अब केराउ र मरिचको आयात गर्न पाइने
काठमाडौं । सरकारले केराउ र मरिच आयातमा फुकुवा गरेको छ । आयतबार बसेको मन्त्रिपरिषद् बैठले केराउ र मरिच आयात गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यी दुई वस्तुलाई आयात गर्न सकिने निर्णय गरेको हो ।
पछिल्लो १२ दिनमा १२ हजार सवारी कारवाहीमा
काठमाडौं । पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । भदौ तीन गतेबाट आज(भदाै १५ गते) सम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुखजिल्ला अधिकारी सहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालले बताए । सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरुको संख्या कम रहेको उनले बताए । सर्वसाधारणले निषेधाज्ञा पालना गरिरहेको उनले बताए । जोखिम बढेसँगै नागरिकहरुमा सचेतना बढेको छ भने ट्राफिक प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । प्रशासनले स्वास्थ्य, सुरक्षा, सञ्चारमाध्यम, खाद्यान्न, तरकारी, फलफुल खानेपानी, दुध, इन्धन, ग्यास लगायतका सवारीलाई निर्वाध रुपमा सञ्चालन हुन दिएको छ । सुरुमा एक साताका लागि निषेधाज्ञा जारी भएपनि संक्रमण बढ्ने क्रम नरोकिएपछि थप एक साता निषेधाज्ञा थप भएको छ ।
ग्रील तथा स्टील व्यवसायी महासंघद्धारा सुरक्षाकर्मीलाई सुरक्षाका उपकरणहरु वितरण
काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको पहलमा सुरक्षाकर्मीहरुलाई सुरक्षाका उपकरणहरु वितरण गर्न शुरु गरिएको छ। साेमबार मात्र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत सिंहदरबार र महानगरीय ट्राफिक प्रहरी कोटेश्वरलाई खुट्टाले थिचेर हातमा सेनिटाइज गर्ने सेनिटाइजर सहितको स्टाण्ड निशुल्क हस्तान्तरण गरेका छन् । यस्तै गरी महासंघमै आवद्ध जोरपाटी इकाइ समितिद्वारा महानगरीय प्रहरी वृत बौद्दलाई समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले पेडल हेण्ड्वास टेन्की सहितको स्टाण्ड र पेडल सेनिटाइजर स्टाण्ड हतान्तरण गरेका थिए भने भने बल्खु थानकोट इकाइ समितिका कोशाध्यक्ष दिलिप महर्जनले महानगरिय प्रहरी वृत किर्तिपुरलाई पेडल सेनिटाइजर स्टाण्ड निशुल्क प्रदान गरेका छन् ।
रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्स चौंथो वर्षमा प्रवेश
काठमाडाैं । रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्स साेमबारदेखि तेस्रो वर्ष पुरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । कम्पनिले वार्षिकोत्सवको अवसरमा संस्थालाई यस उचाईमा ल्याउनका लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक तथा कर्मचारीमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा व्यक्त गरेकाे छ। कम्पनिले हालसम्म १७ वटा बीमा याेजनाहरु ल्याएकाे छ भने गत आर्थिक वर्षमा कम्पनिले १ अर्ब ६० कराेड बीमा संकलन गरेकाे थियाे । हाल संस्थाले आफ्ना ८३ वटा शाखा कायालयहरु मार्फत सेवा दिइरहेकाे छ ।
काठमाडाैं उपत्यकामा साेमबार २९८ जना काेराेना संक्रमितको थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ९८ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १९०, ललितपुरको ६७ र भक्तपुरको ४१ जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ४ हजार ५ सय २२, ललिपुरमा ६ सय ८५ र भक्तपुरमा ५ सय १७ जना पुगेकाे छ । आज देशभर ८ सय ९९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
नेपालभर थप ८ सय ९९ जनामा काेराेना संक्रमित थपिए, ७ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ३ सय ३७ जना रहेका छन् भने आजसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै हालसम्म २१ हजार ४ सय १० जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या २२८ पुगेकाे छ ।
बिना अवराेध अनलाइन व्यवसाय संचालन गर्न दिन माग
काठमाडाैं । सरकारले अनलाइन व्यवसाय संचालन तथा त्यस अन्तर्गत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकाेप्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले विराेध गरेकाे छ । बन्दाबन्दि तथा निषेधाज्ञामा समेत यस्ता व्यवसायहरुले आममानिसहरुकाे दैनिक आवश्यकताका सामान लगायत खाद्यान्न सामाग्री घर घरमा पुर्याई आम उपभोक्तालाई आफ्नो घरमै बस्न हौसला दिई रहेकाे हुनाले यसलाई बिना कुनै अवराेध संचालन हुन दिनुपर्ने मन्चले माग राखेकाे छ । सरकारले यस्ताे समयमा अनलाइन व्यवसायहरुले स्थानीय बजारमा उपभोक्ताहरूको आवागमन न्यून गरिरहेको विषयलाई ध्यान नदिई बन्द गरेकाे उनीहरुकाे आराेप छ। अनलाईन प्रविधि मार्फत काम गरेर घरमा सामान पुर्याउने व्यवसायहरुले आफ्नो वितरण प्रणालीलाई अत्यन्त सुरक्षित राखि वितरण गर्ने क्रममा समेत सबै सावधानी अपनाउँदै कर्मचारीहरूलाई पीपीई सूटको व्यवस्था गरेकाे र डिलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्यक पटक स्यानीटाईज गरिएकाे मन्चले दाबी गरेकाे छ । यस्तै यसमा कारोवार पनि सकेसम्म नगद रहित नै गर्ने प्रयास गरिरहेकाे नेपालको प्रमुख स्थानीय ईकमर्स कम्पनी सस्तो डिलका संस्थापक अमुन थापाले भने । हामीले हाल वितरण गरिरहेको करिव ५० प्रतिशत सामान सरकारी सहुलियतको हो, उनले थपे । त्यस्तै नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष च्याग अग्रवालले यो कठिन समयमा सरकार तथा निजी क्षेत्रले सहकार्य गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । महामारीको समयमा सरकारको प्राथमिकता नागरिकको स्वास्थ्यमा रहने भएकाेले नागरिकलाई सुरक्षित राख्न ई-कमर्स कम्पनीहरूले खेल्न सक्ने भुमिकालाई सरकारले सहयोग गर्नु आवश्यक रहेकाे उनले बताए ।
हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै परिवार, व्यापारिक समुह तथा नजिकका नातेदार प्रमोटर भएका बैंक वित्तीय संस्थाबीच एकापसमा मर्ज गराउने भन्दै आएको छ । यही परिवेशमा पुराना र स्थापित बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको चर्चा चलेको छ । केही समयअघि नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेले विकासन्युजसँगको कुराकानीमा मर्जरका लागि हिमालयन बैंक आफ्नो लागि उपयुक्त भएको बताएका थिए । यस्तै, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जवराले पनि मर्जरमा जानको लागि हिमालयन बैंकका लागि नेपाल इन्भेष्टमेन्ट बैंक उपयुक्त भएको बताएका थिए । राणा र पाँडे परिवारबीच ज्वाइ चेलाको नाता सम्बन्ध पनि छ । राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंक वित्तीय संस्थालाई मर्ज गराउन पहल गरिरहेको र पारिवारिक सम्बन्ध भएका दुबै बैंकका उच्च र निर्णायक अधिकार भएका व्यक्तित्वले सोही अनुसारको संकेत गर्नुले पनि यी दुबै बैंकबीच मर्ज हुन लागेको हो कि भन्ने संकेत मिल्छ । हिमालयन बैंकले मर्जरका लागि संचालक समिति सदस्यको संयोजकत्वमा शक्तिशाली कमिति गठन गर्नुले पनि मर्जरको लागि निकै पहल भएको अनुमान गर्न सकिन्छ । अहिले चलेका चर्चा अनुसार नै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर भएमा कस्तो बैंक बन्ला त भन्ने सन्दर्भमा यी दुबै बैंकका केही महत्वपूर्ण परिसुचक राखेर केही व्याख्या गर्ने प्रयास यहाँ गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंक तत्कालिन नेपाल इन्डोस्योज बैंक नेपाली प्रवद्र्धक (विशेष गरेर पृथ्वीवहादुर पाँडे र उनको समुह) ले किनेपछि सन् २००२ मा नेपाल इन्भेष्टमेन्ट बैंक बनेको हो । सन् १९८६ मा स्थापना भएको तत्कालिन इन्डोस्योज बैंकमा फ्रान्सको स्थापित बैंकको ५० प्रतिशत सेयर लगानी थियो । इन्भेष्टमेन्ट बैंकमा प्रमोटरको ६९ प्रतिशत सेयर लगानी छ भने सर्वसाधारण लगानीकर्ताको ३१ प्रतिशत सेयर छ । इन्भेष्टमेन्ट बैंकले २००१ देखि ५ पटक बैंक अफ दि एयर अवार्ड प्राप्त गरेको छ । बैंकको वेबसाइटमा उल्लेख भएअनुसार उसको अहिले ८२ वटा शाखा, १७ वटा एक्सटेन्सन काउन्टर र १० वटा राजस्व संकलन केन्द्र तथा १ सय ७ वटा एटिएम बुथ संचालनमा छन् । बैंकको संचालक समिति अध्यक्षमा स्थापित बैंकर पृथ्वीबहादुर पाँडे छन् । संचालकहरुमा प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, कविकुमार टिब्रेवाल तथा सर्वसाधारण सेयरधनीको तर्फबाट निरञ्जनलाल श्रेष्ठ र भुवनेश्वर प्रसाद शाह र स्वतन्त्र संचालकको रुपमा मन्जु बस्नेत छन् । बैंकको व्यवस्थापकीय टीमको नेतृत्व अनुभवी बैंकर ज्योति प्रकाश पाण्डेले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् । यस्तै, डिजिएमहरु विजेन्द्र सुवालले एक्जुकेटिभ अपरेसन अफिसर र रविन सिजापतिले एक्जुकेटिभ क्रेडिट अफिसरको जिम्मेवारी वहन गरिरहेका छन् । बैंकले दिएको जानकारी अनुसार एजीएमहरु दीपक श्रेष्ठले कानुन, सचिन टिब्रेवालले एकाउन्ट र सुजाता जोशीले जोखिम व्यवस्थापन प्रमुखको रुपमा व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका छन् । इन्भेष्टमेन्ट बैंकमा सेयरधनीको सम्पत्ति गत असार मसान्तसम्ममा २७ अर्ब ३२ करोड रुपैयाँ छ भने गत असार मसान्तसम्ममा बैंकले १ खर्ब ३५ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । यस्तै, बैंकले सो अवधिसम्ममा १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । हिमालयन बैंक हिमालयन बैंक सन् १९९३ मा पाकिस्तानको हविब बैंक अफ पाकिस्तानको संयुक्त लगानीमा स्थापना भएको बैंक हो । नेपालमा सबैभन्दा पहिला एटिएम मेसिन संचालन गर्ने बैंकको रुपमा पनि हिमालयन बैंकले इतिहास बनाएको छ । सो बैंक स्थापनादेखि संचालन गर्नसम्म नेपालका प्रथम गभर्नर हिमालय शमशेर राणाको उल्लेख्य भूमिका छ । बैंकको संचालक समितिमा ९ जना छन् । संचालक समितिको अध्यक्षको जिम्मेवारी तुलसी प्रसाद गौतमले संहालिरहेका छन् । उनी कर्मचारी संचयकोषको तर्फबाट बैंकमा संचालक बनेका हुन् । यस्तै, हविब बैंक अफ पाकिस्तानको तर्फबाट फैसल ललानी संचालक छन् । अन्य संचालकहरुमा प्रचण्ड बहादुर श्रेष्ठ, सुनिल बहादुर थापा, आशिष शर्मा र विजय बहादुर श्रेष्ठ छन् । राधाकृष्ण पोते स्वतन्त्र संचालकको जिम्मेवारीमा छन् भने विपिन हाडा कम्पनी सचिव छन् । बैंकका संस्थापक अध्यक्ष हिमालय शमशेर राणा संचालक समितिमा संचालक समितिको प्रमुख सल्लाहकार छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अशोक शमशेर राणाले संहालिरहेका छन् । यस्तै, सिनियर एजुकेटिभमा महेश्वर जोशी, अनुप मास्के, सुशिल जोशी, इजाज क्वादिर गिल, उज्जल राजभण्डारी र रविन्द्र नारायण प्रधान छन् । हिमालयन बैंकका काठमाडौं उपत्यकामा १८ र उपत्यका बाहिर ४७ गरी ६५ वटा शाखा छन् । यस्तै, काठमाडौं उपत्यकामा ४३ र उपत्यका बाहिर २९ गरी ७२ वटा एटिएम बुथ संचालनमा छन् । हिमालयन बैंकले गत असार मसान्तसम्ममा १ खर्ब १ अर्ब ६५ करोड ३३ लाख रुपेयाँ कर्जा तथा लगानी गरेको छ । सो अवधिसम्ममा बैंकसँग सर्वसाधारणको १ खर्ब २५ अर्ब २६ करोड ४३ लाख रुपैयाँ निक्षेप छ भने बैंकमा सेयरधनीको सम्पत्ति १७ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ छ । सम्बन्धित सामग्र हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक एनआइसी एसिया र एनएमबीबीच मर्ज भए कस्तो बैंक बन्ला ?