विकासन्युज

तनहुँ जलविद्युतद्वारा ९६ योजना सम्पन्न, थप ७ वटा निर्माणाधीन

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत ७ योजना निर्माणाधीन अवस्थामा छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत ७ वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् । आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएको जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिका-३ स्थित किल्चोक शाखा सडकमा नाला निर्माण र ऋषिङ गाउँपालिका-१ होक्सेटारमा खानेपानी मुहान तथा पाइप सुधार योजना सम्पन्न भएका छन् । आयोजनामार्फत् हालसम्म प्रभावित क्षेत्रमा ९६ योजना सम्पन्न भएका छन् । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरुमा उपभोक्ता समितिहरुमार्फत् सामुदायिक विकास तथा जीविकोपार्जन पुनस्र्थापन कार्यक्रम सञ्चालनमा रहेको भण्डारीले उल्लेख गरे । उपभोक्ता समितिहरुमार्फत् सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रुपमा अनुगमन गरिएको छ । ऋषिङ गाउँपालिका-७ स्थित माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक, भिमाद नगरपालिका-५ स्थित फेदीखोला मोटरेवल पुल निर्माण, ऋषिङ गाउँपालिका-७ स्थित डाडीवन चुलेसी पहुँच मार्ग, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा गरिने चारवटा झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानी, भिमाद नगरपालिका-५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण, म्याग्दे गाउँपालिका-५ फूलबारीस्थित सामुदायिक भवन संरक्षणका लागि पर्खाल लगाउने कार्य र ऋषिङ गाउँपालिका-१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण कार्य जारी छन् । आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीको भनाइ छ । उनले भने, ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।’ आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरणहरु र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ । 

बैंकका सीईओको तलबमा राष्ट्र बैंकको कडाइ, ५ प्रतिशतबाट २ प्रतिशतमा झर्‍यो सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा सुविधामा कडाइ गर्दै नयाँ मार्गदर्शन जारी गरेको छ । नयाँ मार्गदर्शनअनुसार अब वाणिज्य बैंकका सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको अधिकतम २ प्रतिशत र अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरेको हो । यसअघि सीईओले औसत कर्मचारी खर्चको ५ प्रतिशत र कुल सम्पत्तिको ०.०२५ प्रतिशतसम्म तलब तथा भत्ता पाउन सक्ने व्यवस्था थियो । विकास बैंकका हकमा भने सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन वर्षको औसत कर्मचारी खर्चको अधिकतम ३ प्रतिशत तथा अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०२० प्रतिशतसम्म निर्धारण गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, फाइनान्स कम्पनीका सीईओको तलब तथा सुविधा कुल सम्पत्तिको ०.१० प्रतिशत र लघुवित्त वित्तीय संस्थाका सीईओको ०.०५० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सीईओ नियुक्त गर्दाकै बेला वार्षिक तलब, भत्ता तथा अन्य सुविधाबारे सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । सम्झौतामा उल्लेख गरिएका सुविधाबाहेक कार्यकाल भर अन्य कुनै अतिरिक्त रकम वा सुविधा उपलब्ध गराउन नपाइने पनि मार्गदर्शनमा उल्लेख छ । नयाँ व्यवस्था समस्याग्रस्त घोषणा भएका संस्था, अन्तर्राष्ट्रिय दातृ निकाय वा नेपाल सरकारको सहयोगमा पुनर्संरचना भइरहेका संस्था, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था, चुक्ता पुँजीको २० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका संस्था तथा विदेशी बैंकका नेपालस्थित शाखामा भने लागू नहुने राष्ट्र बैंकले जनाएको छ । मार्गदर्शनअनुसार सीईओको तलब निर्धारण गर्दा कार्यसम्पादनलाई मुख्य आधार बनाउनुपर्नेछ । यसका लागि सम्पत्तिमा प्रतिफल, पुँजीमा प्रतिफल, नाफा, पुँजीकोष अनुपात, निष्क्रिय कर्जा, जोखिम व्यवस्थापन, नियामकीय व्यवस्था पालना, ग्राहक सन्तुष्टि, सेवा गुणस्तरलगायत सूचकको मूल्यांकन गर्नुपर्नेछ । तलब, भत्ता तथा अन्य सुविधा निर्धारण गर्न सञ्चालक समितिअन्तर्गतको सिफारिस समितिले सीईओको योग्यता, अनुभव, व्यवसायको आकार, सञ्चालन मुनाफा, संस्थाको जोखिम तथा समान प्रकृतिका संस्थामा उपलब्ध पारिश्रमिकको अध्ययन गरी सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त सिफारिसका आधारमा सञ्चालक समितिले अन्तिम निर्णय गर्नेछ । मार्गदर्शनमा सीईओलाई सिफारिस समितिले निर्धारण गरेबमोजिम एक/एक वटा मोबाइल र ल्यापटप तथा एउटा सवारीसाधन उपलब्ध गराउन सकिने उल्लेख छ। पुनर्नियुक्ति भए पनि थप सवारीसाधन उपलब्ध गराउन भने नपाइने व्यवस्था गरिएको छ । साथै, संस्थाको सहायक स्तरदेखि सीईओसम्मको पारिश्रमिक अन्तर (एबथ न्बउ) को समीक्षा गरेर मात्रै अन्तिम तलब निर्धारण गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । 

पहिलो हाफमै हाइटीविरुद्ध ब्राजिलको तीन गोल

काठमाडौं । फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा ब्राजिलले हाइटीविरुद्ध शानदार प्रदर्शन गर्दै पहिलो हाफमै ३-० को बलियो अग्रता बनाएको छ । पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरीमा रोकिएको ब्राजिल यस खेलमा भने सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भयो । खेलको २३औँ मिनेटमा म्याथ्युज कुन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । उत्कृष्ट लयमा देखिएका कुन्हाले पुनः खेलको ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा स्टार फरवार्ड भिनिसियस जुनियरले गोल थपेपछि ब्राजिलले पहिलो हाफमै ३ गोलको  अग्रता लिन सफल भएको हो ।  

पोखरामा ५ अर्बको आयोजना, तर लेकसाइडमै खानेपानी संकट

काठमाडौं । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गराएका छन् । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको टोलीले शुक्रबार संस्थान पुगेर लेकसाइड क्षेत्रमा खानेपानी समस्याबारे जानकारी गराउँदै तत्काल समाधानको माग गरेको हो । अध्यक्ष सुवेदीले देशकै प्रमुख पर्यटकीय गन्तव्यमा खानेपानी अभाव हुनु चिन्ताजनक रहेको बताए । ‘पर्यटनको राजधानी भनिने पोखराको मुख्य पर्यटकीय क्षेत्रमा आधारभूत आवश्यकता नै पूरा हुन नसक्नु दुःखद विषय हो,’ उनले भने ।  पर्यटन व्यवसायी रहनुभएका होटल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुलीले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को करिब ५ अर्ब रुपैयाँ लगानीमा पोखरा खानेपानी सुधार आयोजना सम्पन्न भए पनि अपेक्षित सेवा नपाएको गुनासो गरे । ‘पोखरामा आगामी २० वर्षसम्म खानेपानी अभाव नहुने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो। तर अहिले धारामा पानी नआउँदा व्यवसायी र सर्वसाधारण दुवै आक्रान्त बनेका छन्,’ उनले भने, ‘हामीले दैनिक ट्याङ्करबाट पानी किनेर होटल सञ्चालन गर्नुपरेको अवस्था छ । पर्यटकीय राजधानीलाई कम्तीमा नियमित खानेपानी सेवा त आवश्यक छ ।’ आयोजना अन्तर्गत मर्दीखोलाबाट पोखरासम्म पानी ल्याइए पनि मुख्य प्रसारण पाइपको क्षमता अपर्याप्त हुँदा समस्या देखिएको संस्थानका इन्जिनियर लक्ष्मण पाण्डेले बताए । समस्या समाधानका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गरी ठूलो क्षमताको पाइप जडान गर्नुपर्ने व्यवसायीको माग छ  ।  पोखरा खानेपानी सुधार आयोजनाले दैनिक ४ करोड १० लाख लिटर पानी शुद्धीकरण गरी वितरण गर्ने लक्ष्य राखेको छ । तर हाल पोखरामा दैनिक ८ करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको बताइएको छ । पोखराको मुख्य स्रोत मर्दीखोला हो, जहाँबाट पानी पुरुञ्चौरस्थित प्रशोधन केन्द्रमा ल्याई शुद्धीकरण गरिन्छ । त्यसपछि २० इन्च व्यासका चारवटा पाइपमार्फत वितरण गरिन्छ । आयोजनाअन्तर्गत २० लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरिए पनि हाल पोखरा-५ पस्र्याङ र पोखरा-११ फूलबारीस्थित ट्याङ्कीबाट मात्र वितरण भइरहेको छ । पोखरा-१५ कोलपाटनस्थित ट्याङ्की भने प्राविधिक कारणले अझै सञ्चालनमा आउन सकेको छैन । पर्यटन क्षेत्रको प्रमुख केन्द्र लेकसाइड मै खानेपानी सङ्कट गहिरिँदै जाँदा यसको असर पर्यटन व्यवसाय र पोखराको छविमाथि पर्न सक्ने भन्दै व्यवसायीले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका हुन् । 

आजको मौसमले बढायो दोहोरो चुनौती, एकातिर भारी वर्षा, अर्कोतिर तातो लहर

काठमाडौं । हाल नेपालको कोशी प्रदेशका केही भू-भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू-भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेशमा एक-दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

स्कटल्यान्डविरुद्ध मोरक्कोको कठिन जित

काठमाडौं । विश्वकपको समूह ‘सी’ अन्तर्गत भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई १-० ले हराएको छ ।  स्कटल्यान्डले खेल सुरु भएको केवल ७१ सेकेन्डमै पहिलो गोल खान खाएको थियो । इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता लिएको थियो । मोरक्कोले खेलभर उत्कृष्ट प्रदर्शन गरेपनि स्कटल्यान्डलाई भने पूर्ण रूपमा दबाबमा राख्न सकेन । पहिलो खेलमा ब्राजिललाई रोकेको मोरक्कोले दोस्रो खेलमा जित निकाल्दै ४ अंक बनाएको छ ।  बोस्टन स्टेडियममा भएको खेलमा जितसँगै मोरक्कोले नकआउट सम्भावना बलियो बनाएको छ । स्क्टल्यान्डको भने ३ अंक रहेको छ ।

अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अमेरिकाले अस्ट्रेलियालाई २-० ले हराएको छ ।लगातार दोस्रो जित दर्ता गर्दै अमेरिकाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । सिएटल स्टेडियममा भएको खेलमा अमेरिकाले सुरुवाती अग्रता विपक्षी टोलीको आत्मघाती गोलबाट लिएको थियो । खेलको ११औं मिनेटमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसपछि खेलको ४३औं मिनेटमा एलेक्स फ्रीम्यानले उत्कृष्ट गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए ।  पहिलो हाफमा २–० ले पछि परेको अष्ट्रेलियाले दोस्रो हाफमा राम्रो खेले पनि गोल गर्न भने सकेन । २ खेल खेलेको अष्ट्रेलियाको ३ अंक रहेको छ भने समूहका अन्य दुई टोली पाराग्वे र टर्किए अंकविहीन अवस्थामा छन् ।

नेपालमा ढिला प्रवेश भयो मनसुन

काठमाडौैं ।  नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले सरदर मिति जुन १३ तारिखमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन आज असार ५ गते (जुन १९) मा औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको जानकारी दिए ।  उनका अनुसार कोशी प्रदेशका केही भूभागमा पूवेश गरेको मनसुन अहिले निकै कमजोर रहेको छ । देशभर मनसुन फैलिन भने समय लाग्ने बताइएको छ । सन् १९७४ मा पनि आजकै दिन नेपालमा मनसुन प्रवेश गरेको थियो भने सन् १९८२ मा सबैभन्दा ढिलो, जुन २७ मा मनसुन आगमन भएको थियो ।  सन् १९८१ यता अभिलेख गरिएको मनसुनी वर्षाको विवरण अनुसार सबैभन्दा कम वर्षा सन् २०१५ मा ११६९ मिलिलिटर मात्र भएको थियो । नेपालमा मनसुन ऋतुमा औसत १३८२ मिलिलिटर वर्षा हुने गर्दछ । गत वर्ष भने मनसुन १५ दिनअघि नै प्रवेश गरेको थियो ।  यसपालि प्रि मनसुमा धेरै वर्षा भएको छ । मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ ।