भरतपुरमा हुने रास्वपा महाधिवेशनका लागि एक हजार बढी प्रहरी परिचालन गरिने
काठमाडौं । ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित गरी यहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ । महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, उच्चपदस्थ व्यक्तित्व तथा विदेशी पाहुनाको समेत सहभागिता रहने भएकाले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । महाधिवेशनलाई लक्षित गरी चारवटै सुरक्षा निकाय समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिए । उनका अनुसार महाधिवेशन अवधिभर कुनै पनि सुरक्षा चुनौती उत्पन्न हुन नदिन रणनीतिक सुरक्षा योजना तयार पारिएको छ । “महाधिवेशनलाई केन्द्रित गरेर विस्तृत सुरक्षा योजना बनाएका छौं”, प्रजिअ अर्यालले भने, “आवश्यक परे अन्य जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर भए पनि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइनेछ ।” महाधिवेशनस्थलको निरन्तर अनुगमन र निरीक्षणसमेत गरिरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिने बताए । उनका अनुसार खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति अपनाइएको छ । “सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिनेछ भने ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी खटाइने छन्”, प्रहरी उपरीक्षक पौडेलले भने, “सुरक्षाका दृष्टिकोणले कुनै कमजोरी हुन नदिने गरी सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन हुनेछन ।” महाधिवेशन अवधिमा ठूलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ । पार्टीले सकेसम्म कम सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेको छ । रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपक बोहराले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, तथा शुभेच्छुकहरूको ठूलो उपस्थिति रहने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने बताए । “प्रतिनिधि र सहभागीलाई सकेसम्म सीमित सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेका छौं”, उनले भने । यसअघि रत्ननगरको टाँडी क्षेत्रमा आयोजना गर्ने तयारी गरिएको महाधिवेशन अन्ततः भरतपुरमा सारिएको हो । रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार अध्यधिक गर्मी, वर्षा तथा सुरक्षा व्यवस्थापनलाई मध्यनजर गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको हो । “यति ठूलो राष्ट्रिय कार्यक्रमको आयोजक बन्न पाउनु चितवनका लागि गौरवको विषय हो”, उनले भने, “सहभागीलाई घाम र वर्षाबाट सुरक्षित राख्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम भइरहेका छन् ।” महाधिवेशनको सुरक्षाका लागि सुरक्षाकर्मीसँगै पार्टीका नेता कार्यकर्तासमेत खटिने सभापति खनालले जानकारी दिए । उनका अनुसार बन्दसत्रमा करिब तीन हजार ५०० देखि चार हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । खुला सत्रमा भने ४० हजारदेखि ५० हजारसम्म उपस्थित हुनसक्ने अनुमान गरिएको उनले बताए । महाधिवेशनमा सवारीसाधन व्यवस्थापनका लागि पूर्वी क्षेत्रबाट आउनेलाई केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ । पश्चिम र काठमाडौं क्षेत्रबाट आउने सवारीसाधनलाई विशाल चोक नजिकै रहेको वीरेन्द्र क्याम्पसको खुला चौरमा व्यवस्थापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख, आकार घट्यो
काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाख रुपैयाँ बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले आज (शुक्रबार) पोखरा सभागृहमा बसेको १९औं नगरसभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् । चालु वर्षमा आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । आगामी वर्षको बजेट चालुको भन्दा एक अर्ब १९ करोड ८७ लाख रुपैयाँले न्यून हो । बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख रुपैयाँ, विशेष अनुदान पाँच करोड ५० लाख रुपैयाँ, समपूरक अनुदान एक करोड ८२ लाख रुपैयाँ र सङ्घीय सरकार समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदान र ४० लाख रुपैयाँ र समानीकरण अनुदान आठ करोड १५ लाख ३६ हजार रुपैयाँ अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिइन् । राजस्व बाँडफाँटबापत सङ्घीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट चार करोड नौ लाख ८६ हजार रुपैयाँ, राजस्व बाँडफाँट स्थानीय सरकारतर्फ एक अर्ब ३१ लाख १४ हजार रुपैयाँ र आन्तरिक स्रोततर्फ दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ गरी कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ अनुमान गरिएको छ । महागनरको वित्तीय स्थायित्व कायम गर्दै राजस्व दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि विस्तार गरी रोजगारी अभिवृद्धि र वातावरणमैत्री र दिगो सहरी विकास प्रवर्द्धन गर्नु बजेटका उद्देश्य रहेको उपप्रमुख गुरुङले बताइन् । “चालु खर्चलाई वाञ्छित सीमाभित्र राख्ने, राजस्व सुधार योजना कार्यान्वयन, निजी क्षेत्रको लगानी आकर्षित, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा आकर्षण गर्ने र आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण बजेटका प्राथमिकता क्षेत्रहरू हुन्”, उपप्रमुख गुरुङले भनिन् । महानगरले आगामी वर्षमा फिर्केखोला कोरिडोर पोखरा बसपार्क लगायतका महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमित जग्गा संरक्षण र व्यवस्थापनका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले पूर्वाधार तथा सहरी विकासतर्फ ६१ सडक आयोजना पूरा गर्नका लागि ५५ करोड ५० लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ । पोखरा सभागृह पुनर्निर्माणका लागि पाँच करोड रुपैयाँ छुट्याइएको छ । शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि एक करोड २० लाख रुपैयाँ र गण्डकी बहुप्राविधिक शिक्षालयका लागि दुई करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरको फोहरमैला ढुवानी तथा व्यवस्थापनका लागि १५ करोड रुपैयाँ र प्रभावित क्षेत्रका लागि थप पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । निर्माणाधीन तालचोक बेगनास सडकको बाँकी काम सम्पन्न गर्नका लागि १५ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी, विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनाका लागि तीन करोड २४ लाख रुपैयाँ, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रमका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषिलाई आधुनिक व्यावसायिक र प्रतिस्पर्धी बनाउन तीन करोड ६८ लाख रुपैयाँ र उद्यम विकास, रोजगार सृजना तथा नवप्रवर्तनका लागि एक करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । बजेट कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि ६० लाख रुपैयाँ, तथा खेल पर्यटनका लागि र ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरले चालु वर्षमा विनियोजित बजेटमध्येमा जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत खर्च भएको जनाएको छ । चालुतर्फ तीन अर्ब ५१ करोड ३२ लाख ८९ हजार रुपैयाँ र पुँजीगततर्फ चार अर्ब ८३ करोड ७९ लाख ११ हजार रुपैयाँ अनुमान गरिएकामा चालुतर्फ दुई अर्ब १६ करोड ९७ लाख ५५ हजार रुपैयाँ र पुँजीगततर्फ एक अर्ब १७ करोड आठ लाख ६० हजार रुपैयाँमात्र खर्च भएको उपप्रमुख गुरुङले बताइन् ।
लाजिम्पाटको बारबाट २२ लाख नगदसहित दुई जना क्रिप्टोकरेन्सी कारोबारी पक्राउ
काठमाडौं । लाजिम्पाटस्थित एक बारमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित ४७ वर्षीय तारालाल विश्वकर्मा र ५० वर्षीय होमबहादुर केसी पक्राउ परेका हुन् । बिहीबार प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले लाजिम्पाटको बारमा करिब ८ बजे उक्त स्थानमा छापा मार्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार विश्वकर्माले बोकेको झोलाभित्र लुकाएर राखिएको अवस्थामा स्रोत नखुलेको नेपाली नगद २२ लाख रुपैयाँ, ४० अमेरिकी डलर तथा रकम उल्लेख नगरिएका तर हस्ताक्षर गरिएका चार थान चेक बरामद गरिएको छ । अनुसन्धानका क्रममा विश्वकर्माले प्रयोग गर्दै आएको मोबाइल फोनमा रहेको बाइनान्स एपमार्फत करिब २ हजार युसएडटी बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको विवरण फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको उनले बताए ।
बैतडीको शाहीलेकमा बस दुर्घटना, ९ जना घाइते
काठमाडौं । बैतडीको शाहीलेकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकामतर्फ गइरहेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१-००१ ख ३६४६ नम्बरको बस साँझ पौने ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका ९ जनाको तत्काल उद्धार गरिएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बस सडकबाट करिब ३० मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटना लगत्तै बस चालकलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनाको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
गाडी आयात प्रकरणमा मुछिएका १३ जना कर्मचारी निलम्बन
काठमाडौं । विद्युतीय सवारी साधन (इभी) को भन्सार जाँचपास प्रक्रियामा गम्भीर लापरबाही र कानुनी प्रक्रिया पूरा नगरेको फेला परेपछि अर्थ मन्त्रालयले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीहरूलाई तत्काल निलम्बन गरेको छ । अर्थमन्त्रालयले सूचना जारी गर्दै १३ जना कर्मचारी निलम्बन गरेको बताएको हो । भन्सार विभागले मुस्ताङ र रसुवा भन्सार कार्यालयबाट भएका विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूको अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त अनुगमन टोलीको प्रतिवेदनका आधारमा दोषी देखिएका कर्मचारीहरूलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । अनुगमन टोलीले प्रज्ञापनपत्र र कार्यालयको अभिलेख लगायतका विषयमा स्थलगत अध्ययन गर्दा रसुवा भन्सार कार्यालयका कर्मचारीहरूले पर्याप्त सावधानी र पदीय जिम्मेवारी पूरा नगरेको भेटिएको थियो । प्रतिवेदनका अनुसार कतिपय सवारी साधनहरू भन्सारमा भौतिक रूपमा आइ नपुग्दै केवल कागजातका आधारमा मात्रै जाँचपास गरिएको फेला परेको छ । यसरी कानुनी प्रक्रिया पूरा नगरी गम्भीर अनियमितता गरेको देखिएकाले तत्कालीन भन्सार प्रमुख सहित १३ जनालाई निलम्बन गरिएको हो । यस्तै, मुस्ताङ भन्सार कार्यालयका लागि भन्सार विभागका निर्देशकको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत प्रतिनिधि सम्मिलित टोलीले अध्ययन गरेको थियो । उक्त टोलीको प्रतिवेदन अनुसार मुस्ताङ भन्सार कार्यालयबाट गत जेठ १२ र १३ गते कुल ६४९ वटा विद्युतीय सवारी साधनहरू ९ वटा प्रज्ञापनपत्र मार्फत जाँचपास प्रक्रिया अघि बढेको पाइएको थियो । आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन गर्दा ती ६४९ वटा गाडीहरू जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्ममा भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष टोलीले निकालेको छ । नियमविपरीत कार्य गर्ने कर्मचारीहरूका साथै सो कार्यमा संलग्न विद्युतीय सवारी साधन पैठारीकर्ता (आयातकर्ता) कम्पनीहरू र भन्सार एजेन्टहरूलाई पनि प्रचलित भन्सार कानुन बमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको छ ।
एनआईसी एशियाद्वारा विद्यालयलाई ल्यापटप र मेरुदण्ड पक्षघात समूहलाई वाटर प्युरिफायर सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले दार्चुलाको एक विद्यालय र काठमाडौंस्थित मेरुदण्ड पक्षघातसम्बन्धी सेवामूलक संस्थालाई सहयोग उपलब्ध गराएको छ । बैंकले सुदूरपश्चिमको दार्चुलास्थित महाकाली नगरपालिका–३ मा रहेको श्री हुनैनाथ माध्यमिक विद्यालय बाँजलाई एक थान ल्यापटप प्रदान गरेको छ । प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ । हाल १३५ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा असार ३ गते आयोजित कार्यक्रममा बैंकका दार्चुला शाखा प्रमुख अरुण सिंह धामीले विद्यालयका प्रधानाध्यापक वीर सिंह महरलाई ल्यापटप हस्तान्तरण गरेका थिए । यस्तै, मेरुदण्ड (स्पाइनल कर्ड) चोटपटक भएका व्यक्तिहरूको पुनर्स्थापना, सहयोग र दीर्घकालीन हेरचाहमा सक्रिय मेरुदण्डिय पक्षघात समूह नेपाललाई बैंकले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ । असार ५ गते आयोजित कार्यक्रममा बैंकका काठमाडौं नर्थ सर्कल हेड सुदिनकुमार लामा तथा सीएसआर एवं वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले संस्थाका उपाध्यक्ष कृष्णप्रसाद भण्डारी र महासचिव केशव थापालाई उक्त उपकरण हस्तान्तरण गरेका थिए । बैंकका अनुसार विद्यालयलाई उपलब्ध गराइएको ल्यापटपले विद्यार्थीहरूको अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढाउन सहयोग पुर्याउनेछ । साथै मेरुदण्डिय पक्षघात समूह नेपाललाई प्रदान गरिएको वाटर प्युरिफायरले संस्थासँग आबद्ध लाभग्राही तथा आवासीय व्यक्तिहरूको स्वच्छ खानेपानीमा पहुँच सुनिश्चित गर्दै स्वास्थ्य र सरसफाइमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
पुँजी बजारका विज्ञको काँधमा सेबोनको जिम्मेवारी, को हुन् गोपाल भट्ट ?
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल, काठमाडौं सदस्य थिए । को हुन् गोपाल भट्ट ? अध्यक्ष भट्टको घर कैलाली हो । उनी सेयर बजार विश्लेषकका रूपमा पनि परिचित छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । उनले यसअघि पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए । उनी यसअघि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । पुँजी बजारमा विद्यावारिधि गरेका भट्टले पिएचडी गरेका डा.भट्ट राष्ट्र बैंकमा कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग र मानव संसाधन व्यवस्थापन विभागजस्ता महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए । उनले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका छन् । अब धितोपत्र बजारको नियामकको ररूपमा रहेको सेबोनको जिम्मेवारी पनि उनकै काँधमा आएको छ । उनले अहिले विभिन्न विश्वविद्यालय र कलेजमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन र कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन समेत गर्दै आइरहेका छन्।
राहदानी विभागका महानिर्देशक अर्यालसहित चारजनालाई पाँच दिनको म्याद थप
काठमाडौं । ई–पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको चार जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति पाएको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ललाई दोस्रो पटक पाँच दिन म्याद थप गरेको हो । न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले म्याद थप गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हिटानले जानकारी दिइन् । महानिर्देशक अर्यालले सोमबार प्रधानमन्त्रीलाई भेटेका थिए, यस्तो छ घटनाको नालीबेली