लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त
काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसँग अनलाइनबाट सपथग्रहण लिएका छन् । नेपाल २०७५ फागुनदेखि साेही बैंकको सञ्चालक समितिका सदस्य रहेका थिए । हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् । नागरिक लगानी काेष लक्ष्मी बैंककाे प्रवर्धक सेयरधनी हाे । काेषकाे लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेकाे छ । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका स्थायी घर भएका अध्यक्ष नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन् । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ ।
कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी
अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको दुई वर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यही भेडीगोठ सम्हालेर बस्नुभएको छ । धवलागिरि आधार शिविर नजिकै पर्ने रुवाचौरको यही आकर्षक फाँटमा छ छन्त्यालको भेडीगोठ । करिब दुईदशक लामो वैदेशिक रोजगारिलाई त्यागेर स्वदेश फर्किएका छन्त्यालले शहरको सुखसयललाई त्यागेर आफ्ना पुर्खाले पसिना बगाएको थलोमा फर्किएका थिए । जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कबाङमा जन्मिएका छन्त्यालको परिवारको बसोबास पोखरामा रहे पनि वैदेशिक रोजगारी त्यागेर फर्किएका उहाँले आफ्ना पुर्खाहरुले जीवन विताएको जङ्गल र भिरपाखाहरुको परम्परागत गोठ नै पछ्याउँदै छन् । धवलागिरि गाउँपालिका-५ र रघुगङ्गा गाउँपालिका-८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा भेडीगोठ राखेका छन्त्याललाई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले छोएको छैन । शहरी क्षेत्रमा कोरोना नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कनसमेत हम्मेहम्मे पर्ने गरे पनि बस्तीदेखि घण्टौँ टाढाको दूरीमा गोठ राखेका उनको दैनिकीलाई महामारीको प्रभावले छोएको छैन । बिहान उठेपछि भेडाबाख्राको सङ्ख्या बुझ्ने, दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने उहाँको नियमित दैनिकी हो । लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनः गोठमै फर्कनेबाहेकको अर्को केही हुँदैन उहाँको दैनिकी । विकासको तीव्र गतिमा अघि बढेको सिङ्गापुर र मलेसियामा करिब दुईदशक लामो समय बिताएका ४० वर्षीय छन्त्यालले अहिले दुर्गम र अति विकट क्षेत्रमा गोठको दैनिकीमा आफूलाई घुलमिल गराइसकेका छन् । न फोन, न इन्टरनेट नत रेडियोको नै पहुँच छ । अनकन्टार घनघोर जङ्गल र पहाडहरुमा उहाँले कठिन तर आफ्नै रहरको दैनिकी बिताइ रहेका छन् । “वर्षात्, हिमपात, केही भन्न पाइँदैन, गोठालो दैनिकी चलिरहेकै छ, कठिन त अवश्य छ, तर यहाँको प्राकृतिक भू-बनोट, सुन्दर प्रकृति र भेडाबाख्रासँगको दैनिकीले सबै दुःख बिर्साइदिने रहेछ”, छन्त्यालले अनुभव सुनाए । एक/दुई महिनामा गोठको खर्च लिन गाउँ झरेपछि मात्रै बुझ्नुहुन्छ उहाँकाले विश्वको गतिविधि । अनि फेरि शुरु हुन्छ आफ्नै दुनियाँ । यो क्रम विगत दुई वर्षदेखि चलिरहेकै छ । विदेशमा आर्जन गरेको रकमसहित ऋणसमेत गरेर दुई वर्षअघि करिब ५० लाख लगानी गरेर भेडापालन शुरु गरेका छन्त्यालको गोठमा अहिले झण्डै ५०० भन्दाबढी भेडाबाख्रा रहेका छन् । आफूबाहेक दुई जना हेरालु राखेका छन्त्यालले आफ्नो पुर्खाहरुले अंगालेको तर पछिल्लो पुस्ताले बिर्सदै गएको भेडापालन पेशालाई अवसर र चुनौती दुवैरुपमा लिएको बताउछन् । “हिजो हाम्रा पुर्खाले यहीँ पसिना बगाए, कतिको यस्तै गोठमै जीवन बित्यो, तर आज यो पेशा नै सङ्कटमा पर्दै गएको छ, यसलाई नयाँ पुस्ताले अंगाल्न नसक्ने हो भने हाम्रो भेडापालन पेशा नै हराएर जान्छ”, उनले भने । धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यस पेशालाई अंगालेको छन्त्याल बताउछन् । पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठहरु विस्तारै घट्दै गएको, युवाहरुको आकर्षण नबढेको र पुराना गोठहरु पनि बिक्री गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उनको भनाई छ । यस क्षेत्रमा अहिले करिब आठ वटा भेडीगोठ छन । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोला लगायतका व्यक्तिहरुको च्यामली चौर, आधार शिविर, ऋरु, चौराबन, नयाँवन, रिखार र ताङ्गे, भाङ्गे फाँट क्षेत्रमा भेडीगोठ रहेका छन् । धवलागिरिको मुदी र गुर्जामा समेत व्यावसायिक भेडापालन हुदै आएको छ । वेँसीदेखि धवलागिरिका आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । तर यसपटक भने केही गोठहरु आधार शिविर पुगेपछि बीच बाटोमा भिषण पहिरो खसेकाले केही गोठहरु आधार शिविरदेखि तल नै रोकिएको भेडीगोठका हेरालु कालु विकले बताए । भेडीगोठको सुरक्षामा कुकुर हरेक गोठमा कम्तीमा दुई वटा कुकुर छन् । भेडीगोठका हेरालुका लागि कुकुर नै सारथी हुन् । जङ्गल र पाखा पखेरमा गोठ रहने भएकाले जङ्गली जनावरबाट भेडाबाख्रा र गोठकोसमेत सुरक्षाको प्रमुख जिम्मेवारी कुकुरकै रहने गर्छ । भेडीगोठमा ‘भोटे’ जातको कुकुरलाई विशेष महत्व दिएर पाल्ने गरिन्छ । आवाज ठूलो हुने, जङ्गली जनावरसँगसमेत नडराउने भएकाले भेडीगोठका लागि भोटे कुुकुर पहिलो रोजाइमा पर्छ । गोठमा कुकुरलाई स्याहारसुसार र आहारमा समेत बढी ध्यान दिनुपर्ने गोठालालाई थप जिम्मेवारी हुन आउँछ । गोठदेखि चरन क्षेत्रसम्म कुकुरले नै भेडाबाख्रालाई पछ्याएर जाने गर्छन् भने बेलुकी आफ्नै गोठमा फर्किएर सुरक्षा दिने कुकुरमा थप रोचक विशेषता रहेको हुन्छ । गोठमै पुग्छन् व्यापारी परम्परागतरुपमा भेडाबाख्रापालन गर्दै आएका गोठमा हिजोआज व्यापारी खरिदका लागि गोठमै पुग्ने गर्छन् । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा भेडाबाख्रा बिक्री हुने भए पनि अन्य मौसममा समेत व्यापारी गोठमै आउने भएकाले उत्पादन भएका भेडाबाख्राको बजारीकरणमा समस्या नरहेको छन्त्यालको भनाइ छ । वार्षिकरुपमा २०० को हाराहारीमा भेडाबाख्रा बिक्री हुने उहाँको भनाइ छ । भेडीगोठको अत्यासलाग्दो दैनिकीलाई सम्हालेका छन्त्यालले भेडीगोठमै व्यापारी आउने भएकाले यस पेशाप्रति थप हौसला थपिएको सुनाए । जङ्गली जनावर र विषाक्त घाँसको जोखिम भेडाबाख्रापालन गरेका कृषकका लागि हिंस्रक जङ्गली जनावरको आक्रमण र जङ्गलको चरन क्षेत्रमा हुने विषाक्त घाँस प्रमुख समस्याका रुपमा रहेको छ । गोठ र चरन क्षेत्रमा हेरालु र कुकुरको नजर छेक्दै चितुवा, स्याललगायतका जनावरले हरेक वर्ष भेडाबाख्रा मारिदिन्छन् । वर्षेनी पर्ने चट्याङ र चरन क्षेत्रमा हुने विषाक्त घाँस अर्को समस्याका रुपमा रहेको छन्त्यालको भनाइ छ । उहाँका अनुसार, जङ्गली जनावरको आक्रमण, चट्याङ लागेर र विषाक्त घाँस खाएर वर्षेनी दर्जनौँ भेडाबाख्राको नोक्सानी व्यहोर्नु परेको छ । बस्तीदेखि टाढा र उपचारको पहुँच नहुने भएकाले भेडाबाख्रालाई रोग लागेको समयमा उपचारमा समेत समस्या हुने गरेको छ । भेडाबाख्रापालनलाई प्रोत्साहन गर्न माग म्याग्दीको धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिक भेडापालन हुँदै आएको छ । परम्परागतरुपमा घुम्ती गोठ राखेर हुँदै आएको भेडापालनलाई थप व्यावसायिक र निरन्तरता दिनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार मातहतबाट प्रोत्साहन गर्नुपर्ने कृषकको माग छ । पुराना गोठ सञ्चालन गरेका कृषकले यस पेशाबाट हात झिक्दै गएका छन् । विकास र सञ्चारका कारण पछिल्लो समय ग्रामीण बस्तीमा समेत सुविधा भित्रिरहँदा गाउँसम्मै शहरी जीवनशैलीको मोह बढेको, युवाको आकर्षण नभएकाले भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको पुराना भेडापालक कृषक धवलागिरि गाउँपालिका-४ खिबाङका खिमदल पुन बताउनुहुन्छ । म्याग्दीमा स्थानीय तहहरुले भेडापालनलाई नै प्रवद्र्धन गर्ने विशेष कार्यक्रम कार्यान्वयनमा ल्याउन सकेका छैनन् । म्याग्दी जिल्लामा अहिले करिब ५० जनाले व्यावसायिकरुपमा भेडापालन गर्दै आएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका प्रमुख नारायण कुुसुमका अनुसार जिल्लामा करिब २० हजार जति भेडा पालिएको छ । भेडापालनलाई प्रवद्र्धन गर्न कार्यालयले घुम्ती गोठ सुधार कार्यक्रम, पशु बीमा, मोडल फार्म अनुदानलगायतका कार्यक्रमलाई कार्यान्वयन गर्न लागिएको केन्द्रका प्रमुख कुसुमले जानकारी दिए ।
नछोएरै एटीएमबाट पैसा निकाल्ने सिस्टमको अध्ययन गर्दै नेप्स
काठमाडाैं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) एटीएममा नछोएरै पैसा निकाल्न सक्ने प्रणालीको अध्धयनमा लागेको छ । नेप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जिव सुब्बाले एटीएममा नछोएरै पैसा कसरी निकाल्न सकिन्छ भन्ने कुराको अध्ययनमा आफुहरु लागेका बताएका छन् । आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बैकिङ र सुचना प्रविधि’ विषयक अन्तकृया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले यसको चाँडै नै सुखद समाचार सबैमा लिएर आउने बताएका छन् । पछिल्लो समय डिजिटल भुक्तानीमा नागरिकको ध्यान पनि बढ्दै गएकाले सबैले डिजिटल भुक्तानीमा ध्यान दिनु पर्ने उनको भनाई छ । डिजिटल भुक्तानीमा सम्भावना सँसँगै उतिकै चुनौतीहरु पनि भएकोले व्यक्ती तथा संस्थाले यसमा लगानी बढाउनु पर्ने उनले धारणा राखे । उनले प्रविधिको विकाससँगै विस्तारै यसको लिने शुल्क पनि घटाउँदै जानु पर्ने बताए ।
थप १५ दिन कर्फ्यु लगाउन उपत्यका नगरपालिका मेयर फोरमको सुझाव
फाइल फाेटाे काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए । फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए । उनले अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यु नै उत्तम विकल्प भएको बताए । कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए । त्यसका लागि आफु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए । उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरात देखि सकिदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।
डिजिटल भुक्तानीलाई यसरी प्रोत्साहन गर्न सकिन्छ- सीईओ सञ्जिव सुब्बाको विचार
नेपाल पनि पछिल्लो समय डिजिटल भुक्तानी र सूचना प्रविधिमा फड्को मार्दै गएको छ । देशमा डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा यसको विस्तारमा बैंकिङ क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुन्छ । नेपाली बैंकिङ क्षेत्रले छोटो समयमै डिजिटल भुक्तानीको बजार विस्तारलाई आक्रामक तरिकाले बढाइरहेका छ । जुन हामी सबैका लागि राम्रो पक्ष हो । अहिले २१औं शताब्दिमा आएर हेर्दा हरेक व्यक्तिको जीवनमा सूचना प्रविधि र डिजिटल भुक्तानी अनिवार्यका रुपमा स्थापित भइसकेको छ । गृहिणीदेखि हरेक व्यक्ति तथा संस्थालाई अहिले डिजिटल भुक्तानी अनिवार्य भइसकेको छ । हरेक संघ संस्थादेखि नियामक निकायले समेत डिजिटल भुक्तानीलाई बढी प्राथमिकता दिएर काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले पनि विगत केही वर्षदेखि भुक्तानी प्रणाली विभाग नै बनाएर काम गरिरहेकाे छ । राष्ट्र बैंकले नै अहिले डिजिटल भुक्तानीलाई बढी प्राथमिकताका साथ हेरिरहेको छ । विगतका वर्षहरुमा पनि केही इन्टरभेसन पनि भइसकेका छन् । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले त हामीलाई डिजिटल भुक्तानी प्रयोग गर्न अनिवार्य गरेको छ । नेपाली बैंक तथा वित्तीय संस्थाहरुले पनि अहिले मोबाइल बैंकिङ, अनलाइन बैंकिङ लगायतका डिजिटल वालेटहरु मार्फत काम गरिरहेका छन् । जसले बैंकका ग्राहकलाई घरमै बसेर बैंकिङ कारोबार तथा अनलाइन पेमेन्ट गर्न उत्प्रेरित र सहज बनाइरहेको छ । हामीले अझै पनि धेरै कामहरु गर्न बाँकी नै छ । अझ यसलाई द्रुत गतिमा विकास तथा विस्तार गर्न आवश्यक छ । नेश्नल पेमेन्ट गेटवेका कुराहरु छन् । यी विभिन्न डिजिटल माध्यमबाट हुने पेमेन्ट तथा कारोबारलाई सहज बनाउन उचित र आवश्यक सूचना प्रविधिको प्रयोग गरी नागरिकसम्म पुर्याउन सक्नु आजको आवश्यकता हो । सूचना प्रविधि र भुक्तानी प्रणालीमा डिजिटल डिभाइड हुनु हुँदैन । भुक्तानी प्रणालीमा भौगाेलिकता र क्षेत्रियता हुनु हुँदैन । एउटा दुर दराजमा बसेको मानिसले पनि भुक्तानी प्रणाली मार्फत कारोबार तथा आफ्नो काम गर्न सक्ने गर्ने सूचना प्रविधिको विकास तथा विस्तार गर्न हामीले सक्नु पर्छ । सबैलाई सहज र सरल किसिमले काम गर्न सकिने किसिमको सूचना प्रविधिको विकास गरेर यसको पहुँच सर्वसाधारणसम्म पुर्याउन आवश्यक छ । प्रविधि विलासिताको कुरा होइन । सबैले सहज रुपमा प्रयोग गर्न पाउनु पर्छ । यसको अवधारणा नै यही हो । सबैले आ-आफ्नै किसिमले प्रयोग गर्न सक्नु पर्छ । अहिले महामारीको समयमा भुक्तानी प्रणालीमा एक किसिमको ट्रेण्ड बसेको छ । अनलाइन कारोबार गर्ने, इकमर्स अर्थात अनलाइन पेमेन्ट गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । साउथ एसियामा अहिले बढी जसो मानिसहरु ईकमर्समै निर्भर छन् । हामीले पनि क्यास पेमेण्ट एण्ड डेलिभरीको सिस्टमलाई अपना्एर अगाडि बढ्न सक्छौं । यसका लागि हामी हरेक पक्ष तथा तवरबाट तयारी रहनु पर्छ । स–साना पसलहरुमा पनि ईकमर्सको सिस्टम हामीले राख्न जरुरी छ । यसका लागि हामीले लगानी गर्न तयार हुनु पर्छ । हामीले जति लगानी डिजिटल भुक्तानी सिस्टमका लागि गर्छौं त्यो भन्दा पनि बढी लगानी यसको पूर्वाधार, जनशक्ति र सुरक्षामा गर्न आवश्यक हुन्छ । तव मात्र हामी सहज र सरल किसिमले डिजिटल भुक्तानी प्रणालीमा अव्वल हुँदै जान्छौं । जसरी हामी अहिले मोबाइल चलाउँछौं त्यसरी नै भुक्तानी प्रणालीलाई प्रयोग गर्न सक्यो भने अवश्य पनि हामी सूचना प्रविधिमा आफ्नो रफ्तार कायम गर्न सक्छौं । जति छिटो पमेन्ट गर्न सक्छौं त्यति धेरै नै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । भुक्तानी प्रणालीको प्रोत्साहन र सूचना प्रविधिको विकास तथा विस्तार गर्नको लागि अर्को महत्वपूर्ण कुरा भनेको वातावरण हो । हामी भुक्तानीमा सानो देश होइनौं । हाम्रो देशमा यति धेरै क्रस बर्डर पेमेण्ट भइरहेको छ । यसमा हामीले उचित र सरल प्रविधि प्रयोग गरेर अगाडि बढ्यो भने हामी र हाम्रो देशको अर्थतन्त्रका लागि धेरै नै फाइदा हुन्छ । चुनौती के छ ? डिजिटल कारोबार तथा अनलाइन कारोबारमा धेरै सम्भावनाहरु छन् । ती सम्भावना हुँदा हुँदै पनि चुनौतीहरु पनि उतिकै धेरै छन् । सर्वप्रथम त हामीसँग प्रविधि धेरै महँगो छ । हामीले सूचना प्रविधिमा गर्नु पर्ने वार्षिक लगानी अर्थात मेन्टेनेन्स धेरै हुन जान्छ । लगानीको कमिका कारण डिजिटल भुक्तानीमा प्रोत्साहन नभएको होकि भन्ने पनि बुझ्न सकिन्छ । बैंकको साइज र मोडालिटीका कारण लगानीमा कमि पनि आएको हुन सक्छ । तर, अब एउटा व्यत्ति तथा संस्था मात्र नभएर नियामक निकायले नै यसमा बजेट छुट्याउन सक्यो भने झन बढी प्रभावकारी हुन जान्छ । धेरै देशमा पनि यही अभ्यास छ । तर, अहिलेको अवस्थामा नेपालमा त्यो आवश्यक छ कि छैन भनेर पनि हामीले अध्ययन गर्न आवश्यक छ । अहिलेको अर्को चुनौती भनेको कागजातको हो । कानुनी मान्यता राख्ने कागजातहरु कसरी डिजिटलाइजेन गर्न सकिन्छ भन्ने पनि हुन सक्छ । तर, त्यसका लागि कानुनी रुपमा नै मान्यता दिएर काम गर्न सकिन्छ । हामीले प्रविधिमा जानै पर्छ । भुक्तानी प्रणालीलाई प्रविधिले नै जोड्ने हो । अहिलेको मुख्य समस्या र चुनौती भनेको साइबर सुरक्षाको विषय पनि हो । साइबर सेक्युरिटीको चु्नौती हुँदाहुँदै पनि हामीले प्रविधिको प्रयोग गर्नै पर्छ । साइबर सुरक्षाका लागि साइबर सुरक्षा पोलिसी निर्माण गर्न आवश्यक छ । साइबर अपरेसन डाटासँग सम्बन्धि संस्थाहरु साइबर सेक्युरीटीको मामिलामा अगाडि आउनु पर्छ । यसमा हामीले अझै उदार हुनु पर्छ । बजेट र इनोभेसनमा बढी लगानी गर्नु पर्छ । सुरक्षाको विषयलाई लिएर अध्ययन अनुसन्धानलाई हामीले प्रभावकारी ढंगले काम गर्न आवश्यक छ । अर्को मुख्य कुरा भनेको सहकार्य हो । सूचना प्रविधि सहकार्य बिना असम्भव छ । हामीले सहकार्य नै गरेर साइबर सेक्युरिटीलाई बढाउन सक्छौं । क्यासलेस ट्रान्जेक्सनमा एटीएममा नछोइकन कसरी क्यास निकाल्न सकिन्छ भन्ने प्रयास पनि हामी गर्न सक्छौं । (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेडका सीईओ संजिव सुब्बाले सेजनले गरेको कार्यक्रममा राखेको बिचार)
लक्ष्मी इक्विटी फण्डको भदौ २३ गते बुक क्लोज, नगद लाभांश वितरण गर्ने
काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डको आगामी भदौ २३ गते बुक क्लोज हुने भएको छ । फण्डले नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । फण्डले आर्थिक वर्ष २०७६/७७को लागि योजना इकाईधनीहरुलाई कर ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित रहेको छ ।
निषेधाज्ञाले सिकायो पाठः घरघरमा करेसाबारी र कौसीखेती
काठमाडौं । कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो पत्तो छैन । यतिबेला कृषि कर्मबाहेकका सबै रोजगारी र व्यवसायका ढोका बन्द अवस्थामा छन् । खेतीयोग्य जमिन शहरमा ज्यादै कम छ । जमिनमा घर फलेका छन् तर सबै घरमा कौसी र छत छँदैछन् । हरेक कौसीमा तरकारीलगायत घरका लागि उपयोगमा आउने हरेक प्रकारका तरकारी फलाउन घरमै थुनिएका भरतपुरवासी व्यस्त छन् । अन्य काममा जान नपाएपछि करेसाबारीसँगै घर छेउछाउका बाँझा जग्गा खनेर तरकारी रोप्ने उनीहरुको दिनचर्या बनेको छ । भरतपुरको शहरी क्षेत्रमा धान फल्ने फाँटमा घर भरिएका छन् । खेती गर्ने जमिन खासै छैन । कौसी हराभार हुने, आफ्नो घरबारीमा हरियाली देख्न पाइने र आफ्नै बारीको तरकारी टिपेर खान पाइने भएका कारण करेसाबारी र कौसीखेतीमा नागरिकको आकर्षण बढेको हो । भरतपुर-१२ की अनिता आचार्य आफ्नो अफिस नियमित नभएपछि तरकारी लगाउन व्यस्त छन् । आफ्नो जग्गा नभए पनि घर छेउको खाली जमिनमा तरकारी लगाएको उनले बताए । यतिबेला साग, मुला, धनियाँ, खुर्सानीलगायतका तरकारी लगाएको उनले बताए । आफ्नो जग्गा नहुनेले पनि खाली र बाँझो जमिनमा खेती गरिरहेका छन् । भरतपुर-११ की चन्द्रमाया पाण्डेले घरको उत्पादनले आफूलाई खुशी मिलेको बताए । शहरी क्षेत्रमा बालबच्चालाई फल फलेको देखाउनु पनि ठूलो कुरा हुन थालेको उनले बताए । “घरमै तरकारी फलाउँदा आर्थिक बचत भएको छ । बारीमा काम गर्न पाउँदा शरीर स्वस्थ भएको छ”, उनले भने, “चार जनाको परिवारले तरकारीमा दिनको १०० मात्र खर्चिंदा पनि वर्षमा हजारौँ रुपैयाँ खर्च भइरहेको हुन्छ ।” निषेधाज्ञाले बजार बन्द छ । आफ्नै बारीमा उत्पादन भएको ताजा र हरियो तरकारी खान पाइएको भरतपुर–२ का यमकली क्षेत्रीले बताए । “यसअघि दैनिक तरकारी किन्नुपर्ने अवस्था थियो । अहिले त्यो अन्त्य भएको छ । कहिलेकाहीँ मात्र किन्ने गरेको छु”, उनले भने, “पहिले किनेर खाने गरेका थियौँ, अहिले आफैँ घरमा गर्नुपर्छ भन्ने लाग्यो ।” केही वर्षअघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली भएको उनले बताए । आफ्नो टोलका सबैले घरमै तरकारी लगाइरहेको उनले बताए । भरतपुरमा करेसाबारी र कौसीखेतीको अभियान शुरु गरेको प्रदेशसभा सांसद विजय सुवेदीले अभियानले स्थानीयलाई तरकारीमा आत्मनिर्भर बनाएको बताए । उनले थोरै जग्गामा पनि आफूलाई पुग्ने तरकारी सबैले गर्न सक्ने सुझाव दिए । “जग्गा नभएका स्थानीयले पनि कौसीमा तरकारी फलाउन सक्छन् । घर अगाडिको खुला भागमा पनि तरकारीखेती गर्न सकिन्छ”, उनले भने, “आफ्नो निर्वाचन क्षेत्रका नागरिक सबैको घरघरमा तरकारी फलेको देख्ने आफ्नो इच्छा रहेको छ ।” उनले आफैँ पनि घरमा कौसी र करसाबारी खेती गर्दै आउनुभएको छ । “भारतबाट आयातित तरकारीले नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ । परनिर्भरता बढाएको छ”, उनले भने, “त्यसको अन्त्य गर्न करेसाबारी र कौसीखेती प्रभावकारी बन्दै गएको छ ।” यो अभियानलाई निरन्तरता दिनसके एक÷दुई वर्षमा भरतपुरवासीले बाहिरको तरकारी किन्नु नपर्ने उनको भनाइ छ । अहिले भरतपुरका जग्गा खाली देखिँदैन । आफैं तरकारी फलाउने बानीको समेत विकास भइरहेको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले करेसाबारी र कौसीखेतीका लागि कार्यालयले प्रोत्साहन गरिरहेको बताए । उनले भने, “हामीले जैविक मलमा प्रोत्साहन गरिरहेका छौं, यसरी तयार गरिएको मलले तरकारीमा किरा लाग्दैन । जैविक मल आफैँ बनाउन सकिन्छ । यसले मल र विषादीको काम गर्छ”, उनले भने, “यसरी उत्पादन गरेको तरकारी पूर्ण स्वास्थ्यकर हुन्छ ।” करेसाबारी र कौसीखेतीका कारण ताजा र स्वास्थ्यकर तरकारी घरमै उपभोग गर्न पाउने उनले बताए । “कोभिडको महामारीको समयमा यो खेती झन आवश्यक छ”, उनले भने, “घरमै फलाउनसके बजारको भीडभाडमा गइरहनु पर्दैन ।” भरतपुरवासीले घरमै कौसी खेती गर्ने हो भने यसले हरेक घरमा अधिकतम तरकारीको माग पूूरा गर्न सक्छ । यसले घरघरमा विषादीरहित तरकारी उत्पादन, पैसा बचत र वातावरणमा पनि राम्रो असर पुर्याउँछ । कोरोना महामारीमा धेरै जनाले छोएको तरकारी किन्नुपर्ने, भिडभाडमा जानुपर्ने जस्ता कारणले सङ्क्रमणको सम्भावना बढी हुन्छ । आफ्नै तरकारी उत्पादन गर्नसक्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न त सकिन्छ नै स्वस्थ तरकारी खाँदा अन्य रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ । रासस
एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डले तोके बुक क्लोजको मिति
काठमाडौं । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेकाे एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले आगामी भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । यी दुई फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि योजनाको इकाईधनी दर्ता पुस्तिका उक्त एक दिनका लागि बन्द गर्ने निर्णय गरेका हुन् । उक्त निर्णय भदौ १६ गते बसेको एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले गरेको हो । आर्थिक वर्ष २०७६/७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले १० करोड २ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हुन आउने ६ करोड ४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।