सानिमाको शाखा रुपन्देहीको भलवारीमा
काठमाडाैं । सानिमा बैंकले यही भाद्र १५ गतेदेखि रुपन्देहीको भलवारीमा ८० औं शाखा कार्यालय संचालनमा ल्याई बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरेका थिए । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएकाे छ ।
सिद्धार्थ बैंकको कार्डको पिन अब माेबाइलबाट नै निर्धारण गर्न सकिने
काठमाडाैं । सिदार्थ बैंकले भाद्र १५ गते देखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे छ । यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिदार्थ बैंकको कुनै पनि एटिएम वा एनइपिएस सदस्य रहेका केहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्नेछन् । यसरी पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन आउने छ । प्राप्त ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् । पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटिएम, पिओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटिएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् । बैंकले यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केहि हद सम्म भएपनि कागजको प्रयोग कम गरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने जनाएकाे छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का नियुक्त
काठमाडाैं । कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का नियुक्त भएका छन्। प्रदेश सरकारले सोमबार डा. खड्कालाई निर्देशकको जिम्मेवारी दिएको हो। चिकित्सक संघका अध्यक्ष समेत रहेका उनी यसअघि भरतपुर अस्पताल र कर्णाली प्रादेशिक अस्पतालका निर्देशक समेत भइसकेका छन्। याेसँगैं यसअघि उक्त स्थानमा रहेकी डा. रिता जोशी भण्डारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।
अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका ३ सङ्क्रमितको मृत्यु
चितवन । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ । राति अबेर नतिजा आएको थियो । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो । दुवै मेडिकल कलेज पुर्याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याइएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिए । त्यस्तै भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो । दिउँसो २ः३० बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताए । उनले भने, “चितवन अस्पतालले एक्सरे गरेपछि पिसीआर परीक्षण गर्नुपर्छ भनेर पठाएको रहेछ । हेर्दाहेर्दै बिरामीको मृत्यु भएको हो ।” भरतपुर–११ कै अर्का एक १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । तिवारीका अनुसार दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको ३ बजे मृत्यु भएको हो । गम्भीर बिरामी सामुदायिक अस्पतालमा सिटिस्क्यानदेखि सबै परीक्षण गरेर सघन उपचार कक्ष खाली नभएको भन्दै बिरामीका आफन्तले मेकिडल कलेजमा लगेको भए पनि सघन उपचार कक्ष नभएको भनेर फिर्ता गरेपछि सरकारी अस्पताल आइपुगेको तिवारी बताउँछन् । तिवारीले भने, “हाम्रो सघन उपचार कक्ष खाली छैन । खाली हुनेले जहाँ खाली छ त्यहाँ उपचार गरिदिनुपर्यो ।” भरतपुर अस्पतालका २० वटा सघन उपचार कक्ष सबै बिरामीले भरिएको छ । आइतबार राति पनि एक जना बिरामीलाई यहाँका अस्पताल डुलाउँदा डुलाउँदै कसैले भर्ना नलिएपछि बिहान मृत्यु भएको थियो । चिकित्सक सङ्घ चितवनका पूर्वअध्यक्ष प्रा डा कृष्ण पौडेल अहिले अस्पतालहरुले भर्ना नलिँदा बिारमीले उपचार नपाएको स्वीकार गर्छन् । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने बिरामी आकस्मिक कक्षमा आएपछि समन्वय गरेर नपठाउँदा समस्या भएको बताउँछन् । आफूले कलेजको खर्चमा एप तयार गरिदिने बताएको भन्दै उनले त्यसमा शय्या खाली भए/नभएको हेरेर एक अस्पतालबाट अर्कोमा पठाएमा समस्या नहुने उनको भनाइ छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सिफारिसदेखि उपचारसम्ममा समस्या भएको स्वीकार गर्छन् । सरकारी संयन्त्रले सरकारी अस्पतालमा बिरामी पठाउनुपर्ने भन्दै बिरामी बोक्ने एम्बुलेन्सले सघन उपचार कक्ष र भेन्टिलेटर भन्दै हिँड्दा समस्या उत्पन्न भएको उनको बुझाइ छ । अस्पतालको आकस्मिक कक्षमा आएपछि के–कस्तो सेवा बिरामीलाई चाहिने हो सम्बन्धित अस्पतालले समन्वय गर्नुपर्ने उनको भनाइ छ । कोरोना सङ्क्रमणका कारण सघन उपचार कक्ष निर्मलीकरण, चिकित्सक, स्वास्थ्यकर्मी, आइसोलेसन राख्नुपर्नेजस्ता कारण क्षमता घटेर पनि समस्या देखिएको अधिकारी बताउँछन् । । जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीले उपचार नपाउने गुनासो बढेपछि सोमबार सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालले बिरामी प्रेषण गर्दा पठाउन लागिएको अस्पतालमा शय्या खाली भए/नभएको यकिन गरेर मात्र पठाउनुपर्ने, सघन उपचार कक्ष खाली नभएको अवस्थामा बिरामी आकस्मिक कक्षमा भर्ना गरेर उपचार प्रक्रिया शुरु गरेर मात्र अन्यत्र पठाउनुपर्ने भएमा सम्बन्धित अस्पतालले नै समन्वय गर्नुपर्ने बताउँछन् । प्रशासनले सूचनामा एम्बुलेन्स चालकले व्यक्तिगत स्वार्थका लागि अस्पतालहरु घुमाएमा कारवाही गर्ने, सबै अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएको र खाली रहेको सङ्ख्या दैनिकरूपमा बेलुका ५ बजे सार्वजनिक गरी जिल्ला प्रशासन पठाउनुपर्ने उल्लेख छ । त्यसैगरी सञ्चारमाध्यमले दुवै पक्षको धारणा र भरपर्दो प्रमाणसहित सूचना सम्प्रेषण गर्नुपर्ने सूचनामा जनाइएको छ । सूचनामा भनिएको छ, “सङ्कटको घडीमा उपचार गर्ने अस्पताल तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने गरी समाचार सम्प्रेषण नगराैँ ।” स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार जिल्लामा ५० शय्यामाथिका १९ वटा अस्पताल छन् । दुई ठूला मेडिकल कलेजसहित सबै अस्पतालमा गरेर १७६ सघन उपचार कक्ष र ५० भेन्टिलेटर शय्या छन् । आइसोलेसन शय्या सङ्ख्या झण्डै ३०० रहेका छन् । केही एनआइसीयू र पीआइसीयू छन् । समग्र जिल्लामा ५०० चिकित्सक, एक हजार ५०० नर्स, करिब ४०० पारामेडिक्स र ल्याबमा काम गर्ने जनशक्ति ३५० हाराहारीमा छ तर जटिल उपचारका लागि अहिले भएको जनशक्ति कम भएको तिवारी बताउँछन् । उनका अनुसार करिब २०० आइसीयू र ८० भेन्टिलेटर यहाँको न्यूनतम आवश्यकता हो । रासस
प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण
विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहनुभएको छ । उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।
नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्डको हराएको ४ महिनापछि शव फेला
लण्डन । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीले उनको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा उनको शव फेला पारेको बताएको छ । मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन् । यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ । जुन तस्वीर नेपालमा खिचिएको थियो । रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए । यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो । उनका तीन सन्तान र एक श्रीमती छन् ।
अपाङगतामैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका, सबै खर्च बेहाेर्ने
ललितपुर । ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय सम्झौता गरी अपाङ्गता भएका व्यक्तिलाई हिँडडुलमा सहज पुर्याउन उक्त ट्याक्सी प्रयोगमा ल्याउन लागेको हो । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गरी उनीहरुको हितमा हाललाई एउटा ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउन लागेको बताए । उनले भने, “अन्य किसिमको सवारी साधनमा अपाङ्गता भएका व्यक्तिलाई यात्रा गर्न धेरै असहज भइरहेको हुँदा हामीले एउटा क्याब महानगरपालिकाभित्र प्रयोगमा ल्याउन लागेका हाैँ।” यस ट्याक्सीमा ह्विलचेयरसहित चढ्न सकिने महर्जनको भनाइ छ । सो ट्याक्सीमा चारवटा ह्विलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुको सहयोगीसमेत अट्ने क्षमताको रहेको छ । महानगरपालिकाले यसको सञ्चालनका लागि आवश्यक चालक, तेल, ट्याक्सी मर्मत र सवारी करको खर्च सबै आफैँले तिर्ने बताइएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले यसलाई कसरी र कहाँ सञ्चालन गर्ने भन्ने कुराको निर्णय गर्नेछ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सो क्याब खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख र केन्द्र इरुका जापानले रु १५ लाख खर्च गर्ने सम्झौता गरेको जानकारी दिए । उनले भने, “सम्भवतः यो मुलुकमा भित्रिएको पहिलो तथा नमूना किसिमको ट्याक्सी हुनेछ ।” उनका अनुसार सम्झौतापत्रमा प्रमुख महर्र्जनसहित केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनसहित अधिकृत कोइराला, केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठ र महासचिव कृष्ण गौतमको उपस्थिति थियो ।
पिलुवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे; सिटिजन्स बैंक अगुवाइमा १३२ करोड लगानी
काठमाडौं । रिभर फल्स् पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक कर्जा लगानी गर्ने भएका छन् । परियोजनाको अनुमानित लागत करिब रु. १ अर्ब ८९ करोड ४० लाख छ । त्यसमा बैंकहरूले १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट रु. ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु. ४२ करोड र प्रभु बैंकबाट रु. २५ करोड लगानी हुनेछ । प्रर्वद्धकले थप ३० प्रतिशत स्वपुँजी लगानी गर्नेछन् । कम्पनीले यस आयोजना २ वर्ष ५ महिनाभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धि रहेको बताउँदै सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गरे । उनले प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरेका छन् । कम्पनीको तर्पmबाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराए । उनले परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त गरे ।