डीजीओ एपमा फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमै
काठमाडौं । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) ले दर्शकका लागि अफर सार्वजनिक गरेको छ । डीजीओले अब मोबाइल प्रयोगकर्ताका लागि मात्र ५४९ रुपैयाँमा ‘मोबाइल पास’ उपलब्ध गराउने घोषणा गरेको हो । उक्त पासमार्फत दर्शकहरूले विश्वकपका सबै १०४ खेलहरू आफ्नै मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन् । कम्पनीका अनुसार दर्शकहरूले नेपाली कमेन्टरीसहित १०८० पी फुल एचडी क्वालिटीमा खेलहरूको मजा लिन सक्नेछन् । साथै, आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्ने सुविधा पनि उपलब्ध रहनेछ । डीजीओ एपमार्फत सहज रूपमा खरिद गर्न मिल्ने यो पासले दर्शकलाई झन्झटमुक्त अनुभव दिने कम्पनीको दाबी छ । केही क्लिकमै पास सक्रिय गर्न सकिने र सुरक्षित रूपमा आधिकारिक प्लेटफर्मबाटै सेवा लिन सकिने जनाइएको छ । डीजीओका प्रवक्ताका अनुसार नेपाली दर्शकलाई गुणस्तरीय र विश्वसनीय स्ट्रिमिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । 'दर्शकहरूले कुनै शंकास्पद लिंक वा तेस्रो पक्षको भर नपरी आधिकारिक माध्यमबाट सुरक्षित रूपमा विश्वकप हेर्न सकून् भन्ने हाम्रो चाहना हो,' उनले भने । यसैबीच, कम्पनीले अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा अनधिकृत एपहरूप्रति सचेत रहन आग्रह गरेको छ । यस्ता प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम निम्त्याउन सक्ने भन्दै आधिकारिक डीजीओ एप प्रयोग गर्न सुझाइएको छ । डीजीओले यो अफरमार्फत नेपालका फुटबल प्रेमीलाई सहज, सुरक्षित र किफायती रूपमा विश्वकपको रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
शोधनान्तर स्थिति साढे ८ खर्बले बचतमा, चालु खाता ७.२९ खर्ब रुपैयाँ
काठमाडौं । शोधनान्तर स्थिति साढे ८ खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब ९८ करोडले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १६ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
जेसीबी नेपालको पहल : ग्राहक सम्मान र सम्बन्ध विस्तारमा जोड
काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालि अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा ‘जेसीबी ग्राहक सम्मान कार्यक्रम’ सफलतापूर्वक आयोजना गरेको छ । कार्यक्रममा विशिष्ट ग्राहक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला तथा जेसीबी नेपालका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कोशी क्षेत्रका ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूसँगको सम्बन्ध थप सुदृढ बनाउने, उनीहरूको योगदानको सम्मान गर्ने र भरपर्दो मेसिन, बलियो आफ्टर सेल्स सेवा तथा दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने मञ्चका रूपमा कार्यक्रम सफल भएको बताइएको छ । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जेसीबी उपकरण, पार्ट्स, सर्भिस तथा वार्षिक मर्मत सम्झौता सेवामा लामो समयदेखि विश्वास गर्दै आएका ग्राहकहरूको औपचारिक सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै निरन्तर सहकार्यप्रति आभार व्यक्त गरिएको थियो । यसैगरी, निर्माण, भारी उपकरण, औद्योगिक तथा व्यापारिक क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसन, निर्माण संघ, क्रसर संघ, इट्टा उद्योग संघ तथा स्थानीय वाणिज्य संघका प्रतिनिधिहरू सम्मानित भएका थिए । कार्यक्रममा चाबी हस्तान्तरण समारोह पनि आयोजना गरिएको थियो, जहाँ नयाँ जेसीबी मेसिन खरिद गर्ने ग्राहकहरूलाई औपचारिक रूपमा चाबी हस्तान्तरण गरिएको थियो । यसले जेसीबीको कार्यक्षमता, टिकाउपन र सेवा सञ्जालप्रति ग्राहकहरूको बढ्दो विश्वास झल्काएको कम्पनीको भनाइ छ । कार्यक्रमकै क्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरको सरप्राइज बुकिङ गरेका थिए । यसले जेसीबी प्रविधि, कार्यक्षमता र विश्वसनीयताप्रति उद्योग क्षेत्रको भरोसा झनै मजबुत भएको संकेत दिएको छ । कार्यक्रममा सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुबेदीले ग्राहक तथा साझेदारहरूप्रति आभार व्यक्त गरे । उनले ग्राहकहरू कम्पनीका आधारस्तम्भ भएको उल्लेख गर्दै विश्वस्तरीय उपकरण, गुणस्तरीय सेवा र विश्वासमा आधारित सम्बन्धमार्फत नेपालको विकासमा योगदान दिन प्रतिबद्ध रहेको बताए । कार्यक्रम समापन मन्तव्य, अन्तरक्रियात्मक सत्र तथा सामूहिक भोजनसहित सम्पन्न भएको थियो, जसले ग्राहक, संघका प्रतिनिधि र जेसीबी नेपालबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ । इटहरीमा सम्पन्न उक्त कार्यक्रममार्फत जेसीबी नेपालले विश्वास, कार्यक्षमता र साझेदारीका आधारमा ‘सँगै नेपाल निर्माण’ गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ ।
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तसम्म ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । जबकि २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट २४ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा २४ अर्ब १९ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग रहेको सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँबाट ३६.६ प्रतिशतले बढेर ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँबाट ५४.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । २०८३ वैशाख मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६०.७ प्रतिशत, १५९.७ प्रतिशत र ४३.३ प्रतिशत पुगेको छ । २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
१० महिनामा भित्रियो १९.१६ खर्ब रेमिट्यान्स, वैशाखमा मात्रै २.५७ खर्ब रुपैयाँ
काठमाडौं । चालु आवको १० महिनामा १९ खर्ब बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० वैशाखसम्म विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।
४८ दिनपछि सुधनको गृह मन्त्रालयमा ‘कमब्याक’
काठमाडौं । विभिन्न विवादमा परेपछि राजीनामा दिएका सुधन गुरुङ ४८ दिनपछि पुनः गृहमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । गत वैशाख ९ गते पदबाट राजीनामा दिएका गुरुङले जेठ २६ गते (मंगलबार) पुनः गृहमन्त्रालयको कमाण्ड सम्हालेका हुन् । गत वर्षको चैत १३ गते पहिलो पटक गृहमन्त्री बनेका गुरुङ सम्पत्ति विवरण, सेयर स्वामित्व र आर्थिक कारोबार लगायतका विषयमा विवादमा मुछिएका थिए । विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिएका थिए । गुरुङको राजीनामालगत्तै सरकारले उनीमाथि लागेका आरोपहरूको छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिले गुरुङको सम्पत्ति, सेयर स्वामित्व र समग्र आर्थिक कारोबारको विस्तृत अध्ययन गरेको थियो । समितिले गुरुङमाथि लागेका आरोपहरूमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिले आरोपबाट मुक्त गरेकै आधारमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उनलाई पुनः मन्त्रीमण्डलमा समेट्दै गृहमन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । समितिको प्रतिवेदनकै आधारमा मन्त्री गुरुङले सफाइ पाएर मन्त्रालयमा कमब्याक गरे पनि उक्त छानबिन प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन । प्रतिवेदन सार्वजनिक नभएकाले यसको पूर्ण विवरण र समितिको ठोस निष्कर्षबारे सर्वसाधारणमा अझै कौतुहलता कायम छ । पहिलो पटक मन्त्री बनेको २७ औं दिनमै गुरुङले राजीनामा दिएका थिए । पहिलो पटक मन्त्रिपरिषद् गठन हुँदा तेस्रो मर्यादाक्रममा रहेका गुरुङ त्यसपछि मर्यादाक्रम परिवर्तन हुँदा उनी पाँचौँ स्थानमा परेका थिए । यद्यपि अहिले पनि उनी पाँचौं स्थानमै रहेका छन् । गत वर्षको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ बाट विजयी भएका गुरुङ जेनजी आन्दोलनपछि राजनीतिक वृत्तमा चिनिएका हुन् । उनी त्यसअघि उनी ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष थिए । जेनजी आन्दोलनको पहिलो दिन उनले सञ्चारमाध्यममा ‘म स्वयंसेवकका रूपमा पानी बाँड्न आएको हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए । गुरुङमाथि ‘फ्री तिब्बत’ अभियानसँग जोडिएका संस्थासँगको सहकार्य, ‘टीओबी’को आरोप पनि लाग्दै आएको थियो ।
सुधनलाई पाँचौं र महावीरलाई आठौं वरीयता
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै मन्त्रिपरिषद्को वरीयताक्रम पनि निर्धारण गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि सार्वजनिक गरिएको मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार गृहमन्त्री गुरुङ पाँचौं र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन आठौं स्थानमा रहेका छन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा-१ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् । दुवै मन्त्रीका लागि यो सरकारमा दोस्रो कार्यकाल हो । गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने पुनले अघिल्लो कार्यकालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरेका थिए । यस्ताे छ वरियता
भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सम्पन्न, मीरा राणा र रसाइलीलाई नगदसहित सम्मान
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२' सम्पन्न भएको छ । कार्यक्रम जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा आयोजना गरिएको थियो । उक्त समारोहमा गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार सि.के. रसाइलीलाई जनही १ लाख १ रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको छ । नगद पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यान्सर सर्भाइभर रहेको उल्लेख गर्दै उक्त रकम क्यान्सर समाजलाई हस्तान्तरण गरेकी छन् । उनले क्यान्सर पीडित कलाकारलाई सहयोग गर्ने उद्देश्यले हालै क्यान्सर समाज स्थापना गरिएको जानकारी दिइन् । यसैगरी कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ वरिष्ठ संगीतकार तथा गितारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ । ५० हजार रुपैयाँ राशिको उक्त सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील भई स्वास्थ्योपचार गराइरहेका स्रष्टालाई प्रदान गरिँदै आएको छ । सम्मान कार्यक्रममा भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले संगीत तथा कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको जनाएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि विश्वका विभिन्न देशबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । कम्पनीले हालै ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ भने सोही माध्यमबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।