पुँजी बजारका विज्ञको काँधमा सेबोनको जिम्मेवारी, को हुन् गोपाल भट्ट ?
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल, काठमाडौं सदस्य थिए । को हुन् गोपाल भट्ट ? अध्यक्ष भट्टको घर कैलाली हो । उनी सेयर बजार विश्लेषकका रूपमा पनि परिचित छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । उनले यसअघि पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए । उनी यसअघि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । पुँजी बजारमा विद्यावारिधि गरेका भट्टले पिएचडी गरेका डा.भट्ट राष्ट्र बैंकमा कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग र मानव संसाधन व्यवस्थापन विभागजस्ता महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए । उनले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका छन् । अब धितोपत्र बजारको नियामकको ररूपमा रहेको सेबोनको जिम्मेवारी पनि उनकै काँधमा आएको छ । उनले अहिले विभिन्न विश्वविद्यालय र कलेजमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन र कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन समेत गर्दै आइरहेका छन्।
राहदानी विभागका महानिर्देशक अर्यालसहित चारजनालाई पाँच दिनको म्याद थप
काठमाडौं । ई–पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको चार जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति पाएको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ललाई दोस्रो पटक पाँच दिन म्याद थप गरेको हो । न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले म्याद थप गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हिटानले जानकारी दिइन् । महानिर्देशक अर्यालले सोमबार प्रधानमन्त्रीलाई भेटेका थिए, यस्तो छ घटनाको नालीबेली
एनसेल एपबाट बस र हवाई टिकट बुकिङमा छुट, साहसिक गतिविधिमा ८ हजारसम्म बचत
काठमाडौं । एनसेल र ट्राभल प्लेटफर्म ट्रिप टर्बोबीच साझेदारी भएपछि अब एनसेलका ग्राहकले बस तथा आन्तरिक हवाई टिकट बुकिङदेखि साहसिक गतिविधिसम्ममा आकर्षक छुट पाउने भएका छन् । दुवै कम्पनीबीच भएको सहकार्यअनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने एनसेल ग्राहकले ट्रिप टर्बोमार्फत यात्रा र मनोरञ्जनसम्बन्धी सेवामा विभिन्न छुट तथा अफर प्राप्त गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाटै डिजिटल माध्यममा यी सेवाहरू प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । सहकार्यअन्तर्गत ग्राहकले साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा अधिकतम ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, पहिलो आन्तरिक हवाई टिकट बुकिङमा २०० रुपैयाँ र त्यसपछिका प्रत्येक उडानमा १४० रुपैयाँ छुट पाइनेछ । बस टिकट बुकिङमा भने १११ रुपैयाँ छुट उपलब्ध हुनेछ । यी अफरहरू एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ‘ट्रिप टर्बो’ सेक्सनमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त सेक्सनमार्फत ग्राहकले यात्रा, मनोरञ्जन र साहसिक गतिविधिसम्बन्धी छुट तथा सुविधाहरू सहज रूपमा खोज्न र प्रयोग गर्न सक्नेछन् । साझेदारीबारे एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कनेक्टिभिटीसँगै यात्रा र लाइफस्टाइलसँग सम्बन्धित थप मूल्य ग्राहकसम्म पुर्याउने उद्देश्यले ट्रिप टर्बोसँग सहकार्य गरिएको बताए । उनका अनुसार यसले ग्राहकलाई यात्रा तथा अन्य गतिविधिमा बचत गर्दै थप सहज र किफायती अनुभव प्रदान गर्नेछ । एनसेलले पछिल्ला वर्षहरूमा आफूलाई डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा विकास गर्ने रणनीति अघि बढाएको छ । कम्पनीका अनुसार एनसेल एपमा नयाँ सेवा र साझेदारका अफरहरू एकीकृत गर्दै ग्राहकलाई परम्परागत दूरसञ्चार सेवाभन्दा बाहिरका थप सुविधा उपलब्ध गराउने प्रयास भइरहेको छ । ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, होलिडे प्याकेज तथा ग्राहकको आवश्यकताअनुसार तयार गरिएका यात्रा सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार यो साझेदारीले ग्राहकलाई थप सुविधा, विकल्प र डिजिटल अनुभव उपलब्ध गराउनेछ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरेपछि उनी अवकाशप्राप्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘स्टक मार्केट इफिसिएन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी पुँजी बजार तथा सेयर बजारका विज्ञका रूपमा परिचित छन् । भट्टसँग शंकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पसलगायत आधा दर्जनभन्दा बढी कलेजमा अध्यापन गरेको अनुभव पनि छ । अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले डा. गोपालप्रसाद भट्ट, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीको नाम सिफारिस गरेको थियो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित समितिले गत वैशाख १५ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । निर्धारित समयभित्र आवेदन दिएका ४७ प्रतिस्पर्धीमध्ये भट्ट अध्यक्षमा नियुक्त भएका हुन् । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टका दाई हुन् । आफ्नै भाईले आवेदन गरेपछि गुणाकरले बोर्डको अध्यक्ष सिफारिस समितिको संयोजक पदबाट राजीनामा दिएका थिए ।
रवि विरुद्धको संगठित अपराधको कसुर फिर्ता लिन काठमाडौं अदालतको पनि आदेश
काठमाडौं । कास्की र पर्सापछि काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश दिएको छ । शुक्रबार (आज) जिल्ला अदालत काठमाडौंका न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिने आदेश जारी गरेको हो । सुमन खनालसहितको जाहेरीका आधारमा दर्ता भएको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोग पत्र संशोधनका लागि निवेदन दायर गरेको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि रविमाथिको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिइसकेका थिए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
काठमाडाैं । शुक्रबार बसेकाे मन्त्रिपरिषद्को बैठकले महत्त्वपूर्ण ६ निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । यी हुन् बैठकको निर्णय : १. नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। २. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट (कैलाली) लाई नियुक्त गर्ने। ३. सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ४. बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ५. राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ६. संघीय संसद समक्ष देहायका प्रतिस्थापन विधेयकहरू पेश गर्न स्वीकृति प्रदान गर्ने क. सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक ख. सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक ग. सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक घ. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
बीमा क्षेत्रका विदेशी मुद्रा कारोबार सहज बनाउन प्राधिकरण र राष्ट्र बैंकबीच छलफल
काठमाडौं । बीमा क्षेत्रसँग सम्बन्धित विदेशी मुद्रा सटही तथा अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउने उद्देश्यले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको आयोजनामा शुक्रबार कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिश प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउने विषयमा केन्द्रित छलफल भएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा व्यवसायसँग सम्बन्धित विदेशी मुद्रा सटहीमा देखिएका प्राविधिक समस्याहरू समाधान गर्न राष्ट्र बैंकसँग घनिभूत समन्वय गर्दै अघि बढिने बताए । उनले केही समस्याहरू बीमा नियमावलीमार्फत सम्बोधन गर्न सकिने उल्लेख गर्दै बाँकी विषय निर्देशिका मार्फत समाधान गरिने जानकारी दिए । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागका कार्यकारी निर्देशक डा. डिल्लिराम पोख्रेलले बीमा क्षेत्रका विदेशी मुद्रा कारोबारलाई पारदर्शी, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा स्वीकार्य बनाउनेतर्फ प्राधिकरणसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले व्यवहारिक समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए भने राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्माले बीमा क्षेत्रको विस्तारसँगै देखिने जोखिम न्यूनीकरणमा दुई निकायबीचको सहकार्य महत्वपूर्ण हुने धारणा राखे । कार्यक्रममा प्राधिकरणका उपनिर्देशक राम कोजू र राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठले विदेशी मुद्रा सटही सम्बन्धी विद्यमान व्यवस्थाबारे प्रस्तुती दिएका थिए । अन्तरक्रियामा सहभागीहरूले बीमा क्षेत्रको विस्तारसँगै विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा राष्ट्र बैंक, बीमक संघ, निर्जीवन बीमक संघ, वाणिज्य बैंक, बीमा कम्पनी तथा पुनर्बीमा क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६’ मा ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा असार ४ गते काठमाडौंस्थित होटल र्याडिसनमा आयोजित अवार्डको अठारौं संस्करणमा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । अवार्ड वितरण कार्यक्रममा विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस अवसरमा बैंकले आफ्नो सफलतामा योगदान पुर्याउने ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ । यसअघि पनि बैंकले न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित ‘न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड’को दशौं संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ अवार्ड प्राप्त गरेको थियो ।