अब धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा
काठमाडौं । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ । फागुन १० गतेदेखि नै महानगरले धरहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो । काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले सुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताए । महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी दिए । उनका अनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो । पार्किङ क्षेत्र रहेको तीन वटा तलामा हाल प्रत्येक तलामा १० वटा दरले ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको उनले जानकारी दिए । नौ वटा उपकरण भने पहिला नै जडान गरिएका थिए । पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । सिसिटिभी क्यामेरा अझै थप गर्ने तयारी भइरहेको उनले बताए । जोशीका अनुसार धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ। यस्तै बी–२ मा करिब ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने उनले जानकारी दिए । उनका अनुसार यी दवै क्षेत्र सवारी साधनले दैनिक प्याक हुने गरेको छ । सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाह (एयर सर्कुलेसन)मा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भएको प्रमुख जोशीले जानकारी दिए । उक्त तलामा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ । सवारीको अत्यधिक चाप भएको अवस्थामा भने उक्त तलामा पनि सवारीसधान पार्किङ गर्ने गरिएको उनले जानकारी दिए । उनका अनुसार अपाङ्गमैत्री पार्किङ स्थानको पनि व्यवस्था गरिएको छ । महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै धरहराको पार्किङ सञ्चालनमा ल्याएको हो । ती क्षेत्रका फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ । महानगरका अनुसार काठमाडौं महानगरपालिका भित्रका वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक तथा पेटीमा सवारी साधन पार्किङ गर्न पाइँदैन । नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइएको पनि महानगरले जनाएको छ । नगर प्रहरी बलका प्रमुख जोशीका अनुसार हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निःशुल्क राखिएको छ । नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन् । पार्किङ क्षेत्र भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन भित्र्याउनका लागि खुला रहनेछ भने त्यसपछि बाहिर निकाल्न मात्रै अनुमति दिइने व्यवस्था गरिएको उनले जानकारी दिए । हाल पार्किङ क्षेत्रमा दिनभरी सवारी पार्किङ गरेर राख्ने प्रवृत्ति देखा परेको प्रमुख जोशीले बताए । उनका अनुसार बिहान पार्किङ गरेर बेलुका मात्र निकाल्ने प्रवृत्ति देखिएको छ । यसले सवारी पार्किङमा केही समस्या देखिएको उनको भनाइ छ । आगामी दिनमा यसलाई सुधार गर्दै थप प्रभावकारी व्यवस्थापन गरिने उनले जानकारी दिए । उनले सवारीसाधनको सुरक्षाको जिम्मेवारी भने सवारीधनी आफैले लिनुपर्ने पनि बताए । साथै सवारीसाधन पार्किङ गर्दा अरूलाई असहज नहुनेगरी गरिदिन पनि आग्रह गरे।
नागपोखरीमा याडियाको सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालले काठमाडौंको नागपोखरीमा नयाँ याडिया केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको केन्द्रीय क्षेत्रमा रहेको यो नयाँ सेवा केन्द्रले याडिया स्कुटर प्रयोगकर्ताहरूलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । यस केन्द्र सञ्चालनमा आएपछि ग्राहकहरूले अब अझ सहज स्थानमा प्राविधिक सेवा तथा मर्मत सुविधा प्राप्त गर्न सक्नेछन् । यो सर्भिस सेन्टर आइतबारबाछ औपचारिक रूपमा सञ्चालनमा आएको छ र विशेष गरी काठमाडौंको केन्द्रिय क्षेत्रमा बसोबास गर्ने वा काम गर्ने याडिया प्रयोगकर्ताहरूका लागि सेवा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ । याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई–पांग्रे सवारी साधन ब्रान्ड को रूपमा आफ्नो स्थान कायम राख्दै आएको छ । नेपाली बजारमा पनि याडियाका विभिन्न मोडेलहरू ग्राहकहरूबीच लोकप्रिय बन्दै गइरहेका छन्। विशेष गरी भेलक्स, ओ‌विन तथा सबैभन्दा धेरै बिक्री हुने ई८ एस प्रो मोडेलले नेपाली उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेका छन् । कम्पनीले आगामी दिनहरूमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि सर्भिस सेन्टरहरू विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिएको छ ।
नथिङ फोन (फोर ए) नेपाली बजारमा सार्वजनिक
काठमाडौं । विश्व बजारमा आफ्नो भिन्न डिजाइन र किफायती मूल्यका कारण पहिचान बनाएको ‘नथिङ’ ब्राण्डको नयाँ स्मार्टफोन नथिङ फोन (फोर ए) नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि नथिङको आधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्सले यो फोन नेपाली बजारमा सार्वजनिक गरेको हो । नयाँ फोनको सार्वजनिकसँगै कम्पनीले सुरुवाती ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । ५५ हजार ९९९ रुपैयाँ सुरुवाती मूल्य तोकिएको नथिङ फोन (फोर ए) खरिद गर्ने ग्राहकले ८ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ुसिएमएफ बड्स २ ए प्लसु निःशुल्क प्राप्त गर्नेछन् । यस पटक नथिङले आफ्नो ‘ए’ सिरिजलाई पूर्णतया क्यामेरा सेन्ट्रिक बनाएको छ । फोनमा ७० एक्स अल्ट्रा जुमसहितको ‘थ्रि क्यामेरा सेटअप रहेको छ, जसलाई टेक रिभ्युअरहरूले यो सेग्मेन्टकै उत्कृष्ट क्यामेरा भनेका छन् । यसमा नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक, आल्मुनियम फ्रेम र ग्लिफ लाइटजस्ता फिचरहरू रहेका छन् । त्यस्तै, यसमा शक्तिशाली स्न्यापड्रागन ७ एस जेन ४ चिपसेट राखिएको छ । त्यस्तै, गुगल जेमिनी र च्याट जीपीटी जस्ता प्रिमियम एआई टुल्सहरु फोनमै इन्टिग्रेटेड गरिएका छन् । ब्लोटवेयर रहित क्लिन नथिङ ओएस र ३ जेनेरेसनसम्मको एन्ड्रोइड अपडेटको ग्यारेन्टी रहेको सिजी मोबाइल्सले जनाएको छ ।
सिटिजन्स बैंकको २०औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा ६२ कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो स्थापनाको १९औं वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा ‘दीर्घ सेवा सम्मान’ कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष चैत्र १ गतेलाई ‘कर्मचारी दिवस’ का रूपमा मनाउँदै आएको बैंकले यस वर्ष पनि सोही दिन पारेर बैंकमा १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित विशेष समारोहका बीच प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले १० वर्ष सेवा पूरा गरेका ४८ जना र १५ वर्ष सेवा पूरा गरेका १४ जना गरी कुल ६२ जना कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरे । विसं २०६४ वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकिङ यात्रा सुरु गरेको यस बैंकमा हाल १ हजार ७ सय ६४ कर्मचारीहरू कार्यरत छन् भने हालसम्म ३५६ जना कर्मचारीले दीर्घ सेवा पदक प्राप्त गरिसकेका छन् । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले कर्मचारीहरूलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई कार्यसम्पादन गर्न आग्रह गर्दै बैंकलाई नयाँ उचाइमा पुर्याउन शतप्रतिशत योगदान दिन आह्वान गरे। ‘बैंक अफ द इयर २०२४ र २०२५’ को प्रतिष्ठित उपाधि प्राप्त गर्न सफल यस बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवामा आफूलाई अब्बल सावित गरेको छ । बैंकले नेपालमै पहिलो पटक ’सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल कार्ड) सञ्चालनमा ल्याउनुका साथै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘डिजी बैंक सेवा’, र फ्रिलान्सरहरूका लागि विशेष बचत खाता समेत सुरु गरिसकेको छ । हाल बैंकले देशभरका २०० शाखा, १६९ एटीएम र विभिन्न विस्तारित काउन्टरहरूमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी वैशाख ७ गते हुने मुख्य वार्षिकोत्सवको अवसरमा बैंकले महिनाभरि नै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
गभर्नर पौडेलले सिकाए पैसाको महत्त्व, भने- पैसा भ्यालु स्टोर गर्ने माध्यम हो
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जीवनमा जुनसुकै पेशा रोजेपनि पैसाको सदुपयोग गर्न आवश्यक रहेको बताएका छन् । सोमबार ग्लोबल मनी वीक–२०२६ को अवसरमा बोल्दै उनले डाक्टर, इन्जिनियर, प्लम्बर, इलेक्ट्रीसियन, शिक्षक जे बनेपनि मिहिनेत गरेर कमाएको पैसाको सदुपयोग कसरी गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताए । गभर्नर पौडेलले विद्यार्थीहरूलाई सानै उमेरदेखि पैसाको महत्व, बचत र खर्च व्यवस्थापनबारे बुझ्न आवश्यक रहेको बताए । पैसा भनेको मूल्य सुरक्षित राख्ने माध्यम (भ्यालु स्टोर) भएको उनको भनाइ छ । आज गरेको कामको मूल्य भविष्यमा केका रूपमा प्राप्त हुन्छ भन्ने कुरा पैसाले निर्धारण गर्ने उनले बताए । ‘कुनै व्यक्तिले आज कसैका लागि काम गरेपछि त्यसको सट्टा प्राप्त गरेको पैसा प्रयोग गरेर अन्य ठाउँबाट आवश्यक सामान किन्न सक्छ । दूध, चिनी, चियापत्ती वा अन्य सेवासुविधा खरिद गर्ने प्रक्रिया पैसाको माध्यमबाट सम्भव हुने भएकाले यसको सही प्रयोगबारे बुझ्न आवश्यक छ,’ उनले भने, ‘आज तपाईंले गरेको कामको मूल्य भविष्यमा तपाईंले के पाउनुहुन्छ भन्ने पैसाले निर्धारण गर्छ र पैसा मिहिनेतको फल हो, त्यसैले यसलाई सदुपयोग गर्न र मिहिनेत गरेर कमाएको मूल्य सुरक्षित गर्न जान्नुपर्छ ।’ उनका अनुसार विगतमा ऋण तिर्न नसक्दा व्यक्ति जीवनभर अरूको लागि काम गर्न बाध्य हुन्थे । आजको समय फरक भए पनि पैसा सदुपयोग नगरेको खण्डमा नकारात्मक परिणाम हुन सक्ने उनले बताए । पौडेलले भने, ‘पैसासँग सम्बन्धित विषयहरू समयसँगै परिवर्तन हुँदै गएको छ । पहिले सुन, चाँदी र तामाका असर्फी चल्थे भने अहिले नोट र भविष्यमा भर्चुअल माध्यमबाट पैसा प्रयोग हुने सम्भावना छ । बैंकिङ सेवा र डिजिटल भुक्तानीको माध्यमबाट पैसा चलाउने, बचत गर्ने र खर्च गर्ने कुरा जान्न आवश्यक छ ।’
जेनजी प्रदर्शनका क्रममा नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार
काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी करागारबाट ५४६ कैदी भागेका थिए । जसमध्ये ३६२ जना नवलपरासी कारागारमा फर्किए भने चार जना अन्य कारागारमा फर्किएर बसेको कारागार प्रशासन नवलपरासीका नायब सुब्बा किरण अर्यालले बताए । केही कैदीबन्दी आफै फर्केर आए पनि केहीलाई प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो । तीमध्ये १५० पुरुष र ३० जना महिला कारागारमा हाजिर नभएर फरार नै रहेको उनले जानकारी दिए । कारागारलाई आफ्नो नियन्त्रणमा लिएर भागेका कैदीलाई कारागार प्रशासनले सूचना जारी गर्दै समयमा नै पुनः कारागार फर्किनका लागि सूचना जारी गरेको थियो । कैदी कारागारबाट भाग्नुभन्दा पहिला नवलपरासी कारागारमा ५७५ जना कैदी रहेका थिए । तीमध्ये ४१ जना विदेशी (भारतीय) कैदी थिए । भारतीय कैदीबन्दीमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरी कारागार बुझाए पनि ३८ जना अझै फरार नै रहेका छन् । फरार कैदीबन्दीलाई खोजतलास गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वीरदत्त पन्तले बताए ।
राजनीति छोडेको छैन, विकृत माहोलबाट टाढिन चाहेको हुँ : डा. सिके राउत
नेपालको संसदीय राजनीतिमा पछिल्लो समय देखिएको अस्थिरता, दलहरूबीचको प्रतिस्पर्धा र जनअपेक्षाबीचको दूरीका कारण धेरै नेताहरूले आफ्ना राजनीतिक रणनीतिहरू पुनर्विचार गर्न थालेका छन् । यही सन्दर्भमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट बाहिरिने घोषणा गरेका छन् । उनले आफू सुरुदेखि नै संसदीय राजनीतिमा जान इच्छुक नभएको तर परिस्थितिवश त्यसमा सहभागी भएको बताए । संसद्मा पुगेपछि पनि आफू मन्त्री बन्ने लोभबाट टाढा बसेको दाबी गर्दै उनले अब देश विकासको आन्दोलनमा केन्द्रित हुने योजना सुनाएका छन् । संसदीय राजनीतिबाट टाढिए पनि देश र समाजका लागि आफ्नो भूमिका अझ सक्रिय रहने उनको भनाइ छ । प्रस्तुत छ उनै डा. सिके राउतसँग गरिएको कुराकानीको संम्पादित अंश : तपाईंले संसदीय राजनीतिबाट बाहिरिने घोषणा गर्नुभएको छ, यो निर्णय किन लिनुभयो ? मैले यो निर्णय भावनात्मक रूपमा होइन, गहिरो अनुभव र अवलोकनपछि लिएको हुँ । वास्तवमा म सुरुदेखि नै संसदीय राजनीतिमा जाने पक्षमा थिइन । मेरो सोच देश विकासका लागि आन्दोलन, अभियान र जनसक्रियता बढी प्रभावकारी हुन्छ भन्ने थियो । तर त्यो बेला मधेसका जनता ठूलो राजनीतिक अन्यायको अनुभूति गरिरहेका थिए । उनीहरूको आवाज राष्ट्रिय स्तरमा उठाउने एउटा माध्यम संसद् पनि हुन सक्छ भन्ने सोचेर हामी चुनावमा गयौं । जनताले हामीलाई ठूलो विश्वासका साथ संसद्मा पठाए । संसद् पुगेपछि मैले नजिकबाट राजनीतिलाई हेर्ने मौका पाएँ । तर त्यहाँ देखिएको वातावरण दलहरूबीचको खिचातानी, पदका लागि हुने प्रतिस्पर्धा, सिद्धान्तभन्दा स्वार्थ प्रधान हुने प्रवृत्ति, यी सबैले मलाई निकै निराश बनायो। मलाई लाग्यो यस्तो माहोलमा बसेर देश र जनताको हितमा प्रभावकारी काम गर्न कठिन छ । त्यसैले मैले आफूलाई यो विकृत माहोलबाट टाढा राखेर विकासको आन्दोलनमा लाग्ने निर्णय गरेको हुँ । तपाईं भन्नुहुन्छ, सुरुदेखि नै संसदीय राजनीतिमा जाने इच्छा थिएन । त्यसो भए चुनावमा किन सहभागी हुनुभयो ? यो प्रश्न धेरैले सोध्नुहुन्छ । सत्य के हो भने मेरो मूल उद्देश्य राजनीतिक पद प्राप्त गर्नु थिएन । त्यो समय मधेस आन्दोलनपछि जनतामा ठूलो असन्तोष थियो । धेरै मुद्दाहरू उठेका थिए तर राज्यले त्यसलाई गम्भीर रूपमा लिएको देखिँदैनथ्यो । त्यस्तो अवस्थामा जनताको आवाजलाई राष्ट्रिय राजनीतिक संरचनामा पुर्याउने एउटा माध्यम संसद् पनि हुन सक्छ भन्ने सोच बन्यो । हामीले चुनावमा भाग लियौं र जनताले अत्यन्त ठूलो समर्थन दिनुभयो । त्यो समर्थनले हामीलाई जिम्मेवारी पनि दियो । त्यसैले संसद्मा गएर जनताका मुद्दा उठाउने प्रयास गरें। तर समय बित्दै जाँदा संसदीय राजनीति धेरै हदसम्म पद, शक्ति र समीकरणको खेलमा सीमित भइरहेको मैले पाएँ । जनताका वास्तविक समस्या समाधान गर्नेभन्दा पनि सत्ता समीकरण मिलाउने काम बढी देखियो । तपाईं संसद्मा रहँदा मन्त्री बन्ने अवसर पनि आएको थियो भनिन्छ । तर तपाईंले अस्वीकार गर्नुभयो किन ? सांसद भएपछि स्वाभाविक रूपमा धेरै राजनीतिक समीकरणहरू आउँछन् । मन्त्री बन्ने प्रस्ताव पनि आएका थिए । तर मैले त्यसमा कुनै चासो देखाइनँ । मेरो लागि मन्त्री पद कुनै लक्ष्य थिएन । यदि लक्ष्य नै पद प्राप्त गर्नु हो भने राजनीति सजिलो हुन्छ । तर लक्ष्य जनताको जीवन परिवर्तन गर्नु हो भने त्यो निकै कठिन हुन्छ ।मन्त्री बनेर केही काम गर्न सकिन्छ भन्ने तर्क पनि हुन सक्छ । तर त्यो पदमा पुग्दा धेरै सम्झौता गर्नुपर्ने अवस्था आउँछ । धेरैपटक आफ्नै सिद्धान्तबाट पछि हट्नुपर्ने हुन्छ । त्यसैले मैले सुरुदेखि नै आफूलाई त्यस्तो प्रतिस्पर्धाबाट टाढा राखें । संसदीय राजनीतिलाई तपाईं विकृत माहोल भन्नुहुन्छ ? यसलाई अलि स्पष्ट पार्नुहुन्छ ? म सम्पूर्ण संसदीय प्रणालीलाई गलत भन्न चाहन्नँ । लोकतन्त्रको एउटा महत्त्वपूर्ण अंग हो संसद् । तर हाम्रो अभ्यासमा केही समस्या देखिएका छन् । उदाहरणका लागि विचार र सिद्धान्तभन्दा सत्ता समीकरण प्राथमिक हुने, नीति निर्माणभन्दा पद बाँडफाँटमा बढी ध्यान जाने, जनताको मुद्दा उठाउनेभन्दा दलगत स्वार्थ हावी हुने यी प्रवृत्तिहरूले संसदीय प्रणालीलाई कमजोर बनाइरहेका छन् । मैले व्यक्तिगत रूपमा यस्तो वातावरणमा सहज महसुस गर्न सकिनँ । त्यसैले आफूलाई त्यहाँबाट अलग राख्ने निर्णय गरेको हुँ । संसदीय राजनीतिबाट टाढिएपछि तपाईंको भूमिका के हुनेछ ? संसद् छोड्नु भनेको देश र समाजबाट अलग हुनु होइन । बरु म अब अझ सक्रिय रूपमा विकास र सामाजिक परिवर्तनको आन्दोलनमा लाग्न चाहन्छु । हामीले देखेका धेरै समस्या राजनीतिक भाषणले मात्र समाधान हुँदैनन् । त्यसका लागि प्रत्यक्ष काम गर्नुपर्छ । अव म शिक्षा सुधार, रोजगारी सिर्जना र स्थानीय विकास परियोजनाहरूमा जनसहभागितामार्फत काम गर्ने योजनासहित अगाडि बढ्छु । तपाईं विकासको आन्दोलन भन्नुहुन्छ, त्यसको स्वरूप कस्तो हुनेछ ? विकासको आन्दोलन भनेको केवल सडक आन्दोलन होइन, यो समाज परिवर्तनको दीर्घकालीन अभियान हो । हामीले केही क्षेत्रमा विशेष ध्यान दिने सोच बनाएका छौं । शिक्षा, रोजगारी र स्थानीय विकास यी तीन क्षेत्रमा काम गर्न सकिन्छ । यो निर्णयलाई कतिपयले राजनीतिक रणनीति पनि भन्न सक्छन् , तपाईं के भन्नुहुन्छ ? राजनीतिमा सबै निर्णयलाई रणनीतिक रूपमा पनि हेरिन्छ । त्यो स्वाभाविक हो । तर मेरो निर्णय व्यक्तिगत अनुभव र विश्वासबाट आएको हो । म आफूलाई सहज नलागेको ठाउँमा बसिरहन चाहन्नँ । म विकास र सामाजिक आन्दोलनमार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छु भने त्यो नै मेरो लागि ठूलो उपलब्धि हुनेछ । अन्त्यमा तपाईंले जनतालाई के सन्देश दिन चाहनुहुन्छ ? नेपाल परिवर्तनको ठूलो सम्भावना भएको देश हो । तर परिवर्तन केवल नेताले मात्र ल्याउने होइन । जब नागरिकहरू सक्रिय हुन्छन्, समाज सचेत हुन्छ र युवाहरू नेतृत्व लिन तयार हुन्छन् तब वास्तविक परिवर्तन सम्भव हुन्छ । म संसदीय राजनीतिबाट टाढिए पनि देशको विकास र जनताको समृद्धिका लागि मेरो प्रतिबद्धता पहिले जस्तै दृढ छ । म खालि विकृत माहोलबाट मात्रै टाढिन चाहेको हुँ, सामाजिक आन्दोलनबाट होइन ।
बागमती प्रदेश सरकारको ८ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत
काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको अवधिमा १७ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि फागुनसम्ममा कुल बजेटको २२ दशमलव ३१ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को आठ महिनाको अवधिमा प्रदेश सरकारले चालुतर्फ ३० दशमलव ५६ प्रतिशत र पुँजीगततर्फ १७ दशमलव १२ प्रतिशत बजेट खर्च गरेको छ । चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा १५ अर्ब पाँच करोड आठ लाख ३८ हजार बजेट खर्च भएको उनले बताए । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले ४३ दशमलव ८५ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ३७ दशमलव १० प्रतिशत, प्रदेशसभा सचिवालयले ३७ दशमलव २९ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले ३८ दशमलव ५४ प्रतिशत, स्वास्थ्य मन्त्रालयले ३७ दशमलव १० प्रतिशत, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३४ दशमलव ५३ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले सात दशमलव ६४ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचनाहरू क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायहरूले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत पौडेलले बताए ।