आज मौद्रिक नीतिको समीक्षा हुँदै, सेयर बजारमा जाने कर्जामा कडाई गर्न सक्ने

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले आज आइतबार साँझ ७ बजे मौद्रिक नीतिको समिक्षा गर्ने बताएको हो । मौद्रिक नीतिको समीक्षा भच्र्युअल माध्यमबाट गर्ने राष्ट्र बैंकले जनाएको छ । आज हुने मौद्रिक नीति समिक्षामा राष्ट्र बैंकले केही नयाँ व्यवस्था पनि गर्न सक्नेछ । लामो समयदेखि राष्ट्र बैंकले सेयर बजारमा हुने कर्जामा कडाई गर्ने तयारी भइरहेको बताइएको थियो । आज मौद्रिक नीतिको समिक्षामार्फत राष्ट्र बैंकले सेयर बजारमा जाने कर्जामा केही नीतिगत व्यवस्था गर्न सक्नेछ । यस्तै, पछिल्लो समय अधिकांश बैंकहरुले बचतको व्याजदर घटाइरहेको बेला राष्ट्र बैंकले त्यसमा पनि केही नीतिगत व्यवस्था गर्न सक्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि बचतको न्यूनतम व्याजदर तोक्न सक्नेछ । अहिले नेपाल राष्ट्र बैंककाे बोर्ड बैठक बस्दैछ । बोर्डले मौद्रिक नीतिको समीक्षालाई अन्तिम रुप दिनेछ ।

सेयर बजार साढे ३ बजेसम्म खुल्ने

काठमाडौं । आज (मंगलबार) को सेयर बजार दिउँसो साढे ३ बजेसम्म खुल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एक सूचना जारी गर्दै मंगलबारको बजार दिउँसो ३ बजेर ३५ मिनेटसम्म खुला हुने बताएको हो । नियमित ३ बजेसम्म खुल्ला हुने बजार आज भने थप ३५  मिनेट बढी खुला हुने भएकाे हाे । कारोबार अवधिको समयमा सबै ब्रोकरको ट्रेडिङ्ग सिष्टममा ३५ मिनेट समस्या देखिएकोले कारोबारको समय थप गरिएको नेप्सले जनाएको छ ।

सेयर बजारमा उछाल, बीमा समितिको नयाँ अध्यक्षलाई स्वागत

काठमाडौं । सेयर बजारमा उच्च वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ६५ अंकले वृद्धि भइ २४७३ भएकाे छ । होटल समूहबाहेक सबै क्षेत्रका कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । समूहगत रुपमा सबैभन्दा धेरै मूल्य वृद्धि बीमा कम्पनीहरुको सेयरमा भएको छ । मंगलबार निर्जीवन बीमा समूहको परिसूचक ६२६ अंकले वृद्धि भएको छ भने जीवन बीमा कम्पनी समूहको परिसूचक ५९४ अंकले वृद्धि भएको छ । बीमा कम्पनीहरुको नियामक बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएको भोलिपल्टको बीमा समूहका कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यद्यपी सिलवाल बीमा क्षेत्रको परिचित र विज्ञ व्यक्ति होइनन् । मंगलबार यूनाईटेड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । एकै दिन ९ प्रतिशतभन्दा बढी मूल्य वृद्धि हुने १७ कम्पनीमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । मंगलबार ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ । पछिल्लाे समय लगातार सेयर बजारमा मूल्य वृद्धि देखिएकाे छ ।

सेयर बजार सम्बन्धी महत्वपूर्ण सूचना बेच्ने नेप्सेको कार्यमा धितोपत्र बोर्डको हस्तक्षेप

काठमाडौं । सेयर सम्बन्धी तथ्याङ्क बेचेर कमाई गर्ने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को नीतिप्रति पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले असहमति जनाउँदै हस्तक्षेप गरेको छ । बोर्डले पुँजीबजार सम्बन्धी महत्वपूर्ण सूचनामा आफूखुशी शुल्क तोक्ने र बेच्ने नेप्सेको निर्णय गलत भएको भन्दै त्यसबारे स्पष्टीकरण सोधेको हाे । धितोपत्र बोर्डले स्पष्टीकरण सोधपछि नेप्सेले सेयर सम्बन्धी तथ्याङ्क बिक्री वितरण तत्कालको लागि स्थगित गरेको जवाफ धितोपत्र बोर्डलाई दिएको छ । साथै नेप्सेले पुँजी बजार सम्बन्धी तथ्याङ्क बिक्रीको लागि धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ । ‘नेप्सेले के आधारमा सेयर सम्बन्धी सूचनामा शुल्क तोकेको हो ? के को आधारमा सेयर सम्बन्धी तथ्याङ्क बिक्री थालेको हो ? भनेर हामीले स्पष्टीकरण सोधेका छौं’ धितोपत्र बोर्ड सम्बद्ध स्रोतले भन्यो- ‘बोर्डको पत्रको जवाफ आएको छैन तर तत्कालको लागि सेयर सम्बन्धी सूचना तथा तथ्याङ्क बिक्री कार्य बन्द गरेको जानकारी दिएको छ ।’ नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदमाथि नेप्सेको महत्वपूर्ण सूचनामा अस्वभाविक चलखेल गरेको आरोप लाग्दै आएको छ । निजी लाभ लिएर सूचना बेन्ने गरेको आरोप लागेपछि उनले २०७७ पुस १ देखि लागू हुने गरी सेयर तथ्याङ्क सम्बन्धी कार्यविधि बनाएर लागू गरेको थिए । उनले सेयर सम्बन्धी तथ्याङ्क बिक्रीको लागि एक लाख रुपैयाँसम्म मूल्य तोकेका थिए । उनले विदेशीको लागि मासिक २ हजार अमेरिकी डलर (मासिक २ लाख ३६ हजार रुपैयाँ)मा सबै डाटा बिक्री गर्न सकिने नीति जारी गरेका थिए । सम्बन्धित थप समाचार भिष्म सर ! तपाईंलाई निफ्राको आईपीओ कति कित्ता पर्‍यो ?

सेयर बजार राताम्ये, ५४ अंकले घट्यो परिसुचक, किन घट्यो बजार ?

काठमाडौं । आज सेयर बजार राताम्ये देखिएको छ । यो सामाचार तयार पार्दासम्म (१ बजोर ९ मिनेटसम्मको समयमा) पुँजी बजार मापक नेप्से परिसुचक करिब ५४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो समयसम्ममा परिसुचक ५३.८२ अंकले घटेको छ भने ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अधिंकाश उपसुचक घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुहको ४०.१ अंकले, ट्रेडिङ समुह १३.९९ अंकले, होटल समुह ४७.३७ अंकले, विकास बैंक समुह ४६.५२ अंकले, जलविद्युत समुह ४४.११ अंकले, वित्त कम्पनी समुह ४१.६३ अंकले, निर्जीवन बीमा समुह २८५.५९ अंकले, उत्पादनमुलक समुह १४२.८५ अंकले, अन्य समुह २७.२८ अंकले, माइक्रोफाइनान्स समुह १२०.६८ अंकले र जीवन बीमा समुह ३९५.८४ अंकले घटेका छन् । किन घट्यो बजार ? केही महिनादेखि लगातार बढेको सेयर बजार आज भने घटेको छ । नेपाली पुँजी बजारमा ६५ प्रतिशतभन्दा बढीको हिस्सा रहेको बैंकिङ क्षेत्रको नाफा गत वर्षको तुलनामा कम भएको ६ महिने वित्तीय विवरण सार्वजनिक भएपछि सेयर बजार अब के होला भन्ने चासो अघिल्लो साताको मध्यतिरबाटै देखाउन थालिएको थियो । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली हठात प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनको घोषणा गर्दा पनि सेयर बजारले कुनै प्रतिक्रिया दिएको थिएन । सर्वाेच्च अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा निर्णय आउने चरणमा पुगेकोले पनि बजारमा केही शिथिलता देखिएको हुन सक्ने आंकलन गरिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गरेको छैन । मध्यामधी समीक्षा मार्फत सेयर बजारका लागि केही कडा व्यवस्था गर्न लागिएको आंकलन गरेर पनि बजार केही संकुचन भएको हुन सक्ने विश्लेषकहरुले बताएका छन् । ‘बैंकहरुको ६ महिनाको वित्तीय विवरण सार्वजनिक भएदेखि नै बैंकको सेयरमा केही मन्दी देखिएको थियो, प्रतिनिधिसभा विघटनको मुद्दा अन्तिम किनारा लाग्ने चरणमा पुगेजस्तो महसुस गरिएको र राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत सेयर बजारमा केही कडाई गर्छ कि भन्ने आंकलन लगानीकर्ताले गरिरहेका छन्, यी तीनवटा कारणले गर्दा बजार घटेको हुन सक्छ,’ एक ब्रोकरले भने ।

आज दिनभरः सरकारलाई निर्वाचन खर्चको पिरलो, सेयर बजार लाग्यो ओरालो

काठमाडाैं । एक सातायता निरन्तर उकालो लागिरहेको बजार आज मंगलबार भने दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक अन्ततः १७.७९ अंकले घटेर २४२३ बिन्दुमा बजार बन्द भएको छ । जुन सोमबारको तुलनामा ०.७३ प्रतिशतले घटी हो । यस्तै सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचनकाे घाेषणा गरेकाे छ । निर्वाचन घाेषणा भए पनि सरकालाई निर्वाचनकाे खर्च जुटाउन भने सकस देखिएकाे छ । आज मात्रै अर्थमन्त्री विष्णु पाैडेलले निर्वाचनमा सहयाेग गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । ६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आफ्नो धारणा राख्दै अर्थमन्त्री पौडेलले निर्वाचनमा निजी क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण हुने बताएका हुन् । यी हुन् आज दिनभरका सामग्री सेयर बजार ओरालाे लाग्याे  एक सातायता निरन्तर उकालो लागिरहेको बजार आज मंगलबार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक अन्ततः १७.७९ अंकले घटेर २४२३ बिन्दुमा बजार बन्द भएको छ । जुन सोमबारको तुलनामा ०.७३ प्रतिशतले घटी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.५८ अंकले घटेर ४४७.२४ बिन्दुमा झरेको छ । निर्वाचनको खर्च जुटाउन अर्थमन्त्रीले निजी क्षेत्रलाई गुहारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निर्वाचनका लागि निजी क्षेत्रको सहयोग चाहेको बताएका छन् । सरकारले आगामी बैशाख १७ र २७ का लागि घोषणा गरेको मध्यावधि निर्वाचन गर्नको लागि निजी क्षेत्रको सहयोग आवश्यक हुने बताएका हुन् । ६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आफ्नो धारणा राख्दै अर्थमन्त्री पौडेलले निर्वाचनमा निजी क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण हुने बताएका हुन् । ओली मन्त्रिपरिषदका २५ मध्ये २० मन्त्रीको सम्पत्ति विवरण गोप्य सरकारका मन्त्रीहरुले कानुन अनुसार आफूहरुको सम्पत्ति विवरण सार्वजनिक नगरी गोप्य राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार भ्रष्टाचार निवारण र सुशासन कायम गराउन सफल भइरहेको दाबी गरिरहेका बेलामा उनकै मन्त्रिपरिषदका २० मन्त्री तथा राज्यमन्त्रीले कानुन अनुसार सम्पत्ति विवरण सार्वजनिक नगरेका हुन् । नागढुङ्गा-नौबिसे सुरुङमार्गको काम फाष्ट ट्रयाकमा पछिल्लो समय काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण काम तीव्र गतिमा भइरहेको छ । केही हप्ता अगाडि स्थानीयहरुको अवरोधका कारण केही समस्या भएको सुरुङमार्गको काम पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको हो । यी हुन् विश्वका सबैभन्दा धनी ५ बच्चा नयाँ करोडपति र अरबपतिहरूको संख्या हरेक बर्ष बढ्दै गएको छ । धेरै जसो आमाबाबुको स्वामित्व प्रायः जसो बच्चाहरूलाई नै हस्तान्तरण गरिन्छ, । फलस्वरुप उनीहरु विद्यालय नै जाने उमरे नै भएको हुँदैन विश्वका धनी बच्चाहरुको नामा परिचित हुन्छन् । उनीहरू स्कूलमा पैदल हिड्नु अघि नै उनीहरू धनी बन्न पुग्छन् । निफ्राको आईपीओ अपडेटः प्रिअलोटमेन्ट भोलि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को प्रिअलोटमेन्ट भोलि बुधबार(माघ १४ गते) हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार माघ ६ गते निष्काशन बन्द भएकाे कम्पनीको आईपीओको प्रिआलोटमेन्ट भोलि हुने भएको हो । हालसम्मकै ठूलो सौर्य उर्जा बन्दै नेपालमा हालसम्मकै ठूलो क्षमताको सोर्य उर्जा निर्माण हुने भएको छ । ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना बन्ने भएकाे हाे । यसका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेनइनर्जी सिंगापुर जेभीबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको हो । एनएमबि बैंकको बचतमा सर्वोच्च व्याजदर हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन व्याज प्राप्त भई लगानीको प्रतिफल सन्ताेषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटिने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ । माघ महिना अघि देखीनै बचतमा बढी ब्याज दिन शुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेको छ । ५६ लाखकाे लगानीमा सहकारीले खोल्यो सुपथ मूल्यका पसल कपिलवस्तुको बुद्धभूमि-४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । सहकारीले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ पसल नाम दिएर सञ्चालनमा ल्याएको उक्त पसलले सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ । देशभरि रहेका ६२ अस्पतालका १२० केन्द्रबाट कोभिड-१९ विरुद्धको खोप लगाइने कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् । काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिए ।

सेयर बजारमा अविवाहित महिलाले कमाउँछन् धेरै

सेयर तालिमका क्रममा कम्पनी छनौट गर्ने गृहकार्य दिँदै थिएँ । एक पुरुष सहभागीले अलि दवावमा भने, ‘यति छोटो समयमा यतिका गृहकार्य गर्न कसरी भ्याउने होला ?’ मैले उनको ‘प्रश्न’को सीधा उत्तर दिइनँ । यति भनेँ, ‘छोटो समयमा काम कसरी सक्ने भन्ने कुरा छेवैमा बस्नुभएकी महिला सहभागीलाई सोध्नुहोला । अँ ! घरमा गएर श्रीमतीलाई सोध्नुभए पनि हुन्छ ।’ बिहान उठेदेखि १२ बजेसम्ममा महिलाहरु घरको कति काम सकेर तालिममा आउनुहुन्छ ? त्यति समयमा पुरुषले कति काम भ्याएको हुन्छ ? मलाई लाग्छ, महिलाको तुलनामा धेरै कम । महिला र पुरुषमा काममा वा सोचाइमा यति फरक हुन्छ भने उनीहरुले गर्ने लगानी तरिका र कमाउने नाफामा फरक छ कि छैन भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । आयआर्जन र भविष्यका बारेमा पुरुषभन्दा महिला बढी चिन्तित हुने गर्छन् । महिलाहरु भविष्यमा वित्तीय रुपमा सुरक्षित हुन चाहन्छन् । त्यसैले पनि पुरुषहरुभन्दा महिलाहरु बचत गर्न सिपालु हुन्छन् । गाउँघरमा धेरै महिलाले बाख्रा वा कुखुरा ‘प्यावा’ भनेर पाल्ने र बेचेर आएको पैसा बैंकमा राख्ने, सुन किन्ने वा व्यापार व्यवसाय गर्ने गरेको पाइन्छ । तर, पुरुषले ‘प्यावा’ भन्ने गरेको देख्न र सुन्न पाइँदैन । सुन किन्नमा महिलाहरुले जोड गर्ने कुरालाई गहनाका रुपमा प्रयोग गर्नु र सुन्दर देखिनुसँग मात्र जोडेर हेर्न मिल्दैन । त्यसलाई बचत र भविष्यमा आइपर्ने वित्तीय समस्या समाधान गर्न गरिएको लगानीका रुपमा पनि लिन सकिन्छ । महिलाहरु गहनालाई वित्तीय समस्याको अन्तिम समाधान वा विकल्पका रुपमा लिन्छन् । महिलाहरु वित्तीय कारोबारमा बढी संयम र उत्तरदायी पनि हुने गर्छन् । यो कुरा हाम्रो समाजमा विभिन्न संघसंस्था गठनमा कोषाध्यक्षको छनौटबाट पनि प्रष्ट हुन्छ । त्यस्ता संस्था वा संगठनमा प्रायः महिलालाई कोषाध्यक्ष बनाइन्छ । धार्मिक-सांस्कृतिक हिसावले पनि महिलालाई धन सम्पत्तिको प्रतीकको रुपमा लिइन्छ । तिहारमा गरिने लक्ष्मी पूजा होस् वा हरेक दिनको सुरुवातसँगै उद्योग व्यवसायमा गरिने लक्ष्मी पूजा, महिलासँग जोडिन्छन् । आर्थिक अनियमितता र भ्रष्टाचारमा महिलाको नाम कुनै जोडिनुले वित्तीय कारोबारमा उनीहरुको इमानदारी र कम जोखिम लिने प्रवृत्तिलाई इंगित गर्छ । सेयर बजारमा महिला लगानीकर्ताको संख्या र सहभागिता दुबै बढ्दै गएको छ र यो निरन्तर बढ्दो क्रममा छ । के महिला र पुरुषले लगानी गर्ने तरिका, कमाउने नाफाको परिमाण र व्यवहार फरक-फरक हुन्छ ? सेयर बजारबाट पैसा कमाउन लगानीमा महिला वा पुरुष कसको भूमिका बढी हुँदा राम्रो हुनसक्छ ? बारबर र ओडेनले सात वर्षको अवधिमा ३५ हजार गृहस्थीको सेयर कारोबारलाई आधार बनाएर अध्ययन गरेका थिए । उनीहरुले गरेको अध्ययनमा सेयर कारोबारमा महिलाभन्दा पुरुष बढी आत्मविश्वासी र भविष्यप्रति आशावादी पाए । यस्तै महिलामा भन्दा पुरुषमा एक तिहाई बढी जोखिम लिने क्षमता भएको पनि पाएका थिए । सेयर कारोबारमा महिलाभन्दा पुरुषले ४५ प्रतिशत बढी कारोबार गरेको पाइएको थियो भने एकल महिलाभन्दा एकल पुरुषले ६५ प्रतिशत बढी कारोबार गरेका थिए । अध्ययनअनुसार जो लगानीकर्ता आफ्नो कारोबार क्षमताका बारेमा बढी आत्मविश्वासी देख्छिन्, उनीहरुले बढी कारोबार (किनबेच) गर्ने गरेको पाइन्छ । सेयर कारोबारमा लिंगको प्रभाव उनीहरुले कमाउने नाफामा पनि देखिएको थियो । अध्ययनअनुसार पुरुषले धेरै कारोबार गरे पनि महिलाले बढी प्रतिफल लिएका थिए । सन् २०१६ मा अमेरिकाको फेडिलिटिले ८० लाखभन्दा बढी लगानीकर्तामा गरेको अध्ययनमा महिलाले पुरुषको भन्दा आधा प्रतिशत बढी प्रतिफल आर्जन गरेको पाइएको थियो । त्यस्तै, सन् १९९५ मा अमेरिकाकै नेसनल एशोसिएसन अफ इन्भेष्टर्स कर्पोरेसनले गरेको अध्ययनमा महिलाहरुको लगानीकर्ता क्लबले पुरुषको क्लबले भन्दा ११ प्रतिशत बढी नाफा कमाएको थियो । सेयर कारोबारमा पुरुषले बढी किनबेच गरेका थिए भने महिलाले बढी होल्ड गरेका थिए । यसको अर्थ, महिलाले ‘बाइ एन्ड होल्ड’ रणनीति अपनाए भने पुरुषले छिटो छिटो कारोबार (ट्रेडिङ) गरे । यस्तै परिणाम जर्मनीको एक विश्वविद्यालयले अमेरिकामा म्युचुअल फण्डको नेतृत्व गरेका महिला र पुरुष व्यवस्थापकबीचमा गरेको अध्ययनमा पनि पाइएको थियो, जहाँ महिला व्यवस्थापक कम जोखिम लिने र कम आत्मविश्वासी थिए । उनीहरु कम कारोबार गर्ने गर्थे । पुरुष भने आक्रामक लगानीमा जोड दिन्थे । भने विज्ञानविद्हरुले गरेको त्यस्तै अध्ययनमा वित्तीय मामलामा महिलाभन्दा पुरुष बढी आत्मविश्वासी पाइएको थियो । महिलाभनदा पुरुषले जोखिमयुक्त पोजिसन लिने र ५० प्रतिशत बढी कारोबार गरेका थिए भने बढी कारोबार गर्ने महिला र पुरुष दुबैको नाफा घटेको थियो । यसको निष्कर्ष सेयर बजारमा कारोबारीभन्दा दीर्घकालीन लगानीकर्ता बढी नाफा कमाउन सफल हुन्छन् भन्ने हो । अर्को अध्ययन मेरिलिन्च इन्भेष्टमेन्ट म्यानेजरले गरेका थिए । उनीहरुले पाँच सय महिला र पाँच सय पुरुष ग्राहकबीच गरेको अध्ययनको निष्कर्ष पनि बारबर र ओडेनको अध्ययनसँग मिल्दो छ, जसअनुसार महिलाले घाटामा रहेको सेयर छिटो बिक्री गर्ने गरेको पाइयो भने पुरुषले लामो समय होल्ड गरेको पाइएको थियो । यसको अर्थ, पुरुषहरु लामो घाटामा रहेको सेयर लामो समय होल्ड गर्न चाहन्छन् भने महिला छिटो बिक्री गरेर घाटा कम गर्न चाहन्छन् । नाफामा रहेको सेयर वा कारोबार पुरुषले भन्दा लामो समय होल्ड गर्ने गर्छन् । परिणामतः उनीहरु पुरुषले भन्दा बढी नाफा कमाउन सक्षम हुन्छन् । नोक्सानीमा सेयर बिक्री गर्न गाह्रो हुनु तथा घाटामा सेयर बिक्री गर्नुको अर्थ सेयर किन्दै गलत थियो भनेर पनि बुझिन्छ, जसलाई मेन्टल एकाउन्टिङ पनि भनिन्छ । अर्कोतर्फ, लामो समय घाटा पाल्ने व्यवहारलाई व्यावहारिक फाइनान्समा ‘लस एभर्सन’ भनिन्छ । ‘लस एभर्सन’लाई अर्को शब्दमा ब्रेक इभन वा डिस्पोजिसन इफेक्ट पनि भनिन्छ, जसमा लगानीकर्ता आफनो लागत (साँवा) मात्र आए पनि बिक्री गर्छु भन्ने मनसायमा हुन्छ । लामो समय घाटामा सेयर होल्ड गर्नुपरेमा ‘साँवामात्र आए पनि बिक्री गर्ने थिएँ’ भन्ने सोचाइको विकास लगानीकर्तामा हुँदै जान्छ । पोर्टफोलियो बनाउने सन्दर्भमा पनि महिला र पुरुषबीच भिन्नता पाइन्छ । सोही अध्ययनले देखाएअनुसार महिलाभन्दा पुरुष एउटै कम्पनीमा बढी रकम केन्द्रित गर्छन् । यसको अर्थ, महिला लगानीयोग्य पुँजीलाई बाँडेर लगानी गर्ने गर्छन् भने पुरुष एउटै कम्पनीको सेयरमा सबै पैसा खन्याउन चाहन्छन्, जुन पुरुषले गर्ने लगानीमा जोखिम बढाउने महत्वपूर्ण कारण पनि हो । यसैगरी लगानीका नयाँ अवसरमा पनि महिलाभन्दा पुरुषले अध्ययन नगरी लगानी गरेको पाइएको थियो । पुरुषका यस्ता व्यवहारले बढी जोखिम लिने तर नाफा कम कमाउने र महिलाले कम जोखिम लिएर बढी नाफा कमाउने निष्कर्षमा पुग्न सकिन्छ । महिला र पुरुषबिच हुने लगानीको रणनीतिक भिन्नताबाट हामी हाम्रो लगानीलाई थप व्यवस्थित गर्न सक्छौं । महिला र पुरुषको व्यवहारलाई आफैँमा पनि जोखिम कम गर्ने एक प्रकारको पोर्टफोलियोको रुपमा लिन सकिन्छ । तपाईं विवाहित पुरुष हुनुहुन्छ तर लगानीमा बढी आक्रामक व्यवहारले नोक्सान पुर्याइरहेको छ भने श्रीमतीलाई लगानी निर्णयमा सहभागी गराउनु भए जोखिम कम गर्न मद्दत पुग्छ । अविवाहित पुरुषहरुले पनि सक्रिय रुपमा लगानी गरि रहेका हुन सक्छन् । त्यस्तो हो र लगानीमा जोखिम बढी छ भने ब्रोकरको कार्यालयमा आउने महिलालाई साथी बनाउनुहोस् । उनीहरुले तपाईंको आक्रामतालाई ब्रेक लगाउन मद्दत गर्नेछन् । अर्कोतर्फ समूह बनाएर लगानी गर्ने सोच बनाउनु भएको छ भने महिला बढी भएको समूह बनाएर कम्पनी खोलेर पनि लगानी गर्न सक्नुहुन्छ । महिला र पुरुषको लगानी व्यवहारबाट लगानी व्यवस्थापक कम्पनी पनि कर्मचारी छनौट वा कामको बाँडफाँड गर्न सहयोग पुगेको पाइन्छ । उनीहरुको व्यवहारले सेयर खरिदमा ब्रोकर र लगानी सल्लाहकारको छनौटमा पनि असर गरिरहेको हुन्छ । महिला लगानीकर्ताहरु महिलाले नेतृत्व गरेको ब्रोकर कम्पनी कहाँ बढी जानुको एउटा कारण उनीहरुको जोखिम लिने व्यवहार मिल्नु पनि हो । तपाईं पुरुष लगानीकर्ता हुनुहुन्छ र अध्ययन नगरी लगानी गर्ने गर्नुहुन्छ, लगानी गर्दा छिट्टै उत्तेजित भइहाल्नुहुन्छ र छिट्टो-छिटो कारोबार गरेर नाफा बढ्न सकिरहेको छैन भने महिलाले नेतृत्व गरेको ब्रोकर कहाँबाट कारोबार गर्नुहोस्, जसले तपाईंको व्यवहारमा थोरै मात्र भए पनि नियन्त्रण गर्न सहयोग पुर्यायो भने लगानी नाफा बढाउन ठूलो सहयोगी बन्नसक्छ । अविवाहित महिलाको कमाई बढी विल्वर जि लेवेलेन, रोनाल्ड सि लिज र ग्रेजी स्कार्लवमले गरेको ‘प्याटर्नस अफ इन्भेस्टर्स स्ट्रयाटेजी एन्ड बिहेबियर अमङ इन्डिभिजुअल इन्भेष्टर्स ’ शीर्षकको अध्ययनमा महिला र पुरुषमा खर्च अघिको आम्दानी समान देखिए पनि खुद नाफा महिलाको बढी देखिएको थियो । यसको कारण पुरुषले धेरै कारोबार गर्ने गरेकाले कारोबार लागत बढ्न गई उनीहरुको आम्दानीमा नकारात्मक प्रभाव पारेको थियो । सोही अध्ययनले विवाहित महिलाले भन्दा अविवाहित महिलाले बढी कमाएको निष्कर्ष पनि निकालेको थियो । विवाहित महिलाको नाफा कम हुनुमा अति आत्मविश्वासी पुरुषको प्रभाव मुख्य कारण थियो । (सेयर बिश्लेषक भट्टराईको सेयर मन्त्र पुस्तकबाट साभार)

आज दिनभर: अर्थतन्त्रले लय समायो, सेयर बजारले रेकर्ड बनायो

काठमाडाैं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण थला परेको अर्थतन्त्रले लय समातेको छ । पछिल्लो समय विभिन्न उद्योग व्यवसाय नियमित रुपमा सञ्चालन हुन थालेपछि अर्थतन्त्रले लय समातेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजिनक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनका अनुसार पछिल्लाे समय देशकाे अर्थतन्त्रमा सुधार आएकाे हाे । यस्तै, केही दिन यता नेपाली सेयर बजारले पनि दैनिक नयाँ रेकर्ड बनाइरहेकाे छ । आज पनि सेयर बजारमा नयाँर रेकर्ड भएकाे छ ।  गत बिहीबारदेखि दैनिक नयाँ नयाँ रेकर्ड राखेको परिसूचकले मंगलबार पनि नयाँ रेकर्ड राख्न सफल भएको हो । आज मंगलबार नेप्से परिसूचक २२६७ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने सोमबारको तुलनामा २८.३१ अंकले बढेको हो । यी हुन् आज दिनभरका सामग्री: उद्योगहरुले कर्मचारीको तलब खर्च बढाए विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कर्मचारीको तलब जयाला खर्च घटाएका उद्योगहरुले अहिले फेरि बढाएका छन् । लकडाउनको समयमा व्यापार व्यवसाय ठप्प भएपछि तलब–ज्याला घटाएका उद्योगहरुले अहिले ७ प्रतिशतको वृद्धि गरेका हुन् । यस्तै, गत असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार आएको सर्वेक्षणले देखाएको छ । ५४ प्रतिशत क्षमतामा चले उद्योग विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पूर्ण रुपमा सञ्चालन हुन नसकेका उद्योगहरु अहिले भने ५४ प्रतिशत क्षमतमा चल्न थालेका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजिनक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनका अनुसार अहिले ५४ प्रतिशत उद्योगहरु पूर्ण सञ्चालनकमा आएका हुन् । नक्कली भ्याटबिल अनुसन्धानको पहिलो ‘लेयर’ सकियो राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छल्ने पहिलो ‘लेयर’को अनुसन्धान करिब सकेको छ । विभागले २ वर्षअघिदेखि थालेको अनुसन्धानबाट १ सय ८५ वटा फर्म नक्कली भ्याट बिल विक्रीमा संलग्न भएको पाइएको छ । विभागले गरेको पछिल्लो अनुसन्धानबाट श्रमिक, मजदुर, आर्थिक अवस्था कमजोर भएका गरिब नेपालीको नाममा फर्म दर्ता गरेर कारोबारबिनै मूल्य अभिबृद्धि कर (भ्याट) बिल विक्री गरी राजस्व छलिएको पाइएको छ । कलेज पढ्दै गर्दा दिपेशको दिमागमा फुरेको ‘थुप्रै’ जुक्ति पुस्तकको पारखी हुनुहुन्छ, तर पुस्तक पसलसम्म जान झन्झट लाग्छ ? यस्तो अवस्थामा बिना झन्झट तपाईंका रोजाईका पुस्तक हातैमा ल्याइदिने छ ‘थुप्रै’ ले । त्यो पनि एउटा फोनको घन्टी र एक क्लिकको भरमा । सन् २०१९ को फ्रेब्रुअरीबाट सञ्चालनमा इ–कमर्स वेवसाइट ‘थुप्रै’ ले पुस्तकसँगै इ–बुकको सेवा प्रदान गर्दै आएको छ । फोन, सामाजिक सञ्जाल र ‘थुप्रै’ को वेवसाइटका माध्यमबाट आफूलाई आवश्यक परेको किताब अर्डर गर्न सकिन्छ । साढे १२ लाख बढीले भरे चन्द्रागिरी हिल्सको आईपीओ चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा साढे १२ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार (पुस २८ गते) सम्ममा १२ लाख ५१ हजार ९३८ जना आवेदकले सेयर भरेका हुन् । नेप्से परिसूचकले पार गर्यो २२६७ बिन्दु पछिल्लो समय नेप्से परिसूचकले दैनिक रेकर्ड राखेको छ । गत बिहीबारदेखि दैनिक नयाँ नयाँ रेकर्ड राखेको परिसूचकले मंगलबार पनि नयाँ रेकर्ड राख्न सफल भएको हो । आज मंगलबार नेप्से परिसूचक २२६७ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने सोमबारको तुलनामा २८.३१ अंकले बढेको हो । यसअघिको बजारमा परिसूचक उक्त बिन्दुमा पुगेको थिएन । जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै स्थानीय तह कैलालीका स्थानीय तहले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरणको प्रक्रिया शुरु गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगले सम्झौता गरेपछि यहाँका स्थानीय तहले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरणको प्रक्रिया शुरु गरेका हुन् । फलामजन्य सामग्रीको मूल्यवृद्धिबारे अध्ययन गर्न समिति गठन ग्रिल तथा स्टिल व्यवसायी महासंघले फलामजन्य सामग्रीमा भएको मूल्यवृद्धिबारे अध्ययन गर्न समिति गठन गरेको छ । महासंघका प्रथम अध्यक्ष ठूलो बाबु श्रेष्ठको संयोजकत्वमा महासंघले समिति गठन गरेर मूल्यवृद्धि सम्बन्धि अध्ययन गर्ने बताइएको हो । अत्याधिक रुपमा फलामजन्य सामग्रीका मूल्यवृद्धिको बारेमा जानकारी गराउनको लागि महासंघले मंगलबार राखेको अन्र्तक्रिया कार्यक्रमममा अध्ययन समिति गठन भएको बताइएको हो । नेपाल एसबिआई बैंकको ९‍.४७ प्रतिशत लाभांश पारित नेपाल एसबिआई बैंकको प्रस्तावित ९.४७ प्रतिशत लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद गरी कूल ९.४७ प्रतिशत लाभांश पाउने छन् । लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सेयरधनीलाई ११।५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले बैंकको चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र २।५ प्रतिशत नगद गरी ११।५ प्रतिशत लाभांश पाउने छन् ।

आज दिनभरः सेयर बजारमा उछाल, व्यवसायीको सम्पत्ति लिलाम गरेको भन्दै घोषणा हुने भयो हड्ताल

काठमाडाैं । पूँजी बजारमा रेकर्ड कायमै भएको छ । गत बिहीबार पनि रेकर्ड कायम गरेको नेप्से परिसूचकले आइतबार पनि नयाँ रेकर्ड कायम गर्न सफल भएको हाे । आइतबारकाे बजारमा नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि अर्थात गत बिहीबारकाे बजारमा परिसूचक २१९४ बिन्दुमा पुगेर रेकर्ड राखेकाे थियाे । यस्तै, पछि्लाे समय बैंक तथा वित्तीय संस्थाहरुलेऋणी व्यवसायीहरुको सम्पत्ति लिलाम गर्ने विषयले पनि चर्चा पाएको छ । विभिन्न समयमा व्यवसायीहरुले सरकारसँग कोरोना प्रभावित व्यवसायीहरुका लागि राहतको माग गरेपनि त्यसको सम्बोधन नभएको उल्टै बैंकमा राखेको सम्पत्ति लिलाम गर्न बैंकहरु अगाडि बढेपपछि व्यवसायीहरुले संघर्ष समिति नै खडा गरेर विरोधमा उत्रिउका छन् । उनीहरुले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन् । यी हुन् आज दिनभरका सामग्री पूँजी बजारमा रेकर्ड कायमै पुँजी बजारमा रेकर्ड कायमै भएको छ । गत बिहीबार पनि रेकर्ड कायम गरेको नेप्से परिसूचकले आइतबार पनि नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । आइतबारकाे बजारमा नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । व्यवसायीकाे भोलि आन्दोलनको घोषणा नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित वयवसायीहरुका समस्या नबुझेको तथा वेवास्ता गरेको भन्दै उनीहरुले समस्या समाधानका लागि प्रधानमनत्रीलाई गुहारेका छन् । उनीहरुले समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् । युरोप, अमेरिकासम्म पुगिसकेको एउटा नेपाली ब्राण्डको कथा हिमाल चढ्दा होस् कि ट्रेकिङ वा हाइकिङ जाँदा, शेर्पा एड्भेन्चर गियरका उत्पादनहरु निकै नै लोकप्रिय छन् । स्वदेशी तथा विदेशी नागरिकहरुले यो ब्राण्डलाई उत्तिकै रुचाउँने गर्छन् । नेपालमा मात्र होइन, अमेरिका र युरोपतिर पनि शेर्पा एड्भेन्चर गियरका उत्पादनहरु उत्तिकै रुचाईएका छन् । शेर्पा एड्भेन्चर गियरले उच्च गुणस्तरका ज्याकेट, डाउन ज्याकेट, स्वेटर, टिसर्ट, हुडी, उत्पादन गर्छ । हाल नेपालमा ठमेल, पोखरा र नाम्चेमा शेर्पा एड्भेन्चर गियरका डिलर स्टोरहरु छन् । स्थानीय तहले १ खर्ब २६ अर्ब खर्च गर्न सकेनन् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् । स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । चन्द्रागिरी हिल्सको आईपीओः साढे ८ लाख बढीले भरे चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा हालसम्म अर्थात तीन दिनमै एक अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ८ लाख ६६ हजार ९२९ जना आवेदकले एक करोड ७० लाख ८७ हजार ४४० कित्ता सेयरको लागि आवेदन दिएका छन् । राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । सोहीअनुसार उनले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे । बीमा समितिले कहिले पाउँछ अध्यक्ष ?  बीमा समिति अध्यक्ष पद रिक्त भएपनि नयाँ अध्यक्षको जिम्मेवारी कसले पाउछ भन्ने अझै यकिन भएको छैन । बीमा क्षेत्रको नियामक निकायको प्रमुख नियुक्तिमा ढिलाई हुँदा नीति निर्माणदेखि नियमन र अनुगमनसम्ममा नकारात्मक असर पर्छ । आइतबार २३०० ले घट्यो सुनको मूल्य आइतबार एकैदिन सुनकाे मूल्य २३०० ले घटेकाे छ । शुक्रबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९५ हजार ३ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ ।  

सेयर बजारमा उछाल, नेप्सेले पार गर्यो उच्चतम बिन्दु

काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएसँगै उकालो नेप्से परिसूचकले यसअघिको उच्च बिन्दु पार गरेको छ । दिउँसो एक बजेर ४५ मिनेट जाँदा परिसूचक ६५ अंकले बढेर २१५३.२५ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १२.८१ अंकले बढेर ४११.५१ बिन्दुमा पुगेको छ । यो अवधिमा ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २०५ कम्पनीको ८५ लाख १४ हजार ७६१ कित्ता सेयर किनबेच भएको छ ।

२०२० मा अमेरिकी सेयर बजारको अनुभवः ब्रोकरले कमिसन लिदैनन्, यस्ता रहेछन् कमाई हुने कम्पनी

सन् २०२० मेरा लागि अमेरिकी सेयर बजार अध्ययन गर्ने वर्ष रह्यो । मेरो एकाउन्ट रहेको सेयर ब्रोकरले शनिबार र आईतबार बाहेक दिनभरि नै बजारका बारेमा पढाउँछ । अनलाईन कक्षा लिएर अमेरिकी सेयर बजारको वास्तविक अध्ययन गर्ने अवसर मैले पाएँ । यो अध्ययनका लागि कुनै खर्च लागेन । मात्र समय दिएँ । सेयर बजारका बारेमा त नेपालदेखि नै जानकार थिएँ । गत वर्षको अध्ययनले अप्सन मार्केट बुझ्ने अवसर दियो । अप्सन सेयर बजारकै एक औजार हो । यो एकदम नै जोखिमपूर्ण लगानी हो । नयाँ विषय सिक्ने अवसर पाएकोमा दंग छु । एक कित्ता सेयर किनेर भएपनि विश्वका ठूलाभन्दा ठुला कम्पनीको सेयर होल्डर बन्न पाइने अवसर सेयर बजारले नै दिएको हो । रमाईलो कुरा के छ भने सेयर किनबेच गर्दा ब्रोकरलाई कुनै शुल्क नै तिर्नु पर्दैन । उल्टो दिनभरि अनलाईन पढाउँछन् । सन् २०२० का उच्च रुपमा सेयर भाउ बढेका कम्पनीमा एमाजन, एप्पल, टेस्ला, निभिडिया भए । एक वर्षको अवधिमा जूमको सेयर मूल्य ४० डलरबाट ६ सय पुगेर अहिले ३ सय ५० को हाराहारीमा छ । विमान बनाउने कम्पनी वोईङको सेयर एक सय डलर भन्दा तल पनि आयो । गूगलको सेयर पनि एक हजार डलरभन्दा तल आएर अहिले १७ सय डलर पुगेको छ । सपिफाईको सेयर मूल्य पनि चार सयबाट १३ सय डलर पुग्यो । चाईनिज कम्पनी अलिबाबाको सेयर मूल्य पनि दुई सयबाट तीन सय १८ सम्म पुगेर फेरि अहिले २ सय ३५ डलरमा झरेको छ । टेस्लाको सेयर किन्नेले सन् २०२० मा धेरै कमाए । टेस्लाको सेयर मूल्य तीन सय डलरबाट २५ सय डलर पुग्यो । एक सेयर हुनेले पाँच सेयर थपेर पाएपछि मूल्य चार सय डलरमा आयो । फेरि अहिले सात सय डलर नाघेको छ । नौ महिनाको अवधिमा टेस्लाको सेयर तीन सयबाट ४ हजार डलर नाध्यो । एमाजनको सेयर १५ सयबाट ३५ सय डलर पूग्यो । फेसबुकको सेयर मूल्य पनि राम्रैसँग बढ्यो । सन् २०२० को अनुभवको आधारमा भन्नुपर्दा ठूलो र बढि सेयर मूल्य भएका कम्पनीको नै सेयर किन्नु पर्ने रहेछ । यो कम्पनीको सेयर धेरै बढ्यो, अब घट्छ होला भनेर नकिन्यो, त्यसैको मूल्य बढ्ने रहेछ । नाफा कमाउने र मूल्य बढिरहेका कम्पनीकै सेयर किन्दा कमाउन सकिने रहेछ । साना र सस्तो मूल्य भएका कम्पनीको सेयरमा कमाउने भन्दा गुमाउने संभावना बढि देखियो । सवै कम्पनीमा एउटै नियम त लाग्दैन । तर पनि पैसा लगानी गर्ने भनेको ठुला कम्पनीमा रहेछ । बजार घटे पनि ठुला कम्पनीको सेयर मूल्य नै पहिला बढ्ने देखियो । भ्याक्सिन आउने भएपछि कोरोनाका कारणले घटेका कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । हेरौं अब सन् २०२१ मा कुन कुन कम्पनीले धेरै कमाउने हुन् । कुन कुन कम्पनीले गुमाउने हुन् । (अमेरिकामा रहेका नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष सापकोटको फेसबुकबाट)

सेयर बजारमा बेवारिसे बनेको लगानीकर्तामैत्री एउटा उपकरण

काठमाडौं । अहिले नेपाली पुँजी बजारको दोस्रो बजारमा लगानी गर्न मन लाग्यो भने तपाईंसँग दुईटा विकल्प उपलब्ध छन् । पहिलो विकल्प भनेको आफूसँग भएको पैसाले जति आउँछ, त्यति मूल्य बराबरको सेयर किन्ने । दोस्रो विकल्प, आफूसँग भएका सेयर धितो राखेर ऋण लिने र त्यो पैसाले सेयर किन्ने । आफूसँग भएको रकम बराबरको सेयर किन्नको लागि कुनै समस्या नै भएन । ब्रोकरलाई पैसा दिएपछि उसले सेयर किनिदिन्छ । अनलाइन मार्फत आफैले सेयर किन्न अर्डर गरेपनि भयो । आफूसँग भएको सेयर धितो राखेर ऋण लिने र त्यो पैसाले फेरि सेयर किन्ने हो भने त्यसका केही विशेष व्यवस्थाहरुको पालना गर्नुपर्छ । अहिलेको व्यवस्था अनुसार तपाईले आफूसँग भएको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नुहुन्छ । तर, यसरी ऋण लिँदा तपाईंसँग भएको सय रुपैयाँ मूल्य बराबरको सेयरमा ७० रुपैयाँ मात्रै ऋण पाइन्छ । सेयर धितो राखेर ऋण लिने प्रक्रियामा त्यो सेयरको मूल्यांकन कति हुने भन्ने जस्ता विषयमा बेग्लै नियमहरु छन् । यी नियम अनुसार बैंक वित्तीय संस्थाले ऋण दिन्छन् । नविर्सनुस् है, सय रुपैयाँ मूल्य कायम भएको सेयर धितो राखेपछि बैंक वित्तीय संस्थाहरुले ७० रुपैयाँ ऋण दिन्छन् । यदि, ३० रुपैयाँ लगानी गरेर सय रुपैयाँको सेयर किन्न पाइने हो भने कस्तो सोच्नुहुन्छ ? पक्कै पनि गज्जव हुन्थ्यो भन्ने लाग्ला । हो, तपाईंसँग नभएको ७० रुपैयाँको व्याज भने तिर्न तयार हुनुहुन्छ होला, हुनै पनि पर्यो । यहाँसम्म आइपुग्दा के कुरा प्रष्ट भयो भने तपाईंसँग जति पैसा छ, त्यो सबैको सेयर किन्न पाइने रहेछ । आफूसँग भएको सेयर धितो राखेर बैंक वित्तीय संस्थाहरुबाट ऋण लिने हो भने जति मूल्य बराबरको सेयर छ, त्यसको ७० प्रतिशत मात्रै ऋण लिन पाइने रहेछ । आफ्नो ३० प्रतिशत सम्पत्ति प्रयोग गर्न पाइएन है । तर, यस्तो मात्रै होइन । नेपाली पुँजी बजारमा अर्काे एउटा यस्तो उपकरण पनि छ, जुन प्रयोग गर्ने हो भने तपाईंसँग भएको भन्दा बढी मूल्य बराबरको सेयर पनि किन्न पाइन्छ । यो भनेको मार्जिन कारोबार हो । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले २०७४ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन जारी गरेको छ । र, नेपाल स्टक एक्सचेन्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पनि बनाएको छ । मार्जिन कारोबार सम्बन्धी निर्देशन र कार्यविधि दुबै बनेर कार्यान्वयनमा गइसकेका छन् । मार्जिन कारोबार भनेको आफूसँग भएको पुँजीभन्दा बढीको सेयर किन्न पाइने भन्ने हो । अहिलेको व्यवस्था अनुसार तपाईंसँग ५० रुपैयाँ छ भने त्यो पैसा लगेर सेयर ब्रोकरलाई दिएपछि उसले तपाईंलाई सय रुपैयाँ बराबरको सेयर किनिदिन्छ । अर्थात् आफूसँग भएको रकमभन्दा दोब्बर बढीको सेयर किन्न पाइन्छ । अझ प्रष्ट होऔं- सेयर धितो कर्जामा सय रुपैयाँको सेयर धितो राख्दा ७० रुपैयाँ ऋण पाइन्थ्यो । यही पैसाले सेयर किन्ने हो । मार्जिन कारोबारमा ५० रुपैयाँ लगेर ब्रोकरलाई दियो भने उसले ५० रुपैयाँ ऋण दिएर सय रुपैयाँको सेयर किनिदिन्छ । सय रुपैयाँको सेयर धितो राखेर ७० रुपैयाँ ऋण लिएर सेयर किन्नुभन्दा ५० रुपैयाँ दिएर सय रुपैयाँको सेयर किन्न पाउनु पक्कै पनि राम्रो कुरा हो । मार्जिन कारोबार सेयर लगानीकर्ताको लागि खासै आकर्षणको कुरा होइन । यो त सेयर कारोबारीहरुका लागि हो । लगानीकर्ता भनेको लामो समयका लागि सेयर किनेर बस्नेहरु हुन् । लामो समय भनेको कति समय हो भन्ने प्रश्न पनि आउँला । हाम्रो सन्दर्भमा एक वर्षभन्दा बढी समयको लागि सेयर किन्नेहरुलाई लगानीकर्ता मान्ने चलन छ । कारोबारी भनेको आफूले किनेको सेयरमा केही फाइदा पाउने वित्तिकै बेचिहाल्ने र फेरि फाइदा हुने जस्तो लागेको कम्पनीको सेयर किनिहाल्ने व्यक्तिहरु हुन् । मार्जिन कारोबारको प्रयोग किन भएन भनेर चर्चा गर्न लागेको, कता अल्मलिए जस्तो पो भएछ । मार्जिन कारोबार सम्बन्धी कानुनी व्यवस्था भइसकेको छ । पुँजी बजार सम्बन्धी सरोकारवालाहरु, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, ब्रोकर, लगानीकर्ता जसलाई सोधे पनि मार्जिन कारोबार अहिले अभ्यासमा छ भन्छन् । ब्रोकरसँग अहिलेसम्म कति जनाले यस्तो सुविधा लिए भनेर सोध्यो भने कसैले पनि लिएका छैनन् भन्छन् । त्यसो भए समस्या कहाँ छ त ? यसको समस्या भनेको नै मार्जिन कारोबार खासगरी भन्ने हो भने मार्जिन कर्जा कार्यान्वयन गर्न कसैले पनि चासो नदेखाएर हो । भन्नको लागि र देखाउनको लागि नयाँ उपकरणको रुपमा मार्जिन कारोबार थपिए पनि कार्यान्वयको लागि सरोकारवाला कसैले पनि चासो देखाएका छैनन् । सबैभन्दा ठूलो समस्या त यसबारेको बुझाईमै छ । बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर लिइने कर्जा र यो मार्जिन कर्जा उस्तै हो भन्ने बुझाई पनि यसको कार्यान्वयनको बाधक हो । अहिलेसम्म सेयर धितो राखेर बैंक वित्तीय संस्थाबाट लिइने सेयरधितो कर्जा जे प्रयोजनमा पनि प्रयोग गर्न पाइन्छ । तर, मार्जिन कर्जा भनेको सेयर किन्ने प्रयोजनको लागि मात्रै हो । यस्तो कर्जा बैंक वित्तीय संस्थाले दिँदैनन् । सेयर ब्रोकरसँग दिने कर्जा हो । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले मार्जिन कर्जा सुविधा अन्तर्गत लिइएको रकम कुनै एउटा कम्पनीको सेयर किन्न १० प्रतिशत मात्रै लगानी गर्न पाइन्छ भनेको छ । अर्थात तपाईले कुनै ब्रोकरसँग १ लाख रुपैयाँ मार्जिन ऋण लिन चाहनु भयो भने एउटा कुनै कम्पनीको १० हजार रुपैयाँको मात्रै सेयर किन्न पाउनु हुन्छ । कम्तिमा पनि १० वटा कम्पनीको सेयर किन्नै पर्ने वाध्यतामा तपाईं फस्नु हुन्छ । तपाईंले बढीमा ९ वटा मात्रै कम्पनीमा मूल्य बढ्ने सम्भावना देख्नुभयो भने पनि अहिलेको प्रावधान अनुसार मार्जिन कर्जा उपयोग गर्नु उपयुक्त नै हुन्न । यति साँघुरो मापदण्ड बनाइएको छ । यसको अर्काे समस्या भनेको ब्रोकरको पुँजी क्षमता हो । अहिले धितोपत्र बोर्डले सेयर ब्रोकरको चुक्ता पुँजी कम्तिमा २ करोड रुपैयाँ हुनुपर्छ भनेको छ । २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरले मार्जिन कर्जा दिन सक्ने अवस्था पनि छैन । मार्जिन सुविधा अनुसार ब्रोकरले ऋण दिएका सेयरलाई धितोको रुपमा ब्रोकरले प्रयोग गरेर बैंक वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था हुनुपर्छ भनिरहेका छन् । यसो भए पुँजीको व्यवस्था गर्न सहज हुने र मार्जिन कारोबार बढ्न सक्ने आँकलन ब्रोकरको छ । मार्जिन कारोबारको लागि बनाइएको मापदण्ड अनुसार अहिले सुचिकृत भएकामध्ये धेरै कम्पनी योग्य हुदैनन् । यसका मापदण्ड निकै कसिला छन् । यसमा पनि केही सहजीकरण आवश्यक छ । मार्जिन ऋणका लागि लगानीकर्ताले चासो नदेखाएका छैनन् । ब्रोकरले वास्ता गरेनन् । नेप्से तथा धितोपत्र बोर्ड उपकरण ल्याएका छौं भनेर भन्छन् तर प्रभावकारी कार्यान्वयनको पहल गर्दैनन् । यो प्रडक्ट प्रभावकारी कार्यान्वयन गर्ने हो भने नेपाली पुँजी बजार थप तरल बनेर कारोबारलाई प्रोत्साहित भने गर्नेछ ।

आज दिनभरः व्यवसायीलाई चन्दाको त्रास, सेयर बजारमा इन्फरमेसन ट्रयाप

काठमाडौं । पछिल्ला केही दिन यता नेपालमा राजनीतिक विषयहरुले चर्चा पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव पनि घोषणा गरेसँगै त्यसले निकै चर्चा र प्राथमिकता पाइरहेकाे हाे । तर, बैशाखमा नै मध्यावधि चुनाव हुने हाेकि नहुने भन्ने विषय पनि पछिल्लाे समय चर्चा भइरहेको छ । मध्यावधि चुनाव हुने घोषणा भएसँगै व्यवसायीहरुलाई भने चन्दाको त्रास बढेको छ । राजनीतिक दलहरुले निर्वाचनको समयमा खर्च जुटाउनको लागि व्यवसायीहरुलाई चन्दा माग्ने प्रवृति हट्न सकेको छैन । व्यवसायीहरुले मध्यावधि निर्वाचन आउने भएसँगै चन्दा आतंक बढ्ने होकि भन्ने चिन्ता पनि लिन थालेको बताउन थालेका हुन् । यस्तै, पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारोले छोपेको छ । कम्पनी ऐनले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नैपर्ने बाध्यताका कारण कम्पनीहरुलाई साधारणसभा गर्न भ्याईनभ्याई भएको हो । यस्तै, बिहीबारको सेयर बजार २९ अंकले ओरालो लागेको छ । यी हुन् आज दिनभरका सामग्री: निजी क्षेत्रलाई चन्दाको त्रास सरकारले संघीय प्रतिनिधिसभा (संसद) विघटन गरी मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै निजी क्षेत्र खुसी र दुःख एकै पटक महसुस गर्ने अवस्थामा पुगेको छ । तोकिएको समयमा निर्वाचन भए आर्थिक रुपमा आफूहरु कमजोर भएको बेलामा राजनीतिक दललाई चन्दा दिने रकम जुटाउनु पर्ने सकसमा उद्योगी व्यवसायी छन् । तर, निर्धारित समयमै चुनाव भइदिए आर्थिक गतिविधि चलायमान हुने भएकोले आफूहरुको व्यापार व्यवसाय बढ्ने आश पनि निजी क्षेत्रले गरेको छ । सेयर बजारमा बढ्यो ‘इन्फरमेसन ट्रेडिङ नेपाली सेयर बजारमा पनि ‘इन्फरमेसन ट्रेडिङ’ गरी ‘सेयर मार्केटिङ’ गर्ने क्रम बढेको छ । हुँदै नभएको गतिविधिलाई गलत रुपमा प्रचार प्रसार गरी सेयर खरिद विक्रीलाई प्रभावित पार्नु नै ‘इन्फरमेसन ट्रेडिङ’ गरी सेयर मार्केटिङ गर्नु हो । पछिल्ला दिनमा सेयर बजारमा इन्फरमेसन ट्रेडिङ बढेको छ । केही दिनअघि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज हुने हल्लाले यी दुबै कम्पनीको सेयर खरिद विक्री र मूल्य प्रभावित भयो । सिद्धार्थ बैंक र नबिल बैंकबीच मर्ज हुने हल्ला हिजो र अस्ति दिनभर नै नेपाली सेयर बजारमा चल्यो । एनसीसी बैंकको सेयर मूल्यमा उछाल नबिल बैंकसँग मर्ज हुन लागेको हल्ला चलेपछि एनसीसी बैंकको सेयर मूल्यमा उछाल आएको छ । एक महिनायता एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १२८ रुपैयाँले बढेको छ । एक महिनाअघि प्रतिकित्ता २३६ रुपैयाँमा कारोबार भएको एनसीसी बैंकको सेयर बुधबार प्रतिकित्ता ३६४ रुपैयाँमा कारोबार बन्द भयो । बुधबार मध्यान्न ३८५ रुपैयाँसम्ममा कारोबार भएको थियो जुन मूल्य एक महिना पहिलाको तुलनामा ६३ प्रतिशतले बढी हो । एजीएमको चटारोले छोप्यो बैंकहरुलाई पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारोले छोपेको छ । कम्पनी ऐनले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नैपर्ने बाध्यताका कारण कम्पनीहरुलाई साधारणसभा गर्न भ्याईनभ्याई भएको हो । अधिकांश वाणिज्य बैंकहरुले आगामी पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) डाकेका छन् ।  २९ अंकले घट्याे सेयर बजार  बिहीबारको सेयर बजार २९ अंकले ओरालो लागेको छ । बुधबार सामान्य अंकले बढेको नेप्से परिसूचक बिहीबार २९.८३ अंकले घटेर २०३८.६३ अंकमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.४४ प्रतिशतले घटी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.७४ अंकले घटेर ३८६.७६ अंकमा झरेको छ । धरहराको २०औं तला पुननिर्माणको काम सम्पन्न २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले २०औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कुल २३ तला रहने पनि ज्ञवालीले बताए । उकालो लाग्यो सुनको मूल्य स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० ले उकालो लागेको छ । प्रतितोला ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो । प्रचण्ड–माधव समूहले देशव्यापी आन्दोलन गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलन गर्ने भएकाे छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले देशव्यापी प्रदर्शन भने १४ गते हुने बताए । उनका अनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ । यसका लागि बाग्मती प्रदेशका भने सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ ।

नेपाली सेयर बजारमा बढ्यो ‘इन्फरमेसन ट्रेडिङ’, कसरी जोगिने सूचना धरापबाट ?

काठमाडौं । नेपाली सेयर बजारमा पनि ‘इन्फरमेसन ट्रेडिङ’ गरी ‘सेयर मार्केटिङ’ गर्ने क्रम बढेको छ । हुँदै नभएको गतिविधिलाई गलत रुपमा प्रचार प्रसार गरी सेयर खरिद विक्रीलाई प्रभावित पार्नु नै ‘इन्फरमेसन ट्रेडिङ’ गरी सेयर मार्केटिङ गर्नु हो । पछिल्ला दिनमा सेयर बजारमा इन्फरमेसन ट्रेडिङ बढेको छ । केही दिनअघि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज हुने हल्लाले यी दुबै कम्पनीको सेयर खरिद विक्री र मूल्य प्रभावित भयो । सिद्धार्थ बैंक र नबिल बैंकबीच मर्ज हुने हल्ला हिजो र अस्ति दिनभर नै नेपाली सेयर बजारमा चल्यो । यस्तै, आज नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक नबिल बैंकसँग मर्ज हुने हल्ला चलेका कारण एनसीसी बैंकको सेयर मूल्यमा उछाल आएको छ । अरु कम्पनी कम्पनी पनि फलानोसँग मर्ज हुन लाग्यो, हकप्रद सेयर दिन्छ, यति प्रतिशत बोनस घोषणा गर्र्दैछ भन्ने जस्ता हल्ला सेयर बजारमा व्यापक हुन थालेका छन् । पुँजी बजारमा चल्ने यस्ता हल्लाको समयमा उचित लाभ लिनु नै विवेकशील लगानीकर्ताको धर्म हो । ‘बाई द र्युमर, सेल द न्युज’ भन्ने सिद्धान्त विश्वभरको दोस्रो बजारमा चलेको हुन्छ । यो भनेको मुल्य बढ्ने प्रकारको हल्ला चलेको बेलामा सेयर किन, सत्य समाचार सार्वजनिक भएपछि सेयर बेच’ भन्ने हो । कुनै कम्पनीको राम्रो हल्ला बजारमा चलेको छ भने त्यस्तो हल्लाले सो कम्पनीको सेयर मूल्य बढाउन सहयोग गर्छ । त्यस्तो बेलामा सेयर खरिद गरेमा सत्य कुरा सार्वजनिक भएपछि मूल्य कम हुन सक्छ । त्यसैले लगानीकर्ताले सोही अनुसारको व्यवहार प्रदर्शन गर्नुपर्छ । बजारमा चलेका हल्ला कति आधिकारिक हुन्, कति इन्फरमेसन ट्रेडिङको लागि हुन् भनेर नियामक निकायहरुले हेर्नुपर्ने हो, यहाँ त इन्साइडर ट्रेडिङलाई समेत प्रभावकारी रुपमा हेर्न नसकिएको गुनासो आउने गरेको छ, त्यसैले इन्फरमेसन ट्रेडिङ हो कि सही सुचना हो भनेर लगानीकर्ता आफै सचेत हुनुको विकल्प देख्दिनँ पछिल्लो समय नेपाली सेयर बजारमा इन्फरमेसन ट्रेडिङ गरी सेयर मार्केटिङ गर्ने क्रम बढेको पुँजी बजार विज्ञ तथा लगानीकर्ता प्रकाश तिवारी बताउँछन् । इन्फरमेसन ट्रेडिङको लागि सामाजिक संजाल प्रयोग भइरहेको उनको अनुभव छ । ‘सामाजिक संजालमा बनाइएको ४०/५० हजार मानिस आवद्ध भएको ग्रुपमा विभिन्न प्रकारका हल्ला फैलाउन प्रयोग गरिन्छ, सो हल्लाको आधारमा कुनै कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने गरेको देखिन्छ, सेयर खरिद विक्रीमा अनलाइन प्रणाली आएपछि इन्फरमेसन ट्रेडिङले अझ व्यापकता पाएको देख्छु,’ तिवारीले भने । अनलाइन खरिद विक्री प्रणाली आउनु अघिसम्म ब्रोकरलाई अनुरोध गरेर मात्रै सेयर खरिद वा विक्री गर्न सकिन्थ्यो । त्यस्तो अवस्थामा बजारमा चलेका हल्ला सही हुन् कि होइनन् भन्ने बारेमा ब्रोकरले पनि लगानीकर्तालाई परामर्श दिने गर्थे । तर, अनलाइन कारोबार आएपछि ब्रोकरको सल्लाह वा परामर्शविनै हल्लाको भरमा धेरै मानिसले सेयर खरिद वा विक्रीको आदेश गर्न सक्ने भएकोले ‘र्युमर ट्रेडिङ’लाई प्रश्रय दिइरहेको छ । इन्फरमेसन ट्रेडिङलाई नियामक निकायले प्रभावकारी रुपमा नियमन गर्नुपर्ने आवश्यकता तिवारीले देखेका छन् । तर, अहिलेको अवस्थामा नियामकबाट यस्तो प्रकारका आशा गर्ने ठाउँ अलि कम भएको उनको प्रतिक्रिया छ । ‘बजारमा चलेका हल्ला कति आधिकारिक हुन्, कति इन्फरमेसन ट्रेडिङको लागि हुन् भनेर नियामक निकायहरुले हेर्नुपर्ने हो, यहाँ त इन्साइडर ट्रेडिङलाई समेत प्रभावकारी रुपमा हेर्न नसकिएको गुनासो आउने गरेको छ, त्यसैले इन्फरमेसन ट्रेडिङ हो कि सही सुचना हो भनेर लगानीकर्ता आफै सचेत हुनुको विकल्प देख्दिनँ,’ तिवारीले भने । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुली आधिकारिक सुचना प्रवाहमा जोड दिएको अवस्थामा र्युमर ट्रेडिङ कम हुने बताउँछन् । बजारमा चलेका हल्लामध्ये कुन सही हुन्, कुन गलत हुन् भनेर लगानीकर्ताले पनि ध्यान दिनुपर्ने उनको भनाई छ । सार्वजनिक भएका बाहेक कुनै सुचनामा शंका लाग्यो भने लगानीकर्ताले सम्बन्धित कम्पनीबाट पुष्टी गर्न गराउन सक्ने अवस्था भएकोले थप सजिलो छ, तर यी दुबै अवस्थाको लागि लगानीकर्ता सचेत हुन भने आवश्यक हुन्छ ‘हामीले कम्पनीहरुलाई आधिकारिक सुचना प्रवाहलाई जोड दिन वाध्य बनाइरहेका छौं, कम्पनीहरुले जारी गर्ने सार्वजनिक सुचनाले पनि चलेको हल्ला सही हो कि होइन भनेर परीक्षण गर्न मद्दत गर्छ, सार्वजनिक भएका बाहेक कुनै सुचनामा शंका लाग्यो भने लगानीकर्ताले सम्बन्धित कम्पनीबाट पुष्टी गर्न गराउन सक्ने अवस्था भएकोले थप सजिलो छ, तर यी दुबै अवस्थाको लागि लगानीकर्ता सचेत हुन भने आवश्यक हुन्छ,’ पराजुलीले भने । पुँजी बजारबारे जानकार दिलिप मुनंकर्मी दोस्रो बजार भनेकै मूल्यांन्तरको खेल हुने ठाँउ भएकोले ‘इन्फरमेसन ट्रयाप’ (सुचनाको धराप) मा पारेर ‘आउट साइडर ट्रेडिङ’ हुने बताउँछन् । दोस्रो बजारमा हुने इन्साइडर ट्रेडिङलाई कानुनले बर्जित गर्यो तर, सुचनाको धरापमा पारी हुने आउटसाइडर ट्रेडिङ (खुल्लमखुल्ला अफवाह फैलाएर सेयर मूल्य प्रभावित गरी हुने कारोबार) लाई कसैले ध्यान दिएकै छैन, यस्ता कुरालाई हेर्न नियामकीय गतिविधि बृद्धि गर्नु एकमात्र विकल्प हो ‘दोस्रो बजारमा हुने इन्साइडर ट्रेडिङलाई कानुनले बर्जित गर्यो तर, सुचनाको धरापमा पारी हुने आउटसाइडर ट्रेडिङ (खुल्लमखुल्ला अफवाह फैलाएर सेयर मूल्य प्रभावित गरी हुने कारोबार) लाई कसैले ध्यान दिएकै छैन, यस्ता कुरालाई हेर्न नियामकीय गतिविधि बृद्धि गर्नु एकमात्र विकल्प हो,’ मुनंकर्मीले भने । सम्बन्धित क्षेत्रका विशेषज्ञको भनाईलाई आधार मान्दा पुँजी बजारमा हुने इन्फरमेसन ट्रेडिङलाई नियन्त्रण गर्न सहज छैन । दोस्रो बजारमा हुने मूल्यांन्तरको खेलामा विभिन्न प्रकारका रणनीति वा दाउपेच भने चलिरहेका हुन्छन् । यस्तो अवस्थामा लगानीकर्ताले लगानी गर्नुअघि आफ्नो जोखिम बहन क्षमता कति छ, सो अनुसारको निर्णय गर्नु उचित हुन्छ । यस्तै, बजारमा चलेका हल्ला कति विश्वसनीय हुन्, हल्ला चले जस्तै हुने सम्भावना कति छ भन्ने जस्ता विषयमा ध्यान पुर्याउनु आवश्यक हुन्छ ।

संसद विघटनले निरास आर्थिक क्षेत्र, उत्साह सेयर बजार र घरजग्गामा

काठमाडौं । झण्डै दुई तिहाई मतसहित प्रधानमन्त्री पदमा रहेका केपी शर्मा ओलीले पार्टीभित्रको विवाद बढेपछि हठात संसद विघटन गरेर मध्यावधी निर्वाचनको सिफारिस गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिस कार्यान्वयन गर्दै मध्यावधी निर्वाचनको मिति तोकिसकेकी छन् । प्रधानमन्त्री ओलीले चालेको अप्रत्यासित राजनीतिक कदमले आर्थिक क्षेत्र अन्योलमा परेको छ । राजनीतिक अस्थिरताको कारण आर्थिक विकास हुन सकेन भन्ने निक्र्याेलसहित संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने सरल र स्पष्ट व्यवस्था गरिएको छैन । तर, प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको यो कदमले फेरि पनि राजनीतिक अस्थिरतालाई निम्ता दिएको छ । संसद (संघीय प्रतिनिधिसभा) विघटन गरेर मध्यावधी निर्वाचन गर्ने सरकारको निर्णयको न्यायपालिकाले संवैधानिक परीक्षण गर्ने कार्य बाँकी छ । सरकारको सिफारिस अनुसार राष्ट्रपतिले सदर गरेको मध्यावधी निर्वाचनलाई सर्वाेच्च अदालतले सही ठहर गरेको अवस्थामा अबको राजनीतिकले अर्कै कोर्ष लिनेछ, जुन नेपालको संविधान २०७२ ले परिकल्पना गरेभन्दा विल्कुल फरक अर्थात राजनीतिक अस्थिरताको बाटो समात्नेछ । प्रजातन्त्र पुनस्थापनापछि २०४७ मा जारी भएको संविधानलाई त्यो बेला ‘संसारकै उत्कृष्ट संविधान’ भनिएको थियो । तर, २०५८ सालसम्म पुग्दा (तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेर मध्यावधी निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्रीको संसद विघटनको सिफारिसलाई आफूसँग सत्ता आएको भन्ने अर्थमा बुझेर तत्कालिन राजा ज्ञानेन्द्रले गरेको शाही उपद्रो) काम नलाग्ने भइसकेको थियो । २०४७ को संविधानलाई काम नलाग्ने बनाउने भूमिका सो समयमा सर्वाेच्च अदालत पनि सहभागी भएको थियो । २०४८ को आम निर्वाचनपछि सुविधाजनक बहुमतमा प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्रको विवादकै कारण २०५१ सालमा संसद विघटन गरेर मध्यावधी निर्वाचन गराएका थिए । सर्वाेच्चले प्रधानमन्त्रीको सो कदम ठीक छ भनेको थियो । यस्तै, २०५१ को मध्यावधी निर्वाचनपछि बनेको तत्कालिन नेकपा एमालेको अल्पमतको सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएपछि प्रधानमन्त्री मनमोहन अधिकारीले पनि संसद विघटन गरेर मध्यावधीमा जाने निर्णय गरेका थिए । अधिकारीको सो निर्णय सर्वाेच्चले गलत ठहर गरेको थियो । सर्वाेच्च अदालतले २०५१ र २०५२ मा गरेको निर्णय राजनीतिक रुपमा दुबै गलत प्रमाणित भएको विश्लेषण आज पनि गर्ने गरिन्छ । यदि, २०५१ मा कोइरालाले गरेको संसद विघटनलाई सर्वाेच्चले गलत भनेको भए राजनीतिक अस्थिरताले कम ठाउँ पाउने थियो भन्ने तर्क आजसम्म पनि छ । यस्तै, लोकप्रिय कार्यक्रम ल्याएको र ९ महिना सरकार चलाउँदा जनताको विश्वास आर्जन गरेको भनिएको तत्कालिन एमालेको सरकारले सिफारिस गरेको मध्यावधी निर्वाचनलाई सर्वाेच्चले सही ठहर गरिदिएको भए एमालेको बहुमत आउने थियो र राजनीतिक अस्थिरता कम हुने थियो भन्ने पनि गरिन्छ । अहिलेको अवस्था पनि त्यस्तै भएको छ । संसद विघटन गरेर मध्यावधी निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वाेच्चले सही ठहर गरेमा अबको राजनीति अस्थिर बन्नेछ । तर, सर्वाेच्चले संसद विघटन गैरसंवैधानिक ठहर गरेमा प्रधानमन्त्रीले सनक, आवेश वा प्रतिसोधका आधारमा संसद विघटन गर्ने परम्परामा पूर्णविराम लाग्न सक्छ । निरास आर्थिक क्षेत्र, उत्साह सेयर बजार र घरजग्गामा हठात संसद विघटन भएपछि आर्थिक क्षेत्र निरास भएको छ । राजनीतिक स्थिरतापछि मात्रै आर्थिक विकास हुन सक्ने निक्र्योलसहित संविधानमा संसद विघटन गरेर मध्यावधी निर्वाचन गर्ने स्पष्ट व्यवस्था नगरिए पनि प्रधानमन्त्रीको बलमिच्याईबाट संसद विघटन हुन सक्ने देखिएपछि ‘यो देशमा केही हुँदैन’ भन्ने मत बढेको छ । ‘अहिलेको राजनीतिक नेतृत्वसँग आफूले लाभ लिनुबाहेक अर्काे लक्ष्य देखिएन, लाभ पाएकाहरु छोड्न तयार नहुने र नपाएकाहरु जसरी भएपनि हत्याउने कार्यमा नै लागे, राजनीतिक स्थिरताको लागि संविधानमा गरिएका व्यवस्थाको उल्लंघन हुन्छ भन्ने अरु कुराको के आश गर्ने,’ एक व्यवसायीले भने । तर, आर्थिक क्षेत्र निरास देखिएपनि सेयर बजार र घरजग्गा जस्ता क्षेत्र गुल्जार हुने सम्भावना छ । राजनीतिक अस्थिरताको समयमा ‘स्पेकुलेटिभ मार्केट’ बढी चलायमान हुने भएकोले सेयर बजार र घरजग्गा जस्ता क्षेत्रको कारोबारमा बढोत्तरी हुने देखिएको हो । ‘नयाँ लगानी गरेर उद्योग व्यवसाय गर्ने मुड कसैमा छैन, निरासाको संचार भएको छ, आन्दोलन, हड्ताल वा बन्द जस्ता ध्वंसात्मक गतिविधिले प्रश्रय पाउने अवस्था छ, यस्तो बेलामा पैसा हुनेहरुले लगानी गर्ने भनेको ‘स्पेकुलेटिभ मार्केट’मै हो, त्यो भनेको सेयर बजार र घरजग्गा क्षेत्र नै हो,’ अर्का एक व्यवसायीले भने । यसअघिका राजनीतिक अस्थिरता र संकटको बेलामा पनि सेयर बजार र घरजग्गा क्षेत्रमा बहार आएको थियो । २०६५ सालमा नेप्से परिसुचक ११७५ विन्दुमा पुग्यो । सो विन्दु त्यो बेलासम्मको उच्चतम विन्दु थियो । त्यो बेलामा देश राजनीतिक संक्रमणमा थियो । तत्कालिन विद्रोही शक्ति नेकपा माओवादी शान्ति प्रक्रियामा आएपनि संविधानसभाले संविधान बनाएको थिएन । माओवादी लडाकुलाई पनि नेपाली सेनामा समायोजन गर्ने राजनीतिक निर्णय भइसकेको थियो । अर्काे बुल २०७३ साउन १२ गतेको हो । सो दिन नेप्से परिसुचक १८८१ विन्दुमा पुग्यो । त्यतिबेला २०७२ को शक्तिशाली भूकम्पको कारण राजधानी काठमाडौंसहित देशका १४ जिल्ला अतिप्रभावित भएका थिए । ८ हजारभन्दा बढीको ज्यान गएको थियो । कयौं अंगभंग र घाइते भएका थिए । पुननिर्माणको लागि अर्बाैं रकम चाहिने आँकलन गरिएको थियो । यस्तै, २०५८ सालमा नेप्से परिसुचक ६ सय ५५ विन्दुमा पुगेको थियो, जुन सोबेलासम्मको उच्चतम विन्दु हो । तत्कालिन राजा वीरेन्द्रको बंश नास हुने गरी भएको दरबार हत्याकाण्डको केही समयपछि नै परिसुचक ६५५ मा पुगेको थियो । सेयर बजार र घरजग्गा क्षेत्रको कारोबार बढ्ने अर्काे कारण निर्वाचन हो । निर्वाचनको समयमा अधिक पैसाको कारोबार हुने भएकोले बैंकिङ क्षेत्रमा अधिक तरलता हुने गर्छ । अहिले पनि बैंकिङ क्षेत्रमा अधिक तरलता छ र व्याजदर कम छ । यस्तो बेलामा राजनीतिसँग प्रत्येक्ष परोक्ष रुपमा जोडिएका लगानीकर्ताले बजार बढाएर आफूसँग भएको सेयर तथा घरजग्गा विक्री गर्ने र चुनावपछि फेरि किन्ने गरेका दृष्टान्त छन् । त्यसैकारण पनि यी दुबै क्षेत्र गुल्जार हुने सम्भावना छ । सम्बन्धित सामग्री जुरो हल्लाउँदै दौडिरहेको सेयर बजारको साँढेले कहाँ पुगेर थकाई मार्ला ? ओलीको अक्षम्य गल्ती संसद विघटनपछि कसरी अघि बढ्ला अबको राजनीति ?

आज दिनभर अर्थजगतः सेयर बजारलाई राष्ट्र बैंकको त्रास, किसानलाई भुक्तानीको आश

काठमाडौं । आज दिनभर नेपाली अर्थ क्षेत्रमा सेयर बजार घटेको, उखु किसानले भुक्तानी नपाएको तथा निक्षेपको व्याजदरलाई लिएर नेपाल राष्ट्र बैंक र बैंकहरुबीच सम्बन्ध चिसिएका लगायतका विषय निकै चर्चामा रहे । आजै अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले लाभांश पनि घोषणा गरे भने मुख्यत: उखु किसानले बक्यौता नपाएको विषयले नै आज धेरै प्राथमिकता  पायो । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले उद्योगीले आफुलाई कारवाही नगर्न भन्दै फोन आउन गर्ने गरकाे विषयदेखि उद्योग मन्त्रालयलाई सातदिन भित्र उखु किसानको रकम भुक्तानी गर्ने व्यवस्था गर्ने निर्देशन दिएको विषय निकै चर्चामा रहे । यस्तो छ आज दिनभरको नेपाली अर्थजगतः  राष्ट्र बैंक र बैंकहरुबीच दाउपेच  बचत निक्षेपमा पैसा राख्नेहरुको हित संरक्षणका लागि चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत ल्याइएको नीतिको बैंकहरुले मोर्चाबन्दी गरेर असहयोग गरेपछि राष्ट्र बैंकले बेग्लै रणनीति अख्तियार गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत मुद्दति र बचतको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने नीतिगत व्यवस्था गरेको थियो । राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि सबै बैंकहरुले मुद्दती निक्षेपकै व्याज घटाएर राष्ट्र बैंकलाई चुनौति दिएका छन् । जबकि राष्ट्र बैंक बचतको व्याज बढोस् भन्ने चाहन्थ्यो । बचतको व्याज बृद्धि होस भनेर गरिएको नीतिगत व्यवस्था विपरित मुद्दती निक्षेपकै व्याज घटेपछि बेग्लै रणनीति अख्तियार गर्नुपर्ने आवश्यकताबोध भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले बताए । ‘निक्षेपकर्ताको हित संरक्षण गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुका सबै प्रकारका निक्षेप योजनाको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने नीतिगत व्यवस्था गरियो, सो व्यवस्था कार्यान्वयनको लागि सर्कुलर पनि जारी भइसकेको छ तर, पछिल्ला दिनहरुमा बचतको व्याज बढ्नुको साटो मुद्दती निक्षेपकै व्याज घटेको पाइयो, यस्तो प्रबृत्ति देखिएपछि राष्ट्र बैंक पनि रणनीतिक रुपमा प्रस्तुत हुनुपर्ने देखिएको छ,’ सहप्रवक्ता पोखरेलले भने । किसानलाई भुक्तानी पाउने आश, उद्योग विरुद्ध ठगी मुद्दा  किसानसँग खरिद गरिएको उखुको समयमै भुक्तानी नदिने चिनी उद्योग विरुद्ध ठगी मुद्दा दायर भएको छ । किसानको भुक्तानी नदिएका श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिल विरुद्ध मुद्दा दायर भएको हो । किसानको भुक्तानी नदिने उद्योग संचालक विरुद्ध ठगी मुद्दा परेको र सम्बन्धित जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकोले आफूहरु उद्योगी खोजिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । ‘किसानको भुक्तानी नदिने उद्योग संचालक विरुद्ध ठगी मुद्दा परेको छ, सम्बन्धित जिल्ला अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ, नेपाल प्रहरीका सम्बन्धित निकायहरुले पक्राउ पुर्जी जारी भएका उद्योग संचालक खोजिरहेको छ,’ एसएसपी कुँवरले विकासन्युजसँग भने । किसानहरु भुक्तानी पाउने आशामा दिनभर आन्दोलनमा छन् । मन्त्री भट्टलाई उद्याेगीकाे फाेन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्ने नेताहरुबाटै उद्योगीलाई गिरफ्तार नगर्न भन्दै फोन आएको बताएका हुन् । सामाजिक सञ्जालमा न्यायको वकालत गर्दै उद्योगीलाई कारबाही गर्नुपर्छ भन्ने तर मन्त्रीलाई फोन गरेर कारबाही नगर भन्ने द्वैद्व चरित्र देखाउने प्रवृतिले समस्या भएको बताए । उनले भने ‘यहाँ द्वैद्व चरित्रले अलि समस्या हुन्छ जस्तो लाग्यो मलाई । यहाँ न्यायको कुरा गर्ने, उद्योगीलाई ठेगान लगाउनुपर्छ पनि भन्ने अनि जव ठेगान लगाउन थाल्यो फोन आउँछ । होइन त्यसलाई त रोक्नुपर्यो नी । उद्योगी त तिर्छु भनेको छ नी चार दिन रोकिदिनु पर्यो भन्ने । यी खालका जो आउँछन् अब यो हामीले भन्न खोजेको गर्न खोजेको के हो अब अलिकति सम्बन्धित पक्षले बुझ्नु जरुरी छ । मैले ट्विटर हेरे निकै नेताहरुको किसानले न्याय पाउनुपर्छ भनेर लेखेका छन अनि तिनै नेताले फोन गर्छन् र उद्योगीलाई गिरफ्तार गर्न हुन्न भन्छन् । यो खालको क्यारेक्टरले पनि समस्या हल गर्नमा बाधक बन्यो ।’ उद्योगीहरु जो भएपनि मन्त्रालयले कारबाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाएको बताए । उद्योगीको संरक्षण र विकास गर्ने काम उद्योग मन्त्रालय अन्तर्गत पर्ने तर कुनै उद्योगीले अन्याय गर्छ भने त्यसलाई छाडन नमिल्ने पनि मन्त्री भट्टले प्रष्ट पारे । तर उद्योग मन्त्रालयसँग ऐन नहुँदा कानूनी दायरमा ल्याउन कठिन भएको पनि मन्त्री भट्टले बताए । किसानकाे बक्याैता ७ दिनमै गर्न निर्देशन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले उखु किसानको बक्यौता सात दिनभित्र तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले उखु किसानको बक्यौता सातदिनभित्र तिर्ने व्यवस्था मिलाइदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । २०७६ पुस १८ सम्म १४ उद्योगको १४० करोड बक्यौता रहेकामा २०७७ मंसिर ९ सम्म ६५ करोड बाँकी रहेको छ । समितिले उखु किसानको आन्दोलन र चिनी उद्योगीले बक्यौता नदिएको विषयमा बिहीबार मन्त्री र सचिवलाई बोलाएर छलफल गरेको थियो । समितिले सातदिनभित्र व्यवसायीबाट रकम भुक्तानीको व्यवस्था मिलाइदिन मन्त्रालयलाई निर्देशन दिएको हो भने श्रम मन्त्रालयलाई पनि अर्को निर्देशन दिएको छ । नेप्से २२.७० अंकले घट्याे साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक २२.७० अंकले घटेर २०३२.५१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१० प्रतिशतले घटेको हो । बजारमा सेयर कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार ५ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने ६ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ६२ करोड रुपैयाँले बढी हो । बिहीबार १९५ कम्पनीको एक करोड ४१ लाख १४ हजार ४६० कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ८० करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । व्यापार मेला नहुने भए  यस वर्ष कुनै पनि व्यापार मेला नहुने भएका छन् । असोजमा हुने व्यापार मेलाहरुदेखि माघ÷फागुनसम्म हुने कुनै पनि व्यापार मेलाहरु यस वर्ष नहुने भएका हुन् । गत भदौ असोजमा हुन नसकेका व्यापार मेलाहरुलाई पोष्ट पण्ड गरी पुस/माघमा सारिएका थिए । विभिन्न संघ संस्थाले आयोजना गर्ने ती व्यापार मेलाहरुलाई कोरोनाको कारण देखाउँदै पोष्ट पोण्ड गरिएका थिए । तर, अझै पनि कोरोना भाइरसको असर कायमै भएको हुनाले पोष्ट पोण्ड भएका ती व्यापार मेलाहरु नहुने भएका हुन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना भाइरसको प्रभाव कायमै रहेको र अब यो वर्ष नाडा अटो शो नहुने बताए । ‘हामीले साउनमा विज्ञप्ती नै जारी गरेर नहुने जनाएको थियौं, उतिखेर कोरोना कम भयो भने गर्न सकिने सोचमा थियौं, हामीले पुष माघसम्म आयोजना गर्ने सोच बनाएका थियौं, तर अझै पनि कोरोनाको प्रभाव कायमै छ, अब यो वर्ष नहुने भयो,’ उनले भने । यस्तै, हरेक वर्षको मंसिरमा हुने हस्तकला प्रदर्शनी यस वर्ष कोरोना भाइरसको कारण नहुने भएको छ । हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले यस वर्ष कोरोना भाइरसकै कारण हस्तकला प्रदशर्नी नहुने बताएका हुन् । करोडौंको कारोबार हुने क्यान इन्फोटेक पनि यो वर्ष हुने कि नहुने भन्ने यकिन भएको छैन । हरेक वर्षकोअ माघ फागुनमा हुने क्यान इन्फोटक यो वर्ष कोरोनाले निर्धारण गर्नेछ । अझै पनि धेरै समय भएकाले क्यान इन्फोटेक गर्ने कि नगर्ने भन्ने बारे छलफल पनि भइरहेको नेपाल कम्प्युटर एसोसियसनका अध्यक्ष नवराज कुँवरले बताए । दरबारमार्गकाे भाडा बढेन  अघिल्ला वर्षहरुमा वार्षिक १५ देखि ३० प्रतिशतसम्म भाडा बढाउने दरबार मार्गका घरधनीहरुले यसवर्ष भने भाडा बढाएका छैनन् । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका व्यवसायीहरुको राहत स्वरुप उनीहरुले घर तथा सटर भाडा नबढाएका हुन् । कोरोना भाइरसको कारण लामो समयमसम्म भएको लकडाउन र त्यसपछिको विभिन्न समयमा भएको निषेधाज्ञाले समस्यामा परेको व्यवसायीहरुलाई सो क्षेत्रका घरधनीहरुले एक महिनाको भाडा छुट पनि दिएका छन् । लामो समयसम्म व्यापार व्यवसाय नचल्दा उनीहरु आर्थिक संकटमा परेका थिए । उनीहरुको राहतस्वरुप घरधनीहरुले यो वर्ष भाडा नबढाई र एक महिनाको भाडा नलिई सहयोग गरेका हुन् । दरबारमार्गमा पवित्रा स्टोरकी सन्ध्या बस्नेतले घरधनीहरुले एक महिनाको तलब छुट दिँदा र यो वर्ष भाडा पनि नबढाउँदा धेरै राहत महसुस गरेको बताइन् । ‘ ग्राहकको संख्या कम भएको छ, सोही कारण व्यापारपनि घट्दो अवस्थामा छ, व्यापार नै नभएको समयमा भाडा पनि बढेन, एक महिनाको भाडा पनि छुट भयो, अलिकति भएपनि राहत महसुस भएको छ,’ उनले भनिन् । यस्तै, दरबारमार्गमै कपडाको व्यापार गर्दै आएका दिपक केसीले पनि यस वर्ष घरधनीहरुले भाडा नबढाउँदा राहात महसुस भएको बताए । ‘प्रत्येक वर्ष १५ देखि २५ प्रतिशतसम्म भाडा बढ्थ्यो, तर यो वर्ष भने बढेन, सामान्य अवस्थामा पुग्न भने अझै ५ वर्ष नै लाग्छ,’ उनले भने । लकडाउनको समयमा बैंकको व्याज, घरधनीको भाडा लगायतका पैसा तिर्नु पर्ने तर सोही अनुसारको व्यापार नभएकोले व्यापारीहरुलाई धेरै समस्या भएको उनको भनाई छ । बैंकहरुले गरे लाभांश घोषणा नेपाल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद (कर समेत) गरी कूल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । यस्तै, तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । गत पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले चुक्ता पुँजीको ६ प्रतिशतले हुने १० करोड ८७ लाख ८६ हजार ६३२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । मेगा बैंक नेपालले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो तीन वर्ष यताकै उच्च लाभांशदर हो । पुस २ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद (कर समेत) गरी कूल १३.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । माछापुच्छ्रे बैंकको प्रस्तावित १०.४ प्रतिशत लाभांश पारित भएको छ । आज पुस २ गते सम्पन्न बैंकको २२औँं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस गरी कुल १०.४ प्रतिशत लाभांश पारित गरेको हो । साथै, सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गरेकाे छ । साथै, बैंकले आजैको मिति पुस २ गतेबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ । ४७ प्रतिशत बिमितले पाए काेराेना बीमा भुक्तानी कोरोना भाइरस बीमा गरेका १२ हजार १ सय ९० जना बीमितले भुक्तानी पाएका छन् । कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २३ हजार ५६ जना बीमितहरुमध्ये हालसम्म १२ हजार १ सय ९० जनाले भुक्तानी पाएका हुन् । जो कुल दाबी गर्नेहरुमा ४७.११ प्रतिशत हो । यस्तै, बीमा समितिले दिएको जानकारीका अनुसार हालसम्म २३ हजार ५६ जनाले कोरोना बीमा भुक्तानीका आवेदन दिएका छन् । कोरोना बीमाको भुक्तानीका लागि २ हजार १ सय ११ बीमितका फाइल प्रकृयामा रहेको समितिले जनाएको छ । एफएनसिसिआईकाे विधान संशाेधन कार्यदलकाे संयाेजकमा जाेशी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को नयाँ विधान संशोधनको प्रक्रिया अगाडि बढेको छ । नव निर्वाचित कार्यसमितिले विधान संशोधनको प्रक्रिया अगाडि बढाएको बताएको छ । महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष कुशकुमार जोशीलाई कार्यदलको संयोजकका रुमपमा छनोट गरेको बताइएको छ । महासंघमा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाको विरोध हुने गरेको छ । सोही व्यवस्थालाई समेत परिमार्जन गर्ने गरी विधान संशोधनको तयारी महासंघले गरेको हो । शुक्रबारदेखि जाेर बिजाेर हट्ने काठमाडौं उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोली(पुस ३ गते) बाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जोरविजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आएपनि जोरविजोर प्रणाली कायम गरिएको थियो । जोर विजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गएपनि खुला गरिने भएको हो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्दै उनले आग्रह गरे । सवारी साधनमा देखिएको यात्रुहरुको चापको अवस्थालाई मध्यनजर गर्दै जोर विजोर प्रणाली हटाउने निर्णय भएको उनले बताए ।

सेयर बजारमा सुन्निएको पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकको ‘रेडकार्ड’

काठमाडौं । पछिल्ला केही सातायता अस्वभाविक रुपमा बढेको नेपाल पुनर्बीमा कम्पनीको सेयरधनीलाई राष्ट्र बैंकले ‘रेडकार्ड’ देखाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत गरेको संकेत अनुसार सेयरधितो कर्जामा केही परिवर्तन गरेको छ । मौद्रिक नीतिको समीक्षामा सेयरधितो कर्जाको विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने भनिएको थियो । राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा सेयरधितो कर्जा सम्बन्धमा विशेष गरेर ४ प्रकारका नयाँ व्यवस्था गरिएको छ । यी ४ नयाँ व्यवस्थामध्ये एउटा व्यवस्थाले पुनर्बीमा कम्पनीको सेयरधितोमा कर्जा नपाइने अवस्था सिर्जना भएको छ । नयाँ व्यवस्थामा बैंकले पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको १ वर्ष व्यतित नभएका संस्थाहरु, विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितोमा पनि कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको छ । पछिल्ला दिनमा अस्वभाविक रुपमा मूल्य बढेर सुन्निएको आरोप लागेको पुनर्बीमा कम्पनीको सेयर हुनेले नयाँ व्यवस्थाका कारण अब बैंक वित्तीय संस्थामा धितो राखेर सेयरधितो कर्जा लिन पाउने छैनन् । किनभने पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको २५० दिन पुगेको छैन । यसअघि राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु, नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरु र आर्थिक वर्ष समाप्त भएको १ वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरुको सेयरको धितोमा कर्जा नदिने व्यवस्था रहेको थियो ।

मौद्रिक नीतिको समीक्षाले तर्साएको सेयर बजारलाई कडाई गर्ने ‘स्पेस’ कति छ राष्ट्र बैंकसँग ?

काठमाडौंं । गत आइतवार पुँजी बजार मापक नेप्से परिसुचक ६ प्रतिशत (१२३ अंक) ले घटेपछि सो दिनको कारोबार बन्द भयो । त्यसको २ दिन अघि आएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर बजारलाई तर्साएको थियो । मौद्रिक नीतिको समीक्षामार्फत ओभर ड्राफ्ट र सेयरधितो कर्जाको विद्यमान व्यवस्था परिवर्तन गर्ने राष्ट्र बैंकले जनाएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्था ‘पुनरावलोकन’ शब्दसँग सेयर बजार तर्सिएको थियो । राष्ट्र बैंकले ओभर ड्राफ्ट (ओडी) र सेयरधितो कर्जाको विद्यमान व्यवस्थामा ‘पुनरावलोकन’ गर्ने भने पनि के कस्तो पुनरावलोकन हुन लागेको हो भन्ने कुनै स्पष्ट पारेको छैन । तर, आइतबार सेयर बजारमा पहिरो गएको थियो । यद्यपि, सोमवार र मंगलबार (यो समाचार तयार पार्दासम्म) सेयर बजार बढेको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल ओडी र सेयरधितो कर्जामा के कस्तो नयाँ व्यवस्था हुने भन्ने बारेमा अझै यकिन नभएको बताउँछन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको बेलामा बजारमा २ खर्ब रुपैयाँ अधिकत तरलता भएपनि अहिले सो रकम घटेर १ खर्ब ४४ अर्ब रुपैयाँमा कायम भएको बताए । ‘मौद्रिक नीति सार्वजनिक गर्दा यो वर्ष कर्जा प्रवाह २० प्रतिशतले बढ्ने अनुमान गरिएको थियो, गत असोज समान्तसम्मको तथ्यांकले कर्जा प्रवाह १२.४ प्रतिशतले मात्रै बढेको देखाएको छ, गएको कर्जा पनि सेयर, घरजग्गा जस्ता क्षेत्रमा बढी हुनु हुँदैन भनेर नियामक निकायले आवश्यक चासो देखाउँछ, आइतबार सेयर बजार नियामक निकायको त्यही ‘रेगुलेटरी कन्सर्न’को कारण तर्सिए जस्तो देखिन्थ्यो, नयाँ नीतिगत व्यवस्था के हुने भन्ने प्रष्ट भएको थिएन, अझै भएको छैन,’ पोखरेलले विकासन्युजसँग भने । उनले सेयर बजारमा जाने कर्जाको विषयमा राष्ट्र बैंकसँग २ वटा मात्रै विकल्प रहेको पनि बताए । अहिले १२० दिनको अन्तिम कारोबार रकमको औषत मूल्य वा आजको कारोबार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशत रकमसम्म सेयरधितो कर्जा दिन पाइन्छ । यो व्यवस्था पुनरावलोकन गर्ने हो भने राष्ट्र बैंकले १२० दिनलाई बढी वा घटी तथा ७० प्रतिशतलाई कम वा बेसी गर्न सक्छ । ‘सेयर बजारमा थप कर्जा प्रवाह होस भन्ने चाहने हो भने अहिलेको ७० प्रतिशतलाई सोभन्दा बढी र कम गर्ने हो भने सोभन्दा कम प्रतिशत भनेर तोक्न सक्ने ठाउँ छ, पहिल्लो समय बजार निकै बढेकोले अहिलेको १२० दिनलाई बढाउने हो भने पनि कर्जा घट्ने अवस्था रहन्छ, त्यसैले यसमा पुनरावलोकन भनेको १२० दिन तथा ७० प्रतिशतको मानकलाई पुनरावलोकन गर्ने भन्ने नै हो, यी दुबै मानक पुनरावलोकनमा पर्छन्, कुनै एउटा व्यवस्थाको मात्रै पुनरावलोकन हुन्छ वा कुनै हुदैन भनेर यकिन साथ भन्न सकिने अवस्था छैन,’ सहप्रवक्ता पोखरेलले भने । राष्ट्र बैंकले राष्ट्रिय आवश्यकता अनुसार उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनको लागि अनुत्पादक क्षेत्रमा जाने कर्जामा सकेसम्म कडाइ गरिरहेको हुन्छ । यस्तो कडाईको मारमा सेयरधितो कर्जा पनि पर्ने गरेको छ । राष्ट्र बैंकले सेयरधितो कर्जाको विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने जानकारी दिए लगत्तै सेयर लगानीकर्तासँग सम्बन्धित संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई सामुहिक रुपमा भेटेर बजारमा नकारात्मक असर पर्ने प्रकारका नीतिगत परिवर्तन नगर्न आग्रह गरिसकेका छन् । सम्बन्धित सामग्री राष्ट्र बैंकलाई लगानीकर्ताका प्रश्नै प्रश्नः सेयर बजार बढेको देखि नसक्नु भएको हो ? मौद्रिक नीतिले तर्सायो पुँजी बजारलाई, के होला अब सेयर बजार ? जुरो हल्लाउँदै दौडिरहेको सेयर बजारको साँढेले कहाँ पुगेर थकाई मार्ला ?

सेयर बजारमा ‘सर्किट ब्रेक’, काराेबार बन्द, एकैदिन १२३ अंकले घट्याे नेप्से

काठमाडौं । सेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ । मौद्रिक नीतिको त्रैमासिक समिक्षा पश्चात खुलेको पहिलो पहिलो दिनको बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो । आइतबारको बजार ६ प्रतिशतले सर्किट ब्रेक लागेर दिनभरिको लागि कारोबार रोकिएको छ । बजार बन्द हुनुभन्दा करिब एक घण्टा अघि(अर्थात दिउँसाे २ बजेर १३ मिनेटमा) नै नेप्से परिसूचक ६ प्रतिशतले घटेर साे दिनकाे लागि काराेबार बन्द भएकाे हाे । आइतबार कारोबार शुरु भएदेखि नै निरन्तर ओरालो लागेको बजारमा परिसूचक १२३.३४ अंकले घटेर १९३२ अंकमा झरेको छ । जबकी बिहीबारको कारोबारमा परिसूचक २०५५ अंकमा रहेको थियो । यससँगै सेन्सेटिभ इन्डेक्स पनि ५.५१ प्रतिशत अर्थात २१.६२ अंकले घटेर ३७० बिन्दुमा झरेको छ । करिब ३ घण्टा कारोबार भएको आइतबारकाे बजारमा कूल ७ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिमा १९७ कम्पनीको एक करोड ५४ लाख ९० हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन एक अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उच्च अंकले घटेको बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ५६९ अंकले घटेको छ । आइतबारको बजारमा १८ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले घटेको छ । जसमध्ये सबैभन्दा बढी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १२८७ रुपैयाँमा झरेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता १५६२ रुपैयाँमा झरेको छ । उच्च अंकले घटेको बजारमा पनि ९ कम्पनीका लगानीकर्ताले सामान्य कमाएका छन् । सबैभन्दा बढी रिलायन्स फाइनान्सका लगानीकर्ताले २.३० प्रतिशत अर्थात प्रतिकित्ता ४ रुपैयाँ कमाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षाको प्रभाव आइतबारकाे  पुँजीबजारमा परेको छ । बैंकले बिहीबार मौद्रिक नीतिको समिक्षा मार्फत सेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको हाे । यससँगै, लगानीकर्ता संघ संघठन नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाव समुह सम्बद्ध लगानीकर्ताले आइतबार राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमार्फत उनीहरुले मार्जिन कर्जा पुनरावलोकन गर्ने सम्बन्धी बुँदा तुरुन्त फिर्ता गर्न माग गरेका छन् । साना लगानीकर्ताको सेयर बजारमा भएको नयाँ प्रवेशलाई निरन्तरता दिन, पुँजीबजारका लगानीकताहरुको लगानीको पनि सुरक्षा गर्न मौद्रिक नीति फेरबदल गर्न नहुने उनीहरुको भनाई छ । सम्बन्धित समाचारः राष्ट्र बैंककाे ‘पुनरावलोकन’ शब्दमा झस्किए लगानीकर्ता, नेप्से २००० बिन्दु तल झर्दा सबै समूह राताम्मे राष्ट्र बैंकलाई लगानीकर्ताका प्रश्नै प्रश्नः सेयर बजार बढेको देखि नसक्नु भएको हो ?

राष्ट्र बैंकलाई लगानीकर्ताका प्रश्नै प्रश्नः सेयर बजार बढेको देखि नसक्नु भएको हो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षामा सेयरकर्जामा पुनरावलोकन गर्ने भनेसँगै लगानीकर्ताहरुले असन्तु्ष्टि व्यक्त गरेका छन् । सेयर बजार बढेकै समयमा लगानीकर्ताको मनोवल घट्ने किसिमले राष्ट्र बैंकले सेयर कर्जामा पुनरावलोकन गर्ने भनेपछि लगानीकर्ताहरु असन्तुष्ट भएका हुन् । लगानीकर्ता संघ संघठन नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाव समुह सम्बद्ध लगानीकर्ताले आइबार राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्र बैंकसामु प्रश्नै प्रश्न खडा गरेका हुन् । उनीहरूले बजारमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता कसरी पर्न गयो भन्दै राष्ट्र बैंकलाई प्रश्न गरेका छन् । लगानीकर्ता, नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता सरोकारवाला पक्ष बिचको बारम्बारको छलफलको निचोडको रूपमा कार्यान्वयनमा आएको ७० प्रतिशत मार्जिन कर्जालाई एक्कासी परिवर्तन गर्न खोज्नु भनेको पुँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं नै लागि परेको लगानीकर्ताको आरोप रहेको छ । ज्ञापन पत्रमार्फत उनीहरुले मार्जिन कर्जा पुनरावलोकन गर्ने सम्बन्धी बुँदा तुरुन्त फिर्ता गर्न माग गरेका छन् । साना लगानीकर्ताको सेयर बजारमा भएको नयाँ प्रवेशलाई निरन्तरता दिन, पुँजीबजारका लगानीकताहरुको लगानीको पनि सुरक्षा गर्न मौद्रिक नीति फेरबदल गर्न नहुने उनीहरुको भनाई छ । राष्ट्र बैंक जस्तो गरिमामय संस्थाले आफ्नो नीति ३ महिना पनि टिकाउन नसक्नु भनेको यस संस्था प्रति नेपाली जनताका संग संगै विश्व जगतले समेत हेर्ने दृष्टिकोण नकारात्मक हुन गै नेपाल राष्ट्रकै बेइज्जत हुने कुरामा दुई मत नहुने लगानीकर्ता बताउँछन् । यस्ताे छ ज्ञापनपत्र