विकासन्युज

बिरामीले उपचार नपाएपछि प्रशासनले अस्पतालमा थाल्याे अनुगमन

चितवन । जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आएसँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले दिँदै आएको सेवा, कोरोना सङ्क्रमितको अवस्था, सङ्क्रमितका लागि छुट्याईएको बेड लगायतका विषयमा अनुगमन गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको नेतृत्वमा भरतपुर क्षेत्रका ६ निजी अस्पतालको अनुगमन गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार दुईवटा मेडिकल कलेज, मनकामना अस्पताल, नारायणी सामुदायिक हस्पिटल, सिटी अस्पताल लगायतमा अनुगमन गरेको हो । शर्माले अस्पतालमा आएका बिरामीले उपचार नपाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको बताए । अनुगमन नियमित रुपमा प्रत्यक्ष र अप्रत्यक्ष गरिने बताइएको छ । केही दिन अघि जिल्लाका निजी अस्पतालले बिरामी भर्ना नलिएपछि भरतपुर अस्पतालमा पुगेको केही समयमा तीन जनाको एकै दिन मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको समयमा अस्पतालले बिरामीलाई उपचार नगर्नु भनेको जिम्मेवारीबाट पन्छिनु भएकाले त्यस्तो हुन नदिनका लागि अनुगमन गरिएको उनको भनाई थियो । रासस

निषेधाज्ञाको नयाँ मोडालिटी यस्तो बन्योः के-के खुले ? के बन्द रहन्छन् ?

काठमाडाैं । कोरोना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निर्णय गरेको हो। यसको औपचारिक सूचना तीनै जिल्लाका प्रजिअबाट जारी भएको छ। के खुल्छन् के बन्द रहन्छन् ? 

काठमाडौंमा २४ गतेसम्म निषेधाज्ञा रहने, कस्ताे बन्याे नयाँ माेडालिटी ?

काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा हुने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । गृह मन्त्रायलसँग छलफल गरेपछि उनीहरुले निषेधाज्ञा एक हप्ता थपेका हुन् । अब काठमाडाैंमा २४ गतेसम्म निषेधाज्ञा नै रहनेछ । निषेधाज्ञामा होटल, रेष्टुरेन्ट, फुटपाथ पसल  बन्द हुनेछन् भने बैंक लगायतका सेवाहरु भने खुला नै रहेन छन् । निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाइएकाे छ । अत्यावश्यक वस्तुका पसल बिहान ११ बजे खुलाउन पाइने  निषेधाज्ञामा अब अत्यावश्यक वस्तुका पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ । यसअघि सवा ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । अब खाद्य वस्तु, माछा मासु, पानी, फलफुल तरकारी, डेरी लगायतका पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उद्योग कलकारखाना पनि खोल्न पाउने काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञामा अब उद्योग कलकारखाना पनि खोल्न पाउने निर्णय गरेका छन् ।  उद्योग कलाकार खानामा काम गर्ने कर्मचारी, कामदारहरुका लागि सम्बन्धित उद्योगले नै परिसर भित्र क्वारेन्टाइन बनाउनु पर्ने भएको छ भने उनीहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरेर काम गर्नु पर्ने बताइएको छ । यस्तै त्यसको अनुगमन भने जिल्ला कोभिड व्यवस्थापन केन्द्रले गर्नुपर्ने उल्लेख गरेको छ । यस्तै निषेधाज्ञामा विकास निर्माण सम्बन्धि पसल व्यवसायमा प्रयोग हुने सवारी साधन पनि दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने बताइएको छ । [pdf id=235298]

अर्थतन्त्रलाई जोगाउनका लागि पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्छ- व्यवसायी

काठमाडौं । निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवस्यकता रहेको बताएका हुन् । सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा कोभिड १९ संक्रमण रोकथामका लागि व्यवस्थापन पक्षमा राम्रो काम गर्न नसक्दा मानिसको जीवन र देशको अर्थतन्त्र दुवै जोखिममा परेको व्यवसायीहरुको भनाई छ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड रोकथामका लागि निषेधाज्ञा गरिएपनि सरकारले कुनै व्यवस्थापन नगरेकाले लामो समय यस्तै प्रकारको निषेधाज्ञा आवश्यक नरहेको बताए । अर्थतन्त्रका लागि निषेधाज्ञा स्वीकार योग्य नहुने भएपनि मानिसको जीवन रक्षाका लागि मात्रै निषेधाज्ञा स्वीकार गरिएको उनले बताए । पछिल्लो समय रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित देखिएको भन्दै उपाध्यक्ष अग्रवालले जीवन रक्षाका लागि भएपनि अर्थतन्त्रलाई सूचारु गर्नुपर्ने बताए । उनले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी देशको सीमा नाकामा कडाई गर्नुपर्ने, अन्तर जिल्ला आवागमनमा रोक लगाउनुपर्ने र संक्रमणका मापदण्डलाई कडाईकासाथ पालना गर्नुपर्नेमा जोड दिए । संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुको विकल्प नरहेको पनि अग्रवालले बताए । उनले संक्रमणको अवस्थालाई नियन्त्रण गर्ने र अर्थतन्त्रलाई सूचारु गर्ने विषयमा समानान्तर व्यवस्थापन गर्नुपर्ने बताए । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन बाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायीहरु मारमा परेको बताए । सरकारले लकडाउन गर्दै गर्दा अल्पकालिन वा दिर्घकालिन विकल्प प्रस्तुत गर्न नसकेको समेत उनले बताए । लकडाउनलाई नै विकल्प बनाउँदा व्यवसायी र नागरिकहरु त्रसित बनेकोले लामो समय यस्तै अवस्था रहे जीवन रक्षाका लागि विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने बताए । लकडाउनका कारण सिर्जित समस्या समाधानका लागि सरकारले अल्पकालिन र दिर्घकालिन विकल्प दिनुपर्ने उनले बताए । सरकारले निषेधाज्ञालाई खुकुलो बनाए सबै व्यवसायीहरु सचेत बनेर व्यवसाय सञ्चालन गर्ने पनि कटुवालले बताए । नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्यले बजारका सबै गतिविधि ठप्प हुँदा व्यसायीहरु विस्थापित हुनुपर्ने स्थितिमा पुगेको बताएका छन् । निषेधाज्ञालाई खुकुलो बनाए संक्रमण फैलने र खुकुलो नबनाए व्यवसायीहरु विस्थापित हुने भएकाले दुवै पक्षलाई समानान्तर रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुनै सबैभन्दा उत्तम विकल्प हुने बज्राचार्यले बताए । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन अथवा निषेधाज्ञाको स्थिति लामो समय रहे देशको कुल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आउन सक्ने देखिन्छ । पछिल्लो समय लामोसमय लकडाउन गर्ने अधिकांश मुलुकहरुको अर्थतन्त्रमा ठूलो क्षति भएको देखिन्छ । पछिल्लो तथ्याङ्क अनुसार भारतको कुल गार्हस्थ उत्पादनमा २४ प्रतिशत गिरावट आइसकेको छ । त्यस्तै अन्य मूलुकको आर्थिक वृद्धिदर पनि नकारात्मक असर परेको देखिन्छ । कोभिड रोकथाममा राम्रो व्यवस्थापन गर्न सफल चिनमा भने आर्थिक वृद्धिदर ३ प्रतिशत भन्दा माथि देखिएको छ । भारतको कुल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आएपछि नेपालको अर्थतन्त्रमा पनि त्यसको असर पर्न सक्ने देखिन्छ । त्यसैले अर्थतन्त्रलाई जोगाउनका लागि पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरी नयाँ रणनीतिका साथ कोभिड नियन्त्रणका लागि काम गर्नुपर्ने सुझाव व्यवसायीहरुको छ ।

काेराेना संक्रमित चिकित्सकलाई बेड, आइसियु र भेन्टिलेटर उपलब्ध गराइने

काठमाडौं । कोभिड-१९ बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको छ। एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकले संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति गरेको हो । यसका साथै बैठकले अस्पतालहरुमा भिडभाड कम गर्न ओपिडी, विरामी, विरामीका आफन्त र हेल्थ्य केयर वर्करहरुका सम्बन्धि प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ । बैठकमा कोभिड १९ को विषयलाई लिएर तलवभत्ता माग गर्दे उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरुको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरुलाई काममा फर्काउन एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिए । वीरगन्जको एक निजी अस्पतालमा तलव भत्ताको विषय उठान गरेर चिकित्सकहरु उपचार प्रक्रियामा सहभागी भएका थिएनन् ।

महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता, ग्राहकले घरमै स्वास्थ्य सेवा पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रा. लिसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक/सेयरधनीहरुले डाक्टर अन कल मार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३० प्रतिशत, फिजियोथेरापीमा अधिकतम ३० प्रतिशत, नर्स केयर सेवामा अधिकतम २० प्रतिशत, ल्याव टेष्टमा अधिकतम २० प्रतिशत, डाईटिसियन सेवामा अधिकतम ३० प्रतिशत, ड्रेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिशत, साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । हाल एक सय २ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

उपत्यकामा बुधबार ३८८ जना काेराेना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ८८ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३५०, ललितपुरको २९ र भक्तपुरको ९ जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ५ हजार २ सय ६५, ललिपुरमा ७ सय ७२ र भक्तपुरमा ५ सय ५६ जना पुगेकाे छ । आज देशभर ११ सय २० संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

नेपालभर बुधबार थप ११ सय २० जना काेराेना संक्रमित थपिए, १२ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय २० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६ सय ४९ जना पुगेको छ । हाल क्वारेन्टिनमा ६ हजार ७ सय ६६ जना रहेका छन् भने आजसम्म ७ लाख १८ हजार ३ सय ४९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै बुधबार ११ सय १२ जना निकाे भएसँगैं  हालसम्म २३ हजार २ सय ९० जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १२ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २५१ पुगेकाे छ ।