विकासन्युज

शिव शिखरका थप २१६ पीडितले पाए रकम, बचत फिर्ता पाउनेको संख्या १३१३ पुग्यो

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार (आज) शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।  सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।  हालसम्म १३ सय १३ जना साना बचतकर्ताले बचत फिर्ता पाइसकेको समितिले जनाएको छ।

मन्त्री पुनको घोषणा- रातदिन काम गर्छु, तीन वर्षपछि युवालाई कुर्सी सुम्पिन्छु

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू बढीमा तीन वर्षमात्र मन्त्री पदमा रहने घोषणा गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पुनले देश विकासका लागि आफू दत्तचित्त भएर लाग्ने बताए ।  ‘द्रुत गतिमा रातदिन काम गर्ने हो,’ मन्त्री पुनले आफ्नो कार्ययोजना सुनाउँदै भने, ‘रातदिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । तीन वर्षपछि म मन्त्री हुँदिनँ ।’ उनले आफ्नो मुख्य उद्देश्य देशको प्राविधिक र नवप्रवर्तनको क्षेत्रमा बलियो जग बसाल्नु रहेको प्रष्ट पारे ।  आफूले आधार तयार गरेपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पिने उल्लेख गर्दै उनले भने, ‘मन्त्रालयको जग बसालेर, यसलाई बलियो बनाएर नयाँ युवा भाइबहिनीहरूलाई अगाडि बढाउने हो ।’ नयाँ गठबन्धन सरकारको मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार नवप्रवर्तनमन्त्री पुन आठौं स्थानमा रहेका छन् । 

एमालेले भन्यो– गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ । विपक्षी दलहरूको बैठकपछि मंगलवार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर शाहीले यस्तो टिप्पणी गरेका हुन् । उनले गृहमन्त्रीको सम्पत्ति विवरणबारे छानबिन गर्न आफ्नै मातहतमा आयोग बनाएर आरोपितहरू चोख्याउने काम गरेको बताए ।  सुशासनको नयाँ नारा दिए पनि सरकारले पुरानै र जनस्तरबाट तिरस्कृत शैली अपनाएको उनको भनाइ छ ।  विशेषगरी अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठाउँदै महरले संसदीय छानबिनको माग दोहोर्‍याए । बिवाइडी गाडीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको विषयलाई उनले ‘नीतिगत भ्रष्टाचार’ र ‘राज्यविरुद्धको अपराध’ को संज्ञा दिए । विपक्षी दलहरूले सरकारले गठन गरेका छानबिन संयन्त्रहरूले निष्पक्ष परिणाम नदिने भन्दै संसद्मार्फत नै उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखेका छन् । ४८ दिनपछि सुधनको गृह मन्त्रालयमा ‘कमब्याक’

महँगी २.२७ प्रतिशतले बढ्यो

काठमाडाैं ।  उपभोक्ता मुद्रास्फीति (महँगी) ५.०४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको वैशाख महिनामा यस्तो महँगी २.७७ प्रतिशत रहेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा महंगी २.२७ प्रतिशतले बढेको हाे।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।  अघिल्लो आवको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत रहेको थियो ।  आर्थिक वर्ष २०८२/८३ को दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.३९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्ग १८.६० प्रतिशत, घ्यू तथा तेलको १३.९९ प्रतिशत, तरकारीको ५.४० प्रतिशत र माछा तथा मासुको ४.१६ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६७ प्रतिशत र मरमसलाको ०.६५ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्ग १९.९० प्रतिशत, यातायातको १५.३० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्ग ४.३५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२९ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६४ प्रतिशत, मधेश प्रदेशको ५.४७ प्रतिशत, बागमती प्रदेशको ४.५५ प्रतिशत, गण्डकी प्रदेशको ४.८६ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३१ प्रतिशत, कर्णाली प्रदेशको ४.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६५ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९० प्रतिशत, तराईको ५.५९ प्रतिशत, पहाडको ४.७३ प्रतिशत र हिमालको ३.७३ प्रतिशत रहेको छ ।

डीजीओ एपमा फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमै

काठमाडौं । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) ले दर्शकका लागि अफर सार्वजनिक गरेको छ । डीजीओले अब मोबाइल प्रयोगकर्ताका लागि मात्र ५४९ रुपैयाँमा ‘मोबाइल पास’ उपलब्ध गराउने घोषणा गरेको हो । उक्त पासमार्फत दर्शकहरूले विश्वकपका सबै १०४ खेलहरू आफ्नै मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन् । कम्पनीका अनुसार दर्शकहरूले नेपाली कमेन्टरीसहित १०८० पी फुल एचडी क्वालिटीमा खेलहरूको मजा लिन सक्नेछन् । साथै, आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्ने सुविधा पनि उपलब्ध रहनेछ । डीजीओ एपमार्फत सहज रूपमा खरिद गर्न मिल्ने यो पासले दर्शकलाई झन्झटमुक्त अनुभव दिने कम्पनीको दाबी छ । केही क्लिकमै पास सक्रिय गर्न सकिने र सुरक्षित रूपमा आधिकारिक प्लेटफर्मबाटै सेवा लिन सकिने जनाइएको छ । डीजीओका प्रवक्ताका अनुसार नेपाली दर्शकलाई गुणस्तरीय र विश्वसनीय स्ट्रिमिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । 'दर्शकहरूले कुनै शंकास्पद लिंक वा तेस्रो पक्षको भर नपरी आधिकारिक माध्यमबाट सुरक्षित रूपमा विश्वकप हेर्न सकून् भन्ने हाम्रो चाहना हो,' उनले भने । यसैबीच, कम्पनीले अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा अनधिकृत एपहरूप्रति सचेत रहन आग्रह गरेको छ । यस्ता प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम निम्त्याउन सक्ने भन्दै आधिकारिक डीजीओ एप प्रयोग गर्न सुझाइएको छ । डीजीओले यो अफरमार्फत नेपालका फुटबल प्रेमीलाई सहज, सुरक्षित र किफायती रूपमा विश्वकपको रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

शोधनान्तर स्थिति साढे ८ खर्बले बचतमा, चालु खाता ७.२९ खर्ब रुपैयाँ

काठमाडौं । शोधनान्तर स्थिति साढे ८ खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब ९८ करोडले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १६ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

जेसीबी नेपालको पहल : ग्राहक सम्मान र सम्बन्ध विस्तारमा जोड

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालि अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा ‘जेसीबी ग्राहक सम्मान कार्यक्रम’ सफलतापूर्वक आयोजना गरेको छ । कार्यक्रममा विशिष्ट ग्राहक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला तथा जेसीबी नेपालका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कोशी क्षेत्रका ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूसँगको सम्बन्ध थप सुदृढ बनाउने, उनीहरूको योगदानको सम्मान गर्ने र भरपर्दो मेसिन, बलियो आफ्टर सेल्स सेवा तथा दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने मञ्चका रूपमा कार्यक्रम सफल भएको बताइएको छ । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जेसीबी उपकरण, पार्ट्स, सर्भिस तथा वार्षिक मर्मत सम्झौता सेवामा लामो समयदेखि विश्वास गर्दै आएका ग्राहकहरूको औपचारिक सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै निरन्तर सहकार्यप्रति आभार व्यक्त गरिएको थियो । यसैगरी, निर्माण, भारी उपकरण, औद्योगिक तथा व्यापारिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसन, निर्माण संघ, क्रसर संघ, इट्टा उद्योग संघ तथा स्थानीय वाणिज्य संघका प्रतिनिधिहरू सम्मानित भएका थिए । कार्यक्रममा चाबी हस्तान्तरण समारोह पनि आयोजना गरिएको थियो, जहाँ नयाँ जेसीबी मेसिन खरिद गर्ने ग्राहकहरूलाई औपचारिक रूपमा चाबी हस्तान्तरण गरिएको थियो । यसले जेसीबीको कार्यक्षमता, टिकाउपन र सेवा सञ्जालप्रति ग्राहकहरूको बढ्दो विश्वास झल्काएको कम्पनीको भनाइ छ । कार्यक्रमकै क्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरको सरप्राइज बुकिङ गरेका थिए । यसले जेसीबी प्रविधि, कार्यक्षमता र विश्वसनीयताप्रति उद्योग क्षेत्रको भरोसा झनै मजबुत भएको संकेत दिएको छ । कार्यक्रममा सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुबेदीले ग्राहक तथा साझेदारहरूप्रति आभार व्यक्त गरे । उनले ग्राहकहरू कम्पनीका आधारस्तम्भ भएको उल्लेख गर्दै विश्वस्तरीय उपकरण, गुणस्तरीय सेवा र विश्वासमा आधारित सम्बन्धमार्फत नेपालको विकासमा योगदान दिन प्रतिबद्ध रहेको बताए । कार्यक्रम समापन मन्तव्य, अन्तरक्रियात्मक सत्र तथा सामूहिक भोजनसहित सम्पन्न भएको थियो, जसले ग्राहक, संघका प्रतिनिधि र जेसीबी नेपालबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ । इटहरीमा सम्पन्न उक्त कार्यक्रममार्फत जेसीबी नेपालले विश्वास, कार्यक्षमता र साझेदारीका आधारमा ‘सँगै नेपाल निर्माण’ गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ ।  

विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने

काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तसम्म ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । जबकि २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट २४ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा २४ अर्ब १९ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग रहेको सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँबाट ३६.६ प्रतिशतले बढेर ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँबाट ५४.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । २०८३ वैशाख मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ ।  राष्ट्र बैंकका अनुसार वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६०.७ प्रतिशत, १५९.७ प्रतिशत र ४३.३ प्रतिशत पुगेको छ । २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।