काठमाडौं । रिभर फल्स् पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक कर्जा लगानी गर्ने भएका छन् ।
परियोजनाको अनुमानित लागत करिब रु. १ अर्ब ८९ करोड ४० लाख छ । त्यसमा बैंकहरूले १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट रु. ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु. ४२ करोड र प्रभु बैंकबाट रु. २५ करोड लगानी हुनेछ । प्रर्वद्धकले थप ३० प्रतिशत स्वपुँजी लगानी गर्नेछन् ।
कम्पनीले यस आयोजना २ वर्ष ५ महिनाभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।
सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धि रहेको बताउँदै सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गरे । उनले प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरेका छन् ।
कम्पनीको तर्पmबाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराए । उनले परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त गरे ।