७-८ घण्टा

घट्याे काेराेनाकाे परीक्षण शुल्क, अब ४४ सय मात्र लाग्ने

काठमाडाैं । सरकारले काेराेना परीक्षणकाे शुल्क घटाएकाे छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले आजैबाट लागु हुने गरी पिसिआर परीक्षण शुल्क घटाएकाे हाे । मन्त्रालयका सहप्रवक्ताको डा समिरकुमार अधिकारीले आइतबार बिहान पिसिआर परीक्षण शुल्क घटाउने निर्णय भएकाे बताए । पहिला ५ हजार ५ सय ताेकिएकाे परीक्षण शुल्क मात्र ४ हजार ४ सय तर्नुपर्ने अधिकारीले बताए । सरकारले शल्क तिरेर परीक्षण गर्न ११ वटा निजि अस्पताललाई अनुमति दिएकाे छ ।

नेपालमा बनेका आर्थिक कानून विदेशी संघ संस्थाबाट निर्देशित-सेमन्त दाहाल

  काठमाडौं । कानुन विज्ञ सेमन्त दाहाल आर्थिक विकाससँग जाेडिएका कानून विदेशी संघ संस्थाकाे निर्देशनमा बन्ने गरेकाे बताएका छन् । उनले कानून कुनै विदेशी संघ संस्थाबाट निर्देशित भन्दा पनि देशको आवश्यकता अनुसार बनाउनुपर्नेमा जोड दिएका छन् ।  उनी एनसेल र सरकारबीच कर विवादकाे मुद्दा चल्दा एनसेलकाे पक्ष उभिएका वकिल हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले  गरेको ‘सेजन अर्थनीति बहस’ अन्तर्गत कानूनमा अर्थतन्त्र विषयक छलफलमा उनले आफ्नो नेपाल सरकारकाे कानुन बनाउने विधिकाे कडा शब्दमा आलाेचना गरे ।  विशेषगरी संयुक्त राष्ट्रसंघले व्यापारसँग कानुनलाई जोडेर हेर्न थालेपछि यसको महत्वलाई विश्व समुदायले विस्तारै बुझ्दै गएको तर नेपालले पनि अर्थतन्त्रका विषयवस्तुलाई कानुनसँग जोडेर हेर्न थालेपनि अर्थतन्त्रसँग सम्बन्धित कानून विदेशी संघ संस्थाबाट निर्देशित भएर र विदेशीले बनाए जस्तै गरी बनाइएको उनको भनाइ छ । विदेशी संघ संस्थाले बनाएका कानूनलाई उदाहरणको रुपमा लिदै आफ्नो आवश्यकता अनुसार कानुन बनाउनु उपयुक्त हुने उनको सुझाव छ । “बाहिरबाट प्रोत्साहित वा दबावमा परेर कानून बनाउन हुँदैन भन्ने कुरा हामीले बुझ्नुपर्छ” उनले सरकारलाइ पाठ सिकाउँदै भने । संसद्ले कानुन बनाउने भनिएता पनि अझै पनि नेपालमा मन्त्रालयबाट कानुन बन्ने गरेको उनले बताए । सोही कारण अर्थतन्त्रसँग जोडिएका विभिन्न कानुन एक आपसमा बाझिने गरेको उनको भनाई छ । कर्मचारीतन्त्रबाट समन्वय नगरी आफ्नै तरिकाले कानुन बनाउँदा यस्तो बाँझिने समस्या आएको उनको भनाई छ ।  “संसद्बाटै कानुनको मस्यौदा गरिनुपर्ने हो । त्यसो गर्न सकिएको भए कानुन एक आपसमा बाँझिने सम्भावना पनि कम हुन्थ्यो । तर, हाम्रोमा मन्त्रालयबाटै कानूनको मस्यौदा बन्ने गरेको छ” उनले भने । उनले अर्थतन्त्रसँग सम्बन्धित कस्तो कानुन बनाउने र पालना गर्ने भन्ने विषय राजनीतिक इच्छाशक्ति र राज्यको क्षमतामा पनि भर पर्ने बताए । कर सम्बन्धी विवादलाई अदालतले छिटो टुङ्ग्याएको देखिएपनि ठेक्कापट्टा सम्बन्धी मुद्धा भने वर्षाैसम्म अदालतमै रहेको उनले बताए । दोलखामा रहेको म्याग्नेसाइट खानीको उदाहरण दिदै यसमा भएको विवाद समाधानका लागि अझै पनि अदालतले फैसला गरि नसकेको उनले बताए । “तर, करका मुद्धामा भने अदालतले छिट्टै फैसला दिएको छ जसले गर्दा निजी क्षेत्र, लगानीकर्तालाई पनि सहजता बनाइदिएको छ । करका विषयका विवादमा अदालतबाट सिम्प्लिफाइ गर्ने काम भएको छ ।”

कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं

कोरोना भाईसरले नेपाल मात्र नभई विश्व नै आक्रान्त बनेको बेला नेपालमा अहिले सबैभन्दा आकर्षक मानिएको कोरोना बीमा गराउन मानिसहरु निकै उत्साहित बनेका छन् । यस्तो लाग्छ, यो हात खाली नजाने चिट्ठा नै हो र यो छुटायो भने घाटा लाग्छ जस्तो ज्ञान सबैमा पलाएको छ । मान्छेहरु यसैपनि जमघट हुन पाइंदैन । एकदुई जना साथीहरु भेट हुंदा होस् वा मोबाइल वा मेसेञ्जर, भाइबरमा कुरा गर्दा शुरुमा उनीहरु एकअर्काको सञ्चोबिसञ्चोको हालखबर सोध्छन् र दोश्रो कोरोना बीमा गरेको छ कि छैन भनेर सोध्छन् । नगरेको मान्छेलाई कोरोना लागेमा १ लाख पाइने लोभ देखाउंछन् । उनीहरु आफूले त हजुरबा, हजुरआमा, मामा, आमा, दिदी बहिनी, भिनाजु, सालो, श्रीमती, छोराछोरीको बीमा गरिदिएको गफ हान्छन् । यी यस्ता मान्छे हुन्, जसले भूकम्पले आफ्नो घर भत्काएपछि पनि आफ्नो घरको कहिल्यै बीमा गराएनन् । यी यस्ता मान्छेहरु हुन्, जसले मोटरसाइलको व्यापक बीमा गर्दा तिर्नुपर्ने पैसा अलि बढी देखेर ब्लुबुक नविकरणको लागि तेश्रो पक्ष बीमा मात्रै गराउँछन् । कोरोना बीमा गराउनेले बीमा भनेको के हो बुझ्ने कुरा पनि भएन, सरोकारको बिषय पनि भएन । यत्ति हो कि, यो बीमा गरेमा हातहातै लाख रुपैयाँ नगद पाइन्छ र त्यसले अरु गर्जो टार्न पाइन्छ । नेपालमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपालमा चिट्ठा खुलेको छ । अनुदानमा सहभागी हुने भए ३०० र नभए ६०० तिरिपछि कुनै न कुनै दिन १ लाख रुपैयां पाइन्छ । त्यसैले सचेत जनताहरु कोरोना नै लागे पनि कुनै घाटा छैन भन्ने सोचमा छन् । कोरोना लागेमा सरकारले उपचार गरिदिन्छ, लागेको खर्च सरकारले नै गरिदिने भएपछि बीमाले दिने ९९ हजार ४०० रूपैयाँ त चोखो फाइदा हो । त्यसैले कोरोना लागेपनि केहि गुमाउनु नपर्ने र नगदी फाइदा हुने भएपछि मान्छेहरु अहिले हट केकको रुपमा रहेको कोरोना बीमा लिन उत्साहित छन् । किनकी हरेकलाई थाहा छ, अहिलेसम्मको डाटा अनुसार संक्रमण भएकाहरुमध्ये १ प्रतिशत भन्दा कम मान्छे मर्ने गर्दछन् र कुनै पनि मान्छे त्यो १ प्रतिशतभित्र पर्छु भन्ने कल्पना समेत गर्दैन । विश्वभर कहिंकतै नभएको यो कोरोना चिट्ठा नेपालमा खोलिएको कारण पनि पैसामा बढि सम्बेदनशील देखिने नेपालीहरु बढि आकर्षित भएका हुन् । कुनै पनि महामारीको बीमा संसारमै कहिंकतै गरिदैन । बीमा गरिएका पोलिसीहरुमा पनि अपबादको रुपमा माहामारी, गृहयुद्ध, बाह्य युद्ध आदिबाट भएको क्षतिको कभरेज पोलिसीले कभर नगर्ने स्पष्ट लेखिएको हुन्छ । जुन अबस्थामा अन्य पोलिसीहरुले समेत कभर गर्दैन, त्यसैलाई बीमा गर्ने अचम्मको अफर नेपालमा ल्याइएको छ । त्यसमाथि बीमा भनेको क्षतिपूर्तिको सिद्धान्त हो । क्षतिपूर्तिमा बीमितको क्षतिको हिसावकिताब निकालिन्छ, त्यसमा बिल भर्पाइ र भएका खर्च र नोक्सानीको लेखाजोखा हुन्छ । भएको खर्चको क्षति बीमितलाई भराइन्छ । तर कोरोना बीमा पोजेटिभ रिपोर्ट आउँदैमा कसैलाई कुनै नोक्सानी भएको हुन्न र भए पनि त्यसको खर्च राज्यले गरिदिन्छ, जसमा अहिलेसम्म करिब १५ अर्ब राज्यले यसबापत खर्च गरिसकेको छ । लकडाउन, निषेधाज्ञाको बेला अरु बीमा नभएपनि नेपालमा २/३ दशक बीमामा बीमामा काम गरेका बीमाका दिग्गजहरु यहि पोलिसी बेच्न अफिस खोलेर बसेका छन् । बीमा भनेको के हो ? कसरी ? किन ? गर्ने भन्ने कुरामा हस्तक्षेपकारी भूमिका निभाएर राज्यलाई सल्लाहा सुझाव दिनुपर्ने यी दिग्गज सिइयोहरुको ध्यान त्यतातिर जानु त कता हो कता, यहि चिट्ठा बेचेर जागिर जोगाउन र टार्गेट पुरा भएको रिपोर्ट बनाउन कस्सिएका छन् । भदौ दोस्राे सातासम्म १० लाखलाई कारोना चिट्ठा बेचिएको छ । दावीतर्फ हेर्ने हो भने यस बीचमा करीब ६०० जना भाग्यमानीहरुले यो चिट्ठा हात पारेका छन् । कोरोनाको संक्रमणको दर हेर्ने हो भने धेरै भाग्यमानीहरु थपिने अनुमान गर्न सकिन्छ । कोरोनाबाट त्यो अवधीसम्म करिब ३८ हजार संक्रमित छन् । यो संक्रमण भनेको जांचिएकाहरुको आंकडा हो, नजांचिएकाहरुमा कोरोनाको संक्रमण कति छ, कसैलाई थाहा छैन । सबैको जाँच गर्ने हो भने योभन्दा दशौं गुणा बढि संक्रमण हुने आंकलन सजिलै गर्न सकिन्छ । अझ नेपालमा संक्रमणको दर निकै उकालो लागेको छ । कमजोर राज्य संयन्त्र, फितलो अनुगमन र यसबारे गम्भीर नभएका जनताहरुको कारण यो समूदायस्तरमा फैलिएर भयावह रुप लिनसक्ने आंकलन गर्न थालिएको छ । छिमेकी देश धपक्कै बलेको छ । यस्तो अबस्थामा संक्रमित थपिंदै जांदा त्यसको असर जनस्वास्थ्यमा त पर्ने नै भयो, त्यसको मार बीमा कम्पनीहरुमा सोझै पर्ने देखिन्छ । त्यहि मान्छेलाई कोरोना पोजेटिभ आउने, अर्को दिन नेगेटिभ आउने र संक्रमित निको भएर घर फर्केको चक्र सबैले देखिएकै कुरा भयो । पोजेटिभ आएपछि त्यहि रिपोर्ट देखाएर १ लाख लिने र नेगेटिभ आएपनि त्यो लिएको १ लाख भूस हुने अचम्मको दृष्य हामी देखिरहेका छौं । अझै १ लाखको लागि रिपोर्ट बन्ने आशंका बढिरहेको बेला यसको अनुगमनको पाटो कसैले नसोचेकै बेस होला । बीमा तिर्ने भनेको संकलित रकमबाटै हो, संसारमा यस्तो अचम्मको अफर कतै नभएकोले यसको रिइन्सुरेन्स हुने कुरा पनि भएन । संक्रमितहरु बढ्दै जाँदा यसको दावी पनि बढ्दै जान्छ र चिट्ठा पाउनेहरु पनि बढ्दै जान्छन् । अनुदानको आशा नगरी ६०० को हिसाव गर्दा पनि १६६ जनाको बीमा गरिएकोमा त्यसमध्ये १ जना मात्रै संक्रमित भयो भने त्यो एकजनाले १६६ जनाले तिरेको प्रिमियिमको पैसा लैजान्छ । संक्रमण दर यहि हिसावले बढ्दै जाँदा कम्पनीहरुले संकलन गरेको प्रिमियमले कतै थेग्न सक्दैन । यो कुन स्राेतबाट तिर्ने भन्ने सम्बन्धमा सरकारले गजबको ट्रिक अपनाएको छ । पहिलो, उठेकोबाटै चलाउने, त्यसले नपुगे नेपालकै पुनर्बीमा कम्पनीबाट तिर्ने, त्यसले नपुगे बीमा कम्पनीहरुले जोगाएर जगेडामा राखेको पैसा तान्ने, त्यसले नपुगे रेगुलेटरको रुपमा रहेको बीमा समितिले तिर्ने, त्यो सकिएपछि सरकारले तिर्ने । बीमा कम्पनीहरुको रेगुलेरले आफ्नो कोषबाट बीमा दावी भुक्तानी गर्ने अचम्मको कुरा पनि हामीलाई सामान्य लाग्न थाल्यो । सरकारले दिने भनेको प्रिमियमको अनुदान कसैले हिसाव नगरौं, किनकी १ वर्षभन्दा अघिको कृषि बीमाको अरब हाराहारीको रकम अझैसम्म बीमा कम्पनीले पाएका छैनन् भने, यो महामारीको पैसाको हिसाव गर्नु व्यर्थ छ । समग्रमा देश अनुसारको भेष त गर्नै पर्ने भयो । सबै नागरिकहरुलाई यो बीमाको बारेमा धेरै बुझाउने झंझट नगरौं, यत्ति मात्रै भनौं, रु. ३०० वा ६०० तिरौं, रु. १ लाखको चिट्ठा किनौं । कम्पनीहरुले पनि कोरोनाको पैसा यति उठायौं भनेर टार्गेटमा राखौं, तिरेको पैसाको हिसाव नगरौं । राज्य, कम्पनी, जनता सबैजना यहि खेतीमा लागिरहेको बेला पाखामा बसेर बेकारमा किन किचकिच गर्नु ?

टीएमएसको समस्या समाधान, सेयर कारोबार पुनः शुरु, अब कति बजेसम्म हुन्छ ?

काठमाडौं । आइतबार टीएमएसमा देखिएको समस्या समाधान भएको छ । उक्त समस्या समाधान भएसँगै दिउँसो ३ बजेर १५ मिनेटपछि आइतबारको सेयर कारोबार पुनः शुरु भएको छ । यससँगै आइतबार ५ बजेर १५ मिनेटसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ । टीएमएसमा प्राविधिक समस्या देखिएपछि नेप्सेले केही समयको लागि सेयर कारोबार बन्द गरेको थियो । समस्या समाधान भएसँगै नेप्सेले कारोबार अवधि थपेर सवा ५ बजेसम्म कारोबार सुचारु गर्ने निर्णय गरेको हो । सम्बन्धित समाचारः टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी  

उपकार लघुवित्तले एक करोड २६ लाखको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले एक करोड २६ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरका एक लाख २६ हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । जसको लागि लघुवित्तले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ । साथै, उक्त संस्थाको सेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।