विकासन्युज

नारायणगढ –मुग्लिन सडक एकतर्फी खुला

चितवन । नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८ः १० बजे नारायणगढबाट ३१ दशमलव ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो ।

घट्याे सुनको मूल्य, कतिमा हुँदै छ काराेबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेकाे छ । बिहिबार प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । बिहिबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रबार ३ सय रुपैयाँ कम अर्थात ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात बिहिबार १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

आज कुलमान घिसिङ प्राधिकरणको प्रमुखमा पुनः नियुक्त हुने सम्भावना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः विद्युत प्राधिकरणको प्रमुखमा पुनः नियुक्त हुुने सम्भावना बढेकोे छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने सम्भावना बढेकोे हाे । जनमानसबाट उनलाई नै दोहोर्याउन दवाव परिरहेको बेला सरकारले पनि उनलाई नै नियुक्त मनसाय बनाएको हो । उनको भदौ २९ गते ४ वर्षे कार्यकाल सकिँदैछ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् ।

आज सरकारका प्रवक्ता तोकिने

काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको छ । यसअघिका प्रवक्ता डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरएसिँगै आजको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको हो । स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली वा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमध्ये एक जना हुने बुझिएको छ ।

कोरोना सङ्क्रमितका लागि चितवनमा प्लाज्मा बैंक

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको छ । बाँकी ‘ओ’ र अर्को ‘बी’ रक्तसमूहको दुई प्लाज्मालाई तयारी अवस्थामा राखिएको छ । यसअघि दिइएको दुई युनिट प्लाज्मा ‘बी’ समूहको थियो । मानिसको शरीरमा ‘ए’, ‘बी’, ‘ओ’ र ‘एबी’ समूहको रगत चढाइन्छ । पौडेलले चारवटै रक्तसमूहको कम्तीमा पाँच युनिटका दरले प्लाज्मा तयार गरी बैंकको रूपमा राख्न लागिएको जानकारी दिए । यसका लागि केन्द्रले प्रक्रिया अघि बढाइसकेको छ । चितवन र आसपासका जिल्लामा निको भएका सङ्क्रमित खोजी गरी केन्द्रले नै सवारी साधनको व्यवस्था गरेर रक्तसञ्चार केन्द्र ल्याउने भएको छ । उनीहरुलाई केही समस्या भएमा यहीँ उपचार गर्न सकिने भएकाले केन्द्रमै रगत सङ्कलन गर्न लागिएको हो । सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जली अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदैआएको छ । क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्ड र प्लाज्मा थेरापी निर्देशिकामा गरिएको व्यवस्था एक आपसमा बाझिँदा प्लाज्मा तयार गर्ने रक्तदाताहरुको पहिचान कठिन भएको छ । पौडेल प्लाज्मा थेरापीमा स्पष्ट नीति नहुँदा प्लाज्माका लागि रगत सङ्कलनमै समस्या भएको बताउँछन् । क्वारेन्टिन मापदण्डले कोरोना सङ्क्रमितलाई १४ दिनपछि परीक्षण नै नगरी घर पठाउने भनेको भए पनि प्लाज्मा थेरापी निर्देशिकाले सङ्क्रमणमुक्त भएको १४ दिनपछि मात्रै रगत दान गर्नुपर्छ भनी उल्लेख गरेको पौडेलको भनाइ छ । यस्तो अवस्थामा परीक्षण नै नगरी घर गएका सङ्क्रमितहरुको रगत सङ्कलन गर्ने आधार नहुँदा समस्या आएको उनले जानकारी दिए । अहिले प्लाज्माका लागि रक्तदाता खोज्दा नेगेटिभ भई डिस्चार्ज भएको मात्र खोज्नुपर्ने भएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले कोरोना सङ्क्रमितको पहिचानमा केही समस्या देखिएको बताए । “निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो”, उनले भने । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ । अधिकारीले रक्तसञ्चार केन्द्रमा प्लाज्मा जगेडा हुने गरी बैंकको विकास गर्न लागिएको जानकारी दिए । उनका अनुसार जुन अस्पतालका सङ्क्रमितलाई प्लाज्मा दिनुपर्छ त्यतिबेला दिन सहज हुनेगरी व्यवस्थापन गर्न लागिएको छ । केन्द्र र भरतपुर अस्पतालबीच सहकार्य गरेर हरेक समूहको पाँच युनिट प्लाज्मा जगेडा राख्न लागिएको अधिकारीले बताए । जिल्लाका अस्पतालहरुमा देशैभरिबाट बिरामी उपचारका लागि आउने गर्दछन् । रासस

गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ । कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रविाधिक काम निकै चुनौतिपूर्ण रहेको बताए । उनका अनुसार अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन र व्यवस्थापकीय कार्यको सहजीकरणका लागि पटकपटक स्थलगत निरीक्षण र निर्देशन दिँदै आएका छन् । पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीव्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल भइरहेको जानकारी दिएकाे थियो । गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालनयोग्य भएको छ महिनाअघि नै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले छ महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को छ महिना लाग्नेछ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । विमानस्थलको धावनमार्ग, ट्याक्सी वे एवं पप्रोनको सिभिल निर्माणतर्फको कार्य सम्पन्न भई विद्युत्को काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माण सम्पन्न भई उपकरण जडान भइरहेको छ । विमानस्थलको भित्री तारबार र नाला बनाउने काम पनि अन्तिम चरणमा छ । आइसिबी जिरोटू अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडानपूर्व तयार हुनुपर्ने भौतिक संरचना तयार भइरहेको छ । बन्दाबन्दीको अवधिमा विमानस्थलको काम निरन्तर भयो । धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने लिङ्क टयाक्सी वे निर्माण सकियो । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एयर कन्डिसन, रङरोगन, अग्नि नियन्त्रण तथा उपकरण नियन्त्रणका लागि संरचना निर्माण गरियो । चीनमा तयार भएको कन्भेर बेल्ट, धावनमार्ग एवं ट्याक्सी वेको विद्युतीय सामग्री बत्तीलगायत सामग्री आइसकेको छ । हाल उपकरण जडानका लागि ३५ चिनियाँ दक्ष प्राविधिक÷इन्जिनीयर जनशक्ति ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार गरिएको छ । हार्डवेयरजन्य सामग्री सिमेन्ट, डण्डी, मार्वल, टायल्स, आलुमिनियम आपूर्ति भइसकेको छ । बन्दाबन्दीको अवधिमा २९ चिनियाँसहित करिब २७५ जना कामदारले दैनिक कार्य गरेका थिए । विमानस्थलले उक्त अवधिमा करिब ४.५ प्रतिशत प्रगति हासिल गरेको थियो । रासस

आज मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् बैठकका महत्वपूर्ण एजेण्डा

काठमाडौं । आज शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । आजको बैठकमा विभिन्न सार्वजनिक संस्थानमा नियुक्ती, नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीको नियुक्ती र सरकारको प्रवक्ता चयन गर्ने लगायतका एजेण्डाहरु रहेको बताइएको छ । यस्तै, आजको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेविरुद्द अध्यादेश मार्फत कानुन बनाउन स्वीकृती पनि दिन सक्नेछ ।