लाजिम्पाटको बारबाट २२ लाख नगदसहित दुई जना क्रिप्टोकरेन्सी कारोबारी पक्राउ

काठमाडौं । लाजिम्पाटस्थित एक बारमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गर्ने दुई जना पक्राउ परेका छन् ।

स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित ४७ वर्षीय तारालाल विश्वकर्मा र ५० वर्षीय होमबहादुर केसी पक्राउ परेका हुन् ।

बिहीबार प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले लाजिम्पाटको बारमा करिब ८ बजे उक्त स्थानमा छापा मार्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार विश्वकर्माले बोकेको झोलाभित्र लुकाएर राखिएको अवस्थामा स्रोत नखुलेको नेपाली नगद २२ लाख रुपैयाँ, ४० अमेरिकी डलर तथा रकम उल्लेख नगरिएका तर हस्ताक्षर गरिएका चार थान चेक बरामद गरिएको छ । 

अनुसन्धानका क्रममा विश्वकर्माले प्रयोग गर्दै आएको मोबाइल फोनमा रहेको बाइनान्स एपमार्फत करिब २ हजार युसएडटी बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको विवरण फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । 

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको उनले बताए ।

Share News