जग्गा कित्ताकाट शुरु गर्न नमानेको विराेधमा विराटनगरका व्यवसायीबाट मालपोत कार्यालयमा धर्ना
विराटनगर । विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट शुरु गर्न नमानेको जनाउँदै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन् । व्यवसायीले आइतबारदेखि पनि काम शुरु नभए कार्यालय पूर्णरुपमा बन्द गर्ने चेतावनी पनि दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले यही भदौ १८ गते मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराई सो कारोबार शुरु गर्न निर्देशन दिइसकेको छ । नेपाल सरकारबाट जग्गा खण्डीकरण सम्बन्धमा कार्यालयलाई पत्र पठाए पनि मालपोत कार्यालयले सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेकामा आपत्ति जनाउँदै व्यवसायीले तत्काल जग्गा कित्ताकाटको प्रक्रिया आरम्भ गर्न माग गरेका छन् । तीन वर्षदेखि रोक्का रहेको सो कार्य नहुँदा व्यवसायी निकै मर्कामा परिरहेको र बैंक पनि समस्यामा परेको घरजग्गा व्यवसायी सङ्घका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गर्ने
पाेखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका सङ्क्रमितलाई रक्तदान गर्न आग्रह गरेका छन् । रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन् । डा. आचार्यका अनुसार यो विधिको लागि सङ्क्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन् । यस विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुन्छन् । त्यसैगरी कोरोना सङ्क्रमितका लागि बनेको रेम्डिसिभर भ्याक्सिन पनि प्रयोग गरीएको डा. आचार्यले जानकारी दिए । “हामीले दुई सङ्क्रमितमा यो भ्याक्सिन प्रयोग गरिसकेका छौँ, अरु भ्याक्सिन पनि मगाएका छौँ”, आचार्यले भने । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशममा हालसम्म दुई हजार ७४७ पुगेको छ । शुक्रबार १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । एकहजार ८१४ जना निको भइसकेका छन् । यस प्रदेशमा ९११ जना सक्रिय सङ्क्रमित छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।
कोटेश्वर–कलङ्की सडकमा अझै बनेन ‘सर्भिस ट्याक’
काठमाडाैं । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्याक) निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक/एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो । सडक विभागले तीन वर्ष पहिले नै निर्माण शुरु गरेपनि अझै सम्पन्न भइसकेको छैन । निर्माण हुन बाँकी खण्डमा कतै भौगोलिक कठिनाइ त कतै त्यहाँ रहेका भौतिक संरचना हटाउन नसकिदा ‘सर्भिस ट्याक’ निर्माण गर्न नसकिएको हो । भौगोलिक कठिनाइ भएका स्थानमा काठमाडौँ चक्रपथ योजनाले सडकको साटो भ¥याङ बनाउने योजना गरेको छ । कतिपय स्थानमा भने समस्या हटाएर सडक नै बनाउने तयारी भएको छ । बालकुमारी पुलबाट कोटेश्वरतर्फ दुबैतर्फ ट्याक निर्माण हुन नसकेको योजना प्रमुख अमृतमणि रिमालले बताए । । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरी दुबैतर्फ भूगोल अग्लो होचो रहेको छ । थोरै क्षेत्रमा जमीनको तह निकै फरक रहेकाले सडक बन्न नसकेको हो । सडकको दायाँतर्फ सडकको साटो भ¥याङ हालिने तयारी भइरहेको छ । बायाँतर्फ सडकको अधिकार क्षेत्रमा दुई घरका कारण सर्भिस ट्याक बन्न सकेको छैन । चक्रपथको अधिकार क्षेत्रबीच भागबाट दुबैतर्फ २५/२५ मिटर र अर्काे छ÷छ मिटर ‘सिड बेल्ट’ हुन्छ । ‘सिड बेल्ट’ समेत ३१ मिटर चौडाइ भएपनि त्यही क्षेत्रमा घरहरु रहेका छन् । स्थानीयबासीले सहयोग गर्दा मात्रै सो स्थानमा सडक बन्न सक्ने उनको भनाइ छ । उनले भने, “ती घर नभत्काउँदासम्म सर्भिस ट्याक बनाउन सकिँदैन ।” एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा रहेकाले त्यस स्थानमा पनि सडक बन्न सकेको छैन । तत्काल त्यसलाई नहटाए सडक बनाउन नसकिने प्रमुख रिमालले बताए । यातायात व्यवस्था कार्यालयदेखि एकान्तकुना चोकसम्म पनि भूगोलका कारण सडक निर्माण कठीन रहेको छ । सो स्थानमा डिजाइनमा नै त्रुटि रहेकाले सडक निर्माण गर्न नसकिएको उनले बताए । डिजाइनमा ‘सर्भिस ट्याक’ मुख्य र सहायक सडकभन्दा कम उचाइमा बनाउने योजना रहेको थियो । सो स्थानमा पहिरोको समस्या भएको उनले बताए । अहिले यो सडक अरु लेनजस्तै उचालेर बनाउने गरी तयारी भइरहेको छ । खसीबजारमा पनि ‘सर्भिस ट्याक’ निर्माण अघि बढ्न सकिरहेको छैन । ‘अण्डर पास’ रहेको सो स्थानमा भौगोलिक कठिनाइकै कारण सडक निर्माण हुन नसकेको हो । बाँकी रहेका अरु स्थानमा निर्माण गर्ने योजना भएपनि तत्काल खसीबजारमा निर्माण अघि बढ्ने देखिँदैन । विसं २०७५ माघमा चीन सरकारले सो सडक गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । दस दशमलव चार किमी लम्बाइ सडक निर्माणको काम चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो । सोही वर्षदेखि नै सरकारले दुबैतर्फ एकएक लेनको सर्भिस ट्याक र छ आकाशे पुल निर्माण शुरु गरेको थियो । नेपालमा पहिलो पटक आठ लेन सडक र पहिलो ‘अण्डर पास’ लाई यो सडकको विशेषता मानिएको छ । खसी बजारचोकदेखि कलङ्की चोकसम्म रहेको ‘अण्डर पास’ को मुख्य लेन माथि सडकमा र सहायक लेन जमीनमुनि छ । निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ र अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै थिए । यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन हुने गरी डिजाइन भएको थियो । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि ‘सर्भिस ट्याक’ समेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छ । चक्रपथ छिर्न चालकले पहिले सर्भिस ट्याक पुग्नुपर्छ । सर्भिस ट्याकबाट नै चालकले सहायक हुँदै मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सडकमा निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । दश दशमलव ४ किलोमिटरको यस सडकमध्ये सात दशमलव छ किमी काठमाडौँ र दुई दशमलव आठ किमी सडक ललितपुरमा पर्छ । चक्रपथको दोस्रो खण्डका रुपमा चीन सरकारले नै कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तार गर्दैछ । दोस्रो खण्डमा पनि पहिलो खण्डजस्तै आठ लेन हुनेछ भने पैदलयात्रुका लागि एक÷एक किमीको फरकमा आकाशे पुल निर्माण हुने भएको छ । रासस
मोबाइलको व्यालेन्स बैंकको पैसा जसरी प्रयोग गर्न पाइने, टेलिकमले अघि बढायो प्रक्रिया
काठमाडौं । तपाईंको मोबाइलमा हजार रुपैयाँ व्यालेन्स छ । तर, खाजा खाने पैसा खाल्तीमा छैन भने मोबाइलको व्यालेन्सबाट तिर्न पाइने गरी खाजा खान पाए हुन्थ्यो भन्ने लाग्दैन ? अथवा तपाईंलाई पैसाको जरुरी छ । पैसा सापटी दिने वा सहयोग गर्ने मान्छे इन्टरनेटको पहुँचभन्दा बाहिर कुनै स्थानमा छ । उसले मोबाइलमा व्यालेन्स हालिदिन सक्छ । तर, मोबाइलको व्यालेन्स देखाएर तपाईंले न कतै खाजा खान सक्नु हुन्छ, न कतै सपिङ नै । मोबाइलमा भएको व्यालेन्स प्रयोग गरेर खाजा खान, सपिङ गर्न, सिनेमा हेर्न तथा अस्पताल तथा शिक्षण शुल्क तिर्न मिल्ने व्यवस्था भए कति सजिलो हुन्थ्यो भन्ने तपाईंलाई लागेको छ ? वा कसैले मोबाइलमा हालिदिएको व्यालेन्स बैंकमा राखेको पैसा जसरी प्रयोग गर्न पाए हुन्थ्यो भन्ने सोचिरहनु भएको त छैन ? यस्तै यस्तै चाहनामा हुनुहुन्छ भने तपाईंको लागि खुसीको खबर छ । नेपाल टेलिकमले मोबाइलमा भएको व्यालेन्सलाई बैंकमा जम्मा भएको रकम जसरी नै प्रयोग गर्न पाइने अर्थात क्यास बनाउन पनि पाइने व्यवस्था गर्न लागेको छ । यस्तै, मोबाइलको व्यालेन्सबाट विजुलीको विल, शिक्षण संस्थाको शुल्क तिर्न वा सिनेमा हेर्न पनि प्रयोग गर्न पाइने भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दिएको जानकारी अनुसार अब यही आर्थिक वर्ष भित्रमै तपाईको हातमा कुनैपनि मोवाईल फोन छ भने तपाईले तुरुन्तै फिजिकल क्यास प्राप्त गर्न सक्नु हुन्छ । नेपाल टेलिकमले मोबाइल व्यालेन्सलाई फिजिकल क्यास बनाउन मिल्ने गरी नयाँ कम्पनी स्थापना गरेर काम गरिरहेको छ । यसका लागि टेलिकमले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर नयाँ कम्पनी स्थापना गरिसकेको छ । ‘हामीले अंग्रेजी नयाँ बर्षबाटै मोवाईलमा भएको व्यालेन्सलाई फिजिकल मनी बनाउन मिल्ने गरी काम गरिरहेका छौं, कोरोना महामारीका कारण केही ढिलाई भएको छ, नेपाली नयाँ वर्षबाट सो सोजना संचालनमा आउँछ,’ प्रबन्ध निर्देशक अधिकारीले विकासन्यूजसँग भने । मोवाईलमा रहेको व्यालेन्सलाई फिजिकल क्यासको रुपमा प्रयोेग गर्न सकिने चलन अन्तर्राष्ट्रिय रुपमा चलिआएकै कुरा हो । अहिले यस्तो छ, पछि के होला ? अहिलेसम्म मोवाईलबाट एयर टाइम मात्र ट्रान्सफर गर्न मिल्छ । त्यो भनेको ग्राहकले फिजिकल मनीबाट एयर टाइम किन्यो, अनि त्यसलाई लोड गरेपछि खपत गर्न सकिन्छ । एयर टाइममा डाटा, भ्वाईस, एसएमएसहरु किन्न सकिन्छ । यसरी ग्राहकले आफ्नो व्यक्तिगत प्रयोजनको लागि वा कसैलाई गिफ्ट गर्न मिल्ने व्यवस्था छ । टेलिकमले गर्न लागेको नयाँ व्यवस्था अनुसार कुनै पनि मोबाइलमा भएको व्यालेन्सलाई बैंकमा रहेको नगद सरह प्रयोग गर्न मिल्ने हो । बैंकमा रहेको रकम नगदको रुपमा झिक्न पाइन्छ, सपिङ गर्दा कार्डमार्फत तिर्न पाइन्छ वा अरुलाई दिन सकिन्छ । अब मोबाइलमा भएको व्यालेन्स पनि बैंकमा भएको व्यालेन्स जस्तै हुनेछ । डिजिटल फाइनान्स कम्पनी टेलिकमले यसका लागि डिजिटल फाईनान्स कम्पनी स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति लिएको यो कम्पनीले नै मोबाइल व्यालेन्सलाई फिजिकल मनीको रुपमा प्रयोग गर्न गराउन मिल्ने प्रबन्ध मिलाउने छ । नयाँ कम्पनीले काम सुरु गरेपछि डिपोजिट गर्नेदेखि विभिन्न काममा पैसा प्रयोग गर्न सकिन्छ । त्यसका लागि टेलिकमले कुनै कोड नम्बर प्रदान गर्नेछ । टेलिकमले कम्पनी दर्ता गरिसकेको छ भने काम अघि बढाउनको लागि अन्र्तराष्ट्रियस्तरको टेन्डर समेत आह्वान गरिसकेको छ । असोजको पहिलो साता टेन्डर खालेर काम अघि बढाइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।
सोलु करिडोरको चौथोपटक म्याद थप, ४ वर्षमा पनि काम भएन
साेलुखुम्बु । निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो । सोलुखुम्बुमा उत्पादन हुने विद्युत बाहिर लैजान १३२ केभी प्रसारणलाइन निर्माण गरिएको भएपनि विभिन्न कारणले समयमानै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका– ११ तिङ्लामा सवस्टेशन निर्माण भइसकेपनि करिडोरको काम अझै सक्ने छाँटकाट छैन । सन् २०२० जुलाई १५ मा सक्ने शर्तमा तेस्रो पटक म्याद थप गरिएको भएपनि कोरोनाका कारण समस्या भएको भन्दै आगामी डिसेम्बर ३१ अर्थात पुस १६ गतेसम्म समय थप गरिएको आयोजनाका प्रमुख जनार्दन गौतमले बताए । आयोजनाको काम गर्न समस्या नभएपनि कामदार ल्याउन समस्या भएको उनको भनाइ थियो । भारतीय कामदार ल्याएर अहिले पनि काम भइरहेको छ । थप कामदार ल्याउन नसक्दा म्याद थपिएको समयमासमेत काम सम्पन्न गर्न नसकिने प्रमुख गौतमको भनाइ छ । सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३०२ टावर बनाउनुपर्ने भएपनि अहिलेसम्म २८१ वटाको फाउण्डेशनको काम सकिएको छ । अब २१ टावर निर्माण गर्नुपर्ने छ तर पाँच वटाको सुस्तगतिमा काम भइरहेको छ । यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला २३.५ मेगावाटमा उत्पादन भएको विद्युत् खेर गइरहेको छ । अहिले ११ केभी प्रसारणलाइनमार्फत रुम्जाटार सव स्टेशनमा लगेर खपत गर्ने प्रयास गरिएपनि अझै तेब्बर विद्युत् खपत हुन नसकेको विद्युत आयोजनाले जनाएको छ । यस्तै सोलुखोलामानै निर्माणाधीन अवस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको काम भइरहेको छ । रासस
गण्डकीमा १७ सङ्क्रमित थप
गण्डकी । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपालिकाका दुई, नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटका ११ र कावासोतीका एक जना छन् । प्रदेशमा हालसम्म ५४ हजार ८८९ को पिसिआर परीक्षण गरिएकामा ५२ हजार १४२ जनामा सङ्क्रमण देखिएन । हालसम्म एक हजार ८१४ जना उपचारपछि निको भएको र सक्रिय सङ्क्रमित ९११ रहेको निर्देशनालयले जनाएको छ । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।
भेरि बबई डाइभर्सनको सेयर जारी गरिँदै, ३ आयोजनाको काम छिट्टै अघि बढ्ने
काठमाडौं । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको विभिन्न ३ वटा आयोजनाहरु अगाडी बढ्न सक्ने चरणमा छन् । ९६ मेगावाटको तामाकोशी पाँचौं, ७० मेगावाटको सिम्बुआ खोला र ७२ मेगावाटको घुन्साखोला आयोजनाको कामहरु अघि बढाउने तयारी भइरहेको बताइएको छ । उर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले काम अगाडि बढाउने तयारी भइरहेको बताए । यी तीनमध्ये दुई वटा सिम्बुआ खोला र घुन्साखोला जलविद्युत लगानी र विकास कम्पनी एचआईडीसीएल) को सहायक कम्पनी रेमिट हाइड्रोबाट बन्ने तयारी भएको उनले बताए । ‘रेमिटबाट बनाउने भएकाले बाहिर जानेहरुको स्वामित्व बढाउने हिसावबाट अहिलेको नियमावलीलाई संसोधन गर भनेका छौं, रेमिटले उक्त नियमावलीलाई संसोधन गरेपछि काम अघि बढ्ला,’ उनले विकासन्युजसँग भने । त्यस्तै, चिलिमे कम्पनीबाट अनुमति पत्र लिएर गरेका आयोजनाहरु छन् । विद्युत् विभागले पनि अरुण ४ अध्ययन गरिरहेको छ । विद्युत उत्पादन कम्पनी तथा नेपाल विद्युत प्राधिकरणले पनि केही आयोजनाहरुको अध्ययन गरिरहेको छ । तर, कोभिडले गर्दा यी सबै आयोजनाहरुको अवस्था अपेक्षा गरेको जस्तो नभएको भटुवालले बताए । ‘यी सबै आयोजनाको काम सम्पन्न हुनको लागि सबै मिल्नुपर्ने हुन्छ, एउटा स्वदेश तथा विदेशको बजारको कुरा, बाहिर जाने बजारमा हो भने क्रस बोर्डरको कुरा, ट्रान्समिसन लाइन चाहियो । जनताको लगानी गर्ने भनेपछि अलिकति भायवल(व्यवहार्य) पनि हुनुपर्यो, रिटर्न पनि आउनु पर्यो । धेरै रिक्स भएका प्रोजेक्ट रहेछ भने यी सबै प्रोजेक्ट नआउन पनि सक्छ,’उनले भने । तर सबै प्रोजेक्टहरुको अध्ययनको लागि तयारी भइरहेको उनको भनाई छ । त्यसलाई रिभ्यु गरेर जोखिम कत्तिको छ, जनताको पैसा लगानी गर्न हुने कि नहुने भन्ने विषयको लागि विज्ञहरुसँग छलफल गरेर काम अघि बढाइएको उनले बताए । त्यस्तै, जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको हालसम्म ४ वटा आयोजनाको सेयर निष्काशन भइसकेको छ । यससँगै ४८ मेगावाटको भेरि बबई डाइभर्सन आयोजनाको सेयर निष्काशन हुने तयारीमा रहेको उनले बताए । ‘अब भेरि बबई डाइभर्सनको सेयर निष्काशन गर्न सकिने अवस्था रहेको छ । सांसद तथा अन्य सरोकारवालाहरुको सुझाव र आगामी दिनमा आउन सक्ने सम्भावित समस्यालाई ध्यानमा राखेर अवधारणा पत्र तयार भएको छ । त्यसलाई सचिवहरुको नेतृत्वले अन्तिम रुप दिएपछि निष्काशनको प्रकृया अघि बढ्छ’, उनले भने । पछिल्लो समय जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको विभिन्न आयोजनाहरु निर्माणको काम रोकिएको छ । निमार्णको चरणमा रहेका तर कोभिड-१९ को कारणले निर्माणाधिन सामानहरु ल्याउन नपाएकाले उक्त काम रोकिएको हो । भेटुवालका अनुसार सो कार्यक्रम अन्तर्गतका विभिन्न चार वटा आयोजनाहरु निमार्णको चरणमा थिए । रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन र त्रिशुली थ्री बी निमार्ण भइरहेका थिए तर हाल कोभिडले सबै काम ठप्प रहेको उनी बताउँछन् । ‘निमार्णको लागि सामानहरु सजिलैसँगै आएका छैनन् । सबै ठप्प छ । नाका पनि रोकिएको छ । यसका साथै, मोबिलिटी पनि छैन । जनशक्तीसँगसँगै ढुवानी सेवामा समस्या छ । यहि कोभिडको कारणले यी काम सम्पन्न गर्न ढिलाई भएको छ,’ उनले भने । हालसम्म कति सेयरधनीको कति लगानी छ भन्ने प्रश्नमा उनले यस विषयमा जानकार नभएको, तर यी सबैको जानकारी केही समयपछि वेवसाइटमा राख्ने बताएका छन् । जसको लागि वेवसाइट बनाउने काम भइरहेको उनले जानकारी दिए । त्यस्तै, नवीकरणीय उर्जा ऐनको पनि ड्राफ्ट बनाएर कानुन मन्त्रालयमा छलफलका लागि मगाइएको उनले बताए । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको सेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ ‘नेपालको पानी जनताको लगानी, नेपाली विद्युतको सेयरधनी’ नामक जनताको जलविद्युत कार्यक्रम शुरु गरेको थियो । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने उक्त कार्यक्रमको उद्देश्य थियो । आन्तरिक पुँजी बजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास हुने उद्देश्यले नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयले उक्त कार्यक्रम बनाएको थियो । २०७५ फागुन २७ गते मन्त्रीबाट स्वीकृत भएको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ५ गते गरेका थिए । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा उनले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको १० हजार कित्ता सेयर किनेका थिए । यसैगरी प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन दिएकी थिइन् । जसमा दुबैले २०/२० कित्ता सेयर प्राप्त गरेको थिए । त्यस्तै, उर्जामन्त्री वर्षमान पुनले पनि १ हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ता सेयरको लागि आवेदन दिएका थिए । त्यसैगरी, सोही कार्यक्रम अन्तर्गत दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले एक अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री शुरु गरेका थिए । जसमा सभामुख कृष्ण बहादुर महराले रसुवागढी जलविद्युत् कम्पनीको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको पाँच सय कित्ता साधारण सेयर खरीदका आवेदन दिएका छन् । यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा एक हजार कित्ता र साञ्जेनको ५ सय कित्ता बराबरको सेयरमा आवेदन दिएकी छिन् । मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा एक हजार कित्ता र साञ्जेनमा पाँच सय कित्ता साधारण सेयरमा आवेदन दिएका थिए । पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा एक हजार कित्ता र साञ्जेनमा ५ सय कित्ता साधारण सेयरको लागि आवेदन दिएकी थिइन् । उक्त रसुवागढीको सेयरमा सबैले ५०/५० कित्ता र साञ्जेनको २०/२० कित्ताको दरले सेयर हात पारेका थिए । यससँगै रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयर सूचीकरणमा भने ढिलाई भएको थियो । वैशाखमा बाँडफाँड भएको उक्त सेयर साउनमा मात्रै नेप्सेमा सूचीकृत भएको थियो । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका दुई जलविद्युत् कम्पनीहरु साञ्जेन र रसुवागढीको कारोबार क्रमशः २८८ रुपैंया र २९१ रुपैंयामा सुरु भएका थिए । तर कारोबार सुरु भएकै दिन यी दुई कम्पनीको मूल्य करिब १०/१० प्रतिशतले घटेर २६१ रुपैंया र २६३ रुपैंयामा झर्यो । त्यसपछि पनि निरन्तर रुपमा घटेर केहि दिनमै रसुवागढी र साञ्जेनको सेयर मूल्य क्रमशः १५८ रुपैंया र १७३ रुपैंयामा झरेको थियो । जुन सुरुको कारोबार मूल्यभन्दा क्रमशः ४७ प्रतिशत र ४० प्रतिशत कम थियो । र, पनि उक्त सेयरको मूल्य घट्ने क्रम भने रोकिएको थिएन । यस अभियान अन्तर्गत सरकारले नेपाली नागरिकको लगानीमा १९ वटा आयोजनाहरु निर्माण गर्ने घोषणा गरेको थियो । जसबाट ३५ सय मेगावाटबाट जलविद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य थियो । हिमाल, पहाड, तराई-मधेशका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धि मार्फत राष्ट्रिय एकता सुदृढ गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य रहेको छ । यो कार्यक्रम स्वदेश तथा विदेशमा बसोबास गरेका समस्त नेपाली जनता प्रति लक्षित गरि ल्याइएको हो ।
बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक शुरु
काठमाडौं । लामो समयसम्म स्थगित रहेको नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा शुरु भएको छ । केही बेर अघि मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा आजको बैठक शुरू भएको हो । गत असार १० गते शुरू भई पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लो पटक साउन ६ गते बसेको थियो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अघि स्थायी कमिटीको बैठकका एजेण्डाहरु तय गरेका थिए ।